‘जी. माइसेलियुम’: पानीमा जरा, शरीरलाई लाभ

डा. डीबी सुनुवार

च्याउ प्रजातिको एक किसिमको फङ्गी हो ‘जी. माइसेलियुम’ । विशेषतः यो वनस्पतिको जराको भाग जी. माइसेलियुमको नामले चिनिन्छ ।

वैज्ञानिक हिसाबले तीन तहका साम्राज्यका रूपमा जगतलाई विश्लेषण गर्न सकिन्छ– ‘जिव साम्राज्य’, ‘वनस्पति साम्राज्य’ र ‘फङ्गी साम्राज्य’ । मानव स्वास्थ्यका लागि यी तीनै साम्राज्यको आ–आफ्नै महत्व छ । जीवले जीवकै प्रकृतिअनुसार खाना तयार पार्छ; वनस्पतिले वनस्पतिकै प्रकृतिअनुसार खाना तयार पार्छ । तर, फङ्गी साम्राज्यको भने बाँच्नका लागि खाना बनाउने तथा खाने तरिका जीव र वनस्पतिको भन्दा आधारभूत रूपमै फरक छ ।

फङ्गी प्रजातिले जीव र वनस्पतिको जस्तो खाना बनाउँदैन । फङ्गीले त जीव र वनस्पतिकै सहारामा जिउनुपर्ने हुन्छ । फङ्गी प्रजाति वास्तवमा जीव र वनस्पतिकै रस चुसेर बाँच्दछ । सहज उदाहरणका रूपमा ‘यार्शा गुम्बा’ लाई लिन सकिन्छ । यार्शाको उम्रने भाग जीव हो भने उम्रिएको भाग वनस्पति हो ।

जी. माइसेलियुममै ध्यान केन्द्रित गरौं । जी. माइसेलियुम पनि यार्शा गुम्बाजस्तै जीव र वनस्पतिको सहारामा बाँच्ने ‘फङ्गी’ हो । जी. माइसेलियुम रातो च्याउ प्रजातिको फङ्गी परिवारअन्तर्गत पर्दछ; यो ‘फङ्गी जडीबुटी’ का रूपमा समेत चिनिन्छ ।

रातो च्याउको बीऊ दुई तरिकाले उत्पादन गर्न सकिन्छ– एउटा तरिकाले काठ वा काठको धुलोमा र अर्को तरिकाले पानीमा । रातो च्याउको बीऊलाई काठ वा काठको धुलोमा उमारेर तयार पारिएमा त्यो ‘गानोदर्मा’ नामले चिनिन्छ र त्यही च्याउ पानीमा उमारेर तयार पारिएमा भने ‘जी. माइसेलियुम’ नामले चिनिन्छ ।

जी. माइसेलियुम वास्तवमा प्राकृतिक जडीबुटी नै हो । यो विशेषतः पहाडी तथा हिमाली भेगको पानीमा फस्टाउँछ । जी. माइसेलियुममा जडीबुटीजन्य औषधीय गुण पर्याप्त हुने भएकाले यसलाई आधुनिक किसिमले व्यावसायिक उत्पादन गर्ने काम पनि मनग्गे नै भइरहेको छ । ग्रीन हाउस बनाएर आधुनिक रूपमा यसलाई आवश्यकताअनुसार जहाँसुकै पनि उत्पादन गर्न सकिन्छ ।

कस्तो हुन्छ जी. माइसेलियुम ?

जी. माइसेलियुम पानीमा जरा पलाएर लेउजस्तै किसिमले फैलन्छ र बढ्दै जान्छ । जराको रङ्ग सेतो तथा क्रिमजस्तो देखिन्छ ।

जी. माइसेलियुमलाई पानीबाट बिस्तारै छानेर बाहिर निकालिन्छ र सुख्खा बनाइन्छ; बिस्तारै सुक्छ । सुकिसकेपछि यसलाई पिसेर पाउडर तयार पारिन्छ । पाउडरका रूपमा तयार पारिएको जी. माइसेलियुमलाई विभिन्न परिकारमा हालेर खान सकिन्छ । यसैलाई मात्र पनि सुप, तरकारी, सलाद र जुसका रूपमा समेत सेवन गर्न सकिन्छ; औषधिका रूपमा पाउडरलाई सिधै सेवन गर्न पनि सकिन्छ ।

आजकल जी. माइसेलियुमलाई क्याप्सुल तथा ट्याब्लेटका रूपमा समेत तयार पार्ने गरिएको छ । यसलाई आवश्यकताअनुसार प्राकृतिक चिकित्सक तथा विषयविज्ञको सल्लाहमा सेवन गर्नु उचित हुन्छ ।

पाइने तत्व

जी. माइसेलियुममा स्वास्थ्यका निम्ति निकै नै लाभदायक तत्वहरू पाइन्छन् । यसमा ‘पोलिस्याकराइड्स’, ‘प्राकृतिक जर्मानियम,’ ‘गानोदरिक इसेन्स’, ‘प्रोटिन’, ‘फाइबर’ जस्ता लाभदायक तत्वहरू पाइन्छन् ।

लाभैलाभ मात्रै, छैन साइड–इफेक्ट

जी. माइसेलियुमलाई ‘डायटरी फुड सप्लिमेन्ट’ का रूपमा सेवन गर्न सकिन्छ । यसलाई विशेषतः अफ्रिकन मुलुकहरूमा पोषणका रूपमा सेवन गर्ने अभ्यास छ ।

जी. माइसेलियुम सामान्यतः सबै उमेरसमूहका लागि लाभदायक हुन्छ । अर्थात्, जुनसुकै उमेरसमूहका मानिसले यसलाई सेवन गर्न सक्दछन् । रसिलो–पोषिलो यस जडीबुटीलाई स्वादिष्ट ढङ्गले विभिन्न परिकारका रूपमा सेवन गर्न सकिन्छ । यसको नियमित सेवन शारीरिक तथा मानसिक स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसको नियमित सेवन गर्दा कुपोषणको जोखिमबाट बच्न सकिन्छ । विशेषगरी बालबालिकालाई कुपोषणको जोखिमबाट बचाउनका लागि यसको सेवन गराउने प्रचलन छ । कुपोषणको समस्या भएका बालबालिकालाई पोषणको पूर्ति गराउन यो निकै लाभदायक हुन्छ ।

यसमा प्रशस्त मात्रामा ‘एन्टिअक्सिडेन्ट’ हुने भएकाले विभिन्न खाले स्वास्थ्य समस्याको जोखिमबाट बच्न पनि यो लाभदायक छ । यसमा पाइने भिटामिन तथा मिनरलजस्ता तत्वले कमजोर शरीरलाई हृष्टपुष्ट बनाउन सहयोग पुर्‍याउँछ । यसमा भएका विभिन्न तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग मिल्छ ।

जी. माइसेलियुममा पाइने लाभदायक तत्वहरूले फोक्सो, मुटुजस्ता शरीरका भित्री अङ्ग मजबुत बनाउन सहयोग मिल्छ । शरीरका अङ्ग मजबुत हुँदा शारीरिक मात्र नभई मानसिक समस्याको जोखिमबाट समेत बच्न सकिन्छ ।

जी. माइसेलियुमको नियमति सेवनले अल्छी लाग्ने, चिटचिटाहट हुनेजस्ता मानसिक समस्याबाट समेत छुटकारा पाउन सकिन्छ । यस्ता समस्याबाट छुटकारा पाउँदा शारीरिक तथा मानसिकरूपमा स्फूर्ति त हुने नै भयो; त्यसो हुँदा सिर्जनात्मकताको समेत अभिवृद्धि हुन्छ ।