पति–पत्नीबीच सम्बन्ध–विच्छेदका आयाम
अधिवक्ता लक्ष्मण बस्यालपति–पत्नीबीच खटपट हुनु राम्रो होइन । नराम्रो कुरा हुँदाहुँदै पनि विभिन्न कारण, परिवेश र बाध्यताले गर्दा पति–पत्नीबीच खटपटी र बेमेलको अवस्था निम्तन सक्छ । पति–पत्नीबीचको खटपटी र बेमेल चरम विन्दु अर्थात् उत्कर्षमा पुग्दा त्यसले सम्बन्ध–विच्छेदको रूप लिने अवस्था समेत देखिने गरेको छ ।
सम्बन्ध–विच्छेदका सम्बन्धमा के–कस्तो छ त वर्तमान कानुनी बन्दोबस्त ? मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद– ३ मा सम्बन्ध–विच्छेदसम्बन्धी व्यवस्था छ ।
पत्नीको मञ्जुरीबिनै पतिले सम्बन्ध–विच्छेद गर्न सक्ने अवस्था
संहिताको दफा ९३ मा दुवैको मञ्जुरीले सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्था छ । दफा ९३ मा लेखिएको छ– ‘पति–पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति–पत्नीको सम्बन्ध–विच्छेद गर्न सक्नेछन् ।’ दफा ९४ मा पतिले मात्रै पनि सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्थाबारे उल्लेख छ । दफा ९४ को (क) मा ‘कानुन बमोजिम अङ्श लिई वा मानो टुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको पञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा’ पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्था छ ।
दफा ९४ को (ख) मा पत्नीले पतिलाई खान–लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्था छ । यस दफाको (ग) मा व्यवस्था भएअनुसार ‘पत्नीले पतिको अङ्ग–भङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा’ पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध–विच्छेद गर्न सक्ने प्रावधान छ । दफा ९४ को (घ) मा ‘पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा’ पतिले पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्था छ ।
पतिको मञ्जुरीबिनै पत्नीले सम्बन्ध–विच्छद गर्न सक्ने अवस्था
संहिताको दफा ९५ मा पत्नीले सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्थाका बारेमा उल्लेख गरिएको छ । दफा ९५ को (क) मा व्यवस्था भएअनुसार ‘कानुन बमोजिम अङ्श लिई वा मानो छुट्टिई पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा’ पतिको मञ्जुरी नभए पनि पत्नीले सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्था छ ।
दफा ९५ को (ख) मा पतिले पत्नीलाई खान–लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा पतिको मञ्जुरी नभए पनि पत्नीले सम्बन्ध–विच्छेद गर्न सक्ने प्रावधान छ । नेपालमा पतिले पत्नीलाई खान–लाउन नदिने तथा घरबाट निकाला गर्ने घटनाहरू प्रशस्तै हुने गरे पनि यस्ता मुद्धा लिएर अदालतको ढोका ढक्ढक्याउन पुग्नेहरू कमै मात्र देखिन्छन् । लाजगाल तथा सामाजिक डर एवम् कानुनको अज्ञानता र झन्झटिलो कानुनी प्रक्रियाका कारण यस्तो हुने गरेको सहजै अनुमान गर्न सकिन्छ ।
दफा ९५ को (ग) मा ‘पतिले पत्नीको अङ्ग–भङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल–प्रपञ्च गरेमा’ पतिको मञ्जुरी नभए पनि पत्नीले सम्बन्ध–विच्छेद गर्न सक्ने प्रवाधान छ । संहिताको दफा ९५ (घ) मा ‘पतिले अर्को विवाह गरेमा’ पतिको मञ्जुरी नभए पनि पत्नीले सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्था छ ।
नेपाली समाजमा विभिन्न किसिमका धार्मिक–सामाजिक परिवेश तथा श्रीमतीबाट बच्चा नजन्मिएको लगायतका बहानामा पतिले अर्को विवाह गर्ने चलन रहँदै आएको छ । यो स्थितिले गर्दा थुप्रै महिलाहरू पीडित हुँदै आएका छन् । यद्यपि पछिल्लो समय यो स्थिति क्रमशः घट्दै जानु सकारात्मक कुरा हो । यस्तो अवस्थामा कतिपय महिला भने आफूले आफैंलाई कमजोर ठानी सहेरै बस्ने र न्यायको ढोका ढक्ढक्याउन नजाने/नसक्ने अवस्था समेत देखिन्छ ।
दफा ९५ को (ङ) मा पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध–विच्छेद गर्न सक्ने प्रावधान छ । पति–पत्नीबीच अविश्वास बढ्दै गएको अवस्थामा समेत पतिलाई दुःख दिने नियतले ‘अन्य महिलासँग यौन सम्बन्ध राखेको’ आरोप पत्नीले पतिलाई लगाउँदा त्यस्ता पुरुष र उसको परिवार समेत अनावश्यक रूपमा बिग्रिन पुगेका घटना पनि बग्रेल्ती भेटिन्छन् । यस्ता मुद्धाका कारण पारिवारिक सम्बन्ध ध्वस्त हुने र बालबच्चा एवम् आश्रित ज्येष्ठ नागरिक समेतको बिल्लिबाठ हुने भएकाले यस्तो प्रवृत्तिप्रति सचेत रहनुपर्छ । यस्तो समस्या निम्तन नदिनका लागि पति–पत्नीबीच पारस्परिक विश्वासको वातावरण कायम गर्नु जरुरी हुन्छ ।
दफा ९५ को (च) मा ‘पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा’ पतिको मञ्जुरी नभए पनि पत्नीले सम्बन्ध–विच्छेद गर्न सक्ने व्यवस्था छ ।
मेलमिलाप नै सर्वोत्तम
संहिताको दफा ९६ को व्यवस्थाअनुसार सम्बन्ध–विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनुपर्ने हुन्छ । दफा ९७ मा उल्लेख छ– ‘दफा ९७ वमोजिम सम्बन्ध–विच्छेदका लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई–बुझाई मेलमिलाप गराउनु पर्नेछ ।’ एकातिर कानुनी व्यवस्था समेत यस्तो छ भने अर्कातिर व्यावहारिक हिसाबले समेत सम्भव भएसम्म त छुट्टिनु भन्दा मेलमिलाप गरी सम्बन्ध सुधारतर्फ लाग्नु नै सर्वोत्तम विकल्प हुने कुरा स्वतः स्पष्ट नै छ ।
सानातिना विषयमा अनावश्यक बखेडा झिकेर पति–पत्नीबीचको लफडा सहजै सम्बन्ध–विच्छेदसम्म पुग्ने प्रवृत्ति पछिल्लो समय निकै नै बढेको छ । जीवनसाथीका रूपमा सम्बन्धमा गाँसिएका दुवै पक्षले सम्बन्ध तोड्ने अन्तिम निर्णयमा पुग्नुअघि निकै नै सचेतता अपनाउनुपर्छ र गम्भीर सोच विचार गर्नुपर्छ; सम्भावित सबैखाले परिणामबारे गहिरो चिन्तन–मनन गर्नुपर्छ ।
संहिताको दफा ९८ मा सम्बन्ध–विच्छेद गरिदिनुपर्ने व्यवस्था छ । ‘दफा ९७ वमोजिम सम्झाउँदा–बुझाउँदा पनि पति–पत्नीबीच मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध–विच्छेद हुनु उपयुक्त देखेमा अदालतले निजहरूको सम्बन्ध–विच्छेद गरिदिनु पर्नेछ’– उक्त दफामा लेखिएको छ । दफा ९७ वमोजिम पति–पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा–बुझाउँदा पनि पति–पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध–विच्छेद गराइदिनु पर्ने व्यवस्था संहिताले गरेको छ ।
समग्रमा भन्नुपर्दा छुट्टिनुभन्दा मिल्नु नै उपयुक्त हो । त्यसैले पति–पत्नी दुवैले एकापसमा विश्वासको वातावरण सिर्जना गराई खटपटको अवस्था निम्तन दिनु हुँदैन । अविश्वासले सम्बन्धमा दरार निम्तने र दुवैको जीवन धरापमा पर्ने भएकाले सचेत हुनैपर्छ ।