‘अनौठा’ विषयविज्ञ डाक्टर दम्पती

विवाहका लागि परिवार सम्झाउनै दुई वर्ष !

केदारनाथ गौतम/शङ्कर क्षेत्री

आणुवाङ्शिक रोग विशेषज्ञ डा. निलम ठाकुरले न्युरो साइन्टिस्ट डा. अजयजङ्ग कुँवरसँग लगनगाँठो कसिन् । उनीहरूबीच अन्तर्जातीय विवाह हुने कुरालाई दुवैका परिवारले सुरुमा उति चित्त बुझाएनन् । आफूहरूबीच विवाहका निम्ति दुवैतर्फका परिवारलाई मनाउन निलम–अजयले मनग्गे मेहनत गर्नु परेको थियो ।

निलम सप्तरीको राजविराजमा २०४० सालमा जन्मिएकी हुन् । अजयजङ्ग भने मोरङको हात्तीमुडामा जन्मिएका हुन् । अहिलेको हिसाबमा निलम ३७ वर्षकी भइन्, अजय ४४ वर्षका ।

विद्यार्थी–शिक्षकबीच प्रेमविवाह

पढाइको सिलसिलामा भेट भएर बाँधिन पुगेको हो, निलम–अजयको डाक्टर जोडी । अजयजङ्ग सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा लेक्चररका रूपमा कार्यरत रहँदा एमबीबीएस पढ्ने विद्यार्थीका रूपमा आइपुगेकी थिइन् निलम । कक्षामा निलम विद्यार्थी थिइन्, अजय शिक्षक । त्यही सिलसिलामा चिनजान भएको हो, निलम–अजयबीच । यही क्रममा उनीहरूबीच कुराकानी हुँदै जान थाल्यो; एकापसमा मन मिल्यो, भावना मिल्यो ।

‘काठमाडौं मेडिकल कलेजमा पढाउने क्रममा निलमसँग भेट भएको हो,’ अजयले सुनाए– ‘त्यसै क्रममा चिनजान भएर कुराकानी हुँदै जाँदा पे्रम सम्बन्ध झाङ्गियो ।’ अनुभूति सुनाउँदै उनले भने– ‘कुराकानी भइरहेको थियो, बिस्तारै मन मिल्यो, एकापसको भावना पनि मिल्यो ।’

निलम–अजयले विवाहको योजना त बनाए तर त्यो कुरा उनीहरू दुवैका परिवारलाई मन परेन । ठट्यौलो पारामा अजयले सुनाए– ‘हामीबीचको विवाहका निम्ति परिवारलाई मनाउन त एक–दुई वर्ष नै पो मेहन गनुपर्‍यो त !’

आफूहरूबीच विवाहका निम्ति परिवारलाई मनाउन केही समय लागेको निलमको भनाइ छ । ‘एक–दुई वर्ष मनाउने–फकाउने कुरा भयो,’ डा. निलमले सुनाइन्– ‘बुबा शिक्षित भएकाले उहाँचाहिँ पहिल्यै सहमत हुनुहुन्थ्यो ।’ बुबा जाने–बुझेकै व्यक्ति भएकाले अजयसँग विवाहका निम्ति आफ्नो परिवारलाई मनाउन त्यति कठिन नभएको निलमले सुनाइन् ।

डा. निलम र डा. अजय दुवै शिक्षित । परिवारले नमाने पनि आफूहरूले ‘भागी विवाह’ भने नगर्ने उनीरूको दृढता । त्यसैकारण अजयजङ्ग र आफूबीच विवाह गराइदिन निलमले बुबा–आमासँग अनुरोध गरिन् ।

‘हामी भाग्दैनौं, तपाईंहरूको सहयोगविना भागेर विवाह गर्दैनौं, विवाह गराइदिनोस् भनें मेरो परिवारमा,’ डा. निलम भन्छिन्– ‘अरु कसैसँग पनि विवाह नगर्ने अनि परिवारको सहयोगविना भागेर पनि विवाह नगर्ने आफ्नो अठोट बुबा–आमालाई सुनाएँ ।’

आफ्ना बुबा–आमालाई मनाए अजयले पनि । अन्ततः निलम–अजयले गरेको विवाहको निर्णयप्रति दुवैतर्फका परिवार सकारात्मक भए । उनीहरूबीचको विवाहका निम्ति सहमति जुट्यो दुवै परिवारमा ।

त्यस बेलासम्म निलम–अजयबीच भेटघाट भएर चिनजान हुँदै प्रेम सम्बन्धमा जोडिएकोे नौ वर्ष भइसेकेको थियो । चिनजानको दशक पुग्नै लाग्दा वास्तवमा उनीहरूबीच ‘प्रेम विवाह’ सम्पन्न भयो । यद्यपि, त्यो विवाह औपचारिक हिसाबमा भने परिवारको सहमतिसहित ‘मागी विवाह’ मै बदलियो ।

परिवारमा ठीकठाक, जमघटमा ‘खासखुस’

सुरु–सुरुमा अलि–अलि असहज भए पनि अन्तर्जातीय विवाहबाट कुनै समस्या नपरेको निलम–अजय दुवैको अनुभूति छ । त्यसो त तराईमा नै हुर्केकाले अजयजङ्ग मैथिली भाषा मनग्गे बुझ्छन् । ‘म पनि तराईकै भएकाले मैथीली भाषा बुझ्छु,’ उनले सुनाए– ‘भाषा र संस्कृतिमा त्यति धेरै अन्तर नपरेकाले पनि हुन सक्छ, हामीबीचको विवाहले कुनै समस्या पारेन ।’

दुवै जना शिक्षित भएकाले पनि दुवैतर्फका परिवारमा अन्तर्जातीय विवाहले असर पारेको छैन । अन्तर्जातीय विवाहको महसुस नै हुँदैन; परिवारमा ठीकठाक छ । बरु दुवैतर्फका परिवारले एक–अर्काको संस्कृतिबारे जान्ने मौका पाएका छन् ।

आफूहरूमा कुनै समस्या नभए पनि समाजमा भने अहिलेसम्म विभेद कायम नै रहनुलाई अशिक्षा÷अज्ञानता ठान्छिन् डा. निलम । श्रीमान्तर्फका आफन्तकहाँ भोज–भतेर एवम् जमघट भएका बेला ‘तराई मूलकी बुहारी’ भनेर कसै–कसैले ‘खासखुस’ गरेको सुन्छिन् निलम । त्यसरी ‘खासखुस’ गर्दै ‘कुरा काट्दा’ आजकल उनलाई उति चासो हुँदैन । आफूलाई ‘तराई मूलकी बुहारी’ भन्नेलाई उनी ठट्यौलीमै उडाइदिन्छिन् ।

मान्छेको मन न हो ! अरुले ‘कुरा काट्दा’ कहिलेकहीं भने उनको मन पनि ‘चसक्क’ हुन्छ । ‘ठाकुरभन्दा पनि ‘ए मधेसी’ भन्छन्, ‘मधेसी’, ‘धोती’ भनेको सुन्दाचाहिँ मनै चसक्क हुन्छ’– डा. निलमले सुनाइन् ।

समाजमा हुने गरेका विभेद र भेदभाव आफूले पनि कुनै न कुनै रूपमा भोग्नुपरेको उनी सुनाउँछिन् । परिवार तथा आफन्तबाट नभई कम मात्र चिनजान भएका कतिपयले अलिक होच्याएर बोल्ने गरेको आफूले बेलाबखत सुनेको डा. निलम बताउँछिन् ।

अहिले त उनले त्यसरी ‘होच्याइएका’ शब्दप्रति पनि वास्तै गर्न छाडिसकेकी छन्, सुन्दा–सुन्दा ‘बानी’ नै पारिसकेकी छन् । त्यसैकारण कसैले ‘होच्याउने’ किसिमका शब्द बोल्दा उनी ठट्यौलीमै उडाइदिन्छिन्; गम्भीर रूपमा लिँदिनन् । अजयजङ्ग ससुराली जाँदा पनि कतिपयले ‘पहाडे ज्वाइँ’ भनेर जिज्ञासापूर्वक लिने गरेको निलम सुनाउँछिन् ।

शिक्षा नै विभेद हटाउने मुख्य माध्यम भएकाले शिक्षामै जोड दिनुपर्ने डाक्टर जोडीको तर्क छ । विद्यालय शिक्षाको प्रारम्भिक तहदेखि नै विभेद हटाउने चेतनाप्रति जोड दिइनुपर्ने उनीहरूको धारणा छ ।

‘नेपाल कस्तो हो भन्ने कुरा स्कुलमा नै सिकाउनुपर्छ’– डा. निलमको मत छ । निलम–अजय जोडीका एक छोरा छन् । छोरा आर्जभजङ्ग कुँवर ५ वर्षका भए ।

‘घर छाडेर’ छोरीको पढाइ !

राजविराजस्थित पब्लिक विन्देश्वरी माविबाट २०५६ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेकी हुन् निलम ठाकुले । उनी सानैदेखि तीक्ष्ण दिमागकी थिइन्; अध्ययनमा अब्बल । निलमले एसएलसी दिएको सेन्टरबाटै प्रथम श्रेणीमा उत्तीर्ण हुने आफू एक मात्रै छात्रा भएको उनले सुनाइन् । ‘म सहभागी भएको एसएलसीको सेन्टरमै प्रथम श्रेणीमा पास गर्ने म एक्ली महिला हो,’ उनी भन्छिन्– ‘त्यसबेला विद्यालय जाने छोरीहरू नै निकै कम मात्र हुन्थे ।’

निलमले एसएलसी उत्तीर्ण गरेपछि उनका बुबा–आमामा द्विविधा निम्तियो– छोरीलाई घरबाहिर पठाएर पढाउने कि नपढाउने कि नपढाउने ! अन्योलकै बीच उनका बुबा–आमाले निलमलाई काठमाडौं पठाए र आईएस्सी पढाए । मैथिली समाजमा ‘ब्रा्रह्मण’ को काम नै पढ्ने भएको उनले सुनाइन् । ‘मैथिली ब्राह्मणको काम नै पढ्ने हो भन्ने मान्यतामाथि छलफल भएपछि मैले पनि थप पढ्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने भयो ।’

पहिले कहिल्यै घर नछाडेकी निलम अध्ययनका लागि काठमाडौं आइन् । ग्यालेक्सी पब्लिक स्कुलमा भर्ना भएर कक्षा ११ मा पढ्न थालिन् । पहिले सरकारी स्कुलमा पढेकाले काठमाडौं आएर पूर्ण अङ्ग्रेजी माध्यमबाट पढ्न उनलाई सुरु–सुरुमा निकै असहज भयो । अङ्ग्रेजी भाषा नजानेर चर्कै पर्‍यो । तर, उनले निकै मेहनत गरिन्; अन्ततः प्रथम श्रेणीमा कक्षा ११–१२ उत्तीर्ण गरिन् ।

एसएलसीमा राम्रो नम्बर ल्याएकाले डाक्टर नै पढ्नुपर्छ भन्ने बा–आमा र उनको सपना थियो । ‘पढाइ राम्रो भएपछि डाक्टर नै त पढ्नपर्छ भन्ने थियो,’ उनले सुनाइन्– ‘अरु विषय पढ्ने त कुरै थिएन ।’

प्लस टु साइन्स अर्थात् आईएस्सीपछि छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि निलमले दुई वर्षसम्म प्रयास गरिन् । छात्रवृत्तिमा अध्ययन सम्भव भएन । त्यसपछि काठमाडौं मेडिकल कलेजमा भर्ना भएर एमबीबीएस पढ्न थालिन् । र, सन् २००९ मा उनले एमबीबीएस उत्तीर्ण गरिन् ।

आफूले काठमाडौं आएर डाक्टर पढेपछि ‘छोरीले पनि घर छाडेर बाहिर गई पढेर डाक्टरसम्म बन्न सक्ने रहेछन् भन्ने सन्देश गाउँभरि फैलिएको र धेरैलाई प्रेरणा मिलेको अनुभूति निलमले सुनाइन् । ‘पढ्नका लागि मैले घर छाडेर निस्केपछि क्रमशः अरु दिदीबहिनीहरूले पनि घरबाहिर बसेर पढ्न थाल्नुभयो’– उनले भनिन् ।

पढाइको नौलो विषय: विदेशी गुरुको विश्वास

एमबीबीएस पूरा गरेपछि निलमले केही समय अस्पतालमा काम गरिन् । कक्षा ११–१२ मा अध्ययन गर्दा नै उनमा जेनेटिक (आणुवाङ्शिक) विषयमा अध्ययनको भोक जागिसकेको थियो । त्यसैकारण उनले स्नातकोत्तर (एमडी) मा भने आणुवाङ्शिक विषय (क्लिनिकल जेनेटिक) विषय छनोट गरिन् ।

नभन्दै उनले यही विषयमा अध्ययनको अवसर पाइन् । ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान’ (वीर अस्पताल) र श्रीलङ्कास्थित ‘युनिभर्सिटी अफ कोलोम्बो’ को समन्वयमा श्रीलङ्का गएर एमडी अध्ययन गर्ने मौका निलमले पाइन् । उनले पाएको त्यो अवसर खासमा नर्वेस्थित ‘युनिभर्सिटी अफ अस्लो’ को ‘नोमाग्रान्ट कार्यक्रम’ रहेछ । उनले पाएको यो पढाइको अवसर भने पूर्ण छात्रवृत्तिकै थियो ।

आफू मैथिलीभाषी भएकाले श्रीलङ्कामा त्यहाँको भाषा चाँडै सिकेको उनले बताइन् । ‘म मैथिली, नेपाली र अङ्ग्रेजी भाषा बोल्ने, बहुभाषा बोल्ने भएकाले श्रीलङ्कन भाषा पनि छिटो सिकिँदो रहेछ ।’

श्रीलङ्कामा आफ्नो पढाइ निकै राम्रो भएकाले त्यहाँ एमडी अध्ययन गरिरहेकै बेला अन्य विश्वविद्यालय जाने अवसर समेत मिलेको डा. निलमले बताइन् । उनी त्यहाँ अध्ययन गरिरहेका बेला नेपालमा आणुवाङ्शिक रोग विशेषज्ञ कोही पनि नभएकाले ‘तिमी नेपाल गएर यो विषयको नेतृत्व लिनुपर्छ’ भन्दै अझ राम्रो मेहनत र अध्ययन गर्न त्यहाँ पढाउने गुरुले प्रेरित गर्थे निलमलाई ।

श्रीलङ्कामा पढ्दा बेला–बेला अरु विद्यार्थीलाई छुट्टी दिइए तापनि ‘तिमीले अझै धेरै मेहनत गर्नुपर्छ’ भनेर आफूलाई भने बिदाका दिन समेत गुरुले छुट्टी नै नदिने गरेको उनले सुनाइन् । ‘गुरुले मलाई त छुट्टी नै दिनुहुँदैनथ्यो’– डा. निलमले भनिन् । युनिभर्सिटी अफ कोलोम्बोबाट उनले ‘आणुवाङ्शिक रोग (क्लिनिकल जेनेटिक)’ मा सन् २०१२ मा एमडी पूरा गरेकी हुन् ।

न्युरो साइन्टिस्ट अजयजङ्ग: अध्ययन र जागिरयात्रा

अजयजङ्गले भने विराटनगरस्थित जनता नमूना माविबाट वि.सं. २०४७ मा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले विराटनगरकै महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट आईएस्सी र बीएस्सी उत्तीर्ण गरे । बीएस्सी पूरा गरेपछि उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मानव संरचना (ह्युमन एनाटोमी) विषयमा सन् २००२ मा एमएसस्सी उत्तीर्ण गरे ।

मानव संरचनाको अध्ययन पूरा गरेपछि अजय काठमाडौं आए र काठमाडौं मेडिकल कलेजमा लेक्चरर भएर एमबीबीएसका विद्यार्थीलाई एक वर्ष पढाए । त्यसपछि विद्यावारिधी (पीएचडी) अध्ययनका लागि स्न २००४ मा उनी जर्मनी पुगे । त्यहाँ उनले ‘न्युरो साइन्स’ विषयमा सन् २००८ मा विद्यावारिधी गरेलगत्तै सोही विषयमा जर्मनीमै एकवर्षे ‘पोस्ट डक्टरल फेलोसिप’ समेत गरे ।

अजयमा अध्ययनको भोक अझै मरेको थिएन । अमेरिकाको कोलम्बसस्थित ‘अहायो स्टेट युनिभर्सिटी’ पुगे । त्यहाँ पनि उनले अल्जाइमर्स रोगको विषयमा फेरि अर्को पटक पोस्ट डक्टरल फेलोसिप गरे । त्यो पनि एकवर्षे कोर्ष नै थियो ।

अमेरिकाबाट नेपाल फर्किएपछि अजयले करिव डेढ वर्ष विराटनगरस्थित नोबेल मेडिकल कलेजमा काम गरे । उनी नेपाली सेनाको जागिरे समेत भए । डा. अजयले सेनाको स्थायी जागिरे भएर सन् २०११ देखि २०१८ सम्म (करिव सात वर्ष) ‘नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान’ मा सहप्राध्यापकका रूपमा काम गरे । सेनाको जागिरकै सिलसिलामा उनले फेरि अमेरिका जाने अवसर पाए । नेपाली सेनाको जागिर छाडेर उनी ‘मेडिकल युनिभर्सिटी अफ अमेरिका’ को एनाटोमी विभागमा काम गर्न पुगे । सहप्राध्यापककै रूपमा दुई वर्ष अमेरिकामा काम गरेपछि सन् २०२० को अन्त्यतिर उनी नेपाल फर्के ।

पछिल्लो पटक अमेरिकाबाट फर्किएपछि भने आफ्नै ल्याब स्थापना गरेर सेवा दिने सोच आयो । ‘नोभा इन्टरनेसनल डाइग्नोस्टिक्स’ ल्याब स्थापना गरी काम गर्न थाले । अहिले उनी ग्लोबल अस्पतालमा पनि कार्यरत छन् । आईभीएफ, वङ्शाणुगत रोगलगायतको परीक्षण सेवा दिनका निम्ति आफूले अत्याधुनिक ल्याब स्थापना गरेको उनको भनाइ छ । यो ल्याबको स्थापनापछि नेपालीले परीक्षणका निम्ति लाखौं रुपैयाँ खर्च गरेर विदेश जानुपर्ने बाध्यता टरेको अजयजङ्ग बताउँछन् ।

निलमले भोगेको ‘खिसीट्युरी’

श्रीलङ्काबाट आणुवाङ्शिक रोगमा एमडी सकेर फर्किएपछि काम सुरु गर्दा निलमका सामु भने ठूलै चुनौती खडा थियो । ‘काम नलाग्ने विषय पढेको’ भनेर सुरु– सुरुमा त उनलाई कतिपय चिकित्सकहरूले नै गिज्याउँथे । वीर अस्पतालमा काम गर्न समेत उनलाई चुनौती नै थियो ।

अरुले जति हतोत्साहित गराउन खोजे पनि नेपालको पहिलो आणुवाङ्शिक रोग विशेषज्ञ आफू नै भएकामा उनमा गौरवबोध थियो । यो सेवालाई जसरी पनि स्थापित गर्नुपर्छ भन्ने दृढता थियो उनमा । वीर अस्पतालको मेडिकल जेनेटिक युनिटमा कार्यरत छिन् उनी ।

त्यतिबेला ‘गिज्याउने’ ती चिकित्सकहरूले पनि अहिले भने यो विषयबारे बुझ्दै गएकाले काम गर्न आफूलाई पनि सहज हुँदै गएको उनको अनुभूति छ । पहिले ‘गिज्याउने’ ती साथीहरूले पनि ‘यो विषय पनि काम निकै लाग्ने र महत्वपूर्ण नै पो रहेछ’ भन्न थालेको उनको अनुभव छ । ‘हामी साथीहरूको समेत नाम उँचो पारिस् भन्नुहुन्छ अहिले त ती साथीहरू’– अनुभूति सुनाउँदै उनले भनिन् ।

‘नेपालमा पनि जेनेटिक्स टेस्ट हुन्छ र’ भन्नेहरूले पनि अहिले नेपालमा समेत यो जाँच सम्भव भएको कुरा बुझ्न थालेकामा उनी सन्तुष्ट छिन् । नेपालको सरकारी अस्पतालमा आफू एक जना मात्रै आणुवाङ्शिक रोग विशेषज्ञ रहेको बताउँछिन् उनी । अहिले भने अर्का एक जनाले समेत यो विषय पढिरहेको आफूले सुनेको उनी बताउँछिन् ।

उनका अनुसार अहिलेसम्म ‘जेनेटिक ल्याब’ सरकारी अस्पतालहरूमध्ये वीर अस्पतालमा मात्रै छ । त्यसैले आणुवाङ्शिक रोगको चेक–जाँचमा दैनिक व्यस्त छिन् उनी । ‘आणुवाङ्शिक रोगलाई निर्मूल बनाउन त सकिँदैन तर पहिचान गरेर न्यूनीकरण गर्न भने सकिन्छ’– आफ्नो अनुभव सुनाउँदै डा. निलमले भनिन् ।