‘मोक्सिबुसन’: तितेपातीको धुवाँ र तापबाट उपचार

डा. डीबी सुनुवार

अनेकौं किसिमका स्वास्थ्य समस्याबाट छुटकारा पाउने विभिन्न उपचार विधिहरूमध्ये ‘मोक्सिबुसन थेरापी’ पनि एक प्रभावकारी विधि हो । मोक्सिबुसन शरीरको बाहिरी भागमा गरिने एक किसिमको उपचार विधि हो ।

यो विधिबाट उपचार गर्नका निम्ति विशेष किसिको तितेपातीको पातलाई सुकाएर झुलो बनाइन्छ । उक्त झुलोलाई ‘कोन’ वा ‘निडल’ मा राखेर या त्यत्तिकै जलाइन्छ । यसरी जलाउँदा पैदा हुने तापको माध्यमबाट सेक्दै उपचार गर्ने पद्धति नै मोक्सिबुसन उपचार विधि हो ।

मोक्सिबुसन उपचार विधि ट्रेडिसनल चाइनिज मेडिसिन (टीसीएम) उपचार प्रणाली/सिद्धान्तमा आधारित छ । यो विधिमा सामान्यतः जलेको ‘मोक्सा’ को माध्यमबाट ‘एक्युप्वाइन्टहरू’ लाई तताउने काम हुन्छ । मोक्सिबुसनले शरीरको ‘मेरिडियन प्वाइन्ट’ मा ‘काई चि’ रगतलाई नियमित गराउँदछ ।

विभिन्न स्वास्थ्य समस्याको रोकथाम र उपचारका निम्ति पाँच हजार वर्षभन्दा अघिदेखि नै मोक्सिबुसन विधि प्रयोग हुँदै आएको पाइन्छ । अझ त्यसभन्दा अघिदेखि नै यो विधि अपनाउन थालिएको हुन सक्ने तर्कलाई समेत नकार्न मिल्दैन । अध्ययनअनुसार लिखित प्रमाणका रूपमा भने ईशापूर्व ५८१ तिर (‘चुओ चहुआन’ कालतिरै) चीनमा यो विधिबाट उपचार गरिएको दस्तावेज फेला परेको छ ।

मोक्सिबुसन पनि एक किसिमको ‘थेराप्युटिक उपचार विधि’ नै हो । यो विधिमा ‘मगबर्ट’ अर्थात् तितेपातीका पातहरूलाई जलाएर उपचार गरिन्छ । यो विधिमा मूलतः तितेपातीका पातको पछाडिको भागमा अवस्थित ‘फाइबर’ लाई प्रयोग गरिन्छ । यो विधिमा प्रयोग गर्नका लागि तितेपाती प्रशोधित भइसक्न करिव तीन वर्ष लाग्छ ।

मोक्सिबुसन विधिलाई चिनियाँ भाषामा ‘आइच्युउ’ भनिन्छ । यो विधिमा एकदमै सानो तथा ‘स्पन्जी’ खालको जडीबुटी प्रयोग हुन्छ । यो वनस्पति/जडीबुटीको प्रयोग गरी एक्युपङ्चर गर्दा स्वास्थ्य समस्या चाँडै नै समाधान हुने विश्वास गरिन्छ ।

यो विधिबाट उपचार गर्ने क्रममा शरीर (छाला) को सतह नजिकै राप दिन तितेपातीको पातबाट बनेको झुलोलाई एक प्रकारको कोन प्रयोग गरी जलाइन्छ । मोक्सिबुसन प्रयोगको मुख्य उद्देश्य भनेकै शरीरलाई सन्तुलित राख्नु हो । यो चिनिया विधिअनुसार शरीर मजबुत तथा सन्तुलित राख्ने कार्यलाई ‘इन र याङ्’ भनिन्छ । यसरी उपचार गर्दा ‘चि’ वा ऊर्जाको प्रवाह ‘स्टिमुलेट’ भई स्वस्थ्य रहन मद्धत मिल्छ ।

चिनिया प्राकृतिक चिकित्सा विधिअनुसार ‘चि’ को नियमित प्रवाहले पाचन प्रणाली तथा प्रक्रियासम्बन्धी समस्या समाधानमा सहयोग पुग्छ । यो उपचारबाट शरीरको दुखाइ, हाडजोर्नीको समस्या, बाथ, ढाड तथा कम्मरको दुखाइ कम गर्न सकिन्छ । यसले कम्मरको लचकता सहज तुल्याउन र मेरुदण्ड मजबुत बनाउन पनि सहयोग पुर्‍याउँछ । यसबाट समग्रतामा शरीर नै मजबुत हुने विश्वास गरिन्छ ।

यसरी गर्ने: के–के छन् फाइदा ?

मोक्सिबुसन थेरापी कसरी गरिन्छ त ? अनि यसका प्रक्रिया के–कस्ता छन् त ? अब यसबारे चर्चा गरौं ।

मोक्सिबुसन विधि अपनाउनका लागि सबैभन्दा पहिले त तितेपाती तयार गर्नुपर्छ । सर्वप्रथम तितेपाती सङ्लन गरी त्यसको पात सुकाएर तयार पार्नुपर्छ । त्यसपछि विभिन्न प्रशोधन विधि अपनाएर तितेपातीको फाइबर निकाली झुलो बनाइन्छ । तितेपातीको पातलाई पिसेर मोक्सा (झुलो) उत्पादन गर्नुपर्छ । सामान्यतः मोक्सिबुसन प्रक्रियाको आधारभूत सामग्री भनेकै यही हो ।

मोक्सामा ६० भन्दा धेरै किसिमका तत्वहरू उपलब्ध हुने तथ्य पत्ता लागेको छ । यसमा ‘ट्यानिन्स’, ‘फ्लेभोनोइड्स’, ‘स्टेरोल’, ‘पोलिस्याकाराइड्स’, ‘ट्रेस इलिमेन्ट्स’ लगायतका तत्व हुन्छन् । मोक्सा जलाउँदा बन्ने खरानीको एक्स्ट्राक्टमा समेत ‘एन्टी फ्री रेडिकल’ को निकै मात्रा प्राप्त हुन्छ । मोक्साको धुवाँलाई समेत हावा डिसइन्फेक्सनर, एन्टिभाइरल र एन्टिफङ्गलका रूपमा प्रयोग गर्न सकिन्छ ।

विभिन्न कारण शरीरमा लाग्ने घाउ–चोटको सङ्क्रमण र यौनजन्य समस्या समाधानका लागि मोक्सिबुसन विधि प्रभावकारी हुन्छ । पायल्स, फिस्टुला, फिसरजस्ता स्वास्थ्य समस्याबाट उन्मुक्तिका निम्ति पनि यो विधि निकै प्रभावकारी छ ।

मोक्सा विधि अपनाएर स्वास–प्रश्वासको समस्या समेत कम गर्न सकिन्छ । यो विधिले रजश्वलाको समयमा दुखाइ कम गर्न पनि मद्धत पुर्‍याउँछ । टाउको दुख्ने र माइग्रेनजस्ता समस्याबाट छुटकारा पाउन समेत यो विधि निकै लाभदायक छ । अध्ययनअनुसार मिर्गाैलाको दीर्घकालीन रोगका निम्ति पनि मोक्सिबुसन थेरापी राम्रो उपचार विधि हो ।

परम्परागत मोक्सिबुसन सिद्धान्त

लिङ सु, क्आन नेङका अनुसार जहाँ सुई (भ्याक्सिन) ले काम गर्दैन, त्यहाँ समेत मोक्सिबुसनले काम गर्दछ । मोक्सिबुसनमा टोनिफिकेसन र शुद्धीकरणको दोहोरो प्रभाव हुने टीसीएम सिद्धान्तको मान्यता छ । मोक्सिबुसन विधिमा प्रयोग गरिने सामग्री र आगोको प्रयोगले न्यानोपन र पोषणमा बढावा दिएर निडल र आधुनिक औषधिहरूभन्दा फरक किसिमले स्वास्थ्य समस्याहरूबाट बचाउने विश्वास गरिन्छ ।

चिसोबाट छुटकारा पाउन यो विधि निकै लाभदायक छ । मोक्सिबुसनमा टोनिफिकेसन र शुद्धीकरणको दोहोरो प्रभाव दुई पक्षहरूमा आधारित छन् । मोक्सिबुसन संयन्त्रका आधुनिक अनुसन्धान कार्यहरू मुख्यतया थर्मल प्रभावहरू, विकिरण प्रभावहरू तथा मोक्सा बल्दा उत्पन्न हुने औषधीय कार्यहरूसँग सम्बन्धित छन् । मोक्सिबुसन गर्दा पैदा हुने थर्मल स्टिमुलेसनले छालाका टिस्युहरूमा गहिरो लाभदायी प्रभाव पार्दछ ।

मोक्सिबुसनको भूमिका

मोक्सिबुसनको भूमिकालाई ‘वार्म न्युरिसिङ’, ‘वार्म ड्रेडिङ’ र ‘वार्म मेल्टिङ’ गरी तीन भागमा विभाजित गर्न सकिन्छ । वार्म न्युरिसिङ: वार्म न्युरिसिङ पदावलीले टोनिफाइ गर्ने, रगतलाई पोषण प्रदान गर्ने र रगतको कमी हुन नदिनेजस्ता फाइदाहरूलाई जनाउँदछ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बजबुत बनाउँछ ।

त्यसैगरी, वार्म ड्रेडिङ: वार्म ड्रेडिङ भन्नाले विशेषतः रक्त प्रणालीलाई सक्रिय पार्ने, स्टेसिस भङ्ग गर्ने र मेरिडियन प्वाइन्ट स्वस्थ राख्ने तथा सक्रिय गराउने काम भन्ने बुझ्नुपर्छ । त्यस्तै, वार्म मेल्टिङ: वार्म मेल्टिङ भन्नाले छातीको समस्या उब्जन र छातीमा कफ जम्न नदिने र छाती भारी हुने समस्याबाट छुटकारा पाउने अर्थमा बुझ्न सकिन्छ । शरीरभित्र रहेका अनेकौं विकार तत्व हटाउन समेत मोक्सिबुसन थेरापी निकै नै लाभदायक हुन्छ ।

र, अन्त्यमा…

मोक्सिबुसन विधि अपनाउँदा मोक्सा कोन अनिवार्यजस्तै साधन हो । यो विधिमा कोनको एक छेउलाई जलाएर शरीरको बाहिरी भागमा बिस्तारै ताप दिइन्छ । ताप दिँदै जाँदा छाला क्रमशः रातो हुँदै जान्छ र न्यानोपनको महसुस हुन्छ । त्यसपछि त्यो भागमा मोक्सिबुसन थेरापी गरिँदैन ।

मोक्सिबुसन विधि अपनाउँदा छाला पोल्न सक्ने कुरामा ध्यान दिएर निश्चित दूरी कायम गर्नुपर्छ । सामान्यतः मोक्सा स्टिक वा कोनलाई शरीरभन्दा एक इन्च टाढा राखिन्छ र आवश्यकताअनुसार ताप दिइन्छ । छाला रातो अनि तातो हुन थालेपछि नजिकबाट मोक्सा हटाइन्छ ।

मोक्सिबुसनबाट उत्पन्न हुने न्यानोपनले शरीरभर ऊर्जा प्रवाहित गराउँछ । ‘मेरिडियन’ भनेर चिनिने शरीरका विभिन्न प्वाइन्टहरूमार्फत यो थेरापीका माध्यमबाट शरीरमा ऊर्जाको प्रवाह गराइन्छ । मोक्साबिसन थेरापी जथाभावी गर्नु उचित हुँदैन; तालिम प्राप्त एवम् अनुभवी व्यक्ति या विशेषज्ञको सल्लाह र निगरानीमा गर्नु राम्रो हुन्छ ।