फूलको पर्दा अर्थात् ‘बेगोनिया भिनिस्टा’

अनिता सुनुवार

‘बेगोनिया भिनिस्टा’ जाडो मौसममा फुल्ने निकै सुन्दर फूल हो । यो फूल जाडो मौसममा ढकमक्क फूल्ने भएकाले फूलका शौखिनको रोजाइमा पर्नेमध्येको लोकप्रिय फूल हो ।

‘बेगोनिया भिनिस्टाको बोटानिक नाम ‘प्यारोस्टेगिया भिनिस्टा’ हो । बेगोनिया भिनिस्टा लहरा गएर फूल्छ । यो फूल अरेन्ज कलरको हुन्छ । झट्ट हेर्दा यो फूल थुँगा आकारको देखिन्छ तर यो एउटै थुँगा नभई लाम्चो किसिमको खुर्सानी आकारका धेरै वटा फूल मिलेर यसको थुँगा बनेको हुन्छ । त्यसैले बेगोनिया भिनिस्टा ‘खुर्सानी फूल’ को नामले समेत चिनिन्छ ।

बेगोनिया भिनिस्टाको फूलको लम्बाई सामान्यतः छ सेन्टिमिटर हुन्छ । यस फूलको बिरुवा खासै महँगो हुँदैन । व्यावसायिकरूपमा उत्पादन गरिएका यसका बिरुवाको मूल्य काठमाडौं उपत्यकामा एक सय पचास रुपैयाँदेखि सुरु हुन्छ ।

लहरे पर्दा

बिरुवा सानै छँदादेखि फुल्न थाल्ने यो फूलको लहरा बढ्दै जान्छ र फूल पनि फुल्दै जान्छ । बेगोनिया भिनिस्टा लहरा गएर फूल्ने भएकाले यसलाई पर्खाल, भित्ता वा कुनै अग्लो स्थानसम्म लामो लहरा लगेर फुलाउन सकिन्छ । पर्खाल तथा अग्लो भागमा लहरा लगेर फुलाउँदा ढोकामा पर्दा लगाएजस्तै लत्रक्क झर्ने गरी ढकमक्क फुलाउन सकिन्छ । लत्रक्क झरेर फुलेको फूल कम मनमोहक देखिँदैन ।

बेगोनिया भिनिस्टालाई जमिनमा मात्र नभई गमलामा समेत रोपेर पनि फुलाउन सकिन्छ । तर, गमलामा लामो लहरा बनाउन भने कठिन हुने भएकाले यसलाई मूलतः जमिनमै रोपेर फुलाउनु उचित हुन्छ । जमिनमा रोप्दा निकै लामो–लामो लहरा जान सक्छ । कौसी, छत, रेलिङजस्ता ठाउँमा लहरा लगेर यसलाई फुलाउन सकिन्छ ।

जाडो मौसममा यो फूल फुलेका बेला ढकमक्क त देखिन्छ नै फूल नफुलेको समयमा समेत यसका हरिया पात लत्रक्क झर्ने भएकाले पर्दाजस्तो सुन्दर र आकर्षक देखिन्छ । नफुलेका बेला यसले धुलो छेक्न समेत मद्धत पु¥याउँछ । यसका पात र फूल दुवै आकर्षक देखिन्छन् । फूल फुलेपछि काटेर आकारप्रकार मिलाउन पनि सकिन्छ ।

यसको बोटले जमिनको धेरै भाग ओगट्दैन । जमिनमा रोपिएको बिरुवाको फेद जमिनमै रहे तापनि लहरा भने माथि–माथिसम्म जाने भएकाले जमिनमा चाहिँ ठाउँको बचत हुन्छ । घर तथा गार्डेन या पर्खाल तथा कम्पाउण्डमा यो फूल रोपेर सानै ठाउँमा पनि आकर्षक तरिकाले फुलाउन सकिन्छ ।

लहरा: २५ फिटभन्दा लामो

बेगोनिया भिनिस्टाको लहरा २५ फिटभन्दा लामो हुन सक्दछ । यसको बिरुवा रोपेको एक वर्षमै करिव १० मिटर लामो लहरा बन्दछ । घर तथा गार्डेना दुई–तीन बोट बेगोनिया भिनिस्टा रोप्ने हो भने घर वरिपरिको वातावरणलाई ढकमक्क तुल्याउन सकिन्छ ।

चिसो मौसमा पनि ढकमक्क फुल्न सक्नु यसको फरक विशेषता हो । चिसो मौसममा कमै मात्र फूल फुल्दछन् । यो फूल गर्मी ठाउँकोे तुलनामा काठमाडौं उपत्यकामा चाँडै फुल्दछ । काठमाडौं उपत्यकामा यो सामान्यतः कात्तिकदेखि चैतसम्म फुल्छ । यो फूल नेपालको तराई क्षेत्रमा कागमाडौं उपत्यकामा भन्दा पनि चाँडै फुल्छ ।

यो फूल फुलिसकेपछि समेत लामो समयसम्म टिक्छ । यसलाई धेरै चिसो ठाउँमा भन्दा केही न्यानो ठाउँमा रोप्नु नै उचित हुन्छ । हिमाली क्षेत्रमा भने चिसोका कारण यसको बिरुवा हुर्काउन सकिँदैन, चिसोले बिरुवा मर्छ ।

बलियो फूल

‘बेगोनिया भिनिस्टा’ फुलिसकेपछि यसका पात झर्ने भएकाले त्यही बेला काँटछाँट गर्नु उचित हुन्छ । यसको अर्को सबल पक्ष भनेको सितिमिति रोग नलाग्नु हो । यसमा सितिमिति रोग नै नलाग्ने भएकाले रोगको भय खासै हुँदैन । चिसो मौसममा केही रोग लागिहाले तापनि खासै ठूलो समस्या हुँदैन ।

यसका स–साना बिरुवामा धेरै मल हाल्नु हुँदैन । यसका स–साना बिरुवाले धेरै मल सहँदैनन् । यसलाई हुर्काउने क्रममा आवश्यकताअनुसार काटेर मिलाई बाँधजेल गर्नुपर्ने हुन्छ ।

यो फूल सुन्दर मात्र हुँदैन; यसका अनेकौं औषधीय गुण समेत छन् । उष्ण क्षेत्रलाई नै बेगोनिया भिनिस्टाको उद्गमक्षेत्र मानिन्छ । पानी नजम्ने क्षेत्रबाट नै यस फूलको विकास भएको मानिन्छ ।