गुणकारी नोनी: स्वाद टर्रो, हर्रो न बर्रो !

डा. डीबी सुनुवार

विशेषतः समुद्री किनारमा पाइने, हेर्दा अम्बाजस्तै तर केही लाम्चो देखिने प्राकृतिक फल हो नोनी । यो समुद्री सतहदेखि केही उचाइमा पाइन्छ ।

यसको बोट पनि लगभग अम्बाकै जस्तो देखिन्छ तर पात भने कफीको जस्तै हुन्छ । नोनी रुबियासी वा कफी परिवारको वनस्पति हो । यसको फल सामान्यतः ३ सयदेखि ५ सय ग्रामको हुन्छ, दाना हल्का हरियो र बाहिरी सतह ठूलठूला फोकायुक्त हुनाले आँट या सरिफाजस्तो देखिन्छ ।

यसका विभिन्न प्रजाति हुन्छन् । यो स्वास्थ्यका लागि अति नै गुणकारी फल हो ।

फल एक, नाम अनेक

यसको ‘कमन नाम’ नोनी हो भने वैज्ञानिक नाम मोरिन्डा सिट्रोफोलिया हो । यसलाई इण्डियन मल्बेरी पनि भनिन्छ । चीनमा यसलाई ‘बा जि तियन’ भनिन्छ । देश र ठाउँअनुसार यसलाई नोनु, नोनो, चिज फ्रुट, न्हाउ र हग एप्पल पनि भनिन्छ ।

यो वनस्पतिका सबै भाग– जरा, डाँठ, बोक्रा, पत्ता, फूल तथा फलको विभिन्न अनुपातमा प्रयोग हुन्छ । नोनीलाई करिव चालीस प्रकारका उपचारात्मक कार्यमा प्रयोग हुन्छ । यसलाई खाने कुरा, पेय पदार्थ, औषधि तथा कपडा रङ्ग्याउने रङ्गका रूपमा समेत प्रयोग गरिन्छ । आदिवासीहरूले अनिकालका बेला यस फललाई ‘भोकमरीको फल’ भनेर समेत प्रयोगमा ल्याएको इतिहास भेटिन्छ ।

नोनीमा पाइने तत्व

सबैजसो प्राकृतिक फलहरूमा मानव जीवनका लागि उपयोगी तत्व पाइने कुरा सामान्य नै भयो । अतः नोनीमा पनि स्वभावतः त्यस्ता तत्व छन्, जो मानव स्वास्थ्यका निम्ति निकै लाभदायी हुन्छन् ।

नोनीमा पोलिफेनोल, एन्टिअक्सिडेन्ट, एन्टिइरिटेसन, पेनरीलिभरजस्ता तत्व पाइन्छन् । यसमा पोलिस्याकराइड्स, फ्लेभोनाइड, लिग्नान्स, अग्र्यानिक जर्मानियम, जेरोनाइन, अल्कालोइडजस्ता ‘फाइटो केमिकल्स’ समेत पाइन्छन् ।

नोनीमा भिटामिन ए, बी, सी, सोडियम, क्याल्सियम, पोटासियम तथा आइरनजस्ता शारीरिक तथा मानसिक वृद्धि–विकासका निम्ति लाभदायक पौष्टिक तत्व पनि पाइन्छन् । यसबाट प्रोटिन, फाइबर, मिनरल्स र फ्याट पनि उपलब्ध हुन्छ ।

‘युएसडीए’ का अनुसार, १०० ग्राम नोनी फलमा ९५.६७ ग्राम पानी, १५.३ क्यालोरी, ०.५३ ग्राम प्रोटिन, ०.१ ग्राम फ्याट, ३.४ ग्राम कार्बोहाइड्रेड, ०.२ ग्राम डायटरी फाइबर, १.४९ ग्राम सुगर, ०.१ ग्राम सुक्रोज, ०.३२ ग्राम फ्रुक्टोज, ०.१ ग्राम ल्याक्टोज ०.१ ग्राम माल्टोज र १.१७ ग्राम डेक्सट्रोज हुन्छ ।

यसले ३३.३९% भिटामिन सी, २.६२% कार्बोहाइड्रेड र १.०१% क्याल्सियम पनि प्रदान गर्दछ । प्रचुर मात्रामा भिटामिन सी भएकाले गर्दा नोनी ‘एन्टिअक्सिडेन्ट क्वीन’ को नामले समेत चिनिन्छ ।

खाने तरिका

अरु जुनकुनै फलजस्तै यो फल पनि अवश्य नै तरिका पुर्‍याएर नै खानुपर्छ । नेपालीमा उखान नै छ– ‘खान जाने अमृत, नजाने विष !’

तर, सूचना र प्रविधिको यो जमानामा केको चिन्ता छ र ? यसको परिचय, उपयोग, सङ्कलन/भण्डारणका विधि, प्रशोधन, उपभोगलगायतका सबै विधिबारे सहजै जानकार हुन सकिन्छ । आजकल त धुलो बनाएर र क्याप्सुलिङ समेत गरेर सुरक्षित किसिमले खान तयार पारिएको नोनी समेत बजारमा पाइन्छ ।

वयस्क व्यक्तिले एक पटकमा एकदेखि तीन ग्रामसम्म नोनीको एक्स्ट्राक्ट सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसलाई दैनिक तीन पटकसम्म सेवन गर्न सकिन्छ । नोनी जुनसुकै समयमा सेवन गर्न सकिने भए पनि विशेष गरी खालि पेटमा सेवन गर्नु उचित हुन्छ । यो फलको जुस बनाएर पनि खाँदा थुप्रै फाइदा हुने अध्यनहरूले देखाएका छन् ।

फाइदा के–के ?

नोनी फलका फाइदै फाइदा छन् । प्रशोधित नोनी हेर्दा पाउडरजस्तो देखिन्छ र खाँदा हल्का टर्रो स्वादको हुन्छ । यो स्वास्थ्यका हिसाबले निकै लाभदायक फल हो ।

नोनी विशेषतः महिला तथा बालबालिकाका लागि अझ बढी उपयोगी छ । पाठेघर, रजश्वलालगायतका समस्या भोगिरहेका महिलाले यसको सेवन गर्दा ती समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यसका अरु पनि धेरै फाइदा छन् । नोनीको सेवनले प्रजनन प्रणाली सामान्य अवस्थामा राख्न पनि मद्धत गर्दछ । यौन तथा प्रजनन समस्या समाधान गर्न समेत यो निकै उपयोगी छ । यसले दुखाइ कम मात्रै गर्दैन, तनाव कम गर्न समेत सहयोग पुर्‍याउँछ ।

स्वास्थ्य समस्या हुनेहरूले मात्र नोनी सेवन गर्नुपर्छ भन्ने होइन । स्वास्थ्य समस्या हुन नदिन पनि यसको सेवन गर्न सकिन्छ । महिलाले मात्र होइन, जुनसुकै लिङ्ग र उमेरसमूहका व्यक्तिले पनि यसको सेवन गर्न सकिन्छ ।

नोनीले सेता रक्तकोष (डब्ल्यूबीसी) बढाएर रोग प्रतिरोधी क्षमता वृद्धि गर्न पनि मद्धत पुर्‍याउँछ । यसले ‘म्याक्रोफेजेज’ र ‘लिम्फोसाइटस्’ का गतिविधिलाई बढाएर शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ । शरीरमा ‘एलडीएल’ कम गराएर कोलेस्ट्रोरेल सही मात्रामा राख्न समेत यसले मद्धत पुर्‍याउँछ ।

नोनीमा भएको अग्र्यानिक जर्मानियमले अक्सिजनलाई थप क्रियाशील बनाउन मद्धत गर्छ, जसले गर्दा शरीरमा जम्मा भएका ‘फ्री रेडिकल्स’ सजिलै बाहिर निस्कन सक्छन् । एक अध्ययनअनुसार ट्युमर र क्यान्सरको उपचार गराइरहेका तथा केमोथेरापी लिइरहेका क्यान्सरका बिरामीलगायतका निम्ति समेत नोनी निकै लाभदायक देखिएको छ ।

दीर्घ तथा सरुवा रोगको उपचारमा पनि यसले निकै राम्रो फाइदा पुर्‍याएको पाइएको छ । दुखाइ कम गर्न र कमजोरी भएको अवस्थामा ‘डायटरी सपोर्ट’ का निम्ति पनि यो एकदमै उपयोगी छ । नोनीमा रहेको ‘जेरोनाइन’ तत्वले विभिन्न प्रकारका स्वास्थ्य समस्यामा सन्तुलनको भूमिका निभाउँदछ । शरीरको कुनै भाग वा पूरै शरीर सुन्निएको अवस्थामा त्यसको समाधानका निम्ति समेत नोनी एकदमै लाभदायक हुन्छ ।