अभिनेतृ वसुन्धराको सङ्घर्ष
परिवारबाट ‘अपहेलित’, समाजबाट ‘तिरस्कृत’
केदार/शङ्कर/भोलावि.सं. २०१४ देखि नै बालकलाकारका रूपमा रङ्गमञ्च प्रवेश गरेकी पुरानो पुस्ताकी सर्वाधिक चर्चित अभिनेतृ वसुन्धरा भुसालले डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् । सयौं चलचित्र तथा दर्जनौ टेलिचलचित्रमा अभिनय गरेकी वसुन्धरा २०२१ सालमा ‘आमा’ चलचित्रमा अभिनय गरेर चलचित्र क्षेत्रमा हात हालेकी हुन् ।
चलचित्र ‘आमा’ बाटै अभिनेतृ वसुन्धरा नेपाली हास्यकलाजगत्कै पहिलो हास्यअभिनेतृका रूपमा समेत परिचित एवम् स्थापित भइन् । त्यसैले अभिनेतृ वसुन्धरालाई ‘कमेडी–क्वीन’ समेत भन्दा पनि फरक पर्दैन । त्यसपछि उनले नेपालमा बन्ने हरेकजसो चलचित्रमा अभिनय गर्ने मौका पाइन् । उनको अभिनययात्रा अहिले पनि चलिरहेकै छ ।
ऊ बेलाको समय । नेपालमा कलाकारहरूको सङ्ख्या निकै कम थियो । त्यसमाथि पनि झन् महिला कलाकारको सङ्ख्या त नगन्य नै थियो भन्दा पनि हुन्छ । अझ महिला हास्यकलाकार त झन् हुने कुरै भएन ।
वसुन्धराले ‘आमा’ चलचित्रमा अभिनय गरिन् हास्यकलाकारका रूपमा । त्यसपछि नै हो नेपालमा मूलतः हास्यकलाकार, त्यसमाथि पनि महिला हास्यकलाकारको उदय भएको । उनले २० वर्षसम्म राष्ट्रिय नाचघरमा नाचिन् र अभिनय गरिन् । उनी मुख्यतः लोकगीतमा नाच्थिन् ।
वि.सं. २००७ मा जन्मिएकी वसुन्धराले करिव ६ दशक लामो अभिनययात्रा बिताइसकिन् । यसबीच उनी आफूले बोल्ने विभिन्न थेगोका साथ समेत परिचित एवम् चर्चित भइन् । चलचित्र तथा टेलिचलचित्रमा उनले बोलेका अनेकौं थेगोका माध्यमबाट दर्शकले उनलाई बढी चिने । ‘ए राते’, ‘आच्चै’, ‘ए बाबै’, ‘भुन्टी’, ‘फुर्की’, ‘गौंथली’ जस्ता थेगो र उपनामका माध्यमबाट दर्शकले उनलाई चिने । कतिपयले त अझैसम्म पनि उनलाई यिनै उपनाम र थेगोबाट नै चिन्ने गरेका छन् ।
थालनी कला–यात्राको…
अभिनेतृ वसुन्धराले बाल्यकालमै छँदा २०१४ सालदेखि नाटकमा आबद्ध भएर अभिनययात्रा थालेकी हुन् । सोही वर्ष तत्काललीन ‘जनसेवा’ स्थित हलमा पहिलो पटक बाल प्रतियोगिता भएको थियो । ‘नेपाल कला केन्द्र’ बाट उक्त प्रतियोगिमा नृत्य प्रस्तुत गर्ने योजना बन्यो ।
वसुन्धराले सोही कला केन्द्रमा नृत्य सिकिरहेकी थिइन् । उनको नृत्य राम्रो भएकाले सो कला केन्द्रका तर्फबाट वसुन्धराकै नृत्य देखाइने भयो । सो बाल प्रतियोगितामा वसुन्धराले ‘हातै काट्यो बरै पालिसे चुराले, माया फाट्यो बरै गाउँघरको कुराले’ बोलको गीतमा नाचिन् ।
उनको नाच एकदमै राम्रो भयो । दर्शकले उनको तारिफ गरे । उक्त प्रतियोगितामा वसुन्धरा दोस्रो भइन् । उनलाई भने आफू पहिलो नै भएजस्तो लागेको थियो । पछि मात्रै उनले आफू दोस्रो भएको थाहा पाइन् । यो प्रतियोगितामा भाग लिँदा उनी सात वर्षकी मात्र थिइन् ।
त्यो समयमा अहिलेजस्तो हात–हातमा मोबाइल र रेडियो/क्यासेट तथा घरघरमा टिभी थिएनन् । जताततै गीत बज्ने र सुन्न पाइने अवस्था थिएन । रेकर्डिङ र म्युजिक ट्र्याकको त कल्पनैसम्म पनि थिएन । स्टेजमै उभिएर गायकले गाउँथे, वाद्यवादकले अनेकथरी बजा बजाउँथे । वसुन्धराले नाच्ने भइसकेपछि नेपालकै पहिलो अभिनेतृ भुवन चन्दले गीत गाइदिइन् ।
केटाहरूको समूह, एक्ली महिला
वि.सं. २०२१ देखि तीन वर्षसम्म वसुन्धराले प्रज्ञा प्रतिष्ठान (एकेडेमी) मा बालकृष्ण समसँग तीन वर्षसम्म नाटकको तालिम लिने अवसर पाइन् । नाटकसहित ‘अप्सनल’ मा के लिने भन्ने हुन्थ्यो । कसैले ‘नाटकपछि नृत्य’ त कसैले ‘नृत्यपछि नाटक’ रोज्थे र आफूलाई मन परेको विधामा काम गर्थे । वसुन्धराचाहिँ क्लासिक, भरत नाट्य र मणिपुरी डान्स छाडेर ‘भैलुङ’ सिकिन् । त्यो विधा सिक्ने क्रममा महिला साथी कोही पनि थिएनन् । बाह्रजना पुरुष मात्र भएको ठाउँमा वसुन्धरा एक्लै महिला थिइन्, त्यहीं उनले ‘भैलुङ’ बजाउन सिकिन् ।
ती कला सिक्ने क्रममा वसुन्धराले निकै मान्छेहरूका अनेकथरी भनाइ सुन्नुपर्यो; सहनुपर्यो । उनले ‘भैलुङ’ बजाउँदा ‘केटाहरूको ग्रुपमा बसेर के भैलुङ बजाउनु पर्या नि’ भन्दै धेरैले होच्याउँथे, हेप्टे र खिसीट्युरी गर्थे ।
वसुन्धराले भने आफूलाई मन लागेको कुरा गरिछाडिन् । त्यो विधा उनले तीन वर्षसम्म सिकिन् । त्यसपछि भने ‘भैलुङ’ बादनमा निरन्तरता दिन सकिनन् । ‘यस्ता बाजाहरू बजाउने कामलाई आजीवन निरन्तरता चाहिने रहेछ,’ होलिस्टिकसँग वसुन्धराले भनिन्– ‘छाडेपछि त केही पनि याद र सिप बाँकी नै नरहने; त्यत्रो वर्ष लगाएर बजाउन सिकें, अहिले त कठिन नै पो हुने रहेछ ।’
चलचित्रमा लाग्दाको त्यो जमाना
नेपाली भाषाको चलचित्र बन्न थालेको धेरै भएको छैन । वि.सं. २०२१ मा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘आमा’ मा अभिनय गर्ने अवसर पाइन् वसुन्धराले । नेपालकै पहिलो अभिनेतृ भुवन चन्दले यो चलचित्रमा अभिनय गरिन् ।
भुवन चन्द र वसुन्धरा भुसाल एक–अर्कालाई दिदी–बहिनी मान्छन् । ‘भुवन चन्दलाई म आफ्नै दिदी मान्थें, त्यसै बेलादेखि भुवनले पनि मलाई आफ्नै बहिनी मान्नुहुन्थ्यो,’ विगत सम्झँदै वसुन्धरा भन्छिन्– ‘हामीबीच रगतको नाता नभए तापनि त्योभन्दा गहिरो सम्बन्ध छ । हामी अत्यन्तै मिल्यौं त्यसै बेलादेखि नै ।’
वसुन्धरा एकेडेमीमा अभिनय र नृत्य सिक्थिन् । भुवन भने राष्ट्रिय नाचघरमा जागिरे थिइन् । एक दिन नाचघरबाट घर फर्कने बेला भुवनलाई भेट्न वसुन्धरा राष्ट्रिय नाचघर पसिन् । त्यसैबेला भुवनले वसुन्धरालाई भनिन्– ‘मेरो चलचित्रको सुटिङ छ, हेर्न जान्छेस् त ?’
भुवनको प्रस्ताव वसुन्धराले स्वीकारिन् । चलचित्रको सुटिङस्थलमा गए दुवैजना । चोभारमा ‘आमा’ को सुटिङ चलिरहेको थियो ।
‘गरौंला हामी सिर्जना अर्को’ गीतको सुटिङ भइरहेको थियो । अभिनेता शिवशङ्कर र भुवन चन्दले त्यसमा अभिनय गरे । वसुन्धरा भने सुटिङस्पट वरपर डुलिरहिन् । नेपालका पहिलो चलचित्र निर्देशक हिरासिंह खत्रीले ‘एक्सन, कट्…’ गरिरहेका थिए ।
त्यही मेसोमा निर्देशक खत्रीले वसुन्धरालाई सोधे– ‘तिमी पनि काम गछ्र्यौ त यो चलचित्रमा ?’ वसुन्धराले नाइँनास्ती गरिनन् । उनले जवाफ फर्काइन्– ‘काम दिनुहुन्छ भने गर्छु नि त !’
निर्देशक खत्री र अभिनेतृ भुसालबीचको यति नै शब्दका भरमा ‘आमा’ चलचित्रमा अभिनय गरिन् वसुन्धराले । सुरुमा उनलाई त्यस चलचित्रको गीतमा मात्र खेलाइयो ।
वसुन्धरालाई पनि गीतमा मात्रै राख्छन् होला भन्ने लागेको थियो । तर, उनको अभिनय राम्रो देखेपछि वसुन्धरालाई चलचित्रका अन्य दृश्यको सुटिङका निम्ति कलकत्ता पो बोलाइयो ।
‘आमा’ को सुटिङ युनिटमा वसुन्धरा कलकत्ता पुगिन् । चलचित्रमा अभिनय गरिन् । उनलाई यसमा ‘भुन्टी’ को भूमिकामा अभिनय गराइयो ।
‘आमा’ चलचित्र हलमा चलेपछि धेरैले वसुन्धरालाई ‘भुन्टी’ उपनामले नै चिन्न थाले । ‘आमा’ को अभिनयपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । सयौं चलचित्रमा अभिनय गर्ने मौका पाइन् उनले ।
कलाकारलाई हेर्ने खोटपूर्ण नजर
वसुन्धरा भुसालले नाटक र चलचित्रमा खेल्दाको त्यो समय । मान्छेले कलाकारहरूलाई हेर्ने दृष्टिकोण अहिलेको तुलनामा निकै नै फरक थियो । अभिनय गर्ने छोरा मान्छेलाई त ‘राम्रो’ मानिँदैनथ्यो भने झन् महिला कलाकारहरूको त के कुरा ! स्थिति कहालीलाग्दो थियो ।
उदीयमान महिला हास्यकलाकारका रूपमा उदाउँदी वसुन्धरालाई मान्छेले ‘राम्रो’ भन्ने, मान्ने र ठान्ने कुनै भएन । ‘डाक्टर, इन्जिनियर, शिक्षकजस्ता पेशामा लाग्ने/लागेका महिलालाई त समाजले ‘राम्रो’ भन्दैनथ्यो/मान्दैनथ्यो भने कलाकारलाई के राम्रो मान्थे र’, विगतका कहालीलाग्दा क्षण सम्झँदै वसुन्धराले सुनाइन्– ‘म त झन् महिला कलाकार, अझ हास्यकलाकार समेत ! मेराबारे अनेकथरी कुरा नकाट्ने त कुरै भएन नि !’
साँझतिर नाटक हुने । नाटक तथा नाच सकिँदा राति अबेर नै हुन्थ्यो । घर पुग्दा रातको सात–आठ बज्थ्यो । कहिलेकहीं त नौ नै बज्थ्यो । त्यसबेला अहिलेजस्तो ट्याक्सी हुँदैनथ्यो । सवारीका अरु साधन पनि पाइँदैनथ्यो । महिला कलाकारहरूलाई घर पुर्याउने साथी पुरुष कलाकारहरू नै हुने गर्थे । त्यसले गर्दा त झन् समाजले थप ‘मसला’ पाउँथ्यो ।
‘हेर ! फलाकी छोरी राति–राति हिँडेकी, अझ केटा फेरी–फेरी पो हिँड्छे त गाँठे…’ त्यसबेला छरछिमेकीहरूले भन्ने गरेका र आफूले बारम्बार सुन्नुपरेका यी वाक्याङ्शहरू वसुन्धरालाई अहिले पनि भर्खरै मात्र सुनेजस्तो लाग्छन् ।
तर, वसुन्धराले कसैका कुरा सुनिन् । बारम्बार सुनेर पनि नसुने झैं गरिरहिन् । आफ्नै लक्ष्यमा निरन्तर लागिरहिन् । यात्रा अगाडि बढाइरहिन् । त्यही धैर्यता, साहस, लगनशीलता र मेहनतको परिणामस्वरूप नै अहिले आफूले सफलता पाएको वसुन्धराको बुझाइ छ ।
परिवारबाटै यस्तो व्यवहार…
वसुन्धरालाई परिवारबाट पनि खासै ‘सपोर्ट’ भएन । आफ्नी छोरी नाच्न–गाउन हिँडेको कुरा आमा–बुबालाई नै मन परेन । छोरी नाटक खेल्न र नाच्न–गाउन हिँडी भनेर उनका बुबा रिसले आगो बन्थे । तर, पिटिहाल्नेसम्म चाहिँ गरेनन् । ‘तर, आमालेचाहिँ पिट्नुहुन्थ्यो’– कुराकानीका क्रममा वसुन्धराले छ दशकअघिका घटना झल्झल्ती सम्झिइन् ।
एक दिन भने बुबाले पनि सिस्नो–पानी छम्केको घटना समेत वसुन्धरालाई राम्रै याद छ । आफ्नै घरबाट अपहेलित र समाजबाट तिरस्कृत हुनुपरेको विगत बिर्सन सकिने कुरै भएन । ‘यो नाच्ने छोरी त बिग्रिई–बिग्रिई; के गर्नु र खै, एउटा अण्डा फुट्यो… भन्ने गरेको पनि बारम्बार सुनियो’– बुबा–आमाका वाणयुक्त शब्द सम्झँदै वसुन्धराले सुनाइन् ।
वसुन्धरालाई भने आफू संलग्न कलाकारिता क्षेत्र राम्रो हो भन्ने कुरा भित्री दिलदेखि नै लागिरहेकै थियो । आफू सहभागी नाटकहरूमा अरु दर्जनौ मान्छेहरू रिहर्सल गरिरहेकै हुन्थे । चलचित्रको सुटिङमा पनि पचास–साठी जनाको जमात हुन्थ्यो । ‘एकैचोटि त्यति धेरै मान्छे त कसरी ‘बिग्रिए’ होलान् र खै’– यस्तै लाग्थ्यो उनलाई ।
‘बुबा–आमाका कुरा सुनेर र व्यवहार देखेर म कहिल्यै आत्तिइँन । कता जाऊँ, के गरौं भनेजस्तो दोमन पनि गरिँन,’ वसुन्धराले सुनाइन्– ‘कहीं–कतै नगई यही क्षेत्रमा निरन्तर लागिरहें । कलाक्षेत्र कसरी ‘बिग्रन्छ’ र भन्ने मलाई लागिरह्यो । आफूलाई त स्वच्छ र स्वस्थ लाग्थ्यो नाट्यश्वरीले बास गरेको यो ठाउँ ।’
अभिनय यात्रा: अविष्मरणीय क्षण
राष्ट्रिय नाचघरमा ‘मसान’ नाटक मञ्चन भइरहेको थियो । वसुन्धरालाई करेन्ट लाग्यो । ‘त्यो नाटक जाडो याममा मञ्चन भएको थियो । दुहली हेलन दिदीका रूपमा भुवन चन्द दिदीले अभिनय गरिरहेकी थिइन्,’ उक्त क्षण सम्झँदै वसुन्धराले सुनाइन्– ‘सिद्धार्थराज जोशी र शुभद्रा अधिकारी पनि अभिनय गरिरहेका थिए । शुभद्राचाहिँ कान्छी दुलहीको भूमिकामा थिइन्, मैले भने वागमतीको भूमिका निभाइरहेकी थिएँ ।’
‘अभिनय गरिरहेकै बेला हिरो सिद्धान्तले वसुन्धरालाई ‘वागमती–वागमती, जा त दूध लिएर आइज’ भन्ने सिन थियो । मैले हिटरमा दूध तताएकी थिएँ । दूधको भाँडो समाउने हुँदा करेन्ट लाग्यो,’ त्यो क्षण सम्झँदै उनले भनिन्– ‘यस्तो अवस्थामा पनि नाटक मञ्चन भइरहेको थियो तर म भने बेहोस् भएँ र केही मान्छेले मलाई वीर अस्पताल पुयाइसकेका थिए । नाटक खेल्नेहरूले भने यो कुरा पत्तै पो पाएनछन् ।’
वसुन्धरा भुसालले सुत्केरी अवस्थामा पनि चलचित्र खेल्नु पर्यो । ‘मनको बाँध’ को सुटिङका बेला उनी १८ दिनकी सुत्केरी थिइन् । पहिलो सन्तानकी आमा बनेकी वसुन्धराले त्यो चलचित्रको ‘हे माया मनमा छ कि छैन’ बोलको गीतमा नाचिन् । पत्थरीले सताएका बेला समेत औषधि खाँदै काम गर्दै गरेको पनि उनले सुनाइन् ।
‘त्यसबेला पेट दुख्दा मान्छेहरूले गानो–गानो भन्ने गरेका थिए’, उनी सम्झन्छिन्– ‘तर, मेरो पित्तथैलीमा त २८ वटा स्टोन पो रहेछन् । यस्तो बेलामा पनि पेनकिलर खाएर मैले काम गरें । निर्देशकले पटक–पटक मलाई ‘यो बाँच्दिन होला, उसको यो त अन्तिम अवस्था हो, फेरि बौरेर त के आउलिस् र’ सम्म पनि भने ।’
त्यसबेला निर्देशक थिए, प्रकाश थापा । उनका हरेक चलचित्रमा अभिनय गर्ने अवसर पाएकी थिइन् वसुन्धराले । ‘सिन्दुर’ चलचित्रको सुटिङका बेला हो पत्थरीले उनलाई सताएको ।
पहिलो चलचित्र ‘आमा’ को सुटिङका बेला कलकत्तामा आफू बसेको कोठाको झ्यालबाटै भुवन चन्दको सामान हराएको क्षण उनी कहिल्यै बिर्सन सक्दिनन् । उनीहरू बसेको कोठाबाट अभिनेतृ भुवनको झोला हराएपछि तनाव झेल्नु परेको उनले सुनाइन् ।
कलाकारहरूको हकहितका लागि…
यतिबेला रङ्गकर्ममा मात्र लागेकी छैनन्, अभिनेतृवसुन्धरा । कलाकारहरूको हकहितका लागि समेत लडिरहेकी छन् उनी । सुरुआतदेखि नै ‘नेपाल कलाकार सङ्घ’ मा आबद्ध रहँदै आएकी छन् वसुन्धरा ।
कलाकार सङ्घ स्थापना हुँदा शान्ति मास्के अध्यक्ष थिइन् भने पहिलो महिला सदस्यमा मनोनीत भएकी थिइन् वसुन्धरा । महिला सदस्य भएर उनले पाँच वर्ष काम गरिन् । त्यसपछि उपाध्यक्ष हुँदै संस्था हाँक्ने अध्यक्षमै निर्वाचित भइन् उनी ।
बीस वर्षअघि स्थापना भएको चलचित्र विकास बोर्डको समेत सदस्यमा पनि चुनिएकी थिइन् वसुन्धरा । बोर्ड स्थापनाका बेला आफूलाई कसरी र कसले सदस्यमा सिफारिस गर्यो भन्ने उनलाई थाहै छैन । जसले, जसरी सिफारिस गरे तापनि औधी खुसी भएकी थिइन् वसुन्धरा ।
कलाकरहरूकै लागि भनेर चलचित्र विकास बोर्डमा वसुन्धराकै पहलमा ‘चलचित्र कल्याणकारी कोष’ स्थापना भयो । यो कोषबाट अशक्त–असहाय कलाकारहरूलाई आर्थिक सहयोग उपलब्ध हुने गरेको उनको भनाइ छ ।