आफैं बनाउनोस् ‘वार्मअप’ गराउने परिकारहरू
आरबी बुढाथोकीज्वानो डन्डुको सुप
आवश्यक सामग्री
शुद्ध नेपाली घ्यु– २ चिया चम्चा, ज्वानो (अजवाइन)– एक या आधा चिया चम्चा, अदुवा– लसुन (चप गरेको)– २ चिया चम्चा, मसिनो गरी काटेको डन्डु (हरियो जिम्बु)– आधा मुठा, नुन–स्वादअनुसार, बेसार– आधा चिया चम्चा, मरिचको धुलो– एक पिन्च, ताजा चामलको पिठो– ५ टेबल चम्चा, पानी– एक लिटर ।
बनाउने तरिका
बाक्लो कराइमा घ्यु हालेर खर्याउने, त्यपछि ज्वानो हाल्ने । ज्वानो केही पाकेर खैरो हुनासाथ चप गरेको लसुन–अदुवा हाल्ने । यो पनि गोल्डन–ब्राउन हुनासाथ चामलको पिठो हालेर मजाले भुट्ने र त्यसमा पानी खन्याई फेरि उम्लन दिने ।
अब नुन–मरिच हालेर राम्ररी चलाउने । अन्त्यमा, त्यसमाथि काटेको डन्डु हालेर निकाल्ने । त्यसपछि यो सुपलाई तात्तातै सर्भ गर्ने ।
000
खसीको खुट्टी सुप
आवश्यक सामग्री
खसीको खुट्टा– २ वटा, पिसेको अदुवा र लसुन– दुई चिया चम्चा, मस्याङ– आधा कप, गरम मसलाको धुलो– आधा चिया चम्चा, बेसार– आधा चिया चम्चा, जिरा– आधा चिया चम्चा, मेथी– आधा चिया चम्चा, तेजपत्ता– दुई वटा, तोरीको तेल– डेढ चम्चा, हरियो धनियाँ– एक मुठा, प्याज र गोलभेंडा– एक–एकवटा, पानी– आवश्यकताअनुसार, नुन–खुर्सानीको धुलो– स्वादअनुसार ।
बनाउने तरिका
पहिले प्रेसर कुकरमा तोरीको तेल तताएर त्यसमा मेथी फुराउने । त्यसपछि अदुवा, लसुन, तेजपत्ता, प्याज राखेर केहीबेर भुट्ने । काटेर तयार पारिएको खसीको खुट्टा त्यसैमा राखेर चलाउने ।
त्यसपछि मसला र पानी हाली उमाल्ने । केही समयपछि मस्याङ राख्ने र प्रेसर कुकर बन्द गर्ने । प्रेसर कुकुरले ७–८ सिट्टी लगाएपछि अगोबाट निकाल्ने । त्यसमा धनिया राखेपछि स्वादिलो खुट्टी सुप तयार हुन्छ ।
000
कुर्ती सुप (गहतको झोल)
आवश्यक सामग्री
गहत– २ कप, तोरीको तेल– ३ चिया चम्चा, जिराको दाना– आधा चिया चम्चा, चप गरेको अदुवा–लसुन– डेढ चिया चम्चा, बेसार– आधा चिया चम्चा, गरम मसलाको धुलो– १ पिन्च, हरियो खुर्सानी (चप गरेको)– २ पिस, ब्लेन्ड गरेको या मसिनो गरी काटेको गोलभेंडा– २ वटा, नुन– स्वादअनुसार, मरिचको धुलो– १ पिन्च, ताजा हरियो धनिया– आधा मुठा
बनाउने तरिका
एक रात पहिल्यै या ६–८ घन्टाअघि नै गहतलाई भिजाउने र नर्मल (रुम) टेम्प्रेचरमा छाडिदिने । गहत राम्ररी भिजेपछि त्यसमा हुन सक्ने ढुङ्गा या छेस्का–छेस्की केलाएर एक साइडमा राख्ने । त्यसपछि दुई लिटरको प्रेसर कुकर तताएर तोरीको तेलमा जिरा फुराउने । अब त्यसमा चप जिन्जर र गार्लिक हाल्ने ।
यी मसला हल्का पाकेर गोल्डन ब्राउन रङ्गको हुनासाथ त्यसमा हरियो खुर्सानी तथा भिजाएर केलाएको गहत हाली चलाउने । आगोको आँच केही मत्थर पारी अन्य मसला र स्वादअनुसार नुन हाल्ने । त्यसपछि १०–१२ मिनेट भुट्ने अनि काटेको गोलभेंडा हाली चलाउने । एकै छिनपछि त्यसमा एक लिटरजति पानी हालेर ४–५ सिट्टी लगाउने ।
अन्त्यमा, कति बाक्लो या पातलो सुप बनाई खाने हो, सोहीअनुसार अन्दाज गरी तातो पानी हालेर उमाल्ने । त्यसपछि काटेको धनिया छरेर तात्तातै सर्भ गर्ने ।
000
गुन्द्रुक–भटमासको मिलन (हिमालयन सुप)
आवश्यक सामग्री
तोरी या रायोको गुन्द्रुक– २५० ग्राम, भटमास– ३०० ग्राम, तोरीको तेल– ४० एमएल, हरियो खुर्सानी– ३ वटा, मसिनो गरी काटेको अदुवा–लसुन– १५ ग्राम, प्याज– एउटा, गोलभेंडा– (मसिनो खाले, चेरी टोम्याटो)– ५ वटा, बेसार– आधा चम्चा, पिसेको जिरा– आधा चम्चा, नुन– स्वादअनुसार, हरियो लसुन– एउटा, हरियो धनिया– आधा मुठा, खुर्सानीको धुलो– १ पिन्च, टिम्मुरको धुलो– आधा चिया चम्चा ।
बनाउने तरिका
बाक्लो कराई तताएर भटमास पाक्ने गरी थोरै तेल हालेर भुट्ने, त्यसपछि एक साइड लागाउने । तेल हालेर कराई फेरि तताउने र त्यसमा हरियो खुर्सानी, अदुवा–लसुन हाली भुट्ने । केही ब्राउन हुनासाथ प्याज हालेर भुट्ने अनि नुन–मसला हाली कम आँचमा पकाउने ।
केही बेरपछि त्यसमा भिजाएको गुन्द्रुक र भुटेको भटमास हाली चलाउने । त्यसपछि आवश्यकताअनुसार तातो पानी हालेर उमाल्ने । अन्त्यमा, काटेको धनिया, हरियो लसुन र टिम्मुरको धुलो हाली तात्तातो सुप सर्भ गर्ने ।