धर्मपुत्र–धर्मपुत्री: यस्तो छ कानुनी व्यवस्था
अधिवक्ता लक्ष्मण बस्यालसंसारका अन्य विभिन्न मुलुकहरूमा जस्तै नेपालमा पनि धर्मपुत्र वा धर्मपुत्री राख्न पाइने कानुनी व्यवस्था छ । मुलुकी देवानी संहिता, २०७४ मा धर्मपुत्र–धर्मपुत्रीसम्बन्धी व्यवस्था छ । संहिताको परिच्छेद– ८ मा यससम्बन्धी व्यवस्था छ ।
परिच्छेद– ८ अन्तर्गत दफा १६९ मा लेखिएको छ– ‘कुनै व्यक्तिले अन्य व्यक्तिका छोरा वा छोरीलाई आफ्ना छोरा वा छोरीका रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिनेछ ।’ दफा १७० अनुसार बालबालिकाको सर्वोत्तम हित हुने गरी मात्र धर्मपुत्र वा धर्मपुत्री राख्नुपर्ने हुन्छ । ‘यस संहिताबमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाको सर्वोत्तम हक र हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्नेछ’– दफा १७० मा भनिएको छ । यसको अर्थ, बालबालिकाको हितविपरीत धर्मपुत्र वा धर्मपुत्री राख्न पाइँदैन/राख्नु हुँदैन ।
संहिताको दफा १७१ ले गरेको व्यवस्थाअनुसार छोरा–छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न पाइँदैन । दफा १७१ को उपदफा (१) मा भनिएको छ– ‘यस परिच्छेदबमोजिम छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउने छैन ।’ तर, उपदफा (२) मा न्यायिक पृथकीकरण गरी भिन्न बसेका महिला वा पुरुषसँग छोराछोरी सँगै नबसेमा त्यस्ता पुरुष वा महिलाले धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने व्यवस्था छ । यसको अर्थ कानुनीरूपमा श्रीमान्–श्रीमती छुट्टाछुट्टै बसेको र उनीहरूमध्ये कुनैसँग छोराछोरी नबसेको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राख्न पाइन्छ ।
उपदफा (३) मा भने यस्तो व्यवस्था छ– ‘आफ्ना छोरा वा छोरी हुने कुनै व्यक्तिले अन्य बालबालिकालाई पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत खुलाई धर्मपुत्र वा धर्मपुत्री राख्नका लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदकमा त्यस्तो हैसियत रहेको देखिएमा अदालतले निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिन सक्नेछ ।’ यसको अर्थ, छोरा–छोरी भए पनि बालबालिकालाई हेरचाह तथा शिक्षा, स्वास्थ्यलगायतको व्यवस्थापन गर्न सक्ने अवस्था भएका व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने देखिन्छ ।
संहिताको दफा १७२ को (क) मा व्यवस्था भएअनुसार विवाह भएको दस वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पतिले कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छन् । सोही दफाको (ख) मा भएको व्यवस्थाअनुसार ‘पैंतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध–विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिलाले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेछिन् ।
दफा १७२ को (ग) अनुसार पैंतालीस वर्ष उमेर पूरा भएका अविवाहित, विधुर, सम्बन्ध–विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका छोरा वा छोरी नहुने पुरुषले पनि कुनै बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छन् ।
तर, सोही दफाको उपदफा (२) (क) मा ‘होस ठेगानमा नभएको’ व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाइने व्यवस्था छ । उपदफा (२) (ख) अनुसार ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरिएकोे व्यक्तिले पनि धर्मपुत्र वा धर्मपुत्री राख्न मिल्दैन । (ग) मा समेत ‘नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको’ व्यक्तिले पनि धर्मपुत्र वा धर्मपुत्री राख्न नपाइने कानुनी व्यवस्था छ ।
दफा १७२ को उपदफा (३) अनुसार ‘सगोलका पति वा पत्नीले धर्मपुत्र वा धर्मपुत्री राख्दा एक–अर्काको मञ्जुरी लिनु पर्नेछ ।’ यसको अर्थ, सँगै रहेका श्रीमान्–श्रीमतिबीच सरसल्लाह गरेर पारिवारिक सहमतिमा मात्रै धर्मपुत्र वा धर्मपुत्री राख्नेबारे निर्णय लिनुपर्ने हुन्छ ।
धर्मपुत्र–धर्मपुत्री राख्नु नहुने अवस्था
संहिताको दफा १७३ ले धर्मपुत्र वा धर्मपुत्रीका रूपमा बालबालिका लिनु–दिनु नहुने व्यवस्था परिभाषित गरेको छ । दफा १७३ को उपदफा (१) (क) मा ‘चौध वर्ष उमेर पूरा गरेको’ व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा लिनु वा दिनु नहुने व्यवस्था छ । त्यसैगरी, सोही उपदफाको (ख) मा भएको व्यवस्थाअनुसार एउटा मात्र छोरा वा छोरीका रूपमा रहेका व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा लिनु वा दिनु हुँदैन । ‘तर दफा १७५ को उपदफा (३) बमोजिमको अवस्थामा यो व्यवस्था लागू हुनेछैन’– सो व्यवस्थामा उल्लेख छ ।
दफा १७५ को उपदफा (३) मा भनिएको छ– ‘बाबुआमा पत्ता नलागेको, जीवित नभएको वा बाबुआमा जीवित भए पनि बाबु वा आमाले अर्को विवाह गरी त्यस्तो बालबालिकालाई अन्य कुनै व्यक्ति वा संस्थाले पालनपोषण वा हेरविचार गरेको रहेछ भने यसरी पालनपोषण वा हेरविचार गर्ने व्यक्ति वा संस्थाको लिखित सहमति लिई त्यस्ता बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।’
दफा १७५ को उपदफा (३) मा यस्तो व्यवस्था भए पनि दफा १७३ को उपदफा (१) को (ग) मा ‘एकपटक धर्मपुत्र वा धर्मपुत्रीका रूपमा लिइएको’ व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा लिनु वा दिनु नहुने व्यवस्था गर्दै लेखिएको छ– ‘तर, कानुनबमोजिम धर्मपुत्र वा धर्मपुत्री बदर भएकामा यो व्यवस्था लागू हुने छैन ।’
दफा १७३ को उपदफा (१) (घ) मा ‘धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिभन्दा माथिल्लो नाताको’ व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा लिन वा दिन नपाइने व्यवस्था छ भने (ङ) मा ‘गैरनेपाली नागरिक’ लाई धर्मपुत्र वा धर्मपुत्रीका रूपमा लिन वा दिन नपाइने व्यवस्था छ ।
सो बन्दोबस्तको स्पष्टीकरणात्मक व्यवस्थामा उल्लेख छ– ‘तर विदेशी नागरिकता प्राप्त गरेको गैरआवासीय नेपाली नागरिकको हकमा यस खण्डको व्यवस्था लागू हुने छैन ।’
दफा १७३ को उपदफा (२) मा ‘तीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्वपतितर्फ छोरा वा छोरी भएमा चौध वर्ष नाघेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सकिने’ व्यवस्था छ । दफा १७४ को उपदफा (१) अनुसार ‘धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तिमा पच्चीस वर्ष फरक हुनु पर्नेछ ।’ उपदफा (२) मा भने तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज नलाग्ने व्यवस्था छ ।
संहिताको दफा १७५ को उपदफा (४) मा ‘दस वर्ष नाघेका बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्दा निजको समेत लिखित सहमति लिनु पर्ने’ कानुनी व्यवस्था छ ।