घरमै तयार पार्नोस् ‘इम्युन बुस्टर’ परिकारहरू
आर.बी. बुढाथोकीब्रोकाउली एस्परागस सुप
आवश्यक सामग्री
ब्रोकाउली (डाँठसहितको)– ३०० ग्राम, कुरिलो– १५० ग्राम, जैतुनको तेल– १० एमएल(दुई चिया चम्चा), लसुन (चप गरेको)– १० ग्राम, प्याज (चप गरेको)– १५ ग्राम, सेलरी (चप गरेको)– ५ ग्राम, थाइम (सानो)– आधा मुठा, तुलसी (सानो)– आधा मुठा, आल्मण्ड (बदाम– ठूलो)– १० ग्राम, गाजर चप– २० ग्राम, लिक चप– १५ ग्राम, नुन– स्वादअनुसार, सेतो मरिचको धुलो– १ पिन्च, भेज स्टक– आधा लिटर, दूध– २५० एमएल, फ्रेस क्रिम– २ टेबल चम्चा ।
बनाउने तरिका
सफा सुप प्यानमा तताएर जैतुनको तेल हाल्ने । त्यसमा लसुन, प्याज, सेलर, लिक, गाजर हालेर भुट्ने । अर्को सुप प्यानमा ब्रोकाउलीको डाँठ, कुरिलाको छिप्पिएको डाँठ, थोरै सेलर, गार्लिक, क्यारोट, ओनियन, लिक, थाइमा र चार गेडा मरिच हालेर भेज स्टक बनाउन बसाल्ने ।
यसको रङ्ग खैरो हुन थालेपछि काटेको ब्रोकाउली र कुरिलो हालेर अझै राम्ररी भुट्ने । त्यसपछि तयार भएको भेज स्टक हालेर राम्ररी पकाउने । यसमा नुन, मरिच र आल्मण्ड हालेर केही बेर पकाएपछि केही चिसो बनाई ब्लेण्डरमा राखी ब्लेण्ड गर्ने ।
अब यसलाई स्ट्रेनरमा हाली छानेपछि फेरि तताउने । त्यसपछि दूध–क्रिम हालेर राम्ररी मिक्स गरी सर्भ गर्ने । सुपका साथ दुई पिस मुल्टी ग्रेन ब्रेड र चिप्लेटी बटर पनि सर्भ गर्न सकिन्छ ।
चना–च्याउ बर्गर
आवश्यक सामग्री
च्याउ– ८० ग्राम, प्याज– ८० ग्राम, लसुन– २० ग्राम, जैतुनको तेल– २५ एमएल, उसिनेको चना– २५० ग्राम, मस्टर्ड पेस्ट– १० ग्राम, फ्लेक्स सिड– ४० ग्राम, होल ग्रेन फ्लोर– ६० ग्राम, अण्डा–२ वटा, ब्रेड कम– ३० ग्राम, पार्सली– आधा बन्च, काँक्रो स्लाइस– ७ पिस, टमेटो स्लाइस– ७ पिस, लेटुस– ३ पत्ता, चिज स्लाइस– ३ पिस, नुन– स्वादअनुसार, मरिचको धुलो– १ पिन्च ।
बनाउने तरिका
क्यानको या फ्रेस च्याउ उसिनेर चनासँग मिसाउने । त्यसपछि मस्टर्ड पेस्ट, फ्लेक्स सिड र होल ग्रेन फ्लोर हालेर ब्लेण्डरमा पिस्ने । अब पर्सली, नुन र मरिचलाई मजाले मुछ्ने । त्यसपछि प्याटीको आकार दिएर जैतुनको तेलमा डाम्ने या ओभनमा बेक गर्ने ।
त्यसपछि मल्टीग्रेन बर्गर बनलाई काँक्रो, टमेटो, लेटुस र चिज हालेर पत्र–पत्र हुने गरी मिलाउने । माथि उल्लेख गरेअनुरूप तयार पारिएको चना–च्याउको प्याटिज हालेर बनको कभरले छोप्ने । त्यसपछि कुनै ताजा ससका साथ सर्भ गर्ने ।
मिक्स भेज खिचडी
आवश्यक सामग्री
ब्राउन राइस– १५० ग्राम, मुगुको दाल– १०० ग्राम, मिक्स भेज– २०० ग्राम, घ्यु– एक चिया चम्चा, जिराको गेडा– आधा चिया चम्चा, नुन– स्वादअनुसार, भेज स्टक– ७५० एमएल, लसुन– १२ ग्राम, बेसार– आधा चिया चम्चा ।
बनाउने तरिका
चामल र दाललाई पखालेर भिजाउने । त्यसपछि एउटा ठीक्क आकारको प्रेसर कुकर तताएर त्यसमा घ्यु हाली तताउने ।
अब जिरा र लसुन पड्काएर चामल–दाल हाली केही बेर भुट्ने । त्यसपछि बेसार, नुन, भेज स्टक, मिक्स भेज, नुन र मरिच हालेर दुई सिट्टी लागुन्जेल पकाउने । पाकेपछि यसलाई नियमितरूपमा र साधारण तरिकाले नै खान सकिन्छ ।
टुना टमेटो पास्ता
आवश्यक सामग्री
होल ग्रेन पास्ता– ४०० ग्राम, जैतुनको तेल– ५० एमएल, ब्रोकाउली– २०० ग्राम, चप गार्लिक–२५ ग्राम, चप ओनियन– ३० ग्राम, सेलरी– ४० ग्राम, थाइम– ४ ग्राम, क्यारोट– ८० ग्राम, टमेटो– ७० ग्राम, टुना फिस– ३०० ग्राम, नुन– स्वादअनुसार, मरिच– १ पिन्च, तुलसी– आधा बन्च, जुकिनी– ७० ग्राम ।
बनाउने तरिका
पस्तालाई ८ मिनेटजति ब्वाइल गरेर छान्ने । त्यसपछि ब्रोकाउली, जुकिनी र क्यारोटलाई पनि ब्वाइल गरी एक साइड लगाउने ।
अब फ्राइङ प्यानमा जैतुनको तेल हालेर तताउने । त्यसपछि गार्लिक र ओनियन हालेर खैरो होउन्जेलसम्म पकाउने । त्यसपछि सेलरी, टुना, सिजिनिङ र थोरै स्टक हाली पास्ता खन्याउने । अब केही बेर चलाएर बेसिल, थाइमा र टोमेटो हालेर मिक्स गरेर सर्भ गर्ने ।
बुढाथोकी ‘दि सोल्टी काठमाडौं’ का सुसेफ हुन्