डाइट थेरापी: टेक्निक र फाइदा

डा. डीबी सुनुवार

खानापान भनेको बिहान–बेलुकाको ‘छाक टार्ने’ खाद्य पदार्थ मात्र बिल्कुल होइन । खानपान त जीवन चलाउने ऊर्जा अर्थात् शक्ति हो । त्यसैले खानपानको छनोट गर्दा निकै सावधानी अपनाउनुपर्छ; सचेत भएर तयार पार्नुपर्छ ।

निकै सचेत भएर तथा सावधानी अपनाएर खानपान गर्नु त अत्यावश्यक छँदै छ तर यसका तरिकाबारे भने धेरैलाई थाहा नहुन सक्छ । खानपान छनोट गर्ने विभिन्न टेक्निक हुन्छन् । यिनै टेक्निक तथा विधि अपनाएर खानपान छनोट गरी खाने प्रक्रियालाई ‘डाइट थेरापी’ भनिन्छ ।

क्रमशः बढ्दै गएको जागरण तथा शिक्षाको व्यापकताका कारण खानपान छनोट गर्ने र खाने सवालमा नागरिकहरू पछिल्लो समय निकै सचेत हुँदै गएको पाइन्छ । त्यसैकारण डाइट थेरापीको आवश्यकता र यसको महत्वबारे बहस–छलफल र चर्चा–परिचर्चा हुन थालेको छ ।

मोर्डन मेडिसिनमा डाइट थेरापीलाई उपचारात्मक विधिको एक विशेष अङ्गकै रूपमा समेत अपनाउन थालिएको पाइन्छ । थेरापिस्टहरूले रोगको प्रकृतिअनुसार डाइट थेरापी तथा न्युट्रिसनल थेरापीको प्लान गरिदिन्छन् । डाइट–तालिकाअनुसार खानपान गर्नाले रोगबाट छुटकरा पाउन सजिलो हुन्छ ।

प्राचीनकालदेखि नै डाइट थेरापी विधिको प्रयोग हुँदै आएको पाइन्छ । यसलाई पछिल्लो कालखण्डमा विभिन्न अध्ययन–अनुसन्धानका साथ र परिस्कृत गरेर वैज्ञानिकरूपले प्रयोग गरिन थालेको छ ।

जीवनशैलीजन्य प्रायः रोगहरू खानाको तजबिजीकै कारणले उब्जने हुँदा यसको सही व्यवस्थापन र प्रयोग आवश्यक छ । नियमबद्ध ढङ्गले जीवनशैली तथा खानपानशैली अपनाउनु स्वाथ्यका निम्ति निकै लाभदायक हुन्छ ।

डाइट थेरापी : विधि र उद्देश्य

डाइटरी थेरापीको आधारभूत उद्देश्य भनेको खानपानको मात्रा मिलाउनु हो । यसका थप उद्देश्यहरू चाहिँ शारीरिक क्रियाकलापलाई सहज बनाउनु, पाचन प्रक्रियालाई नियमित पार्नु, विशेष शारीरिक अवस्थालाई सहायता गर्नु, शारीरिक तौललाई सामान्य बनाउनु र अनावश्यक खानालाई नियन्त्रण गर्नु आदि हुन् ।

यसरी खानपानमार्फत नियमित पोषण–व्यवस्थापन गर्दा शारीरिक क्रियाकलाप सहज हुन गई शरीर–रचनालामै नै सकारात्मक प्रभाव पर्न थाल्दछ । यो प्रक्रियामा व्यवस्थित पोषणको मापन, खाने तरिका र समयले निकै ठूलो भूमिका खेल्दछ । योजनाबद्ध खानपानको अभ्यासले शारीरिक तथा मानसिक समस्या समाधानमा डाइट थेरापीबाट निकै ठूलो फाइदा लिन सकिन्छ । खानपानको असन्तुलनले धेरै प्रकारका कुपोषण, बढी तौलको समस्या र अन्य विभिन्न रोगहरू निम्तन्छन् । अध्ययनहरूले देखाएका छन् कि खाना कम भएर भन्दा खाना बढी खाएर मान्छेलाई रोगले बढी सताउने गरेको छ ।

भूगोल, वातावरण, हावापानी, संस्कार, संस्कृति, विकासको अवस्था, ‘हुनेखाने’ र ‘हुँदा खाने’ का बीचको विभेद आदि त संसारभरकै समस्या हुन् । धेरै वा थोरै मात्र हो, हरेक देश, समाज र समग्रमा विश्व नै कुनै न कुनै रूपले असन्तुलित अवस्थामै छ । अझ पछिल्लो समयमा त ग्लोबलाइजेसन, टेक्नोलेजीकल रिभोल्युसन, वातावरणीय/पर्यावरणीय असन्तुलन, ग्लोबल वार्मिडजस्ता विषयले सम्पूर्ण मानवजातिलाई नै जोखिममा पारिरहेकोे छ ।

आहारले मानव शरीरमा आधारभूतरूपले मूलतः दुईवटा कार्यहरू गर्न सक्दछ– एउटा, रोग लाग्नबाटै रोक्ने र अर्को, रोग लागेपछि उपचार गर्न सघाउने । धेरैजसो रोगहरूमा आहार–चिकित्सा वा शल्य–चिकित्साका माध्यमबाट बिरामीको उपचार गरिन्छ र प्रायः अवस्थामा यी दुई एक–अर्काका परिपूरक बन्दछन् । यतिसम्म कि बिरामीको निको हुने दर र आफू निको भएको बिरामीको आत्म–स्वीकृति समेत उसलाई तोकिएको आहारबाट निर्धारित हुन्छ ।

सबै चिकित्सीय आहारहरू सामान्य आहारकै परिमार्जित स्वरूपहरू हुन् । ती रोगको परिणामस्वरूप परिवर्तित आवश्यकता पूरा गर्न बनाइन्छन् । अतः उपचार र आहार थेरापी सँगसँगै गरिएमा बिरामीको रोग चाँडै निको हुन्छ ।

स–साना बालबालिका, वृद्ध–वृद्धा वा परिवारमा जो–कोही बिरामी हुँदा खुवाउनका लागि सामान्य आहारलाई समेत केही परिमार्जन गरिन्छ । परिमार्जित आहार–योजनाको एउटै उद्देश्य हुन्छ– उचित आहारको माध्यमबाट स्वस्थता कायम राख्ने वा पुनर्स्थापित गर्ने । यसखाले परिमार्जनहरू उमेर वा अस्वस्थताका कारण परिवर्तित आवश्यकतामा आधारित हुन्छन् ।

सामान्य दैनिक आहार सिफारिस गरिएको मात्राअनुसार योजना गरिएको हुन्छ । यो आहार योजना सबै स्वस्थ व्यक्तिहरूका आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो । त्यसैले यसबाट बिरामीको आवश्यकता पूरा नहुन सक्छ । जो–कसैको पोषणका आवश्यकताहरू उसको शारीरिक अवस्थितिमा निर्भर हुन्छ । डाइट–प्लानिङ गर्दा ख्याल गर्नुपर्ने आधारभूत कुरा नै यही हो ।

चिकित्सकीय आहारमा भने सामान्य व्यक्तिको आहारको आवश्यकताभन्दा बढी नै उद्देश्य पूरा गर्ने गरी योजना बनाइएको हुन्छ । कतिपय रोगहरूमा क्यालोरी घटाउनु (तौल घटाउने आहारमा) वा सोडियम (हृदयरोग) को खपतमा कमी ल्याउनु आवश्यक हुन्छ । यस्तो आहार सामान्यतया पोषणविद् वा शरीरको अन्तरिक संरचना, खानाको प्रकृति र रोग व्यवस्थापनबारे विस्तृत ज्ञान भएको विशेषज्ञद्वारा निर्धारित गरिन्छ ।

ज्वरो, कब्जियत, सीभीडी, झाडापखाला, मधुमेहजस्ता रोगहरू भने दैनिकरूपमा लिइएको सामान्य आहारलाई नै परिमार्जन गरेर नै नियन्त्रण गर्न सकिन्छ । डाइट थेरापीमा मानव शरीरमा विभिन्न कार्यात्मक गुणहरू भएका विभिन्न खाद्य पूरकहरूको प्रयोग समाविष्ट हुन्छन् । यस्ता आहारहरू कुपोषणको उपचारका लागि पनि प्रयोग गरिन्छन् । कुपोषण भनेको शरीरको त्यस्तो अवस्था हो, जहाँ आवश्यकताभन्दा बढी वा कम मात्रामा पोषक–तत्वहरू उपलब्ध हुन्छन् ।

डाइट थेरापी : आवश्यक अवस्था

कुपोषण हुँदा: शरीरका निम्ति आवश्यक पर्नेभन्दा निकै कम या निकै बढी पोषक तत्व उपलब्ध हुनु भनेकै कुपोषण हो । यस्तो अवस्थामा अतिरिक्त पोषक तत्व उपलब्ध गराएर न्यूनपाषणको समस्या समाधान गर्ने या अत्याधिक पोषणलाई सीमित गरेर नियन्त्रित गर्ने प्रयोजनमा डाइट थेरापी आवश्यक पर्दछ । त्यसैले भनिन्छ, असल पोषणले रोगहरूलाई रोक्दछ या लागिसकेका रोगहरूको असरलाई कम गराउन सक्दछ ।

न्युट्रिसन काउन्सिलिङ (पोषण–परामर्श) प्राप्त हुँदा: पोषण–परामर्श भनेको दुईतर्फी अन्तरक्रिया हो, जसको माध्यमबाट परामर्शदाताले बिरामीको पोषण स्थितिको मूल्याङ्कन गर्दछ । यस्तो परामर्शमा बिरामीको पोषण आवश्यकताहरू र लक्ष्यहरू पहिचान गरी ती लक्ष्यहरू पूरा गर्ने तरिकाहरूबारे छलफल गरिन्छ ।

पोषण परामर्शको उद्देश्य बिरामीलाई उसको स्वास्थ्य अवस्थाबारे महत्वपूर्ण जानकारी हासिल गर्न मद्दत गर्नु पनि हो; उसको पोषण आवश्यकताका साथै व्यवहार परिवर्तनका फाइदाहरूलाई सम्बोधन गर्न व्यावहारिकरूपमा ध्यान केन्द्रित गराउनु पनि हो । पोषण परामर्शदाताका रूपमा नर्स वा अन्य स्वास्थ्यकर्मी या स्वयम्सेवक हुन सक्दछन् ।

पोषण परामर्श भनेको केवल सिकाउने र सुन्ने प्रक्रिया मात्र होइन, बरु परामर्शदाता र परामर्शग्राही दुवैका बीचको समवेदनशील संयोजन समेत हो । प्रभावकारी परामर्शले महिनौ र वर्षौंको अभ्यासलाई निर्धारित गर्दछ र बिरामीको स्वास्थ्य अवस्थामा महत्वपूर्ण सुधारलाई सुनिश्चित गर्दछ ।

पोषण परामर्शमा मूल्याङ्न, व्याख्या, र शिक्षण गरी तीनवटा आधारभूत सिपहरूको आवश्यकता पर्दछ ।