‘असल उत्पादन अभ्यास’ अर्थात् जीएमपी 

यसरी कायम हुन्छ उपभोग्य सामग्रीको गुणस्तर

डा. डीबी सुनुवार

मानवले उपभोग गर्ने खाद्य पदार्थको प्रमुख स्रोत भनेकै प्रकृति हो । प्रकृतिप्रदत्त सबै खाद्य पदार्थ स्वास्थ्यका लागि शतप्रतिशत सुरक्षित नै हुन्छन् भन्ने हुँदैन । यी सामग्री सुरक्षित छन् वा छैनन् भन्ने विषयमा पर्याप्त ध्यान दिनु र गहन अध्ययन–अनुसन्धान गर्नु अत्यावश्यक हुन्छ ।

खाद्य पदार्थको प्रकृति तथा उत्पादन प्रक्रियाका आधारमा त्यो पदार्थ खान योग्य छ वा छैन र के–कति लाभदायक छ भन्ने कुरा निर्धारित हुन्छ । उत्पादन मात्र होइन, प्रशोधन, पारवहन, भण्डारण, वितरण र उपभोग विधिमा समेत यो कुरा निर्भर रहन्छ ।

यी प्रक्रिया पूरा गर्दा अनिवार्यतः न्यूनतम मापदण्ड अपनाउनै पर्छ । आजकल खाद्य पदार्थको प्रशोधन गर्ने आधुनिक उद्योगहरू निकै ठूला मात्रामा सञ्चालित छन् । तीमध्ये कतिले यस्ता मापदण्ड पूरा गरेका छन् त ? यो आम सरोकारको प्राथमिक विषय हो ।

सर्वप्रथमतः कुरा गरौं जडीबुटीजन्य खाद्य पदार्थको । जडीबुटीजन्य खाद्य पदार्थको प्रशोधन गर्ने उद्योगहरूले मूलतः प्राकृतिकरूपमा पाइने पदार्थलाई नै आवश्यकताअनुसार प्रशोधन गर्ने गरेको पाइन्छ । उनीहरूले प्रशोधन गरी उत्पादन गरेको खाद्य पदार्थ उपभोक्तामाझ पुग्छ । प्रकृतिप्रदत्त खाद्य पदार्थ प्रशोधन गरी बिक्री–वितरण गर्दा तिनको गुणस्तरीयतामा ह्रास नआउने किसिमले चक्र पूरा गर्नु जरुरी हुन्छ ।

यसरी उत्पादन गरिएका वस्तु कुनै पनि हिसाबले उपभोक्ताकाे स्वास्थ्यमा प्रतिकूल असर नपार्ने किसिमका हुनुपर्छ । यसैकारण जडीबुटीजन्य पदार्थ तथा आहारपूरक खाद्य पदार्थका उत्पादकहरूले अनिवार्यतः ‘असल उत्पादन अभ्यास’ अर्थात् ‘जीएमपी’ को पालना गर्नैपर्छ । असल उत्पादन प्रक्रिया अपनाएर उत्पादन गरिएका खाद्य पदार्थ सुरक्षित तथा गुणस्तरीय हुन्छन् र हुनुपर्छ । यस्ता खाद्य पदार्थ सुरक्षित एवम् गुणस्तरीय हुने भएकाले उपभोगका निम्ति उत्तम मानिन्छन् ।

आजको विश्वमा असल उत्पादन अभ्यास प्रक्रिया अपनाएर नै आधुनिक औषधिजन्य सामग्रीहरूको उत्पादन तथा बिक्री–वितरण हुन्छ । औषधिजन्य सामग्रीका सन्दर्भमा मात्र नभई अन्य विभिन्न किसिमका दैनिक उपभोग्य सामग्रीको उत्पादन प्रक्रियामा समेत जीएमपी लागू हुन्छ र हुनुपर्छ ।

असल उत्पादन अभ्यास ‘गुणस्तर आश्वासन’ को त्यो अङ्श हो, जसले उत्पादनहरू लगातार उपयुक्त गुण र मापदण्डअनुसार नियन्त्रित भएर बनेका छन् भनेर निश्चित गर्छ । उत्पादनदेखि उपभोगका निम्ति तयारी अवस्थासम्ममा गुणस्तर कायम गर्नु नै असल उत्पादन अभ्यास हो । आधुनिकरूपमा उत्पादित हुने खाद्य सामग्रीहरू निश्चित मापदण्ड निर्धारण गरी उपभोक्ताका आवश्यकता र अपेक्षाहरू पूरा गर्ने सुनिश्चितताका निम्ति गरिने उत्पादन एवम् व्यवस्थापन अभ्यासहरूको संयोजन नै जीएमपी हो । असल उत्पादन अभ्यास प्रक्रिया स्वयम्मा गुणस्तरीय उत्पादन प्रक्रिया भएकाले यसबाट उपभोक्ता निःसन्देह लाभान्वित हुन्छन् ।

जीएमपीको सिद्धान्त

सामान्य भाषामा भन्नुपर्दा असल उत्पादन अभ्यासको मूल सिद्धान्त भनेकै खाद्य पदार्थ सफा–सुग्घर हुनुपर्छ भन्ने हो । यसको अर्थ खाद्य पदार्थ वरिपरिको वातावरण पनि सफा र स्वस्थ हुनुपर्छ भन्नेसम्म पनि हो ।

भनिन्छ– ‘प्रोएक्टिभ मेजर्स फर फूड क्वालिटी एण्ड सेफ्टी’ नै जीएमपीको मूल सिद्धान्त हो । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले सन् १९७० मै अघि सारेको ‘प्रेस्क्रिप्टिभ रेगुलेसन’ को अवधारणा हो यो । एफडीएले यसलाई ‘खाद्य उत्पादकहरूका निम्ति न्यूनतम स्यानिटरी र प्रशोधन आवश्यकताहरू’ भनेर व्याख्या गरेको छ ।

केका निम्ति त जीएमपी ?

असल उत्पादन अभ्यास प्रक्रिया अर्थात् जीएमपीका मूल उद्देश्यहरूलाई बुँदागतरूपले यसरी प्रस्तुत गर्न सकिन्छ–

  • स्वच्छ अनि सुरक्षित खाद्य पदार्थ उत्पादन गर्नु ।
  • खाइने पदार्थबाट हुन सक्ने जोखिमहरूको न्यूनीकरण गरी मानव स्वास्थ्यलाई सुरक्षित गर्न सहयोग गर्नु ।
  • खाद्य पदार्थको उच्चतम प्रयोग गर्नु ।
  • विश्वसनीय अनि भरपर्दो उत्पादन प्रक्रिया अपनाउनु, आदि ।

जीएमपीका आधारभूत आवश्यकताहरू

सबै उत्पादन प्रक्रियाहरू स्पष्टरूपमा परिभाषित छन् र इच्छितरूपमा अन्तिम उत्पादनहरू प्राप्त गर्न सक्षम छन् ।

असल उत्पादन अभ्यासका आधारभूत आवश्यकताका लागि आवश्यक सबै संसाधन र सुविधा प्रदान गरिएको छ; जसलाई यसरी उल्लेख गर्न सकिन्छ–
– उचित प्रशिक्षित कर्मचारीहरू;
– पर्याप्त परिसर र ठाउँ;
– उपयुक्त उपकरण र सेवाहरू;
– सही सामग्री, कन्टेनर र लेबल;
– अनुमोदित प्रक्रियाहरू (सफाइ प्रक्रियासहित);
– उपयुक्त भण्डारण र यातायात;
अपरेटरहरूलाई प्रक्रियाहरू सही रूपमा सञ्चालन गर्न प्रशिक्षण दिइन्छ ।

जीएमपीसम्बन्धी आधारभूत विषयहरू

खाद्य पदार्थ ह्यान्डलर

कुनै व्यक्ति, जसले प्रत्यक्ष प्याकेज गरिएका खाद्य पदार्थ, खाद्य उपकरण र वर्तन÷औजार वा खानाको सम्पर्कमा आउने सतहहरू सञ्चालन गर्छ, उसलाई खाद्य स्वच्छताका आवश्यकताबारे राम्रो ज्ञान छ ।

खाद्य स्वच्छता

यो एउटा त्यस्तो अवधारणा हो, जसमा खाने कुराको इच्छित प्रयोगले (तयार गर्दा वा उपभोग गर्दा) उपभोक्तालाई कुनै प्रकारको हानि पुग्दैन ।

खाद्य सुरक्षाका जोखिमहरू

जैविक, रासायनिक वा भौतिक कारकहरू खानामा परेको अवस्थामा स्वास्थ्यका निम्ति प्रतिकूल कारण बन्न सक्छन्, यसप्रति विशेषरूपले सचेत हुनुपर्छ ।

गुणस्तरीयता र गुणस्तर नियन्त्रण

कुनै उत्पादन वा सेवाका विशेषताहरूले तोकिएका कुनै आवश्यकताहरूको पूर्ति गर्छ । कुनै निश्चित मापदण्डहरूको आधारमा नमूना परीक्षण गरी तयार पारिएका खाद्य उत्पादनहरूमा स्तर कायम राख्ने एक प्रणाली हो गुणस्तर नियन्त्रण ।

दूषित–कारक र दूषितीकरण

कुनै जैविक वा रासायनिक एजेन्ट, बाहिरका कुरा वा अन्य पदार्थ अन्जानमा खानामा मिसिन पुगे भने खाद्य सुरक्षा वा उपयुक्ततामा ह्रास आउँछ ।

लेबल

‘लेबल’ भन्नाले बिक्रीका लागि राखिएका वा परिवहन भैरहेका कुनै खाद्य पदार्थ रहेको भाँडो वा आवरणमा लेखिएका, छापिएका या अङ्कित भएका विवरण वा सङ्केतलाई बुझिन्छ ।

ब्याच र ब्याच नम्बर

ब्याच : कुनै निश्चित कच्चा पदार्थ, प्याकेजिङ सामग्री वा उत्पादनहरू एउटै प्रक्रियामा प्रयोग गरी एकरूपता आउने गरेर तयार पारिएका सामग्री । निश्चित समयमा निश्चित परिमाणमा उत्पादन गरिएका सामग्रीहरू ।

ब्याच नम्बरः सङ्ख्याहरू वा अक्षरहरूको एक विशिष्ट संयोजन, जसले लेबलमार्फत ब्याचको पहिचान गराउँछन् ।

उत्पादन

कुनै उत्पादन तयार पार्दा प्रयुक्त हुने विभिन्न प्रक्रियाहरू । कच्चा पदार्थको प्रविष्टि, प्रशोधन, प्याकेजिङ, पुनः प्याकेजिङलगायतका सम्पूर्ण कार्यहरूको समष्टिगत रूप नै उत्पादन हो ।

प्रमाणीकरण

जीएमपीका सिद्धान्तहरूअनुसार कुनै कार्यविधि, प्रक्रिया, उपकरण, सामग्री, क्रियाकलाप वा प्रणालीले वास्तवमै अपेक्षित नतिजा दिन्छन् भनेर प्रमाणित गरिन्छ । असल उत्पादनका लागि यो अनिवार्य प्रक्रिया हो ।

जीएमपीका १० सिद्धान्तहरू

१. रिटन प्रोसिड्युर : के गर्ने र कसरी गर्ने भन्ने कुरा स्पस्ट लेखिनुपर्छ ।
२. फलोइङ प्रोसिड्युर : खाद्य पदार्थ उत्पादन गर्दा लिखित कार्यविधिअनुसारका कार्यहरूको पालना गर्नुपर्छ ।
३. डकुमेन्टेसन : तपाईं जे गर्नुहुन्छ त्यही लेख्नोस्, जे लेख्नुहुन्छ त्यही गर्नोस् । लेखिएका कुरा गर्नु र उत्पादन प्रक्रियामा गरिएका कुरा लेख्नु नै डकुमेन्टेसन हो ।
४. भ्यालिडेटिङ : भनिएअनुसार काम भएको छ कि छैन, तुलना गरेर हेनुपर्छ ।
५. सुविधा र उपकरणहरू : पर्याप्तता, सहजता, दक्षता र राम्रोसँग काम गर्ने कुराको प्रत्याभूति ।
६. मेन्टिनेन्स : प्रोएक्टिभ र रिएक्टिभ ।
७. जब कम्पिटेन्स : काममा सङ्लग्न व्यक्तिहरूको अनुभव, ज्ञान, गुणस्तर, लक्ष्य, प्रदर्शन र कौशलता ।
८. प्रदूषण/फोहोरमैलाबाट मुक्तिको सुनिश्चितता : जैविक, रासायनिक वा भौतिक कारकहरू खाद्य पदार्थमा पर्न दिनु हुँदैन ।
९. गुणस्तर नियन्त्रण
१०. अडिट : कम्प्लायन्स र नन–कम्प्लायन्स ।

००० ०००
अब समग्रमा कुरा गरौं । कुनै पनि खाद्य पदार्थको उत्पादन र वितरण गर्दा गुणस्तरमा कुनै प्रकारका कमजोरी हुन दिनु हुँदैन । उत्पादन क्षेत्र (प्रयोगशाला र भण्डारण क्षेत्र समेत) मा सफा र स्वच्छ वातावरण निर्माण गरिनुपर्छ । उत्पादन क्षेत्रको डिजाइन, परिचालनका सिद्धान्तहरू र वातावरण नियन्त्रित हुनुपर्छ, ताकि गुणस्तरीयतामा कुनै प्रकारका प्रश्नचिह्न नउब्जियून् ।

उत्पादन प्रक्रियाहरू स्पष्टरूपमा परिभाषित, प्रमाणित र नियन्त्रित हुनुपर्छ । निर्देशन र प्रक्रियाहरू स्पष्ट र बुझिने भाषामा लेखिएको हुनुपर्छ । लिखित/अनुमोदित कार्यविधिअनुसार अपरेटरहरूलाई उत्पादन र नियन्त्रणसम्बन्धी उचित तालिमको व्यवस्था गरिनुपर्छ ।

उचितरूपमा परिभाषित कार्यविधिअनुसार उत्पादन र गुणस्तर नियन्त्रणको रेकर्ड राखिनुपर्छ । रेकर्डको उचित सुरक्षा गरिनुपर्छ । आवश्यकताअनुसार उत्पादन प्रक्रियाहरू परिमार्जन गर्दै जानुपर्छ । उत्पादन (वितरण समेत) को रेकर्ड सहजै हेर्न सकिने गरी राखिनुपर्छ, जुन रेकर्डले सम्पूर्ण ब्याच हेर्न सहज हुन्छ ।

बजारमा गएका उत्पादहरूबारे प्राप्त गुनासा र उजुरीहरूको सुनुवाइ गरिनुपर्छ । तिनका कारणहरूको उपयुक्त ठोस पहिचान गरी त्यस्ता समस्याहरू फेरि आउन नदिन उचित कदम चालिनुपर्छ । उत्पादन र गुणस्तरमा असर पुर्‍याउन सक्ने सम्बन्धित मुद्धाहरूबारे पर्याप्त र लगातार छलफल, विमर्श एवम् सञ्चार गरिनुपर्छ ।