‘पर्ख–पर्ख मायालु’ का स्रष्टाको सङ्गीतयात्रा
भोलानाथ अधिकारी
नेपाली गीत–सङ्गीतको क्षेत्रमा एउटा चर्चित नाम हो– दीपक शर्मा । केही वर्षयता बढी नै चर्चामा रहेका सङ्गीतकार एवम् गीतकार हुन् उनी ।
चलचित्र ‘मङ्गलम्’ का लागि उनकै रचना एवम् सङ्गीतमा तयार पारिएको गीत ‘पर्ख–पर्ख मायालु, म पनि त आउँला…’ ले उनलाई चर्चाको शिखरमै पुर्यायो । यो गीत चिया पसल र सैलुनदेखि ठूलठूला स्टार महलसम्ममा बजिरह्यो । यो गीत नसुन्ने नेपाली सायदै कमै होलान् ।
२०६० सालदेखि साङ्गीतिक यात्रामा अघि बढेका दीपकले दुई हजारभन्दा बढी गीतमा सङ्गीत भरिसकेका छन् । र, करिव त्यत्तिकै मात्रामा उनले कोरेका गीति–शब्द स्रोतामाझ पस्किइसकेका छन् ।
‘छक्का पञ्जा’ को ‘देख न चम्पा’, ‘छक्का पञ्जा– ३’ को ‘पहिलो नम्बरमा’, ‘सुन्तली हवल्दार’ को ‘तिम्रा डोला–डोला हातमा’, ‘किस्मत– २’ को ‘तिम्रो पिक्चर हिट’ आदि चलचित्रमा सर्वाधिक चलेका उनका गीत हुन् । आफ्ना गीत–सङ्गीतले स्रोता–दर्शकको मन जितेको देखेर दङ्ग छन् दीपक ।
उद्धवको सुझाव अस्वीकृत
‘काठमाडौं आउँदा निकै सङ्घर्ष गरेको थिएँ,’ होलिस्टिकसँग उनले भने– ‘त्यतिबेला म हार्मोनियम बोकेर चलचित्रका निर्माता–निर्देशकको घर–घरसम्म नै धाएँ । निकै वर्षअघि ‘गोपीकृष्ण’ हलका मालिक उद्धव पौडेललाई गीत सुनाउन बालाजुसम्म पुगें ।’
‘आफूले कम्पोज गरेका केही गीतहरू मैले उद्धव पौडेललाई सुनाएँ,’ विगत सम्झँदै दीपक भन्छन्– ‘उहाँले मलाई तिमी त सङ्गीतमा होइन, हिरोमा सुहाउँछौ; हिरो बन्न ट्राई गर भन्नुभएको थियो । तर, मलाई राम्रो गीतकार/सङ्गीतकार बन्न मन थियो त्यसैले हिरो बन्नेतिर ध्यान दिइँन ।’
चलचित्रका मात्र होइन, सयौं लोक÷आधुनिक गीतमा समेत उनले शब्द/सङ्गीत सिर्जना गरेका छन् । उनले आफैंमा केन्द्रित रहेर तयार पारेको ‘दारी फुल्यो बैंसैमा, चस्मा लाउँछौ पावर’ बोलको गीत समेत निकै हिट भयो । सो गीत अहिलेसम्म पनि स्रोता/दर्शकमाझ लोकप्रिय छ ।
उनका ‘पिरिम नलाउने’, ‘आँधीखोला उर्लेर’, ‘जिन्दगीकै सवाल हुन्छ’, ‘मलाई आफ्नो बनाएर’ जस्ता गीतहरू पनि स्रोता/दर्शकको मन–मुटुमा बस्न सफल भए । आफ्नो मेहनत र लगनशीलताको परिणामस्वरूप नै आफ्ना सयौं गीत हिट भएको उनको ठम्याइ छ ।
उनले सिर्जना गरेका विभिन्न गीत पूर्वदेखि पश्चिमसम्म र देश–विदेशका स्रोताले मात्र नभई सडकमा भाँडाकुडा साट्दै हिँड्ने व्यापारीहरू समेतले बजाउँदै हिँडिरहेको सुनिन्छ । यीमध्येको मुख्य गीत हो– ‘पर्ख–पर्ख मायालु…’ । यो गीत सिर्जना गर्दा आफूले निकै नै समय खर्चनुपरेको उनले सुनाए ।
सङ्घर्षका सुरुआती दिन
म्याग्दीबाट काठमाडौं आएका दीपकले २०६३ मा आफ्नो पहिलो लोक तथा दोहोरी गीत स्रोतामाझ ल्याए । त्यसबेला उनले आफ्नै सङ्गीतमा ‘ढल्के पीपल’ बोलको दोहोरी एल्बम सार्वजनिक गरेर आफूलाई सङ्गीतकारका रूपमा चिनाउन प्रयास गरे ।
यो एल्बमले सोचेअनुसार स्रोता कमाउन भने सकेन । ‘त्यो मेरो ट्रायल पिरियड थियो’, सङ्गीतकार दीपक भन्छन्– ‘त्यसैको शक्तिले नै आज मलाई सङ्गीतकारको आइडेन्टीटी दिलाएको छ ।’ यो गीत सार्वजनिक गर्दा उनी जम्माजम्मी एक्काईसवर्षे उमेर–यात्रामा थिए ।
दीपक शर्मा पछिल्लो समय केही म्युजिक भिडियोमा मोडल बनेर पनि देखिए । उनको अभिनय सङ्गीत क्षेत्रमा जत्तिको चर्चित त भएन तर उनको शोख भने पूरा गरिदियो । सानै उमेरदेखि अभिनय गर्ने रहर भए तापनि त्यो मौका नजुरेकाले केही म्युजिक भिडियोमा अभिनय गरेर चित्त बुझाएको उनले सुनाए ।
‘भाइरल हुनु नराम्रो होइन’
पछिल्लो समय सामजिक सञ्जालबाट चर्चामा आएकाहरूलाई गायक/गायिका बन्न अवसर दिइनुलाई नराम्रो ठान्दैनन् सङ्गीतकार दीपक । अहिले ‘भाइरल’ बन्न होडबाजी चलिरहनु पनि राम्रो प्रतिभाले स्रोता/दर्शकमाझ आउने मौका भएको उनको ठम्याइ छ ।
‘लुकेर रहेका प्रतिभाहरू गीत रेकर्ड गराएर स्रोतामाझ आउनु राम्रो हो’, उनी भन्छन्– ‘समय अनुसारका प्रविधिको विकास भइरहेको अहिलेको अवस्थामा ‘भाइरल’ प्रतिभाहरू अगाडि आउनु पनि राम्रै कुरा हो तर तिनले पनि राम्रोसँग सङ्गीत सिकेर आधारभूत ज्ञान हासिल गर्नु भने निकै जरुरी छ ।’
आफूले नयाँ/पुराना गायक/गायिकाहरूलाई स्टुडियोमा उभ्याएर गीत गाउन लगाएको उनको अनुभव छ । नयाँभन्दा पुराना गायक/गायिकाहरूलाई गाउन लगाउनु अलिक सजिलो हुने दीपकको भनाइ छ । ‘भाइरल’ गायक/गायिकामा सङ्गीतको नलेज भने निकै कम मात्र हुने गरेको अनुभव उनले सुनाए ।