स्वप्न–स्खलनको स्मरण

प्रा.डा. दिनेश बाँस्तोला

जो–कोहीलाई पहिलो पटक स्वप्न–स्खलन हुँदा नौलो लाग्नु स्वाभाविकै हो । पहिलो पटक जनेन्द्रीयबाट राति स्खलन हुँदा स्वाभाविकरूपले कौतुहलता हुन्छ नै । यौवनावस्थामा प्रवेश गर्दै गइरहेको किशोर उमेरमा पहिलो पटक हुने स्वप्न–स्खलनका कारण किशोरको मन अस्थिर हुन्छ र उदासिनता समेत ल्याउँछ ।

यो उमेरमा शरीरका कतिपय अङ्गले के काम गर्दछन् भन्ने नै थाहा हुँदैन । किशोरावस्थामा हुने प्रकृतिजन्य लाज तथा डरका कारण यौनका प्रसङ्ग अरुसँग शेयर गर्न असहज हुन्छ । यसकारण यौन शिक्षा समेत पुग्दैन, जबकि यौन शिक्षा आवश्यक पर्ने उमेर नै यही हो । स्वप्न–स्खलनका विषयमा अभिभावकलाई भन्न पनि मुस्किल हुन्छ । त्यसकारण किशोरकिशोरीहरू स्वप्न–स्खलनका विषयमा खुल्न सक्दैनन् ।

पुरुषहरूमा सामान्यतः बाह्र वर्ष उमेर पूरा भएपछि स्वप्न–स्खलन हुने गर्छ । तर, महिलामा भने दस वर्षको उमेरमा नै स्वप्न–स्खलन हुने गर्छ । पुरुष र महिलामा हर्मनलगायतका तत्वहरूको उतारचढाव फरक–फरकरूपमा हुन्छ । त्यसैले महिलाको तुलनामा पुरुषमा स्वप्न–स्खलन ढिलो सुरु हुने कुरालाई सामान्यरूपमा नै लिइन्छ ।

नौलो क्षण

मस्त निद्रामा भएका बेला स्वप्न–स्खलन हुन्छ । स्वप्न–स्खलनका कारण बीर्य निष्काशित हुँदा कपडामा समेत लाग्दछ । यौन शिक्षाको अभावका कारण किशोरावस्थाका व्यक्तिहरू पहिलो पटक स्वप्न–स्खलन हुँदा अचम्ममा पर्न सक्दछन् ।

पहिलो पटक कामोत्तेजना तथा स्वप्न–स्खलन हुँदाको क्षण अविस्मरणीय नै हुन्छ । यस्तो क्षण सम्झँदा पछि–पछिसम्म पनि अनौठो अनुभूति भइरहनु स्वाभाविकै हो । त्यो सम्झँदा आनन्दानुभूति पनि हुन्छ । तर, स्वप्न–स्खलन हुनुअघिदेखि नै हस्तमैथुनलगायतका यौनजन्य गतिविधि गरेकाहरूमा भने पहिलो पटकको स्वप्न–स्खलनको क्षण नौलो र अनौठो नलाग्न पनि सक्दछ । यस्ता व्यक्तिहरूलाई भने स्वप्न–स्खलनको सम्झना भोलिपल्टसम्म पनि नहुन समेत सक्दछ ।

राति स्वप्न–स्खलन भएपछि हस्तमैथुनका लागि उत्प्रेरणा हुन्छ । यसले मानिसलाई हस्तमैथुनतर्फ आकर्षित गर्न सक्दछ । हस्तमैथुन गर्ने बानी परेको खण्डमा यौन जोडीप्रतिको आकर्षण समेत बढ्न जान्छ । हुन त किशोरावस्थामा विपरीतलिङ्गी यौनजोडीसँग आकर्षित हुनु अनौठो कुरा होइन । यस्तो अवस्थामा समलिङ्गीसँग यौनाकर्षण भएमा भने समस्या उत्पन्न हुन सक्दछ । त्यसैले किशारावस्थाका छोराछोरीको आनाीबानी र व्यवहारप्रति अभिभावकले ध्यान दिनुपर्छ । यस्तो उमेरमा अभिभावकबाट उनीहरूलाई यौन शिक्षाको आवश्यकता पर्छ । यथोचित यौनशिक्षा प्राप्त गरेका किशोरकिशोरीलाई यौनजन्य गलत क्रियाकलापबाट बच्न मद्धत मिल्छ ।

स्वप्न–स्खलनले सिर्जना गरेको उन्मादका बेला यौन उत्तेजनाका कारण किशोरकिशोरीहरू असंयमित हुन पुग्ने खतरा हुन सक्छ । उनीहरूमा जिद्धिपन पनि बढ्न सक्छ । यस्तो अवस्थामा किशोर–किशोरी स्वसंयमित हुनु आवश्यक हुन्छ ।

स्वप्न–संसार

पहिलो पटक स्वप्न–स्खलन भइसकेपछि भने किशोर–किशोरीले त्यसलाई क्रमशः सामान्यरूपमा लिँदै जान्छन् । बरु त्यसपछि यौन क्रियाकलाप गरेर यौनानन्दानुभूति लिन्छन् । पहिलो पटक स्वप्न–स्खलन भएपछि कुनै व्यक्ति (यौनजोडी) सँग यौन सम्पर्क गरेको कल्पनामा डुबी कल्पनाकै यौन–तृप्तिमा यौनान्दानुभूति लिन सक्छ । यो कल्पनाको यौनजन्य संसार पनि अविस्मरणीय नै हुन्छ ।

यौनजन्य कल्पना तथा कामोत्तेजनाको सपनाको संसारमा डुबेको अवस्थामा कामोत्तेजना बढ्नुका साथै यौनचाहना पनि बढ्छ । यसले गर्दा समेत स्वप्न–स्खलन भई यौनानन्दानुभूति मिल्न सक्दछ । पहिलो पटकको स्वप्न–स्खलनको संसार निकै अविस्मरणीय र फरक हुन्छ ।