‘आइडिया मास्टर’ महावीरको कहानी: ‘कपडा नकिनेकै ३२ वर्ष भो’
केदारनाथ गौतम/ शङ्कर क्षेत्रीराजधानीको कीर्तिपुरस्थित ‘राष्ट्रिय आविष्कार केन्द्र’ मा होलिस्टिककर्मी पुग्दा ल्याप्टप चलाउँदै काम गरिरहेका भेटिए महावीर पुन । आविष्कार केन्द्रको खुला हलमा रहेको फराकिलो टेबलमाथि ल्यापटप थियो । साधारण खाले घुम्ने कुर्सीमा बसेर ‘राष्ट्रिय आविष्कार केन्द्र’ का अध्यक्ष महावीर सायद कुनै सिर्जनात्मक कामको योजना बनाइरहेका थिए ।
क्रिम कलरको हाफ टिसर्टमाथि कलेजी रङ्गको स्टकोट जस्तो देखिने रेडिमेट ‘वेस्ट कोट’ लगाएका थिए महावीरले । खरानी रङ्गको पाइन्ट लगाएका उनको खुट्टामा भने चप्पल थियो ।
कपडा नकिनेकै ३२ वर्ष भो
महावीर र कपडाबीचको कथा रोचक छ । ३२ वर्षयता आफूले कपडा नकिनेको र अरुले नै दिएकाले काम चल्ने गरेको उनले सुनाए । उहिल्यैदेखि आफैंले किनेर त कपडा नै नलगाएको उनले सुनाए । ‘कपडा किनेर त म कहिल्यै लाउँदिनँ,’ महावीर भन्छन्– ‘३२ वर्ष नाघिसक्यो मैले कपडा नकिनेको, ३३ वर्ष नै भयो भने पनि हुन्छ ।’
ज–जसले जे–जे दिन्छन्, त्यही नै लगाउने गरेको सुनाउँदै महावीरले भने– ‘ज–जसले जे–जे दिन्छन्, त्यही लगाउने ।’ अमेरिका बस्दा नै अर्काले दिएको कपडा लगाउने बानी आफूले सिकेको उनले सुनाए– ‘यो बानी मैले अमेरिका बस्दा नै सिकें ।’
पढ्नका निम्ति अमेरिका गएका बेला त्यहींका छात्रावासमा बस्दा अमेरिकी विद्यार्थीहरूले राम्रा–राम्रा कपडा फालेको देखे महावीरले । ‘त्यहाँका केटाहरूले कपडा फाल्दा रहेछन्,’ पुन भन्छन्– ‘राम्रा–राम्रा सर्ट, पाइन्ट, ज्याकेट फाल्दा रहेछन्; त्यो देखें ।’
किनेर केही समय लगाएपछि साथीहरूले राम्रा–राम्रा कपडा फालिदिएको देखेपछि महावीरले सोधे– ‘यसरी किन फालेको कपडा ?’ उनको जिज्ञासामा साथीहरू भन्थे– ‘केही समय लगाएपछि रहर पुग्यो, अब नचाहिने भएकाले फालियो ।’
‘म लगाउँछु नि त’– त्यसपछि ती साथीहरूसँग तिनै कपडा मागेर लगाउन थाले महावीरले । ‘यस्तो राम्रो कपडा छ, म लगाउँछु भनेर उनीहरूले फाल्न थालेको कपडा आफूले लिँदै लगाउन सुरु गरें’, उनी भन्छन्– ‘त्यसपछि त पुराना कपडा यिनले लगाउँछन् भन्ने साथीहरूले थाहा पाए र फाल्न मन लाग्नेवित्तिकै मैलाई दिन थाले । उनीहरूले दिन थालेपछि मैले कपडा किन्नै छाडें । राम्रा–राम्रा थुप्रै कपडा त्यत्तिकै पाइन्छ, किन किन्ने बेकारमा !’
त्यही बेलादेखि नै अरुले दिएका कपडा लगाउने बानी बसेको बताउँछन् महावीर । उनको त्यो बानी अमेरिकाबाट नेपाल फर्किएपछि पनि छुटेन । ‘अमेरिकाबाट फर्किएपछि पनि त्यही क्रम चलिरहेकै छ’– उनले सुनाए । अहिले पनि नयाँ–पुराना दुवै किसिमका कपडा ‘उपहार’ आउने गरेको उनाउँदै उनले भने– ‘नयाँ पनि ल्याइदिन्छन्, कतिपय त अझै पनि पुराना समेत आउँछन् ।’
न सुत्ने–उठ्ने समयको ठेगान, न त खानपानको
त्यसो त महावीरको जीवनशैली समेत अनौठै खालको छ । यतिबेला सुत्ने र यति नै बेला उठ्ने भन्ने निश्चित समय नै छैन । ‘थाहा छैन, नर्मल्ली यतिबेला सुताइ र उठाइ भन्ने नै थाहा हुँदैन,’ उनले हाँस्दै भने– ‘जतिखेर मन लाग्यो, उतिखेर नै सुताइ’ जतिखेर मन लाग्यो त्यति नै बेला उठाइ ।’
‘जतिबेला, जहाँ जान मन लाग्यो, उति नै बेला त्यतै गयाइ; सबै फ्रिडम’– आफ्नो हिँडडुलको पनि ठेगान नहुने सुनाउँदै उनले भने ।
बिहान उठेर दिसापिसाब गरिसकेपछिको आफ्नो पहिलो काम नै मोबाइल हेर्ने भएको उनी बताउँछन् । आफू चौबीस घन्टैजसो ‘राष्ट्रिय आविष्कार केन्द्र’ मै बस्ने भएकाले त्यसपछिको अधिकाङ्श समय भेटघाट, छलफल र आविष्कारमै बित्ने उनको भनाइ छ । बिहानदेखि नै आविष्कार केन्द्र आइपुग्नेहरूसँग भेटघाट हुने उनले बताए ।
‘म चौबीसै घन्टा यहीं बस्ने भएकाले बिहान ७–८ बजेदेखि नै मान्छेहरू भेट्न आइपुग्छन्’– महावीरले सुनाए । भेटघाटमा मान्छे नआएका बेला भने बिहान उठेपछि उनी चिठीपत्र र इमेल हेर्ने तथा फोनवार्ता, च्याट इत्यादिमा समय खर्चन्छन् ।
खानपान गर्ने पनि उनको निश्चित समय छैन । ‘खानपानको पनि केही ठेगान हुँदैन, पाए खाने हो, नपाए नखाने,’ महावीरले भन्छन्– ‘ब्रेकफास्ट, लञ्च खाने भन्ने हुँदैन केही हुँदैन हाम्रो ।’ खानपानमा रोजाइ पनि केही छैन उनको । भोक लागेका बेला जुन खाद्य पदार्थ अगाडि आइपुग्छ, त्यही नै खाने गरेको उनले बताए ।
‘त्यो भोक भन्ने पनि उतिसाह्रो लाग्दैन, बानी नै परिसक्यो; के खाने र के नखाने भन्ने पनि छैन,’ महावीर भन्छन्– ‘पाए खाने हो, नपाए नखाने; विदेश भ्रमण गर्दा पनि खाने कुरा के छ भनेर मेन्यु हेर्दिनँ, जे पाइन्छ त्यही खाने हो ।’
चार जनाको परिवारका मूली हुन् महावीर । परिवारका सदस्य पोखरामा बस्छन् । श्रीमती र दुई छोरी छन् उनका । काम परेका बेला मात्र कहिलेकहीं घर (पोखरा) जाने गरेको उनको भनाइ छ ।
अध्ययन–जागिर, फेरि अध्ययन
वि.सं. २०११ मा म्याग्दीमा जन्मिएका महावीरले आठ कक्षासम्म त्यहीं अध्ययन गरे । त्यसपछि चितवन झरेर दस कक्षासम्म पढे । ‘जन्मभूमि म्याग्दीमा आठ कक्षासम्म पढियो, त्यसपछि चितवन गएर दस कक्षा पास गरियो,’ अध्ययन–यात्राबारे प्रष्ट्याउँदै उनले सुनाए– ‘त्यसपछि काठमाडौं आएर प्रवीणता प्रमाणपत्र तह पढियो ।’
प्रमाणपत्र तह उत्तीर्ण गरेपछि तेह्र वर्ष जागिर खाएको सुनाउँदै उनले भने– ‘शिक्षक बनेर १३ वर्ष नोकरी गरियो । त्यसपछि पढ्नका लागि अमेरिका गइयो ।’ उनले सुनाए– ‘अमेरिकामा पढेर नेपाल फर्किएको पनि ३० वर्ष पुग्योे । यी यसरी बित्दैछ जिन्दगी ।’
‘मैले मास्टर्स डिग्री अमेरिकाबाटै गरेको हुँ, त्यसपछि नेपाल आएर २० वर्षसम्म विभिन्न किसिमका काम गरें,’ उनी भन्छन्– ‘त्यसपछि पनि नेपालमा आफूले गरेका कामहरूबारे त्यहाँको युनिभर्सिटीमा लेक्चर दिन बेला–बेला अमेरिका जाने–आउने गरिरहें । त्यसैका आधारमा अमेरिकी युनिभर्सिटीले मलाई विद्यावारिधि दिएको छ । वास्तवमा यो मानार्थ विद्यावारिधि हो ।’
‘कमाइएकै पो के छ र !’
आफूले केही पनि नकमाएको महावीरको तर्क छ । तपाईंले अहिलेसम्म के–कति कमाउनु भयो त भन्ने होलिस्टिकको जिज्ञासामा उनको जवाफ छ– ‘के कमाइएको छ र ? केही पनि कमाएको छैन । दुनियाँले ‘नाम कमायो’ भन्छन्, मैले त त्यो नाम पनि कमाएको छैन; त्यसको मलाई कुनै वास्ता पनि छैन ।’
आफूलाई मान–सम्मानको वास्ता नभएकैले ‘कसैले पनि सम्मान–पुरस्कार नदिनुहोला’ भनेर दुई–तीन वर्षअघि नै सार्वजनिक अपिल नै गरिसकेको उनले सुनाए । ‘कसैले मान–सम्मान, पुरस्कार नदिनुहोला भनेर मैले घोषणा र अपिल नै गरेको दुई–तीन वर्ष भयो,’ पुनले सुनाए– ‘यत्रो पैसा कमाएको छ भन्छ दुनियाँले, कमाएको त्यो पैसाबाट एक रूपैयाँसम्म पनि मैले लिने र पाउने होइन; अनि के कमाएको भन्ने र त्यसलाई !’
आफूले खासै केही गरेजस्तो पनि नलागेको तर्क उनले गरे । जीवनमा के गरेंजस्तो लाग्छ त भन्ने हाम्रो जिज्ञासामा महावीरको जवाफ छ– ‘केही पनि गरेको छैन, जिन्दगी बिताइएको छ, टाइम पास गरिएको छ, सामाजिक प्राणीका हैसियतले आफूले सक्ने काम गरिएको छ ।’
‘आइडिया चाहिन्छ, आइडिया…’
देशमा उद्यमीहरू उत्पादन गर्नका लागि वातावरण तयार पार्नु नै राष्ट्रिय आविष्कार केन्द्रको उद्देश्य भएको महावीरले सुनाए । ‘उद्यमी बन्नका लागि उक्साउने । तर, मुखले उक्साउने मात्र नभई नयाँ आइडिया ल्याउन सघाउने हाम्रो उद्देश्य हो ।’
कुनै पनि आइडियाले काम गर्छ कि गर्दैन भन्ने कुरा रिसर्च गरेरै हेनुपर्ने महावीर बताउँछन् । रिसर्च गर्दा व्यापार–व्यवसाय सम्भव हुने भयो भने व्यवसाय गरेरै उद्यमी बन्न सकिने उनको बुझाइ छ ।
आइडियाविना पैसा मात्र हुँदैमा उद्यमी बन्न नसकिने बताउँछन् उनी । ‘पैसाले मात्रै पनि कोही उद्यमी बन्न सक्दैन, पैसा छ तर आइडिया छैन भने त त्यो उद्यमी बनेन नि !’
आइडिया छ तर पैसा छैन भने बरु पैसा आउने उनको तर्क छ । ‘आइडिया भयो भने बरु पैसा आउँछ तर पैसा छ, आइडिया छैन भने त्यो उद्यमी बन्दैन । मसँग पैसा छ भनेर गजक्क बसेर त उद्यम हुँदैन नि !’
उद्यमी बन्नका लागि प्रस्ताव–पत्र (प्रपोजल) राम्रो तयार पार्दैमा पनि सफलता मिल्छ नै भनेर यकिन नहुने उनको भनाइ छ । उद्यमी बन्नका लागि पहिलो चरणमा त आइडियाले काम गर्छ कि गर्दैन भनेर फिल्डमा परीक्षण गर्नुपर्ने उनको भनाइ छ । परीक्षणको नतिजा सकारात्मक देखिए मात्र उद्यमी बन्न सफलता मिल्ने उनको बुझाइ छ ।
उद्यमी बन्नुभन्दा अगाडि कुनै आइडिया ल्याएर परीक्षण गर्न चाहन्छ भने जो–कसैले पनि राष्ट्रिय आविष्कार केन्द्रमा आएर परीक्षण गर्न सक्ने महावीरले बताए । के कुरामा उद्यमी बन्न खोजेको हो, त्यही कुरामा अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । आफूसँग पैसा भएको तर आइडिया नभएको अवस्थामा आइडिया भएको व्यक्तिबाट साथ–सहयोग लिन उनको सुझाव छ ।
आफैंलाई ठीक लागेको कुरा मात्र आफूले गर्ने गरेको महावीरले सुनाए । केही सही र के गतल हो भन्ने कुरा त काम गरेर मात्रै थाहा पाइने उनले सुनाए । ‘काम गरिसकेपछि मात्रै बल्ल थाहा पाइन्छ,’ उनले भने– ‘मैले जिन्दिगीमा गरेकै त्यही हो ।’