गायिका सुनिताका उकाली–ओराली

‘विवाहको तयारीमा जुटिसकें, दुलाहाचाहिँ भेटेकै छैन’

केदार/शङ्कर/भोला

नेपाली कलाक्षेत्र र विशेषतः लाेकसङ्गीतका क्षेत्रको एउटा सुपरिचित नाम हो– सुनिता दुलाल । सिन्धुपाल्चोकको जलबिरेमा जन्मिएकी चर्चित गायिका सुनिता गायनसँगसँगै मोडलिङमा पनि उत्तिकै सक्रिय र लोकप्रिय छिन् ।

सुनिताले गायनक्षेत्रमा जम्ने पहिलो र मुख्य प्रेरणा घरपरिवारबाटै पाएकी हुन् । उनको परिवारका सबैजसो सदस्य साङ्गीतिक क्षेत्रमै थिए । साङ्गीतिक माहोलमै जन्मे–हुर्केकी सुनिताका बुबा–आमा गीत गुनगुनाइरहन्थे भने दाजु घमेश दुलाल त काँठे लोकभाकाका चर्चित कलाकार नै हुन् । उही समयमा काँठे भाकाको चर्चित गायकका रूपमा आफूलाई चिनाइसकेका घमेश अहिलेसम्म पनि गीतसङ्गीतकर्ममा उत्तिकै सक्रिय छन् ।

पूरा परिवार नै साङ्गीतिक क्षेत्रमा भएपछि यो क्षेत्रमा आउन, रम्न र जम्न सुनितालाई खासै कठिनाइ भएन । यो क्षेत्रमा आउनुअघि नै उनलाई यस क्षेत्रका सबलता, दुर्बलता र कठिनाइबारे निकै कुरा थाहा भइसकेका थिए ।

सुनिताले दर्जनौ चर्चित एवम् लोकप्रिय गीतहरू दर्शकमाझ पस्किसकेकी छन् । उनीसहितको सामूहिक स्वरमा ‘मायालुले झझल्को दिइरहने’ बोलको पहिलो गीतिसङ्ग्रह सुनिताले २०६० मा स्रोतामाझ ल्याएकी थिइन् । उक्त पहिलो गीत नै स्रोतामाझ निकै लोकप्रिय भएपछि उनले पछाडि फेर्केर हेर्नै परेन । पहिलो गीतिसङ्ग्रहबाटै श्रोताको मनमा बस्न सफल भएकी सुनिताले लोक तथा आधुनिक भाकाका थुप्रै गीत गाइसकेकी छन् ।

आफ्नो गीत हिट हुन थालेपछि सुनितालाई देश तथा विदेशमा आयोजित कन्सर्टहरूमा प्रस्तुति दिन भ्याई–नभ्याई हुन थाल्यो । गायनकै सिलसिलामा उनले अमेरिकासहित एसियाका १८ मुलुक घुमिसकेकी छन् ।

उनकै स्वरमा सजिएका र उनी आफैंले अभिनय समेत गरेका ‘बाँसको कप्टेरो’, ‘भइगो अब भो’, ‘दसैं आयो, जमरा पलायो’, ‘मेरो दिलमा फुल्यौ नीरमाया’, ‘हो कि होइन ए सानु’, ‘चेलीको माइतीघर’, ‘अब त मैले’नि झुम्का लगाउँछु’, ‘फेरि आयो माइत जाने दिन’, ‘उनका लागि ब्रत सकेको’, ‘तीजको दर’ जस्ता गीतहरू दर्शक–श्रोतामाझ लोकप्रिय छन् ।

बाल्यकालको त्यो त्रासदी

सरकार र तत्कालीन विद्रोही माओवादीबीचको द्वन्द्वकै बीच उनको बाल्यकाल बित्यो । घरकै छेउमा प्रहरी चौकी थियो । २०५२ पछि माओवादीले खोजी–खोजी प्रहरी चौकीमाथि आक्रमण गर्दै ध्वस्त पार्ने क्रममा गायिका सुनिताकै घरछेउको प्रहरी चौकी समेत आक्रमणमा पर्‍यो ।

त्यसबेला ‘आज त मरिने पो हो कि’ भन्ने त्रासका बीच कयौं रात ननिदाई उज्यालो बनाएको स्मृति सुनिताको मनमा अझ पनि ताजै छ । ‘घरसँगै प्रहरी चौकी थियो, माओवादीले पटक–पटक त्यहाँ हमला गर्ने प्रयास गर्थे,’ त्यसबेलाको त्रासदी सम्झँदै सुनिताले होलिस्टिकसँग भनिन्– ‘हामी त प्रहरी र माओवादीको चेपुवामा परेका थियौं, बुबा–आमासहित घरपरिवारका सबैले निकै लामो अवधि त्रासैत्रासमा बितायौं ।’

‘प्रहरी–माओवादी भीडन्तका क्रममा एक पटक कयौं मान्छे घाइते भए र कयौंको वीभत्स हत्या भएको समेत देखियो,’ बाल्यकालको स्मरण गर्दै सुनिताले सुनाइन्– ‘त्यसबेलाका घटनाक्रम सम्झँदा त अहिले पनि आङै सिरिङ्ग भएर आउँछ ।’

राजनीतिक द्वन्द्वकै कारण सुनताले पढ्दै आएको घरनजिकैको बोर्डिङ स्कुल समेत बन्द भयो । सुनिता दुई कक्षामा पढिरहेको बोर्डिङ बन्द भएपछि उनलाई सरकारी स्कुलमा भर्ना गरियो । त्यसबेला बोर्डिङमा छोराछोरी पढाउनेहरूलाई माओवादीले ‘सामन्ती’ का रूपमा लिन्थ्यो । एकातिर माओवादीलाई साथ नदिए के पो गर्ने हुन् भन्ने चिन्ता, अर्कातिर माओवादीलाई सघाएको सुरक्षा फौजले थाहा पाए झन् कडा कारबाहीमा परिने डर ! परिवारले तनावै तनाव झेलिरहेको थियो । बाल्यकालमा सुनिताको मानसपटलले यिनै यथार्थलाई रेकर्डमा राख्यो ।

दुई कक्षाबाट सोझै आठमा

बोर्डिङ बन्द भएपछि दुई कक्षाबाट सरेकी सुनिता सोझै आठ कक्षामा भर्ना भइन् । त्यत्रो ‘जम्प’ हाने पनि सुनिताको पढाइ भने खस्किएन । ‘दुई कक्षाबाट सिधै आठमा भर्ना हुँदा पनि पढ्न भने खासै गाह्रो भएन’– उनले सुनाइन् ।

सोही स्कुलबाट एसएसली दिएकी सुनिताले पहिलो पटकमै पास गरिन् । त्यस वर्ष चार दर्जनभन्दा बढीले एसएलसी दिएका थिए । तीमध्येका थोरै मात्र पास हुँदा पनि राम्रै अङ्क ल्याएकी सुनिता त्यसपछि भने आईए पढ्न काठमाडौं लागिन् ।

त्यो बेलाको काठमाडौं

सामान्य परिवारकी छोरी भए पनि काठमाडौं सरहरमा आउनु र जानु सुनिताका निम्ति खासै ठूलो कुरा थिएन । सानै छँदादेखि नै उनी काठमाडौं आउजाउ गरिरहन्थिन् । प्रायः आफन्त काठमाडौंमै बस्ने भएकाले आउन–जान कुनै समस्या थिएन । अझ दाजु–दिदीहरू नै यतै भएकाले घरबाट दुई–तीन घन्टाको दूरीमा काठमाडौं आउनु–जानु अनौठो कुरै भएन । दसैं बिदा र अरु छुट्टीका बेला प्रायः उनी काठमाडौं आएर फर्कन्थिन् ।

अहिलेको काठमाडौं त्यतिबेला आउँदाको जस्तो पटक्कै नभएको सुनिताको अनुभव छ । त्यसबेलाको काठमाडौं सहर निकै सफा र सुन्दर थियो । अहिलेको काठमाडौं हेर्दा त त्यो बेलाको सम्झना कल्पना मात्रै पो हो कि जस्तो लाग्छ उनलाई ।

‘काठमाडौं त मैले पाँच–छ वर्षको उमेरदेखि नै देखेकी हुँ,’ उनी सम्झन्छिन्– ‘जब म काठमाडाैंमा पाइला टेक्थें, त्यसबेला खालि खुट्टा हिँड्दा पनि फोहोर लाग्दैनथ्यो, धुँलो टाँसिदैनथ्यो; त्यति सुन्दर थियो यो सहर ।’

‘अहिलेजस्तो धुलैधुलो थिएन, यहाँ यत्तिको परिवर्तन आउला र यतिविधि अव्यवस्थित होलाजस्तो त त्यसबेला मलाई लागेकै थिएन’– उनले सुनाइन् ।

‘विवाहमा जुटिसकें, दुलाहा नै थाहा छैन’

‘गायिका सुनिता दुलालको विवाह हुँदैछ नि’ भन्ने बजार हल्ला चल्न थालेको छ बेला–बखत । साङ्गीतिक बजारको यही चर्चा र ‘गसिप’ का समाचार पनि बन्न थाले । उनी विवाह–बन्धनमा बाँधिनै लागेको चर्चाले बजार पाउन थालेको केही वर्ष नै भयो ।

तर, बल्ल आफू विवाहका निम्ति तयार रहेको सुनिताले स्वीकारिन् । विवाहका लागि आफू परिपक्व भइसकेको भन्दै ‘मन मिल्ने दुलाहा पाए दुहली बन्न इच्छुक रहेको’ उनले बताइन् । गतवर्ष बाहिरिएका विवाहका खबरहरू हल्ला मात्रै भएको उनको भनाइ छ । आफूले अब भने ‘दुलाहा खोजिरहेको’ उनले सुनाइन् ।

‘विवाहका निम्ति केटा नै पाउनुभएन कि कसो ?’ होलिस्टिकको जिज्ञासामा उनको जवाफ छ– ‘विवाह गरौं भनेर प्रस्तावहरू त प्रशस्तै आइरहेकै छन् तर लगन नै चाहिँ जुरिसकेको छैन ।’

‘विवाह ,कर्म र मृत्यु ‘माथि’ बाटै ‘लेखेर’ आएको हुन्छ भनिन्छ, शायद त्यसैले होला– आफूले आँटेर मात्रै हुने रहेनछ’ गायिका सुनिता भन्छिन्– ‘त्यसकारण मेरो विवाह कोसँग र कहिले जुर्छ भन्ने कुरा अझै मैलाई थाहा छैन !’ उनले सुनाइन– ‘जहिले र जोसँग भए पनि मेरो विवाह भने अवश्य नै हुन्छ भन्नेचाहिँ मलाई लागिरहन्छ ।’

घरपरिवारले नै खोजिदिएको दुलाहा भए झन् राम्रो हुने आशय उनले प्रकट गरिन् । दुलाहा कलाकारिताकै मान्छे हुनुपर्छ भन्ने नभएको उनको भनाइ छ । उनी भन्छिन्– ‘यही क्षेत्रमा क्रियाशील हुनैपर्छ भन्ने त छैन तर कलाकारितालाई बुझेको र बुझ्ने मान्छेकै खोजीमा छु ।’

‘लोकस्टार’ को ‘जज’ बन्दा

दुइ वर्षअघि ‘एपी– वान’ टेलिभिजनबाट प्रसारित रियालिटी सो ‘लोकस्टार’ को ‘जज’ बनेकी थिइन्, सुनिता । ‘जज’ बन्दाको उनको अनुभव पनि अरु–अरु ‘जज’ हरूकै जस्तो छ ।

आफू ‘जज’ रहेका बेला राम्रा–राम्रा प्रतिभाहरू ‘आउट’ हुँदा सुनितालाई निकै नरमाइलो लाग्थ्यो । सङ्क्षिप्तमा उनले यति बताइन्– ‘जज नै भएर पनि के गर्नु र ! सबै कुरा आफ्नै हातमा त हुँदो रहेछ नि !’

‘निकै राम्रो गायन प्रतिभा भएका कलाकारहरू भोट कम पाएकाले आउट हुँदा मलाई निकै नरमाइलो लाग्थ्यो,’ ती क्षणहरू सम्झँदै उनले दुःखेसो पोखिन्– ‘राम्रो प्रतियोगी बाहिरिँदा पनि टुलुटुले हेरेरै मात्र बस्नुबाहेक केही गर्न सकिएन; किनभने, त्यो रोक्नका लागि आफ्नो हातमा केही हुँदैनथ्यो; त्यसैले ‘जज’ भनेको भोटिङ सिस्टमका कारण अपजस व्यहोर्नुपर्ने खालको विधा रहेछ, त्यहीं गएर त्यो बुझें ।’

‘क्यारेक्टरवाइज छुट्याउँदा भने कतिपय कुराहरू बोल्नै रोक लगाइएको हुन्छ, त्यस्तो हुँदाचाहिँ जजलाई नै अप्ठ्यारो फिल हुँदोरहेछ,’ उनी भन्छिन्– ‘यी र यस्ता केही अप्ठ्याराबाहेक जजको भूमिकामा काम गर्दा रमाइलो नै हुँदोरहेछ, सिक्ने मौका पनि पाइँदो रहेछ ।’

दैनिकी र जीवनशैली

गायिका सुनिता बिहान सबेरै उठ्छिन् । उठेपछि हल्का तातोपानी पिउँछिन् र शरीर फिट–फाइन राख्न योगा गर्छिन् । त्यसपछि रियाज गर्न थाल्छिन् । गायन क्षेत्रमा लाग्नेहरूका निम्ति नियमित रियाजको आवश्यकता निकै नै रहेको उनको भनाइ छ ।

योगा र रियाजपछि हेबी ब्रेकफास्ट गर्छिन् । त्यसपछि सेड्युलअनुसार काममा लाग्छिन् । एघार बजेसम्ममा गोङ्गबुस्थित ‘राइज मिडिया’ नामक आफ्नै अफिसमा पुगिसक्छिन् । कुनै अर्जेन्ट काम या जरुरी मिटिङ प¥यो भने अफिस पुग्न अबेला हुन्छ, नत्र समयमै पुगिसक्छिन् ।

रेकर्डिङ छ भने स्टुडियोेतिर जान्छिन् नत्र दिनभर अफिसकै काममा व्यस्त रहन्छिन् । साँझ ठ्याक्कै यति नै बजे भन्ने त छैन तर उनी सम्साँझै घर फर्किसक्छिन् ।

चर्चित गायिका सुनिता दुलाल खाने कुरा भने केही पनि बार्दिनन् । उनलाई सबै खाने कुरा कुरा मिलाएर खाँदा मन पर्छ ।

लामो समय चलेको कोरोना महामारी र पटक–पटकका लकडाउन तथा निषेधाज्ञाका कारण आफूले घरपरिवारलाई समय दिने मौका पाएकोमा उनी सन्तुष्ट छिन् । ‘अरु बेला कार्यक्रमहरूमा दौडिइरहनुपथ्र्यो; विदेश जाँदा त झन् कति समयपछि आइन्थ्यो, ठेगानै हुँदैनथ्यो तर यी दुई वर्ष भने ढुक्कैले घर बसेर आमा–बुबालगायत आफन्तहरूसँग रमाउन पाइयो’– कुराको बिट मार्दै उनले भनिन् ।