सगरमाथामाथि उडने ‘खोयाहाँस’
कृष्णप्रसाद भुसालउड्नु चराहरूको विशेषता हो । यही विशेषताबाट मोहित र प्रभावित भएर नै मानव समाजले पनि उडान भर्न सक्ने प्रविधि र यन्त्रहरूको विकास गर्यो । त्यही विकासका कारण आज मान्छेहरू पनि चराजस्तै गरी आकाशमा उड्न सक्ने भएका छन् । यद्यपि आज आकाशमा मान्छेले नियमित र लामो दूरीको उडान, उडानका बेला बाटो पहिल्याउने तरिका र उच्च प्रविधि, गन्तव्यको पूर्वजानकारी पाउने माध्यम आदि क्षेत्रमा निकै ठूलो, स्पष्ट र तथ्यमा आधारित विकास गरिसकेको छ तर चराहरूका यी व्यवहार भने रोचकतापूर्ण रहस्यको गर्भभित्रै लुकेका छन् ।
चराहरूले हरेक वर्ष आफ्नो प्रजनन क्षेत्रबाट चरन क्षेत्रसम्म नियमितरूपमा गर्ने यात्रालाई चराको बसाइँसराइ भनिन्छ । अनकूल मौसम, सुरक्षित वासस्थान, चरन र प्रजननका लागि चराहरू एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशसम्ममा बसाइँ सरी आउने–जाने गर्दछन् । विश्वमा पाइँने चराका एघार हजारभन्दा बढी प्रजातिमध्येका करिव चालीस प्रतिशतले ऋतुअनुसार नियमितरूपमा एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गरिरहन्छन् । बसाइँसराइ गर्ने चराहरूले आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा ताराहरूको अवस्थिति, नदी, भौगोलिक श्रृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गरेको विश्वास गरिन्छ । चराहरूलाई बसाइँसराइका लागि उत्प्रेरित गराउन र मार्गदर्शन गर्न वङ्शाणुगत गुणहरूले सघाउने ठानिन्छ । उनीहरूका ती गुण चराका वङ्शजमा स्थानान्तरित हुँदै जान्छन् भन्ने मानिन्छ । बसाइँसराइका बेला चराहरूले प्रयोग गर्ने बाटोलाई उडान मार्ग (फ्लाई वे) भनिन्छ । विश्वमा चराहरूका यस्ता नौ वटा उडान मार्ग पहिचान गरिएका छन् । नेपाल भने यीमध्येको मध्य–एशियाली उडान मार्गमा अवस्थित छ । रोचक त के छ भने चराहरूले बसाइँसराइ गर्ने बेला तिनै निश्चित उडान मार्ग भएर मात्रै आवत–जावत गर्दछन् ।
यसरी बसाइँसराइ गर्ने चराहरूमध्येका केही प्रजातिको यात्रा अकल्पनीय र चामत्कारिक हुन्छ । परेवाजत्रो शरीर हुने ‘आर्कटिक टर्न’ नामक चरा संसारकै सबैभन्दा लामो दूरीको यात्रा तय गर्ने प्राणी हो । यो चराले हरेक वर्ष करिव ९० हजार किलोमिटरको दूरी पार गर्दै उत्तरी ध्रुवबाट दक्षिणी धु्रवसम्म बसाँइसराइ गर्दछ । करिव ३० वर्ष आयु हुने यो चराले आफ्नो जीवनकालमा चार पटकसम्म चन्द्रमामा ओहोरदोहोर गर्ने दूरी पार गर्दछ ।
‘गे्रट स्नाइप’ भनिने ‘चाहा’ प्रजातिको चराले प्रतिघन्टा ९७ किलोमिटरको गतिमा अविच्छिन्नरूपमा ६ हजार ८ सय किलोमिटरको दूरी पार गर्दछ । यो सबैभन्दा तीव्र गतिमा लामो दूरी पार गर्ने चरा हो । नौ दिनसम्म खाना र आरामविना लगातार उडेर ११ हजार किलोमिटरको दूरी पार गर्ने चरा हो– ‘बार टेल गुडविट’ । अत्यन्तै चिसो र निकै कम अक्सिजन हुने हिमालय क्षेत्रभन्दा माथिबाट उड्ने चरा हो– ‘खोयाहाँस’ । करिव ९ हजार ३ सय ५७ मिटरको उचाईबाट सगरमाथा पार गरी बसाइँसराइ गरेर नेपाल आउने खोयाहाँस संसारकै सबैभन्दा बढी उचाइमा उड्ने चराहरूमध्येमा पर्दछ ।
रुस, मङ्गोलिया र चीनका सिमसार क्षेत्रमा प्रजनन गर्ने खोयाहाँस हिउँद यामको अत्यधिक चिसो र भारी हिमपात छल्न बसाइँ सरेर नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल–तलैया र नदी आसपासको क्षेत्रमा आउँदछ । यसले नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत र पाकिस्तानसम्मको यात्रा समेत तय गर्दछ । जाडो याममा उत्तरी गोलाद्र्धबाट १ सय ५० भन्दा बढी प्रजातिका चराहरू बसाइँसराइ गरी नेपाल भित्रन्छन् । हिमालहरूको बीचमा पर्ने होचा खोंचहरूबाट ती चरा नेपाल प्रवेश गर्दछन् । अरुभन्दा पृथक खोयाहाँसले भने सिधै हिमाल नाघ्दै अत्यन्त जोखिमपूर्ण र साहसिक एवम् रोचक यात्रा तय गर्दछ ।
हावाको गति प्रतिघन्टा ३ सय २२ किलोमिटरभन्दा बढी हुने सो उचाइमा हेलिकप्टर समेत उड्न सक्दैन । अक्सिजन अत्यन्तै कम हुने सो उचाइमा मट्टितेलमा आगो समेत बल्दैन । न्यून तापक्रम हुने त्यस ठाउँमा मासु यत्तिकै जम्छ भने खोयाहाँसले चाहिँ हिमाल पार गर्न कसरी सकेको होला !
हिमाल पार गर्नुपूर्व खोयाहाँसले निकै लामो दूरीको यात्रा तय गर्छ, जसका कारण उसको शरीरमा ताप पैदा हुन्छ र ठूला प्वाँखभित्र हुने मसिना भुवादार प्वाँख (डाउन फिदर) ले तातोपन कायम राखिराख्दछन् । यही तातोपनका उसको शरीरमा कारण हिउँ जम्न पाउँदैन । आजभोलि मान्छेहरूले समेत चिसोबाट बच्न यसै चराको ‘डाउन फिदर’ बाट ज्याकेट बनाउन थालेका छन् ।
खोयाहाँसको रगतमा हुने हेमोग्लोबिन विशिष्ट प्रकारको हुने वैज्ञानिकहरू बताउँछन् । कम मात्रामा उपलब्ध अक्सिजनलाई पनि यसले सजिलै र छिटै सोस्न सक्दछ, त्यसैकारण नै खोयाहाँस कम अक्सिजन भएको क्षेत्रमा उड्न सकेको हो । हावाको बहावभन्दा प्रतिकूल दिशामा समेत उड्न सक्ने यो चराले ८० किलोमिटर प्रतिघन्टाको गतिमा एक दिनमा १६ सय किलोमिटरभन्दा बढ्ता दूरी पार गर्न सक्दछ । करिव २० वर्ष आयु र तीन किलोग्रामसम्म तौल हुने खोयाहाँसको सङ्ख्या विश्वमा ५२ देखि ६० हजारको हाराहारी रहेको अनुमान छ । समूहमा बस्ने र प्रजनन गर्ने यी चराहरू बसाइँसराइका बेला पनि समूहमै उड्दछन् ।
हिमाल नाघी नेपाल आउने यी आगन्तुक÷पाहुना खोयाहाँसको हिउँद बिताउने मुख्य आश्रयस्थल भने कोशी, नारायणी, कर्णाली नदी र यिनका सहायक नदीहरू हुन् । नदीमा जलप्रवाहसँगै पौडँदै गरेको यिनको चर्तिकला मनमोहक देखिन्छ । असोज–कात्तिक महिनादेखि नेपाल आउने खोयाहाँस वैशाख–जेठदेखि भने आफ्नै क्षेत्रमा फर्किइसक्छन् ।
आजीवन जोडी बाध्ने खोयाहाँसका भाले र पोथी दुवैले ओथारो बस्ने र बच्चा हुर्काउने काम सँगसँगै गर्दछन् । यिनीहरूको परिवारमा हुने माया, सद्भाव, अनुशासन र जिम्मेवारीबोध साँच्चै नै लोभलाग्दो हुन्छ । यी चराहरूले बसाइँसराइका बेला पनि आफ्नो समूहमा रहेका बच्चा र अशक्तको ख्याल गर्दै उड्छन् । अङ्ग्रेजी अक्षर ‘भी’ आकार बनाएर उड्ने यी चराको नेतृत्व पाको र अनुभवी चराले गरेको हुन्छ । एकापसबीच सञ्चारका लागि आवाज निकाल्दै यिनीहरू उड्दछन् ।
उत्तरी भूगोलबाट नेपाल र नेपालको बाटो हुँदै दक्षिणतर्फ बसाइँसराइ गर्ने खोयाहाँसजस्ता चराहरूले जैविकरूपमा विभिन्न देशहरूलाई एकापसमा जोडेका छन् । हेर्दा आकर्षक देखिने र रोचक यात्रा तय गर्ने यी चराहरूलाई हेर्न थुप्रै स्वेदेशी तथा विदेशी चराप्रेमीहरू लालयित हुन्छन्, जसले पर्यापर्यटनमा समेत टेवा पुर्याउँदछ । हिमश्रृङ्खलालाई पृष्ठभूमि पारेर उडिरहेका यी चराको झुण्डको माला आकारको फोटो मनमोहक देखिन्छ । निकै बढी उचाई र अत्यन्तै कम अक्सिजनमा पनि उड्न सक्ने यी चराको विशेषताबारे वैज्ञानिक अनुसन्धानबाट मानिसमा हुने स्वास–प्रश्वाससम्बन्धी रोगको औषधि बाउन सकिने विज्ञहरूको भनाइ छ । सिमसार क्षेत्रको गुणस्तरको सूचकका रूपमा समेत हेरिने यो चराको पारिस्थितिकीय महत्व अतुलनीय छ ।
सिमसार क्षेत्रको सङ्कुचन तथा विनास, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध शिकारजस्ता कारणहरूले गर्दा खोयाहाँसहरू यसरी बसाइँ सरी नेपाल आउने क्रम समेत सङ्कटमा पर्दै गएको छ । उडान मार्गमा हुने अवरोध र जलवायु परिवर्तनजस्ता कारणहरूले पनि चराको आवागमनमा बाधा पुर्याएको छ ।
बसाइँसराइ गरी आउने यी चराहरू लामो दूरीको यात्राका कारण थकित हुने तथा आश्रयस्थल नयाँ हुने हुँदा प्राकृतिक एवम् मानवीय शिकारको जोखिम अत्याधिक हुन्छ । मानवीय गतिविधिका कारण खोयाहाँसले सङ्कट झेलिरहेकाले यिनको संरक्षण गर्न र वासस्थान जोगाउन हामीले हातेमालो र जिम्मेवारीबोध गर्नुपर्ने आवश्यकता छ । यी चराहरूले विभिन्न भूगोलमा छरिएर बसेका मानिस, यहाँका विविध पारिस्थितिकीय प्रणाली र छरिएर रहेका राष्ट्रहरूलाई आफ्नो यात्राले जोडेका छन् । त्यसैले यिनको संरक्षणमा स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीको आवश्यकता छ । बदलिँदो जलवायु परिवर्तन र खास प्रकारको वातावरणीय अवस्थाको सूचना दिने खोयाहाँसको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडान मार्गको सुरक्षा गर्न सके मात्र सगरमाथामाथिबाट उड्न सक्ने यी चराको ऐतिहासिक विरासत जोगिन्छ ।