‘नेपाली साकिरा’ इन्दिराका रोचक कुरा
होलिस्टिक संवाददाता
‘उध्रेको चोली’, ‘चिया–कफी’, ‘रेलिमाई’, ‘सिन्की अचार’ लगायतका दर्जनौ गीतमा आवाज भरेकी गायिका हुन्, इन्दिरा जोशी । उनी ‘नेपालकी साकिरा’ उपनामले समेत चर्चित छिन् । जादुमय स्वरकी धनी इन्दिराले ‘नेपाल आइडल’ मा ‘जज’ का रूपमा समेत भूमिका निभाइसकेकी छन् ।
फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेपछि पछिल्लो समय साङ्गीतिकजगत्मा उनको चर्चा थप चुलिएको छ । टेलिभिजन रियालिटी सो ‘नेपाली तारा’ मा पाँचौं स्थानमा पुगेकी इन्दिरा सानैदेखि गायन क्षेत्रमा लागेकी हुन् ।
नवलपरासीमा जन्मिएकी उनको गायनयात्रा विद्यालय जीवनदेखि नै सुरु भएको थियो । स्कुलका अनेकौं कार्यक्रमहरूमा सहभागी भएर विभिन्न पुरस्कारहरू जितेकी इन्दिराले तिनको निकै राम्रो अनुभूति सँगालेकी छन् ।
पहिलो पटक रियालिटी सो ‘नेपाली तारा’ मा भाग लिँदा आफूलाई निकै डर लागेको बताउने इन्दिरा ‘नेपाल आइडल’ मा भने आफैं ‘जज’ बन्दाको अनुभव निकै अस्मरणीय रहेको बताउँछिन् । यो लेभलको उपलब्धिबारे आफूले कहिल्यै नसोचेको बताउने इन्दिरा ‘जज’ बन्दा धेरै कुरामा ख्याल राख्नुपर्ने अनुभव सँगालेको बताउँछिन् ।
जीवनशैली र खानपान
आफ्नो जीवनशैली आम मानिसभन्दा केही पनि फरक नरहेको इन्दिरा बताउँछिन् । इन्दिरा बिहान सबेरै उठ्छिन् र आफूलाई फ्रेस तुल्याउँछिन् । त्यसपछि तातोपानी पिइसकेर दूध चिया पिउँछिन् । चियासँगै भुटेको बदाम पनि खान्छिन् ।
नियमित बदाम खाँदा स्वास्थ्यलाई निकै राम्रो गर्ने इन्दिराको भनाइ छ । ‘स्वास्थ्यका हिसाबले बदाम निकै राम्रो हुन्छ’– उनले सुनाइन् । ब्रेकफास्टका रूपमा बेकरीजस्ता केही पनि उनी खाँदिनन् । ‘मेरा पूर्खाहरूले जे–जे खानुभएको थियो, तिनै खाने कुराहरू खाने गरेकी छु, आफ्नो स्वास्थ्यप्रति सानैदेखि सचेत रहेकाले बाहिरका खाने कुरा खान मन लाग्दैन,’ इन्दिरा भन्छिन्– ‘खाने कुराहरू लोकल नै खानुपर्छ, स्वास्थका लागि यी कुरा नै फाइदाजनक हुन्छन् ।’
गायिका इन्दिरा जोशी काठमाडौं रहँदा आफैं खाना पकाउँछिन्, घरमा जाँदा भने आमाले पकाएको खान्छिन् । घरमा हुँदा खाना पकाउन आमालाई सघाउँछिन् ।
उनले चिल्लो–पिरोजस्ता केही पनि बार्ने गरेकी छैनन् । गायनमा लाग्नेले चिल्लो–पिरो कम खानुपर्छ या खानै हुँदैन भन्ने उनलाई लाग्दैन । उनको भनाई अनुसार आफु स्वस्थ भएपछि यस्ता खानेकुराहरू बार्नुपर्छ भन्ने लाग्दैन । ‘मैले अहिलेसम्म चिल्लो–पिरो र अरु कुनै पनि खाने कुरा बार्ने गरेकी छैन र बार्नुपर्छ भन्ने पनि लाग्दैन,’ उनी भन्छिन्– ‘आफू स्वस्थ हुनुपर्छ, खाने कुरा बारिरहनै पर्दैन ।’
कसै–कसैलाई भने चिल्लो–पिरो र अरु कतिपय खाने कुराले हानि पनि गर्न सक्ने भएकाले त्यस्ता व्यक्तिहरूले चाहिँ सचेतता अपनाउनुपर्ने उनको सुझाव छ । ‘बडी स्ट्रक्चर र एक्सरसाइजअनुसार आफ्नो शरीरले के–कस्ता खाने कुरा कत्तिको पचाउन सक्छ, त्यसैअनुसार गर्न अरुलाई मेरो अनुरोध छ,’ इन्दिरा भन्छिन्– ‘कतिपय गायक–गायिकालाई चिल्लो–पिरोजस्ता खाने कुराले असर गर्ने गरेको पनि देखेकी छु, उहाँहरूले त्यस्ता पदार्थ नखाँदा नै राम्रो । फेरि मैले मेरो शरीरअनुसार ‘खाँदा हुन्छ’ भनिदिउँला र उहाँहरूले खाइदिनुहोला, त्यसपछि नराम्रो हुन जाला ।’
पुस्तक पढ्ने रुचि
इन्दिरा जोशी गायनका साथसाथै पुस्तकहरू पढ्न पढ्न पनि उत्तिकै रुचाउँछिन् । लकडाउनका बेला उनले आधा दर्जनजति पुस्तक पढेर भ्याइन् । सोसल साइकोलोजीसँग सम्बन्धित पुस्तकहरू पढ्न उनलाई मन पर्छन् ।
‘लकडाउनका बेला मैले निकै पुस्तकहरू पढें, मलाई नयाँ, राम्रा र नाम चलेका पुस्तकहरू पढ्न मन पर्छ’ उनले सुनाइन्– ‘सकारात्मक सोच राख्न सिकाउने पुस्तकहरू मेरो रोजाइमा पर्ने गरेका छन् किनकि यस्ता किताबहरूले केही गरौं भन्ने ऊर्जा प्रदान गर्छन् ।’
जङ्कफुड आफैं बनाउने
इन्दिरा जोशीले समयअनुसार जङ्कफुडजस्ता खाने कुरा पनि खाने गरेकी छन् । उनी आलुको चिप्सजस्ता खाने कुराहरू घरमै बनाउँछिन् । कहिलेकहीं बाहिर पनि खाए तापनि प्रायः घरमै आफंैले बनाएर रुचिका खाने कुरा खाने गरेकी छन् उनले ।
‘कहिलेकहीं, कार्यक्रममा जाँदा खाना खाने समयमा अरु खाना नपाउँदा जङ्कफुड नै खानुपर्ने हुन्छ, खाइन्छ । त्यस्तो बेला जङ्कफुडले नै अघाउनुपर्ने हुन्छ,’ उनले सुनाइन्– ‘अरु बेला भने जङ्कफुड खासै खाइँदैन ।’