सयपत्री: स्वस्थ बिरुवा, सुन्दर फूल

अनिता सुनुवार

‘सयपत्री फूल’– यो परिचय गराइरहनु पर्ने कुनै वस्तु या सामग्री होइन; नाम लिनेबितिक्कै जो–कसैले सहजै चिन्दछ/जान्दछ । किनकि, निकै आकर्षक, बहुउपयोगी र सर्वत्र उपलब्ध फूल हो सयपत्री । फूलका शौखिनको रोजाइमा सबैभन्दा अग्रपङ्क्तिमै पर्ने फूल हो यो ।

घर, आँगन तथा गार्डेनमा ढकमक्क फुलेको सयपत्रीले सबैलाई मोहित तुल्याउँदछ । जो–कसैको पनि सयपत्री फूलसँग अनन्य प्रेम हुन्छ । सयपत्री फूल हेर्दा जति सुन्दर देखिन्छ, यसको महिमा र महत्व त्यतिमा मात्र सीमित छैन । सयपत्री फूलको असाध्यै ठूलो औषधीय महत्व समेत छ ।

काम गर्ने सिलसिलमा कुनै हतियारले काटेमा या चोटपटक लागेमा सयपत्रीको पात माडेर दल्ने प्रचलन गाउँघरमा अहिले पनि कायमै छ । सामान्य चोटपटक लागेकोे ठाउँमा सयपत्री माडेर दल्नासाथ रक्तश्राव हुन (रगत बग्न) रोकिन्छ । र, अरु कुनै औषधोपचारविनै त्यो घाउ क्रमशः निको हुन्छ ।

सुन्दर फुल्न बिरुवा नै स्वस्थ हुनुपर्छ

सयपत्रीलाई राम्रोसँग ढकमक्क फुलाउन केही मेहनत भने गर्नैपर्छ । जति मेहनत गर्‍यो उति राम्रोसँग र सुन्दर ढङ्गले सयपत्री फुलाउन सकिन्छ । सुन्दर सयपत्री फुलाउन सर्वप्रथमतः बिऊ नै स्वस्थ हुनु आवश्यक छ । स्वस्थ बिऊ छरेमा स्वस्थ बिरुवा उम्रन्छ र बिरुवा स्वस्थ भए स्वस्थ एवम् सुन्दर फूल फुलाउन सकिन्छ ।

उसो त बिरुवा स्वस्थ भएर मात्र पनि हुँदैन; हावापानीमा तथा मलजलमा समेत निकै ध्यान दिनुपर्छ । स्वस्थ तथा सुन्दर सयपत्री फुलाउनका लागि सामान्यतः तीनदेखि चार पटकसम्म मल हाल्नु उचित हुन्छ । बिऊबाट उमारिएको सयपत्रीको बिरुवालाई ब्याडबाट बगैंचा, गमला या कुनै जमिन वा पोलिप्याकमा सार्दा मल हाल्नुपर्छ । त्यसपछि कोपिला लाग्नुअघि र कोपिला लाग्दै गर्दा समेत मल हाल्नुपर्छ ।

गमला तथा गार्डेनमा रोपेको होचो जातको हाइब्रिड सयपत्रीलाई घाम–पानी मिलाउन सकिएको अवस्थामा दुईदेखि तीन महिनासम्म राम्ररी फुलाउन सकिन्छ । यस्तो अवस्थामा फुलिसकेको सयपत्रीलाई पनि राम्रै गरी टिकाउन समेत सकिन्छ । फुलिसकेको फूलको थुँगामा भने पानी हाल्नु हुँदैन । थुँगामा पानी पर्दा फूल कुहिने तथा नटिक्ने समस्या हुन्छ ।

जति धेरै स्याहार, उति सुन्दर

सयपत्रीको बिऊबाट सहज तरिकाले बिरुवा उमार्नका लागि मधुमास वा मक्किएको पत्कर प्रयोग गर्नु उचित हुन्छ । मधुमास वा पत्करमा बिऊ उम्रन सहज हुन्छ; बिउ खिएर जाने तथा नउम्रने समस्या कम हुन्छ ।

सयपत्रीको बिऊबाट बिरुवा उम्रने र उमे्रपछि रोप्ने समय भने त्यसको प्रजातिमा निर्भर हुन्छ । हाइब्रिड जातको सयपत्री बिऊ हालेको सरदर चार दिनमा उम्रन्छ भने उम्रिएको चार दिनमा पोलीमा सार्न सकिन्छ । यस्तो बिरुवालाई पहिले सानो पोलीमा सारिन्छ र करिव दस दिनपछि फेरि ठूलो पोलीमा सार्नुपर्छ । हाइब्रिड जातको सयपत्री सामान्यतया बिऊ छरेको करिव पचहत्तर दिनदेखि फुल्न थाल्छ । ठ्याक्कै कहिले फुलाउनु पर्ने हो, सोहीअनुसार दिन गनेर बिऊ हाल्न सकिन्छ । जाडोबाहेक सबै महिनामा सयपत्री फुलाउन सकिन्छ ।

रोपेपछि राम्रोसँग घाम–पानी मिलाउन सकिएको अवस्थामा सयपत्रीलाई झण्डै तीन महिनासम्म फुलाउन सकिन्छ । अग्लो जातको सयपत्रीलाई भने चार महिनाभन्दा बढी समयसम्म फुलाउन सकिन्छ । हाइब्रिड जातको सयपत्रीको एक बोटमा पचास थुँगासम्म फुलाउन सकिन्छ ।

थुँगामा पानी पर्दा फूल कुहिने, बिग्रने र नटिक्ने भएकै कारण पानी हाल्दा बिरुवाको फेदमा वरीपरीबाट हजारी या झारीले हल्का गरी हाल्नुपर्छ । पानी कति हाल्ने भन्ने कुरा माटोको चिस्यान र वरिपरिको तापक्रममा निर्भर हुन्छ । माटोमा चिस्यान ५० प्रतिशतभन्दा कम हुन दिनु हुँदैन । औंलाले खोतलेर हेर्दा माटोमा चार इन्चभन्दा तलको भागसम्म चिस्यान छ भने पानीको आवश्यकता पर्दैन । चार इन्चभन्दा तल चिस्यान नभए पानी हाल्नुपर्छ ।

सयपत्रीमा गाई–भैंसीको गोबर, पिना, कम्पोस्टजस्ता मल हाल्नु उचित हुन्छ । सानो बिरुवामा धेरै मल हाल्नु हुँदैन । ठूलो पोलीमा सार्ने बेला प्रतिबोट एक चम्चा पर्ने गरी मल हाल्न सकिन्छ । मल हाल्दा बिरुवा सार्नुभन्दा एक हप्ताअघि नै माटोमा फिटिसक्नुपर्छ । यसो गर्दा मलको असरका कारण बिरुवा गल्ने तथा मर्ने समस्या हुँदैन ।

सयपत्रीको बिरुवालाई जमिनमा रोप्दा सामान्यतया १५ इन्चको दूरीमा रोप्नु उचित हुन्छ । गमलामा रोप्दा भने १० देखि १२ इन्चको गमला प्रयोग गर्नु उचित हुन्छ । ८ देखि ४० डिग्रीसम्मको तापक्रममा सयपत्री राम्ररी फुल्दछ । यसलाई तराईदेखि हिमाली भूभागमा नै फुलाउन सकिन्छ ।

सयपत्रीमा झुसिलकीरा, फङ्गस्जस्ता कीरा एवम् रोग लाग्न सक्दछन् । बजारमा पाइने विभिन्न किसिमका विषादीको प्रयोग गरी यसको समाधान गर्न सकिन्छ ।

सयपत्री फूल ‘ट्यागेटेस्’ नामले समेत चिनिन्छ । यसलाई अङ्ग्रेजीमा ‘मेरिगोल्ड’ भनिन्छ । सयपत्री सूर्यमुखी परिवारअन्तर्गतको फूल हो । यसका ‘ट्यागेटेस्’, ‘फ्रन्च’, ‘कलकत्ते’, ‘अफ्रिकन’ जस्ता जाति/प्रजाति प्रचलित छन् । ‘इन्का’ जातको सयपत्री झन् प्रसिद्ध छ । सयपत्रीका पनि अनेकौं रङ्ग हुन्छन् । सुन्तला, सुनौलो, पहेंलो र सेतो (अरेन्ज, गोल्डेन, यल्लो र ह्वाइट) रङ्गका सयपत्री नेपालमा बढी मन पराइन्छन् ।