उदय–मनिलाको प्रेमिल सङ्गीतयात्रा
केदार/शङ्कर/भोला‘उकाली चढौंला, ओराली झरौंला’, ‘आज तिम्रो कुरा चल्यो’, ‘माया नमार है’, ‘कहाँ पोखिन्छ आँसु’, ‘मनको बाँधलाई’ जस्ता दर्जनौ लोकप्रिय गीतका गायक हुन् उदय–मनिला सोताङ । स्कुले जीवनदेखि नै गायनमा लागेका उदय र मनिलाको जोडी प्रेम विवाहका माध्यमले बाँधिएको हो ।
उदय–मनिला दुवै नेपाली गीत–सङ्गीतमा सङ्घर्ष गर्नका लागि दार्जलिङबाट नेपाल आएका थिए । तीन दशक अघिदेखिको उनीहरूको गीत–सङ्गीत यात्रा जारी छ । यसैमा रमाइरहेका छन् उनीहरू ।
गीत–सङ्गीतकै काममा अहिले पनि उत्तिकै व्यस्त उदय यतिबेला पनि केही नयाँ गीतहरू श्रोता–दर्शकमाझ पस्कने तरखरमा छन् । सङ्गीत साधनाका साथसाथै उनी रेस्टुराँ व्यवसायमा समेत सक्रिय छन् । रात्रिकालीन व्यवसायमा समेत सक्रिय उनीहरू हरेकजसो साँझ ७ बजेपछि राजधानीको दरबारमार्गस्थित ‘मधुशाला गजल रेस्टुराँ’ मा आफ्ना र अरुका गीत तथा गजल गाइरहेका भेटिन्छन् ।
‘धेरैजसो स्रोता तथा दर्शकहरू हाम्रा पुराना तथा नयाँ गीतहरू सुनेर नै हाम्रो गजल साँझमा आउने गर्नुहुन्छ,’ गायक उदय भन्छन्– ‘उहाँहरू अपार आत्मीयता साट्न निरन्तर आउने हुँदा गायनमा लागेकामा हामीलाई पनि कुनै पछुतो लाग्दो रहेनछ ।’
गायनजोडीका रूपमा जमेका चीरपरिचित एवम् सुपरिचित उदय–मनिलाले गायनका सिलसिलामा निकै ठाउँ घुमिसकेका छन् । साङ्गीतिक यात्राका क्रममा घुम्दाको अनुभव निकै रमाइलो हुने उनीहरू बताउँछन् ।
सङ्गीत साधनाबाटै हुने गरेको छ, उदय–मनिलाका हरेक दिनको प्रारम्भ । ‘हाम्रो घर आफैंमा सङ्गीतमय छ, पत्नी मनिला र छोरी श्रेया दुवै सङ्गीत क्षेत्रमा परिचित छन्,’ उदय भन्छन्– ‘त्यसकारण पनि उनीहरूसहित हामी सबैको दैनिकी सङ्गीतबाट नै सुरु हुने गरेको छ ।’
सङ्गीत साधना र रेष्टुराँबाहेक उनीहरूको अर्को कुनै पेसा–व्यवसाय छैन । उनका प्रायः गीतको म्युजिक भिडियोमा अभिनेता दयाहाङ राइ, आर्यन सिग्देल र उदय स्वयम्ले मोडलिङ गरेका छन् ।
उदय–मनिला भेट, प्रेम र विवाह
नेपाली साङ्गीतिक क्षेत्रका चम्किला यी नक्षत्र उदय–मनिलाबीचको भेट भारतको दार्जलिङमा नै भएको हो । गायक उदय दार्जलिङस्थित ‘सेन्ट रोबर्टस् स्कुल’ मा कक्षा १० मा पढ्थे भने मनिला कालिम्पोङस्थितस्कुलमा पढ्थिन् ।
‘उहाँ ठूलो कक्षामा पढ्नुहुन्थ्यो, म भने अलिक सानो कक्षामा पढ्दै थिएँ,’ मनिला भन्छिन्– ‘सानैदेखि गायन क्षेत्रमा लागेका कारण यही क्षेत्रले हाम्रो भेट जुराएको हो ।’ फरक खालका गीतमार्फत दर्शकको मन जित्दै आएका उदय–मनिला गीत–सङ्गीत नै आफूहरूलाई जोड्ने कडीका रूपमा रहेको उनीहरू बताउँछन् ।
‘हामी पढ्ने स्कुलका विद्यार्थीहरूको संयुक्तरूपमा एल्बम निकाल्ने कुरा भयो, त्यही बेला मेरो आवाजमा एउटा गीत रेकर्ड गरियो,’ ऊ बेलाको अविष्मरणीय क्षण सम्झँदै उदय भन्छन्– ‘आफू पढ्ने स्कुलले एल्बम निकालेपछि र त्यसमा मेरो स्वर समावेश भएपछि म र मेरो गीतबारे सबैतिर चर्चा चल्यो । गीत निकै चर्चामा आएपछि मेरा फ्यान पनि निकै भए । त्यही एल्बममा समावेश मेरो गीतले चर्चा पाएपछि गायनमै सङ्घर्ष गर्दै आइरहेकी मनिलालाई पनि मन परेछ र उनी समेत मेरो फ्यान भइछन् ।’
गायन क्षेत्रमा उदयको चर्चा भइरहँदा मनिला भने गायन सिकिरहेकी थिइन् । गायन सिक्ने क्रममा नै उदय–मनिलाबीच भेट भयो । उदयको फ्यान बनेकी मनिलालाई भेटेपछि उदय आफैंचाहिँ मनिलाको फ्यान बने ।
सँगसँगै सङ्गीत साधनामा अघि बढ्न थालेका उदय–मनिला एक–अर्काप्रति निकै नजिकिए । सङ्गीत साधना अघि बढाउँदै जाँदा बिस्तारै उनीहरू प्रेममा परे । भेट भएको एक वर्ष पुग्दानपुग्दै उनीहरू विवाह–बन्धनमा बाँधिए ।
उदयले १० कक्षा पढिरहँदा मनिलासँग भेट भएको थियो । उनी ११ कक्षामा अध्ययनरत रहँदा विवाह भएको थियो । पङ्क्तिकारले त्यसबेलाका कुरा कोट्याउन खोज्दा उदय भन्छन्– ‘पुराना कुरामा घोत्लिइरहनुभन्दा पनि म त अब अहिलेचाहिँ नयाँ के गर्ने भन्नेमा पो बढी सोचमग्न छु ।’
‘पुराना कुरा सम्झेर खासै केही हुन्न, ती पलहरू रमाइला थिए,’ उनले सुनाए– ‘तर, अहिले म पुराना कुराहरूको स्मरण र समीक्षा गर्नुभन्दा पनि साङ्गीतिक क्षेत्रमै केही नयाँ गरौं भन्नेतर्फ लागेको छु ।’ उनले भने– ‘हामी फेरि पनि केही नयाँ गीत लिएर आउने जमर्को गरिरहेका छौं, ती पनि दर्शकका लागि नयाँ र मनपर्दा नै हुनेछन् भन्ने विश्वासमा छु ।’
दैनिकी र जीवनशैली
उदय–मनिला र छोरी श्रेया बिहान साढे सात बजेभित्रै उठिसक्छन् । बेलुकी जति ढिलो सुते पनि उनीहरू बिहान भने सबेरै उठ्ने गरेका छन् ।
उठेर फ्रेस हुने क्रममा उदय एक बोतल पानी पिउँछन् । यो उनको निकै पहिलेदेखिकै बानी हो । त्यसपछि उनी कालो चिया पिउन मन पराउँछन् ।
पूरै परिवारमा साङ्गीतिक माहोल भए तापनि बिहान रियाज भने उदयले मात्रै गर्छन् । कहिलेकहीं भने छोरी श्रेया पनि साथसाथै अभ्यासमा लाग्छिन् । उदय एक्लै पनि हार्मोनियम बजाउँदै तीन घन्टा अभ्यास गर्छन् । मनिला भने केही समय सङ्गीतको अभ्यास गरिसकेपछि चिया–नास्ता र खानाको तयारीमा लाग्छिन् ।
दिउँसो बाह्र–एक बजेतिर मात्र घरबाट बाहिरफेर निस्कन्छन् उदय । त्यसअघि कतै भेट्ने या गाउने कार्यक्रमको सेड्युल नै राख्दैनन् । एक बजेपछि साथीभाइ भेट्न पुग्छन् या रेकर्डिङ भए स्टुडियोमा पुग्छन् । आफ्नो यो क्रमलाई उनी हत्तपत्त तोड्दैनन् ।
भुटेको चाउचाउ र उसिनेको अण्डा
उदयले खाने कुरा खासै बार्दैनन् । टाइम टेबलमै खाना खाने भएकाले यो खाने र त्यो नखाने भन्ने छैन । उनको खाना खाने शैली भने अलिक फरक छ । भुटेको चाउचाउ र उसिनेको अण्डा खान उनी विषेश मन पराउँछन् ।
‘बिहानको नास्तामा भुटेको चाउचाउ वा पाउरोटी र उसिनेको अण्डा मन पर्छन् मलाई,’ उदय भन्छन्– ‘दूध हालेको कफी पनि मलाई असाध्यै मन पर्छ ।’
पहिले–पहिले त प्रायः सबैजना मिलेर खाना बनाउने गरेका थिए । खाने कुरा पकाउन आजभोलि भने मनिला नै अलि बढी सक्रिय हुने गरेकी छन् । उनीहरू बिहानको खाना प्रायः साढे दस बजेको आसपासमै खान्छन् ।
उनीहरू नेवारी परिकारका साथै चाउमिन र चिकेन सुप पनि खान्छन् । घरमा हरेक दिन मासु पाक्छ । ‘हाम्रो भान्छामा मासुचाहिँ अनिवार्यरूपमै पाक्छ’– मनिलाले सुनाइन् । प्रायः बङ्गुरको मासुमा रायोको साग हालेर पकाउँछिन् मनिला । उदयलाई अलिक बढी मन पर्ने खाना हो यो ।
गजल साँझमा साँझ गीत गाउनुपर्ने भएकाले बेलुकीको खाना भने त्यतै खाने गरेका छन् उनीहरूले । गजलबारबाट उनीहरू घर पुग्दा रातको बाह्र बजिसकेको हुन्छ ।
खेलका पनि सौखिन
शरीरलाई सधैं फिट राख्न चाहन्छन् उदय । जतिबेला नेपाली दर्शक–स्रोताले चिने, त्यसै बेलादेखि अहिलेसम्म उस्तै नै देखिइरहनुमा स्वस्थ्यकर खाने कुरा खानु र सफा पानी पिउनु नै मुख्य कारण रहेको उदय बताउँछन् ।
आफ्नो स्वास्थ्यप्रति सानैदेखि सचेत रहेका उदय नियमितजसो ‘सौना’ गर्छन्, ‘वेल मसाज’ गराउँछन् । उनी ट्रेड मिलमा दौडन्छन् र जिम पनि जाने गरेका छन् । यी उनका दैनिकरूपमा गरिने व्यायाम हुन् । सातामा दुई पटकजति त फुटसल खेल्न पनि जान्छन् उनी ।
‘फुटसल खेल्ने हाम्रो एउटा छुट्टै समूह रहेको छ,’ उदय भन्छन्– ‘साथीभाइ भेला भएर फुटसलमा जम्ने गरेका छौं ।’
नियमित चेकजाँच : छैन स्वास्थ्य समस्या
उदय–मनिलाले अहिलेसम्म स्वास्थ्य समस्याका कारण कुनै अस्पतालमा बस्नु परेको छैन । उदय–मनिलालाई कुनै स्वास्थ्य समस्या छैनन् । त्यसैकारण खाने कुरामा मुख बार्नु नपरेको हो ।
साङ्गीतिक यात्राको सिलसिलामा सामान्य रुखघोकी लाग्ने गरेको भए पनि घरेलु उपचारबाटै निको पार्ने गरेको उदय बताउँछन् । निकै गाह्रो भएको खण्डमा मात्रै डाक्टरको सल्लाहबमोजिम औषधि खाने गरेका छन् । कुनै पनि औषधि नियमित खानुपरेको छैन ।
स्वास्थ्यमा समस्या नआओस् भनेर नै उदय–मनिलाको पूरै परिवारले छ–छ महिनामा स्वास्थ्य जाँच गराउने गरेको छ । ‘स्वास्थ्य नै हाम्रो अमूल्य धन हो, त्यसैले स्वास्थ्यमा कुनै समस्या पो आयो कि भनेर हाम्रो पूरै परिवारले नै छ–छ महिनाको अन्तरालमा होलबडी चेकअप गराउने गरेका छौं । सबैले यसो गर्नु जरुरी छ,’ उदय भन्छन्– ‘स्वास्थ्य नै ठीक भएन भने त के नै पो रह्यो र, जतिसुकै काम गरे पनि स्वास्थ्य ठीक नभएपछि ! त्यसैले सबैको पहिलो प्राथमिकता स्वास्थ्य नै हुनुपर्छ, शरीरलाई बेला–बेला जँचाइरहनुपर्छ ।’