‘स्लिम’ बन्न दस वर्षदेखि खाना नखाएकी बिम्ली

बीएन अधिकारी

हास्यकलाकारका रूपमा स्थापित पात्र हुन् सुशीला निरौला । उनी यो नामबाट भन्दा उपनाम ‘बिम्ली’ बाटै बढी चिनिन्छिन् ।

उनले नेपाली फिल्म तथा म्युजिक भिडियोमा अभिनय गर्न थालेको दुई दशक नै भइसक्यो । हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा दस वर्षअघि ‘बिम्ली’ को क्यारेक्टरमा देखापरेकी सुशीलालाई अन्ततः यही नामले नै स्थापित गरायो ।

सुशीला पछिल्लो समय पनि हास्यश्रृङ्खलाहरूमै बढी व्यस्त छिन् । ‘हर्के हवल्दार’, ‘उल्टोसुल्टो’ लगायतका आधा दर्जन सिरियलमा अभिनय गरिरहेकी उनी म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छिन् ।

२०५७ देखि कलाकारितामा लागेकी सुशीलाले हजारभन्दा बढी गीतमा ‘कोरस’ नाचिसकेकी छन् । कलाकारितामा आउनका लागि सुरु–सुरुमा उनी हरेक कलाकारका पछाडि नाच्थिन् । सङ्घर्षको परिणामस्वरूप उनी तीन सयभन्दा बढी म्युजिक भिडियोको मुख्य भुमिकामा अभिनय गर्न समर्थ भइन् ।

सामान्य परिवारमा जन्मिएकी सुशीलाले कलाकार बन्नकै लागि नृत्य सिक्नेदेखि सिकाउनेसम्मका काममा निकै मेहनत गरिन् । ‘कलाकार बन्ने धोको पूरा गर्नकै लागि खाई–नखाई यस क्षेत्रमा धेरै नै दौडिएँ’– उनले सुनाइन् ।

खाना नखाएकै दस वर्ष

अरु कलाकारभन्दा अलि फरक स्वभावकी छन् उनी । दस वर्षअघि सुशीलाको तौल ७० केजीभन्दा बढी थियो । कमेडी–अभिनयलगायत गीतमा नृत्य र अभिनय गर्नुपर्दा उनलाई निकै गाह्रो भयो । एउटा गीतको सुटिङका लागि गल्छी (धादिङ) पुगेकी थिइन् । उनका ‘अपोजिट’ कलाकार थिए किरण केसी । त्यो गीतको म्युजिक भिडियोमा उनले कुद्नुपर्ने सिन थियो । उनले कुद्न कोसिस त गरिन् तर शरीर निकै मोटो र भद्दा भएकाले निकै गाह्रो भयो ।

त्यो घटनाले उनलाई निकै ‘पिन्च’ पार्‍यो । त्यस दिनदेखि उनले खाना खानै छाडिदिइन् । त्यसयता उनी अरु कुनै खाने कुरा नपाउँदा मात्रै खाना खाने गरेकी छन् । सुख्खा रोटी र तरकारीबाटै उनले बिहान–बेलुकाको छाक टार्दै आएकी छन् ।

खाना खान छाडिदिएपछि म्युजिक भिडियो र फिल्मका लागि आफ्नो शरीर फिट हुन र राम्रो देखिन थालेको भनको भनाइ छ । त्यसमाथि उनी साकाहारी समेत हुन् । मासुको लसपस भएका कुनै पनि खाने कुरा खाँदिनन् । सुटिङका बेला पनि उनलाई सुख्खा रोटी नै चाहिन्छ । साकाहारी त उनी पहिल्यैदेखि नै थिइन् । त्यसैले सुटिङमा जाँदा मासुको लसपस देखेर धेरै पटक त केही पनि नखाइकनै घर फर्किएकी छन् ।

‘सबै सुटिङ हरेक कुराको पायक पर्ने ठाउँमा हुँदैनन्, कहिले कता त कहिले कुन ठाउँमा लोकेसन पर्छ’, उनी भन्छिन्– ‘त्यस्तो बेला सुटिङ युनिटले नै खाना बनाएको हुन्छ, प्रायः मासु पनि पकाइएको हुन्छ । त्यस्तो अवस्थामा म खाना नै खान्नँ । बरु भोकै घर फर्कन राजी हुन्छु ।’

‘बलात्कारी’ निर्देशकलाई लडाइदिएर भाग्दा

एक जनाले त ‘फिल्ममा खेलाइदिन्छु’ भन्दै बागबजारस्थित भक्तपुर बसपार्क नजिकैको होटलमा लगेर उनीमाथि बलात्कार गर्ने प्रयास समेत गरे । ‘फिल्मको सुटिङ छ, आऊ’ भनेर झुक्याई उनलाई त्यहाँ बोलाइएछ ।

‘भोलि तिम्रो सुटिङ छ आऊ है सुशीला ! वसुन्धरा भुसालकी छोरी बनेर खेल्नुपर्ने तिम्रो रोल छ भन्ने कुरा गर्नुभयो,’ त्यो घटना सम्झँदै बिम्लीले होलिस्टिकलाई सुनाइन्– ‘म पनि अवसर खोजिरहेकी थिएँ । हुन्छ भनें र भोलिपल्ट बहिनीलाई पनि साथै लिएर गएँ । यिनलाई किन लिएर आएको भन्दै ती निर्देशकले बहिनीलाई घर पठाउन लगाए ।’

चुत्था ती निर्देशकको हर्कत सुनाउँदै बिम्ली भन्छिन्– ‘बहिनीलाई घर पठाएपछि त उनीहरूले ममाथि दुव्र्यवहार पो गरे । उनीहरूले ममाथि बलात्कारको प्रयास गरे तर तिनलाई लडाइदिएर भाग्न म सफल भएँ ।’

‘लिड रोल’ का निम्ति सङ्घर्ष

पुतलीसडकस्थित बाटुलेघरमा नृत्य सिक्दासिक्दै सिकाउन समेत थालेकी सुशीलाले कलाकारितामा जम्नका लागि ठूलै सङ्घर्ष गरेकी छन् । जतिसुकै कठिनाइ आए तापनि उनले कलाकारिता भने छाडिनन् । नृत्य र अभिनयलाई निरन्तरता दिइरहिन् । त्यसबेला उनले विनापारिश्रमिक नै नृत्य गरिरहिन् । प्रायः गीतको ‘साइड डान्स’ गर्नुपर्दा उनैलाई बोलाउन थालियो । हरेकजसो म्युजिक भिडियोमा नाच्न उनैलाई बोलाइन्थ्यो ।

दुई दशकअघि लोकगीतमा चलेका मोडल मानिन्थे प्रिया रिजाललगायतका केही मोडल । उनीहरूको पछि–पछि नाचिरहेकी सुशीलालाई स्क्रिनको अगाडि नै नाच्न मन लागेको थियो । तर, त्यो अवसर भने कसैले पनि दिएका थिएनन् । कुनै न कुनै दिन ‘लिड क्यारेक्टर’ बनेर अभिनय गर्ने मौका पाइछाड्ने आशामा उनले निरन्तर ‘कोरस डान्स’ नै गरिरहिन् ।

काठमाडौमा हुने गाईजात्रा, नयाँ वर्ष तथा अरु विभिन्न पर्वका बेला हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा समेत नाच्न थालेकी सुशीलालाई चर्चित भिडियो निर्देशक शिव विश्वकर्माले एउटा कमेडी गीतमा अवसर दिए । ‘प्रज्ञा भवनमा हुन लागेको सांस्कृतिक कार्यक्रममा एउटा कमेडी गीतमा नाच्नुपर्ने रहेछ । मुख्य कलाकारको खोजी गर्दैगर्दा शिव सरले अनुरोध गरेका धेरै कलाकारले भ्याउँदिन भनेछन् । चलेका सबै मोडल कमेडी गीतमा ननाच्ने भन्दै पन्छिएपछि उहाँले ‘नाच्छ्यौ त’ भनी मलाई सोध्नुभयो,’ विगतका अनुभूति सम्झँदै सुशीलाले भनिन्– ‘म पनि लिड रोलको खोजी गरिरहेकी थिएँ त्यसैले एकै बातमा ओके भनिदिएँ ।’

‘गायक निमा रुम्बाको ‘क्याट वाक’ बोलको गीत पनि मिसाइएको थियो त्यो कमेडी नृत्यमा,’ विगत सम्झेर सोमाञ्चित हुँदै बिम्लीले सुनाइन्– ‘त्यो गीतमा मैले मज्जाले नाचें; शिव सर आफैं पनि नाच्नुभएको थियो । मेरो त्यो नृत्यको धेरैले प्रशङ्सा गर्नुभयो । र, मेरा लागि त्यो गीत नै टर्निङ प्वाइन्ट बन्यो ।’

त्यो सांस्कृतिक कार्यक्रममा चलचित्र निर्देशक तुलसी घिमिरे, अभिनेतृ निरुता सिंहलगायत चलेका थुप्रै कलाकार सहभागी थिए । ती सबैलाई देखाउनकै लागि समेत बिम्लीले जोसिएर नाचिन् । उनमा आशा थियो– ‘कतै उनीहरूले मेरो यही नाच हेरेकै कारण फिल्ममा अवसर पो पाइन्छ कि !’

नभन्दै ‘कृष्ण फिल्मस्’ टिमले उनलाई चलचित्रको गीतमा नृत्य गर्ने अवसर यहींबाटै प्रदान ग¥यो । त्यसपछि धेरै गीत र टेलिसिरियलहरूको ‘लिड रोल’ मै अभिनय मौका उनले पाइन् ।