‘राजेश हमाललाई नचाउन गाह्रो छैन’: कोरियोग्राफर देवेन्द्र

होलिस्टिक संवाददाता

दुई दशकदेखि नेपाली चलचित्र एवम् म्युजिक भिडियोमा कलाकारलाई नचाउँदै आएका कोरियोग्राफर हुन्, देवेन्द्र पाण्डे । दुई दशकबीच उनले तीन सयभन्दा बढी म्युजिक भिडियो तथा चलचित्रमा कलाकारहरूलाई नचाइसकेका छन् ।

छ कक्षामा पढ्दापढ्दै विद्यालयका शिक्षक–शिक्षिकाको प्रेरणाबाट नृत्य क्षेत्रमा लागेका पाण्डे दुई नेपालकै राम्रो नृत्य निर्देशक तथा चलचित्र निर्देशक बनेका छन् । ‘महानायक’ राजेश हमालका चलचित्र हेर्दै हुर्किएका देवेन्द्र पछिल्लो समयमा भने उनै राजेशलाई अभिनय र नृत्य सिकाइरहेका छन् ।

थोरै तर छानिएका भिडियो निर्माण गर्ने गरेको बताउने देवेन्द्र फरक कन्सेप्टमा भिडियो निर्माण गर्न रुचाउँछन् । पछिल्लो समय उनले निर्माण गरेका केही म्युजिक भिडियोहरूले पनि यही कुरा दर्शाउँछन् । उनले दुई वटा फिल्ममा पनि कोरियोग्राफी गरेका छन् ।

२०६० भन्दा अघिदेखि नै कोरस नाच्न थालेका देवेन्द्रले सुरुआती दिनमा भने अभिनेता बन्ने सपना साँचेका थिए । तर, समय–परिस्थितिले उनलाई निर्देशक बनायो । ‘सुरुमा त म कलाकार बन्छु, पर्दा अगाडि आएर दर्शकमाझ चिनिन्छु भन्ने थियो तर कलाकारलाई अभिनय र भिडियोमा नृत्य सिकाउँदा सिकाउँदै पर्दा अगाडि आउनै पो बिर्सेछु,’ उनी भन्छन्– ‘अहिले त मलाई पर्दा पछाडि काम गर्नमै आनन्द आउँछ ।’

पछिल्लो समय उनले आफ्ना म्युजिक भिडियोमा ‘महानायक’ राजेश हमाललाई नचाउँदै आएका छन् । र, राजेशले पनि उनैको अनुरोधमा गीत समेत गाएका छन् । दर्शकमाझ निकै लोकप्रिय बनेको गीत ‘मन बूढो भा’छैन…’ बोलको म्युजिक भिडियो यतिबेला पनि चर्चामै छ । राजेशले अर्को एउटा गीतमा समेत आवाज दिइरहेको र त्यो पनि छिट्टै सार्वजनिक हुने देवेन्द्रको भनाइ छ ।

यसअघि देवेन्द्रले दुई पुस्तालाई सँगै समावेश गरेर म्युजिक भिडियो निर्माण गरे । राजेश हमाल, करिष्मा मानन्धर र पल शाहलाई समावेश गरी उनले भिडियो बनाए, जसलाई दर्शकले पनि राम्रैसँग मन पराए । त्यसैबाट दर्शकको राम्रो प्रतिक्रिया पाएका देवेन्द्र फेरि एक पटक राजेश, विराज र निखिललाई राखेर भिडियो निर्माण गर्ने सोचमा छन् ।

‘नेपालका तीन ‘स्टार’ लाई राखेर म्युजिक भिडियो निर्माण गर्ने सोच छ, यो सोच धेरै पहिले नै आएको हो तर एकैसाथ तीनै जनाको समय मिलाउन नसक्दा त्यो काम अझैसम्म अधुरै छ,’ उनी भन्छन्– ‘निकट भविष्यमै नेपाली चलचित्रका ती तीन हस्तीलाई समावेश गरी फिल्म निर्माण गर्ने योजनामा छु ।’

चलचित्रका गीतमा राजेशलाई नचाउन निकै कठिन पर्छ किनकि उनी ‘नाच्न नजान्ने हिरो’ को आरोप खेप्दै आएका छन् । देवेन्द्र भने फरक मत राख्छन्; उनी भन्छन्– ‘कहाँ हुनु ! राजेश हमाल त नाच्न पनि पो पर्फेक्ट नै छन् ।’ राजेशलाई गीतको भावअनुसार र उनको व्यक्तिगत हाउभाउ एवम् रुचिअनुरूप नचाउन जान्नुपर्ने देवेन्द्रको तर्क छ । राजेशलाई आफ्ना भिडियोमा नचाउने अहिलेसम्म कुनै कठिनाइ नभएको देवेन्द्रको दाबी छ ।

चलचित्र एवम् म्युजिक भिडियामा काम गर्नेहरूले पारिश्रमिक नपाएको गुनासो पनि बेला–बेला सुनिने गरेको छ । देवेन्द्र भने अहिलेसम्म यस्तो समस्यामा परेका छैनन् । चलचित्र होस् या म्युजिक भिडियो– उनले चाहिँ ‘हाताहाती’ मै काम गदै आएका छन् ।

‘त्यस्ता गुनासा मैले पनि सुन्ने गरेको छु, काम गरिसकेको महिनाैंसम्म पनि पैसा नपाएको साथीहरूको भनाइ सुन्छु,’ उनले सुनाए– ‘तर ममा भने पैसा नपाउने समस्या छैन, पहिल्यै पैसा हात पारेर मात्रै काम गर्ने गरेकाले मचाहिँ ठगिन्नँ ।’