चिसोमा अमलाको लाभ
डा. डीबी सुनुवारअमला नेपालको तराई र पहाडमा पर्याप्त पाइने अति नै गुनिलो फल हो । यो फल हिमाली भेगमा पनि पाइन्छ । यसको वैज्ञानिक नाम ‘फिलान्थ्स इम्लिका लिन’ हो ।
अमला ‘इर्फोमियासी’ वनस्पति परिवारमा पर्छ । यसलाई अङ्ग्रेजीमा ‘इम्बेलिक माइरोबोलन’ वा ‘इन्डियन गुजिबेरी’ का नामले चिनिन्छ । झट्ट हेर्दा पात, फूल र फल सिपालु कलाकारले बनाएजस्तो देखिन्छ ।
अमला तराईको घना जङ्गल र पहाडको तल्लो भाग (करिव १५० देखि १४०० मिटरसम्मको उचाई) मा पाइन्छ । यो प्रायः घमाइलो ठाउँमा पाइन्छ । यो तराईको पतझर सुन्दर रुख र बुट्टेदार सुन्दर पात भएको वनस्पति हो ।
अमलाको पात हरियो हुन्छ, फूल तथा फल वासनादार हुन्छ । यसका रुख, पात, फूल र फल हुन्छन् । यो देख्दै अत्यन्त सुन्दर हुन्छ । हेर्दा अमला जति सुन्दर देखिन्छ, यसको सेवन पनि त्यत्तिकै गुणकारी र लाभदाय छ ।
गोलाकार चिल्लो अमलाको रसिलो दाना र दानाभित्र गुदी हुन्छ । अमलाको फल सुरुमा हरियो रङ्गको भए पनि पाक्दै जाने क्रममा हल्का पहेंलो हुँदै जान्छ । यस फलको व्यास सामान्यतया दुई सेन्टीमिटर हुन्छ ।
हाइव्रिड प्रकारको फल भने केही ठूलो आकारको हुन्छ । आजकल हाइब्रिड गरिएका अमला भने गमलामै स–साना बोटमा आकर्षक ढङ्गबाट सजाएर फलाउन सकिन्छ । घर–आँगनमा नै फलाएर आर्कष बनाउन सकिन्छ । उन्नत जातको अमलाको फल जङ्गली अमलाभन्दा तीनदेखि चार गुणा ठूलो हुन्छ ।
धेरै समय पहिलेदेखि नै वनस्पतिको संसारमा अमलालाई जीव–प्राणीका निम्ति अति नै गुनिलो फलका रूपमा चिनिएको छ । विशेषतः भिटामिन ‘सी’ को मुख्य स्रोतका रूपमा धेरै प्रकारका औषधिमा यसको प्रयोग प्रयोग हुन्छ ।
हिजोआज भिटामिन ‘सी’ को कमीले धेरै थरीका स्वास्थ्य समस्या हुने गरेको देखिन्छ । यस्तो अवस्थामा अमलाको महत्व झनै बढिरहेको छ । विशेषगरी हड्डी कमजोर हुने समस्याले धेरैलाई सताउने गरेको पाइन्छ । यस्तो समस्या समाधानका लागि अमला अति नै उपयोगी हुन्छ ।
अमलाको फल खाना पचाउन सहयोगी हुन्छ । रक्तअल्पता र कमलपित्तजस्ता समस्या समाधानका लागि अमला अति नै लाभदायक हुन्छ । कब्जियत र कलेजोको समस्या समाधानका लागि समेत यो निकै उपयोगी छ । पायल्स, फिसर, पिस्टुला हुन नदिन र भइहालेको अवस्थामा निको पार्न समेत अमला लाभदायक छ । आउँ र झाडापखाला हुँदा तथा प्याङ्क्रियाज सुन्निँदा समेत अमलाको प्रयोग गुणकारी हुन्छ । आँखाको समस्या र मोटोपन समाधान गर्न तथा मधुमेहका लागि समेत अमला गुनिलो औषधि हो ।
कपाल कालो र बलियो बनाउन पनि अमला प्रयोग गर्न सकिन्छ । विभिन्न प्रकारका रङ्ग र इसेन्सियल आयल एवम् एक्स्ट्राक्ट बनाएर पनि अमलालाई आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।
अमला चिसो मौसममा रुघा–खोकीको राम्रो औषधिका रूपमा पनि चिनिन्छ । चिसो मौसम सुरु भएपछि पाक्ने अमलाको फल नियमित सेवन गर्नाले रुघा–खोकी लाग्नबाट बच्न सकिन्छ । रगत सफा गर्ने कामका लागि पनि अमला निकै लाभदायक छ । दुखाइ कम गर्नका निम्ति समेत यो फल उत्तिकै महत्वपूर्ण छ ।
अमलामा ट्यानिन, पोलिफेनोल र भिटामिन ‘सी’ जस्ता तत्वहरू प्रसस्त पाइन्छन् । यसमा रहेका अग्र्यानिक एवम् रासायनिक तत्वका कारण अमला जीवजन्तुदेखि मानव शरीरका विभिन्न समस्या समाधानमा धेरै नै लाभदायक रहेको विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन् ।
एउटा वयस्क अमलाको रुखमा वर्षमा करिव एक सय किलो फल फल्दछ । पाँच दाना सुन्तला र एक दाना अमलाबाट प्राप्त हुने भिटामिन बराबर हुने तथ्य अध्ययनहरूले देखाएका छन् ।
अमलाको फल त गुनिलो छ नै, यसको रुखको सितलतामा बस्दा समेत कतिपय स्वास्थ्य समस्या समाधान हुने मान्यता जनमानसमा कायम छ ।
अमलाको दानामा सामान्यतः छ वटा धर्सा हुन्छन् । यसको गुदीभित्र पाटैपाटा भएको बिऊको दाना हुन्छ । कडा आवरणले छोपिएको अमला फलको भित्री भागमा छ वटा बिऊ हुन्छन् । पोटिलो, झरिलो, रसिलो अमलालाई हाई कोलेस्टेरोल, ब्लड लिपिड, हार्ट बर्न, डाइरिया, नाउसिया र क्यान्सरजस्ता समस्यामा विशेषरूपले औषधीय प्रयोग गरिन्छ । हार्ट वर्नका लागि दिनको दुई ग्राम अमलाको एक्स्ट्राक्ट एक महिना सेवन गर्दा समस्या समाधान हुने कुरा अध्ययनले देखाएको छ । अमलाको एक ग्राम एक्स्ट्राक्ट छ महिना नियमित सेवन गर्दा हाडजोर्नी तथा घुँडा दुख्ने समस्या निकै कम भएको पनि अध्ययनले देखाएको छ ।
अमलालाई ताजा फलको रूपमा त्यत्तिकै मुखमा च्युसेर वा चपाएर खान सकिन्छ । यसलाई सुकाएर सुकुटी बनाएर पनि खान सकिन्छ । अमलालाई सुकाएर क्याण्डी बनाउन सकिन्छ । यसलाई अचार वा मुरब्बाका रूपमा पनि प्रयोग गर्न सकिन्छ; जुस बनाएर पनि यसको उपयोग गर्ने गरिएको पाइन्छ भने पाउडर, क्याप्सुल या ट्याब्लेट बनाएर समेत प्रयोग गरिन्छ ।
विभिन्न समयमा गरिएका अध्ययन–अनुसन्धानले अमला अति नै हितकारी वनस्पति जडीबुटीका रूपमा पुष्टि भएको छ । आफूले चाहे जसरी प्रयोग गर्न सकिने बहुगुणी अमलालाई सबैले प्रयोग गरौं ! शारीरिक रूपले स्वस्थ बनौ !! मानसिकरूपले खुसी रहौं !!