सङ्गम भण्डारीको सङ्घर्ष
बीएन अधिकारीकलाकार सङ्गम भण्डारीले २०४२ देखि रेडियो नाटक हुँदै क्रमशः टेलिचलचित्र र पछिल्लो समय फिल्महरूमा अभिनय गर्दै आएकी छन् । थुप्रै म्युजिक भिडियो तथा विज्ञापनहरू समेतमा अभिनय गरेकी भण्डारी पछिल्लो समय चर्चामा छिन् ।
रेडियो नेपालबाट प्रशारण हुने ‘बाल चौतारी’ कार्यक्रम तथा बालनाटकबाट नै हो उनले कलाकारिता यात्रा तय गरेको । लिलबहादुर क्षेत्रीको ‘बसाइँ’ बाट उनले फिल्मी अभिनयमा ‘डेब्यु’ गरिन् ।
सानै उमेरदेखि बालनाटकमा लागेकी सङ्गम नेपाल टेलिभिजनबाट ‘सिरियल’ प्रशारण हुन थालेपछि त्यता पनि अभिनय गर्न थालिन् । त्यस क्रममा राजधानीका विभिन्न ठाउँमा हुने नाटकहरूमा समेत अभिनय गर्दै दर्शकमाझ आफूलाई थप चिनाउँदै गइन् ।
३५ वर्षभन्दा लामो अभिनय–यात्रामा आफूले अनगिन्ती अभिनय गरिसकेको सङ्गमले होलिस्टिकलाई बताइन् । ‘कलाकार बन्नका लागि पहिल निकै नै सङ्घर्ष गर्नुपथ्र्यो,’ उनले सुनाइन्– ‘अहिले भने अवस्था त्यस्तो छैन, बिल्कुल फरक छ ।’
‘पहिले त काम पाउनै मुस्किल थियो, आफ्नो अभिनय कहाँ देखाउँ–के गरौं भन्ने हुन्थ्यो,’ सङ्गम भन्छिन्– ‘तर अहिले काम धेरै भएर कता–कता पो समय मिलाउँ भन्ने हुन्छ; उस्तै परे दिनमा तीन वटासम्म सिरियलमा अभिनय गर्नुपर्ने अवस्था छ ।’ कोरोना महामारी र सरकारले लगाएको निषेधाज्ञा क्रमशः घट्दै र हट्दै गएपछि अहिले सिरियल र म्युजिक भिडियो बन्ने क्रम पनि बिस्तारै बढिरहेको छ । यही सिलसिलामा भण्डारीको व्यस्तता पनि बढ्दो छ ।
सङ्गमलाई प्रायः निर्माता–निर्देशकले ‘आमा’ को भूमिकामा रोज्ने गरेको पाइन्छ । चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र सङ्गम भण्डारीको जोडीले पछिल्लो समय ‘बाले भन्नु हुन्थ्यो’ बोलको म्युजिक भिडियोमा अभिनय गरेको छ । र, यो जोडीलाई दर्शकले पनि निकै नै मन पराएका छन् ।
‘नाइँ’ नभन्दा बिरामीमै व्यस्तता
कला क्षेत्रलाई अत्यन्तै माया गर्ने भएकैले उनी यही क्षेत्रमा समर्पित भएकी हुन् । त्यसैले उनले पनि अरु कलाकारहरूले जस्तै निकै ठूलो सङ्घर्ष गरेकी छन्; आरोह–अवरोह छिचोलेकी छन् । पहिले काम नपाउँदा र परिवारबाट निरन्तर गाली खाइरहँदाको पीडा उनले अझै भुल्न सकेकी छैनन् । अहिले भने कलाकारिता क्षेत्रमा आफूलाई कसरी ‘मेन्टेन’ गरिरहने भन्ने चिन्ताले सताइरहेको छ । काम पाएका बेला सकेसम्म ‘नाइँ’ नभन्ने आफ्नो बानी रहेको सङ्गम बताउँछिन् । ‘त्यसैकारण त दिनमा दुई–तीन वटासम्म पनि सिरियल भ्याउनुपर्ने अवस्था छ’– उनले दावी गरिन् ।
‘अहिले त ‘म बिरामी छु’ भन्ने फुर्सद र छुट समेत मैले पाएकी छैन; वास्तवमा एक महिना अघिदेखि नै मलाई सञ्चो छैन,’ उनले सुनाइन्– ‘निरन्तर सिटामोल र तातो पानी खाएर काम गरिरहेकी छु; म कामलाई माया गर्छु, त्यसैकारण आएको काम छाड्नै मन लाग्दैन ।’
हल्का बिरामी अवस्थामै काम गरिरहे तापनि गम्भीर बिरामी भएर भने अहिलेसम्म अस्पताल बस्नु नपरेको सङ्गम बताउँछिन् । केही महिनायता भने उनले प्रेसरको औषधि खान थालेकी छन् । योभन्दा अघि भने उनले कुनै औषधि नियमितरूपमा खानु परेको थिएन ।
जीवनशैली र खानपान
उनी घरमै आफूले पकाएको अग्र्यानिक खाने कुरा खान मन पराउँछिन् । सुटिङमा निस्कँदा आफैंले पकाएका र अग्र्यानिक खाने कुरा पाइने कुरै भएन; टिममा जे मिल्छ, त्यही खाइने उनको भनाइ छ । बरु त्यता जाँदा अग्र्यानिक खाने कुरा भेटिए किनेर ल्याउने गरेको उनी बताउँछिन् ।
बिहान उठ्नासाथ मनतातो पानी पिउँछिन् । जतिसुकै हतार भए तापनि उठेपछि मनतातो पानी अनिवार्य पिउँछिन् । त्यसपछि फुर्सद भए घरमै दूध चिया बनाएर पिउँछिन् ।
‘बिहान मिलेसम्म दूधको चिया खान मन पराउछुँ, अझ पाउरोटी या बिस्कुटसँग दूधचिया असाध्यै मन पर्छ,’ सङ्गमले सुनाइन्– ‘दूध चियामै अलिकति हर्लिक्स पनि मिसाएर खाने गरेकी छु ।’
उनी हरेक ६–६ महिनामा होलबडी चेकअप गराउँछिन् । आफूसँग आफ्नै शरीरभन्दा अर्को केही सम्पत्ति नभएकाले शरीर स्वस्थ्य राख्न सचेत रहेको उनको भनाइ छ ।
लामो समय युरोप बसेर फर्किएकी सङ्गम कलाकारितामै जीवन बिताउन चाहन्छिन् । कलाकारिताबाहेक अरु केहीमा आफ्नो रुचि नभएको उनले सुनाइन् ।