छुल्ठिमको छवि: रेडियो–टिभी प्रस्तोतादेखि अभिनेतृसम्म

केदार गौतम/शङ्कर क्षेत्री/भोला अधिकारी

नेपाली म्युजिक भिडियो तथा फिल्ममा आफ्नो छुट्टै पहिचान बनाएकी अभिनेतृ हुन् छुल्ठिम गुरुङ । एक समयको चर्चित गीत ‘सोई ढोले सोई’ बाट म्युजिक भिडियोमा प्रवेश गरेकी छुल्ठिमले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छन् । ‘नोभेम्बर रेन’ नामक चलचित्रबाट फिल्म नगरीमा प्रवेश गरेकी उनी केही वर्षअघि आफैंले ‘डायरी’ नामक चलचित्र निर्माण गरेर निर्माताका रूपमा समेत उभिएकी छन् ।

पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बनेकी छुल्ठिमले विभिन्न अवार्डहरू हात पारेकी छन् । पछिल्लो समय कोरोनाको मारमा परेको फिल्म क्षेत्र चयानमान बन्न नसकेका बेला उनी भने म्युजिक भिडियोहरूमा व्यस्त रहँदै आएकी छन् । कोरोना महामारी नियन्त्रणमा आएर फिल्म क्षेत्र चलायमान बन्न थालेलगत्तै अर्को नयाँ चलचित्र निर्माण गर्ने योजना बुनिरहेकी छिन् छुल्ठिम ।

रेडियोसँगै म्युजिक भिडियो

अठार वर्षअघिदेखि रेडियो कार्यक्रममा आवाज गुन्जाउँदै त्यसको केही पछिदेखि टेलिभिजनकी ‘भिजे’ समेत बनेकी अभिनेतृ गुरुङ पछिल्लो समय फिल्म क्षेत्रमा ‘चल्तीकी अभिनेतृ’ को परिचय बनाउन सफल भइन् । पन्ध्र वर्षअघि ‘नेपाल वन टेलिभिजन’ मा ‘लोकमाला’ तथा अरु विभिन्न कार्यक्रम चलाउँदा नै म्युजिक भिडियोमा अभिनयका निम्ति अफर आउँदै थिए ।

‘सुरुमा मैले एबीसी रेडियोमा एक महिना काम गरें, त्यो मेरो ट्रायल पिरियड थियो,’ उनले सुनाइन्– ‘त्यसपछि भने व्यावसायिक रूपमा मैले गोर्खा एफएममा काम गरें । त्यहाँ मैले हप्तामै चौध–पन्ध्र वटासम्म कार्यक्रम चलाएँ । यो आजभन्दा बाह्र वर्ष अघिको कुरा हो ।’

‘त्यहाँ मैले करिव चार वर्ष काम गरें, त्यहीबेला ‘नेपाल वन’ टेलिभिजनमा समेत कार्यक्रम प्रस्तोताका रूपमा काम गर्न थालिसकेकी थिएँ,’ उनले सुनाइन्– ‘लोक सँगालो भन्ने कार्यक्रम चलाउँथें, त्यसपछि नै हो म्युजिक भिडियोतर्फ खेल्ने अवसर पाएको ।’

त्यसबेला गुरुङको ‘लोक सँगालो’ निकै हिट थियो । एकातिर यो कार्यक्रम हिट थियो भने अर्कातिर उनलाई म्युजिक भिडियोमा खेलाउन निर्देशक, निर्माता र गायकहरूबीच ‘प्रतिस्पर्धा’ नै चल्यो । काठमाडौंको तीनकुनेस्थित टेलिभिजनको कार्यालयमै छुल्ठिमलाई भेट्नेहरूको लाइन लाग्थ्यो । त्यसबेला निकै चलेका निर्देशक आलोक नेम्बाङ र छुल्ठिमबीच राम्रो मित्रता थियो । छुल्ठिम एकदमै सुन्दरी भएकै कारण धिरज राईको गीतमा अभिनयका निम्ति आलोकले अफर गरे । म्युजिक भिडियोका लागि साथीले गरेको अफर छुल्ठिमले नकारिनन् ।

‘छुल्ठिम ! धिरजको गीतमा अभिनय गर्छेस् त ?’ आलोक नेम्बाङको वाक्य उद्धृत गर्दै उनले पुराना दिन सम्झिइन् । ‘मलाई अभिनय खासै आउँदैन, के खेल्नु’– आलोकसँग त्यसबेला छुल्ठिमको प्रतिक्रिया थियो । आलोकले जिद्दी गरे– ‘तैंले गर्छेस्, एकदम राम्रो हुन्छ ।’

‘लौ न त खेलिहेरूम् न भनेर खेलेको, राम्रै पो भयो,’ छुल्ठिम भन्छिन्– ‘त्यसपछि त मैले म्युजिक भिडियोबाट पछाडि फर्केर हेर्नै पो परेन ।’

फिल्मअघि टेलिभिजन प्रस्तोता

छुल्ठिमले टेलिभिजन यात्रातर्फ अघि बढ्दाको प्रसङ्ग पनि रोचक छ । ‘गोर्खा एफएम’ मा कार्यक्रम प्रस्तोताका रूपमा कार्यरत रहँदा उनका मिल्ने साथी सोनाम पाख्रिन ‘नेपाल वन’ टेलिभिजनमा कार्यक्रम प्रमुख थिए । ‘एउटा लोकगीत कार्यक्रमका लागि कोही प्रस्तोता छ त ?’ छुल्ठिमसँग सोनामले सोधे । साथीले टेलिभिजन प्रस्तोताको खोजी गर्दा आफैं पो गरौं कि भन्ने लाग्यो उनलाई ।

दुई दिनसम्म सोचविचार गरेपछि छुल्ठिमले भनिन्– ‘सोनाम ! त्यो कार्यक्रम म आफैं चलाउँछु नि त ।’ त्यो कार्यक्रम हप्तामा दुई दिन छायाङ्कन हुन्थ्यो, दुई दिनमा चार भागको रेकर्ड गरिन्थ्यो । पारिश्रमिक ८ हजार थियो, फ्युल खर्च २ हजार थपिँदा १० हजार पुग्थ्यो । त्यो टेलिभिजनमा उनले लामै समय काम गरिन् ।

टेलिभिजनमा काम गर्न थालेपछि भने उनका सामु म्युजिक भिडियोहरूको बाढी नै आयो । उनले काम गरेका म्युजिक भिडियो चर्चामा आएपछि थुप्रै निर्माता–निर्देशकहरूले ‘फिल्म खेल्ने अफर’ उनीसमक्ष ल्याए । ‘फिल्ममा अभिनय गर्न त सक्दिनँ कि’– उनको मनमा आशङ्का थियो ।

टेलिभिजनमा काम गर्दा उनी निकै मोटी थिइन् । त्यसबेला छुल्ठिमको वजन ७० केजी थियो । टेलिभिजनको पर्दामा आफू निकै मोटी देखिएपछि आफैंलाई मनमनै सुझाव दिइन्– ‘छुल्ठिम ! अब यसरी हुँदैन; तँ त ग्ल्यामर फिल्डमा आइसकेकी छस्, ७० केजीबाट निकै नै घटनुपर्छ ।’

त्यसपछि उनले दैनिकरूपमै तौल घटाउने प्रयास गर्न गरिन् । ‘विभिन्न व्यायामका साथ तौल घटाउने प्रयास गरें,’ उनले सुनाइन्– ‘तीन महिनामा १२ केजी घटाउन सफल भएँ । त्यसपछि बिस्तारै ४४ केजीमा आइपुगें । मैले म्युजिक भिडियोमा सबैभन्दा धेरै काम गरेको यही बीचको समयमा हो ।’ तौल घटाउनका लागि खानपानमा भने उनी केही पनि बार्दिनन् । तौल घटाउनुपर्छ भन्ने दिमागमा लागेपछि आफैं घट्ने उनको अनुभव छ ।

भिजेसँगसँगै म्युजिक भिडियो

रेडियो–टेलिभिजन प्रस्तोता र स्टेज उद्घोषिका बनेर चर्चामा रहेकी छुल्ठिम क्रमशः म्युजिक भिडियोमा जम्न थालिन् । दिवङ्गत आलोक नेम्बाङ म्युजिक भिडियोका राम्रा निर्देशक गनिन्थे त्यसबेला । टेलिभिजन प्रस्तोता छुल्ठिम र म्युजिक भिडियो निर्देशक नेम्बाङबीच राम्रो दोस्ती थियो । छुल्ठिमको उपनाम ‘स्वीकृति’ थियो; आलोकले भने जिस्क्याउँदै उनलाई ‘विकृति’ भनेर बोलाउँथे ।

त्यही मेसोमा निर्देशक आलोक म्युजिक भिडियोका लागि मङ्गोलियन अनुहारकी मोडल खोजिरहेका थिए । ‘त्यस्ती मोडल कोही भए भन न’– छुल्ठिमसँग आलोकको प्रस्ताव थियो । ‘आलोक मङ्गोलियन फेस खोजिरहेका थिए,’ पुराना कुरा सम्झँदै छुल्ठिमले सुनाइन्– ‘म पनि त मङ्गोलियन फेसकै छु नि, मैलाई खेलाउँदा के हुन्छ ?’

‘विकृति नै खेल्छ्यौ भने त झनै राम्रो हुन्छ नि’– स्वीकारोक्तिकै भावमा आलोकले पनि भनिदिए । त्यसपछि नै हो धिरज राईको ‘सोई ढोले सोई’ मा उनले ‘रमाइलोका लागि’ खेलेको । त्यो भिडियो निकै चल्यो र एकदमै चर्चित भयो । त्यसपछि भने अरु म्युजिक भिडियोहरूमा पनि छुल्ठिमलाई निरन्तर अफर आउन थाले ।

त्यसपछि गीतकार/सङ्गीतकार मानस राजको निर्देशनमा बनेको गीतमा उनले अभिनय गरिन् । पारिश्रमिक नै लिएर काम गरेको त्यो म्युजिक भिडियो आसुसेन लामाको ‘लेक–लेक चर्ने चौंरी गाई’ बोलको गीतमा बनाइएको थियो । त्यसको निर्देशन गरेका थिए शैयन्द्रले । कुरा हो, करिव एघार वर्ष अघिको ।

ख्यालख्यालमै फिल्मयात्रा

यसरी टेलिभिजन कार्यक्रम चलाउँदै गर्दा छुल्ठिमले थुप्रै म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् । त्यसैले, क्यामेराअघि बोल्ने र अभिनय गर्ने कुरा उनका निम्ति कुनै नौलो र अप्ठ्यारो विषय थिएन ।

फिल्म निर्माता सुवास गिरी ‘नोभेम्बर रेन’ निर्माणको तयारीमा थिए । सुवास र छुल्ठिमबीच पनि पहिल्यैदेखि राम्रै दोस्ती थियो । आफ्नो फिल्ममा अभिनयका निम्ति सुवासले छुल्ठिमलाई अफर गरे । फिल्मका लागि साथीले अफर गर्दा सुरुमा त छुल्ठिमलाई डर पनि लाग्यो ।

म्युजिक भिडियोमा त अभिनय मात्रै गरे पुग्छ तर फिल्ममा भने बोल्नु पनि पर्छ । त्यसैले उनलाई डर लागेको थियो । ‘साथी भए तापनि फिल्मका लागि नै हो भने मेरो अडिसन लेऊ,’ सुवाससँगको सम्वाद उद्धृत गर्दै छुल्ठिमले सुनाइन्– ‘मैले फिल्मको क्यारेक्टरअनुसार अभिनय गर्न सकें भने खेल्छु, नत्र खेल्दिनँ । म्युजिक भिडियो र फिल्ममा अभिनय गर्नु बिल्कुलै फरक कुरा हो ।’

‘मैले त्यसो भनेपछि तत्कालै अडिसन लिने तारतम्य मिलाइयो । केहीबेर पात्रअनुसारको डाइलग हेरें र त्यहीअनुसार अभिनय गरें,’ उनले सुनाइन्– ‘त्यहाँ मेरो भूमिका साडी सुट हुने खालको थियो ।’

फिल्म पाएँ भन्दैमा खेलिहाल्नुपर्छ भन्ने लाग्दैन छुल्ठिमलाई । कथाअनुसार अभिनय गर्न सकिन्छ कि सकिँदैन भन्नेमा ख्याल गर्नुपर्ने उनको धारणा छ । ‘जतिसुकै चलेको कलाकार भए तापनि अडिसन दिएर मात्रै फिल्म खेलेमा सफल भइन्छ,’ बलिउड अभिनेता–अभिनेतृको उदाहरण दिँदै उनले भनिन्– ‘नत्र त कथा र पात्र फरक पर्न सक्छन् र फिल्मको कथा नै मर्न पनि सक्छ ।’

आर्यन सिग्देलसँग ‘नोभेम्बर रेन’ मा अभिनय गरिसकेपछि उनले खेलेको दोस्रो फिल्म ‘डायरी’ भने उनी आफैंले निर्माण गरिन् । आफैं प्रोड्युसर बन्नुका पछाडि थुप्रै कारण रहेको उनको भनाइ छ । यो फिल्मको कथावस्तुले आफूलाई छोएको र साथीभाइको सल्लाहबमोजिम लगानी गरेको उनको तर्क छ ।

आफूलाई दर्जनौ फिल्मको अफर आए तापनि समय अनुकूलका फिल्म मात्रै खेल्ने गरेको उनको दावी छ । यतिबेला केही फिल्ममा अभिनय गरिरहेको र आफैंले पनि एउटा फिल्म निर्माणको प्रक्रिया अगाडि बढाइरहेको छुल्ठिमले सुनाइन् । नयाँ फिल्मको कथावस्तु निकै जटिल भएकाले ‘होमवर्क’ गरिरहेको उनले बताइन् ।

दैनिकी र जीवनशैली

आफ्नो दैनिकी र जीवनशैली साधारण किसिमको भएको उनले सुनाइन् । बिहान साढे ५ बजे उठ्छिन् । ढिलोमा ६ बजेभित्र उठिसक्ने उनी फ्रेस हुने काम गरिसकेपछि बुबा–आमालाई ढोग्छिन् र राम्रा–राम्रा प्रवचनहरू सुन्छिन् ।

बिहानै खालि पेटमा मनतातो पानी पिउँछिन् । चिया–कफी केही पनि खाने उनको बानी छैन । उनलाई चिया–कफीले खासै फाइदा पनि गर्दैन । कफी–चियाको सट्टा आफूले एक लिटर पानी पिउने गरेको उनले बताइन् ।

त्यसपछि हल्का व्यायाम र मेडिटेसन गर्छिन् । ‘मेडिटेसनले दिनभरिको कामका लागि ऊर्जा प्रदान गर्छ, त्यसैले आवश्यक ठानेकी हुँ,’ उनी भन्छिन्– ‘तपाईंले आफ्नो जिन्दगी जति सरल बनाउनुहुन्छ, त्यति नै सजिलो हुन्छ भन्ने कुरा कोभिड महामारीले सिकायो । यो कुरा आफूमै भर पर्छ, कसिलो गाँठो बनाउनुभयो भने जिन्दगी त्यत्तिकै कसिलो बन्दै जान्छ ।’

साढे सात बजेतिर उनी किचनमा पस्छिन् र खाना बनाउन थाल्छिन् । साढे ८ देखि ९ बजेभित्र खाना खाइसक्छिन् । दिउँसो दुई बजेतिर खाजा खाने उनी पाँच बजेतिर साँझको खाना खान्छिन् । यीबाहेकका खाने कुरा उनी खासै खाँदिनन् ।

खाने कुरा केही पनि बार्दिनन् । खाना धेरै खाएर मान्छे मोटाउँछ भन्ने कुरामा उनलाई विश्वास लाग्दैन । ‘जति मन लाग्छ, त्यति नै खाने गरेकी छु,’ आफूले खानामा कहिल्यै कन्जुस्याइँ नगरेको सुनाउँदै उनले भनिन्– ‘मान्छे मोटाउनु र दुब्लाउनु त दिमागको करामत हो ।’

अभिनेतृ भए पनि खाना बनाउने, भाँडा माझ्नेलगायतका सबै काम छुल्ठिम आफैं गर्छिन् । सुटिङ परेका बेला भने उनी भाँडा माझ्ने कामबाट टाढै रहन्छिन् ।

छैन स्वास्थ्य समस्या

शिक्षित परिवारमा हुर्किएकी छुल्ठिमले सरसफाईका बारे सानैदेखि ज्ञान हासिल गर्ने नै भइन् । स्कुल पढ्दा नै स्वास्थ्य सचेतताको राम्रो ज्ञान पाएकी उनले सरसफाईमा विषेश ध्यान दिने गरेकी छन् ।

बिरामी भएर अस्पताल भर्ना नै हुनु परेको उनको अनुभव छैन । फिल्म खेल्दा बिरामी नै परेर सुटिङ छाड्नु परेको भोगाइ पनि अहिलेसम्म छैन ।

हल्काफुल्का बिरामी भने धेरै पटक भएको उनको अनुभव छ । महिनावारी हुँदा उनलाई सहनै गाह्रो पर्ने गरेको छ । यस्तो समयमा पनि औषधि खाँदै काम गर्दै गर्ने गरेको उनले सुनाइन् ।

सामाजिक सञ्जालमा सक्रिय

अभिनेतृ छुल्ठिम सामाजिक सञ्जालमा समेत उक्तिकै सत्रिय छिन् । सकारात्मक सन्देश दिने कुराहरू मात्र पढ्न अनि त्यस्तै सामग्री पोस्ट गर्न मात्र आफूले सञ्जाल चलाउने गरेको उनको भनाइ छ । नकारात्मक कुराले मान्छेलाई फाइदा नगर्ने भएकाले त्यस्ता कुरामा ध्यान नदिने उनी बताउँछिन् ।

आफूले छोटा र सकारात्मक खालका फिल्महरू हेर्ने गरेको उनले सुनाइन् । हलिउड–बलिउडका फिल्म, ती पनि साराङ्श टाइपका मात्र हेर्न उनले जोड दिने गरेकी छन् । ‘फेसबुक’ र ‘इन्स्टाग्राम’ मा आएका प्रतिक्रियाको जवाफ भने उनले साँझ आठ बजेपछि मात्रै दिने गरेकी छन् ।