ओमिक्रोन भेरियन्ट: विशेषता, चरित्र र सतेतता

डा. शेरबहादुर पुन

हालसम्मको अध्ययनबाट प्राप्त जानकारी अनुसार कोरोनाभाइरसको ‘ओमिक्रोन भेरियन्ट’ सुरु हुनुभन्दा पहिले कोरोनाभाइरस शरीरबाहिर अर्थात् हावामा केही घन्टा मात्र सक्रिय रहने तथ्य पत्ता लागेको थियो । तर, पछिल्ला अध्ययनहरूको निष्कर्ष भने यो भेरियन्ट शरीरबाहिर अर्थात् हावामा २० मिनेटसम्म मात्रै अस्तित्ववान् रहन सक्छ भन्ने छ । बाहिरी वातावरणमा रहेको २० मिनेटपछि भने ओमिक्रोनको सङ्क्रामक क्षमता निकै कमजोर हुने पछिल्ला अध्ययनहरूको निष्कर्ष छ ।

यो तथ्यका आधारमा भन्न सकिन्छ कि ओमिक्रोन भेरियन्ट बाहिरी वातावरणमा फैलिएको औसत पाँच मिनेटसम्म एकदमै बढी सक्रिय रहन्छ र त्यसपछि क्रमशः यसको सङ्क्रामक क्षमता कमजोर हुँदै जान्छ । यसैकारण कोरोनाभाइरसका यसअघि देखिएका भेरियन्टको तुलनामा ओमिक्रोन भेरियन्ट निकै चाँडो निष्क्रिय हुने गरेको प्रारम्भिक अध्ययनहरूको निष्कर्ष हो ।

सामान्यतः सङ्क्रमण भएको तीन दिनसम्ममा ओमिक्रोनको लक्षण देखिने गरेको छ । लक्षण देखिनुभन्दा दुई दिन अघिदेखि लक्षण देखिएपछिको तीन दिनसम्म सङ्क्रमितबाट अरुमा सङ्क्रमण हुने क्षमता धेरै पाइएको छ । लक्षण देखिएको तीन दिनपछि भने सार्न सक्ने क्षमता क्रमशः कमजोर हुँदै जाने गरेको पाइन्छ ।

यसै आधारमा ओमिक्रोन पुष्टि भएपछि पाँच दिन आइसोलेशनमा बस्ने र त्यसपछि भने स्वास्थ्य मापदण्डहरूको पूर्ण पालना गरेर हिँडडुल गर्न तथा नियमित कामकाजमा फर्कने अभ्यास प्रचलनमा ल्याइएको छ । किनकि, ओमिक्रोन भेरियन्टको लक्षण पनि चाँडै देखिने गरेको छ र चाँडै फैलने गरेको छ अनि चाँडै नै निको पनि हुने गरेको छ ।

ओमिक्रोन भेरियन्ट घातकताका दृष्टिले समेत निकै कमजोर रहेको पाइन्छ । यद्यपि कम घातक देखियो भन्दैमा जनस्वास्थ्यका मापदण्डहरूको पालनामा बिल्कुल बेवास्त गर्नु हुँदैन; बरु नआत्तिइकन संयमता अपनाउनु र सतर्कता अपनाउनु अत्यावश्यक छ ।

अहिलेको स्थितिमा कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिनुपर्छ । विशेषतः पाको उमेरका र दीर्घरोग भएका नागरिकहरू खोप लगाउनबाट वञ्चित भएका या छुटेका छन् भने यसप्रति पटक्कै बेवास्ता गर्नु हुँदैन । खोप लगाइसकेपछि भने कोरोना सङ्क्रमणका कारण निम्तन सक्ने स्वास्थ्य जटिलताबाट धेरै हदसम्म बच्न सकिन्छ ।

ओमिक्रोनका सङ्क्रमितहरूमा शरीर दुख्ने, घाँटी दुख्ने, घाँटी खसखस गर्ने, खोकी लाग्ने, ज्वरो आउनेजस्ता लक्षण देखिने गरेका छन् । ‘डेल्टा भेरियन्ट’ को तुलनामा ओमिक्रोनको घातकता निकै कम देखिएको यथार्थता छ । ओमिक्रोन सङ्क्रमणका कारण मृत्युदर निकै कम नै देखिएको छ । तर, यो तीब्र गतिमा फैलने गरेको देखिन्छ । अतः ओमिक्रोन भेरियन्ट चाँडै फैलिएर छिटै नै उच्च विन्दुमा पुग्ने अनि चाँडै कम हुने देखिन्छ ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।