जिकाबाट जोगिऔं

डा. शेरबहादुर पुन

जिका भाइरस लामखुट्टेले सार्ने भए पनि मानिसबाट मानिसमा पनि सर्न सक्दछ । यौन सम्पर्कका क्रममा समेत यो भाइरस सर्न सक्दछ; आमाबाट गर्भमा रहेको बच्चामा पनि सर्ने जोखिम हुन्छ । त्यसैगरी रक्तदान, अङ्ग प्रत्यारोपणलगायतका माध्यमबाट पनि जिका भाइरस सर्ने जोखिम हुन्छ ।

डेङ्गु सार्ने ‘एडिस’ जातको लामखुट्टेले जिका भाइरस पनि सार्न सक्छ । नेपालमा जिका भाइरस आधिकारिकरूपमा पत्ता लागेको घोषणा गरिएको छैन । तर, छिमेकी देश भारतमा भने यो भाइरस देखिँदै आएको छ । पछिल्लो समय नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा जिका व्यापकरूपमा देखिएको छ । तसर्थ, नेपाल पनि जिका भाइरसकोे उच्च जोखिममा रहेको छ ।

लक्षण

सामान्यतया जिका भाइरसको सङ्क्रमण भए पनि लक्षण कडा हुँदैन । हल्का ज्वरो आउने, शरीरमा बिमिरा आउने, आँखा रातो हुनेजस्ता लक्षण देखिन्छन् । जिका भाइरसको सङ्क्रमण हुँदा माङ्शपेशी तथा जोर्नीहरू दुख्ने, टाउको दुख्नेजस्ता लक्षण देखिन्छन् । छाला रातो हुनेजस्ता लक्षण पनि देखिन सक्छन् ।

यस्ता लक्षण देखिएको खण्डमा चिकित्सकसँग परामर्श लिइहाल्नु उचित हुन्छ । सामान्यतया जिका भाइरस सङ्क्रमण भएको ३ देखि १४ दिनसम्ममा त्यसका लक्षण देखिन्छन् । सामान्यतया एक सातासम्म लक्षण कायम रहन्छन् ।

यस्ता समस्या

जिका भाइरस सङ्क्रमण भएको खण्डमा मुख्य समस्या भनेको सङ्क्रमित आमाबाट जन्मने बच्चामा हुने शारीरिक अपाङ्गता हो । गर्भको बच्चामा सङ्क्रमण भएको खण्डमा बच्चाको टाउकाको आकार सानो हुने अवस्था ‘माइक्रोकेफाली’ देखिनु हो । भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको बच्चामा मस्तिष्क तथा टाउकामा समस्या देखिन सक्छन् ।

गर्भवती महिलामा जिका भाइरसको सङ्क्रमण भएको खण्डमा गर्भवती महिलामा गर्भपतनको जोखिम हुन्छ । यस्तो सङ्क्रमण भएको खण्डमा समय अगावै जन्मन सक्नेजस्ता समास्याहरू देखिने जोखिम हुन्छ ।

परीक्षण

नेपालमा केही वर्ष अगाडि केही समयका लागि जिका भाइरसको प्रयोगशाला परीक्षण भएको थियो । तर, हाल यसको नियमित परीक्षण भएको देखिँदैन ।

उपचार र सङ्क्रमण नियन्त्रण

जिका भाइरसको सङ्क्रमण भएको खण्डमा उपचारका लागि यसको विशेष औषधि छैन । जिका भाइरस विरुद्धको खोपको पनि विकास भइसकेको छैन । जिकाबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । लामखुट्टेको टोकाइबाट बच्नु भनेको लामखुट्टेको वृद्धि–विकास हुने वातावरण सिर्जना हुन नदिनु हो । लामखुट्टेको लार्भा विकास हुन नदिन घरभित्र र बाहिर लामो समय पानी जम्न दिनु हुँदैन । घर वरिपरि भएका खाल्डाखुल्डी पुर्नुपर्छ; सफा–सुग्घर गर्नुपर्छ ।

जिकाबाट बच्नका लागि यातायातका साधनहरूका टायरहरूमा पानी जम्न दिनु हुँदैन । ड्रममा जम्मा भएको पानी लामखुट्टेको वृद्धि–विकासका लागि उर्वर मानिन्छ । त्यस्तै, प्लास्टिकमा जमेको पानी पनि लामखुट्टेको वृद्धि–विकासका लागि बढी उपयुक्त मानिन्छ ।

त्यसैले यातायातका साधनका टायरहरू फालिएका छन् भने त्यस्ता टायरको समुचित व्यवस्थापन गरिहाल्नु पर्छ । फालिएका ड्रम तथा प्लास्टिकहरूको पनि तत्काल व्यवस्थापन गर्नुपर्छ । घर तथा टोल वरिपरि पानी जमेको, टायर तथा ड्रम र खाल्डाखुल्डीको व्यवस्थापन गरेर त्यस्ता ठाउँमा पानी जम्न दिनु हुँदैन ।

डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।