स्याहारै नगरी ‘अपुताली’: यस्ता छन् पाउने मापदण्ड

होलिस्टिक संवाददाता

‘अपुताली’ । यो शब्द परापूर्वकालमा निकै नै चर्चित थियो । हिजो–आज प्रायः कमै मात्र सुनिने यो शब्दको महत्व र मर्म भने अझै पनि गम्भीर, चर्चायोग्य र सान्दर्भिक नै छ । खासमा कसले पाउँछ त कसले अपुताली ? अनि यो पाउने प्रक्रिया र मापदण्ड के–के हुन् ? के स्याहार–सुसार नै नगरी अपुताली पाइन्छ ? जिज्ञासा लाग्नु स्वाभाविकै हो ।

अपुतालीका सन्दर्भमा पनि नेपालमा प्रस्ट कानुनी व्यवस्था छ । कसले, कसरी र कुन अवस्थामा अपुताली पाउने भन्नेबारे कानुनले नै विभिन्न व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता (ऐन), २०७४ को परिच्छेद– ११ मा अपुतालीसम्बन्धी व्यवस्था छ । दफा २३७ मा ‘कुनै व्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिने छ’ भन्ने वाक्याङ्श उल्लेखिछ छ । ‘अपुताली’ अन्तर्गत मृतकको ऋण, धन र सम्पत्ति अर्थात् दायित्व र अधिकार दुवै हकवालामा सर्ने कानुनी व्यवस्था छ ।

अपुताली पाउने प्राथमिकतामा को–को ?

अपुताली खुला भएको खण्डमा नजिकको हकवालाले पाउने व्यवस्था ऐनको दफा २३८ ले गरेको छ । अपुताली त्यसै पाइँदैन, यो पाउनका लागि कानुनीरूपमै प्राथमिकता तोकिएको छ । र, ऐनको दफा २३९ मा अपुताली पाउने हकवालाको प्राथमिकताक्रम तोकिएको छ ।

दफा २३९ को (१) (क) अनुसार सगोलका पति वा पत्नी नै अपुताली पाउने हकवालाको पहिलो प्राथमिकता क्रममा पर्दछन् । (ख) अनुसार क्रमशः सगोलको छोरा, छोरी, विधवा बुहारी र (ग) अनुसार सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा–छोरीतर्फका नाति–नातिनी, नातिनी बुहारी अपुताली पाउने हकवालामा पर्दछन् ।

सोही दफाको (घ) अनुसार भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा सौतेनी आमा र (ङ) अनुसार भिन्न भएका छोरातर्फका नाति र नातिनी समेत अपुताली पाउने हकवालामा पर्दछन् । (च) अनुसार भिन्न भएका बाजे–बज्यै पनि अपुताली पाउने हकवालामा पर्दछन् भने (छ) अनुसार सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी हकवालामा पर्दछन् । (ज) मा सगोलका काका, काकी, भतिजा, भतिजी र (झ) अनुसार भिन्न भएका दाजु, भाइ, दिदी बहिनी, विधवा भाउजू वा भाइ बुहारी अपुताली पाउने हकवालामा पर्दछन् ।

अपुताली खुला हुँदाका बखत उपदफा (१) को प्राथमिकताक्रममा पहिलो प्राथमिकतामा रहेको व्यक्ति भएसम्म त्यसपछिको प्राथमिकताक्रममा रहेको व्यक्तिले अपुताली नपाउने व्यवस्था उपदफा (२) मा गरिएको छ । उपदफा (१) बमोजिम एउटै प्राथमिकताक्रमका एकभन्दा बढी हकवाला भएको खण्डमा सबैले समान रूपमा अपुताली पाउने व्यवस्था उपदफा (३) ले गरेको छ । उपदफा (३) बमोजिमको अपुताली पाउने प्राथमिकताक्रमको कुनै हकवालाले अपुताली लिन नचाहेको खण्डमा सोही क्रमका अन्य हकवालाले र त्यस्तो क्रममा कुनै हकवालाले पनि अपुताली लिन नचाहेमा त्यसपछिको क्रमको हकवालाले अपुताली पाउने व्यवस्था उपदफा (४) ले गरेको छ ।

हकवाला हुँदाहुँदै आफ्नो अङ्श लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा त्यस्तो व्यक्तिको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउने व्यवस्था ऐनको परिच्छेद– ११ अन्तर्गत दफा (२४०) मा उल्लेख छ । दफा (२४१) मा व्यवस्था भएअनुसार कुनै व्यक्तिलाई नजिकको हकवालाले स्याहार सम्भार नगरी टाढाको हकवालाले स्याहार–सम्भार गरेको रहेछ भने त्यस्तो व्यक्तिको अपुताली त्यसरी स्याहार–सम्भार गर्ने हकवालाले नै पाउँछ ।

सगोलको हकवालाले स्याहार–सम्भार नगरी कुनै व्यक्ति आफ्नो अङ्श लिई भिन्न बसेको हकवालासँग बस्न गएको अवस्थामा मृत्यु भएको खण्डमा निजको अपुताली त्यस्ता भिन्न भएका हकवालाले नै पाउने व्यवस्था दफा (२४२) को उपदफा (१) ले गरेको छ । कुनै व्यक्ति आफ्नो अङ्श केही नलिई केही दिनका लागि मात्र कुनै हकवालासँग बस्न गएको अवस्थामा निजको मृत्यु भएको खण्डमा भने त्यसरी पछि बस्न गएका हकवालाले अपुताली नपाउने व्यवस्था सोही दफाको उपदफा (२) ले गरेको छ ।

नस्याहारीकनै पाइन्छ त अपुताली ?

ऐनमा अपुताली पाउने हकवालाको प्राथमिकताक्रम तोकिए पनि दफा (२४३) मा भने मृतकको स्याहार नगर्नेले अपुताली नपाउने व्यवस्था गरिएको छ । दफा (२४३) मा भनिएको छ– ‘यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मृतकको स्याहार–सम्भार हकवालाले नगरी अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यसरी स्याहार–सम्भार गर्ने व्यक्तिले पाउने छ ।’

ऐनको दफा (२४४) मा कुनै पनि व्यक्तिलाई अपुताली स्वीकार गर्न कर नलाग्ने व्यवस्था छ । तर, सो विषयको जानकारी अपुताली परेको तीन वर्षभित्र सम्बन्धित जिल्ला अदालतलाई लिखितरूपमा दिनुपर्ने व्यवस्था छ ।

ऐनको दफा (२४५) मा भने अपुताली नपाउने व्यवस्थाबारे उल्लेख छ । सो दफामा भनिएको छ– ‘यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कसैले कुनै रिसिबी वा अपुताली पाउने बदनियतले कसैको ज्यान लिएमा वा लिन लगाएमा त्यसरी ज्यान लिने वा लिन लगाउने व्यक्ति र निजको हकवालाले मृतक वा निजको हकवालाको अपुताली पाउने छैन ।’