काँक्रो चोर्दाको कुटाइ सम्झिइरहने काँठेभाका गायक

होलिस्टिक संवाददाता

नेपाली काँठे लोकभाकामार्फत स्रोता–दर्शकमाझ लोकप्रिय गायक हुन् सरोज लामिछाने । उनी लोकगीतका तथा शब्द सङ्कलक समेत हुन् । रेडियोमा कार्यरत सञ्चारकर्मी समेत हुन् उनी । लामिछानेका प्रायः हरेक गीतहरू स्रोता–दर्शकमाझ लोकप्रिय छन् ।

उनैले शब्द सङ्कलन समेत गरी गाएका ‘बदाम खा’को, सुन्तला छोडा’को; के छ त नि पुरानो जोडाको’, ‘आँखा जुध्यो हे मेरी सानु’, ‘वल्लो गाउँ पल्लो’, ‘सालको पात हे माया’ जस्ता दर्जनौ गीत हिट छन् ।

लामो समयदेखि ‘रेडियो सिटी’ मा लोकगीतसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका सरोजले गाउँघरमा हुने गायन प्रतियोगितामा भाग लिँदै र आफ्नो गायनमा निखार ल्याउँदै आफूलाई चर्चित गायकका रूपमा स्थापित गरेका छन् । उनका ‘बदाम खा’को, सुन्तला छोडा’को…’, ‘आँखा जुध्यो हे मेरी सानु’, ‘वल्लो गाउँ–पल्लो गाउँ, फुर्के डोरी लाउनेलाई चिन्न पाऊँ’ जस्ता गीतहरू अहिले पनि बिहे–ब्रतबन्ध तथा पार्टी र सामाजिक सञ्जालमा समेत उत्तिकै मात्रामा ‘भाइरल’ छन् । आफ्ना गीत स्रोता तथा दर्शकमाझ लोकप्रिय बनेकामा उनी आफुलाई भाग्यमानी ठान्छन् ।

लोकगीत क्षेत्रमा स्थापित हुन अरुले जस्तै उनले पनि निकै ठूलो सङ्घर्ष गरेका छन् । रात्रिकालीन समयमा दोहोरी साँझमा गाउनु र बिहानै उठेर रेडियो कार्यक्रम चलाउन पुग्नुजस्तो कठोर एवम् व्यस्त दिनचर्या उनले गुजारेका छन् । धपेडी, दौडधुप र तनाव देख्दा त कहिलेकहीं यो फिल्ड नै पो छाडौं–छाडौ नै नलागेको होइन उनलाई । तैपनि, जुनसुकै पेशाका आ–आफ्नै समस्या होलान्, सङ्घर्षबाट भागेर त कहाँ पो पुगिएला र भन्ने ठान्दै उनी आफ्नै कर्मक्षेत्रमा डटिरहेका छन् ।

दैनिकी र जीवनशैली

सरोज बिहान ६–७ बजेसम्ममा उठिसक्छन् । उठेपछि तातो पानी पिउँछन् र बाथरुम गएर फर्किएपछि ‘भगवान्’ को पूजा गर्छन् । सानैदेखि ‘भगवान्’ प्रति आस्थावान् भएकाले आफूले दैनिकजसो घरमा नै पूजा गर्ने गरेको उनी बताउँछन् ।

त्यसपछि हार्मोनियम खेलाएर रियाज गर्छन् । उनको यो क्रम आधादेखि एक घन्टासम्म चल्छ । रियाजको समयमा केही गीतका भाकाहरू बनाउन कोसिस गर्छन् । भाका बनेको खण्डमा त्यसैमा केही बढी मेहनत गर्छन् ।

रियाज गरिसकेपछि उनी खाना बनाउँछन् । घरमा एक्लै भएपछि आफैं खाना बनाएर खानैपर्‍यो । त्यसपछि साढे ९ बजे रेडियोमा पुग्छन् । रेडियोमा जानुअघि नै खाना बनाएर खाइएन भने रेडियोको कार्यक्रम सकेर फर्किएपछि दिउँसोको १२ बजेतिर मात्रै घरमा आएर खाना खान्छन् । कहिलेकहीं बढी नै व्यस्त भएका बेलाचाहिँ बाहिर नै खाना खान्छन् ।

उनको रेडियो कार्यक्रम १० बजे सुरु हुन्छ । त्यसका निम्ति केही अघि नै पुगिहाल्नुपर्‍यो । रेडियोमा कार्यक्रम सकेपछि गीत रेकर्ड गर्नुपुर्ने भए स्टुडियोतिर जान्छन्, रेकर्डिङ छैन भने साथीभाइसँग भेटघाटलगायतका काममा व्यस्त हुन्छन् ।

बेलुकी भने उनी खाना खाँदैनन् । शरीर ‘मेन्टेन’ गराउन साँझको खाना खाने नगरेको सरोजको भनाइ छ । मिलनसार स्वभावका उनी निकै भोक लाग्यो भने मात्र बेलुकी खाना खान्छन्; नत्र खाँँदैनन् ।

मध्यरातमा सिर्जना

सरोजको सुत्ने समय ११–१२ बजेपछि नै हो । ‘गीत लेख्ने काम भयो भने निकै अबेर नै सुत्ने गरेको छु,’ उनी भन्छन्– ‘गीत लेख्ने मेरो समय भनेकै राति हो, दिउँसो त बाहिरफेर घुमिरहनुपर्ने भएकाले लेख्ने मुड नै बन्दैन ।’ दिउँसाका विभिन्न काममा छँदा या बाटोमा हिँड्दा केही फुरिहाल्यो भने उनी डायरीमा टिप्छन् । उनले रातको सुनसानमा गीत लेख्छन् र भाका फुराउँछन् ।

एउटा गीतको लेखन तथा भाका–रचना उनी एकै दिनमा सक्दैनन् । निकै लामो समय लगाएर मात्र गीत तयार पार्ने गरेको उनको भनाइ छ । छोटो समयमै लेखिसकेको गीत राम्रो नहोला कि भन्ने लाग्छ उनलाई । एउटा गीतको लेखन र भाका–सिर्जना गरिसक्न करिव एक महिनाजति लाग्ने सरोज बताउँछन् ।

छैन विदेशयात्रा: नेपालमै व्यस्त

उनका गीत जति नै हिट भए पनि सरोजलाई नेपाल बाहिरका कार्यक्रममा खासै निमन्त्रणा आएको छैन । राजधानी काठमाडौं आसपासमै हुने धेरै कार्यक्रमहरूमा उनको माग बढी हुने गरेको छ ।

‘काठमाडौं आसपासमा सुनिने काँठेभाका गाउने भएर होला, कार्यक्रमको सिलसिलामा यसै आसपासका काभ्रे, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुलीलगायतका जिल्लामा मात्रै पुगेको छु,’ उनी भन्छन्– ‘योभन्दा बाहिर हाम्रा गीत कमै सुनिने भएर होला, खासै बोलाउनुभएको छैन । अहिले त झन् कोरोनाका कारण कतै पनि कार्यक्रम हुने कुरै भएन ।’

कार्यक्रममा जाँदा दर्शकले उनलाई निकै रुचाउने गरेका छन् । उनले गाएका गीतहरू कण्ठस्थ पारेका दर्शक तथा स्रोताहरू उनले गीत गाउन थालेसँगै हौसिएर सँगसँगै गाउने गरेका छन् । हरेक कार्यक्रम उनका निम्ति सम्झनलायक नै हुने गरेका छन् ।

‘धादिङको किरानचोक भन्ने एउटा गाउँमा सांस्कृतिक कार्यक्रममा बोलाइएको थियो, त्यहाँ जाँदा त मैले सोचेको भन्दा निकै बढी दर्शकहरू आउनुभएको थियो,’ सरोजले सुनाए– ‘कार्यक्रममा आउनुभएका दर्शकहरूले मसँग सेल्फी खिँच्न अत्यधिक रहर गर्नुभयो, मेरा लागि त्यो पनि एक प्रकारको निकै ठूलो मायाकै अभिव्यक्ति थियो ।’

काँक्रो चोर्दा खाएको कुटाइ

बाल्यकालमा काँक्रो चोरेर खाँदा छिमेकीको कुटाइ खाएको सरोज कहिल्यै बिर्सन सक्दैनन् । छोराले केही बिगार गर्‍यो कि कुटिहाल्ने उनका बुबाको स्वभाव रहेछ । अलि कडा स्वभाव भएका कारण सरोज बुबादेखि एकदमै डराउँथे ।

एक दिन उनलाई काँक्रो खान मन लाग्यो; छिमेकीको बारीमा फलेको काँक्रो चोरिदिए । काँक्रो चोरेको थाहा पाएपछि छिमेकीले उनलाई मरणासन्न हुने गरी कुटे । ‘मेरा बुबा एकदमै कडा स्वभावका हुनुहुन्थ्यो । हुन त बुबाले पनि आफ्ना छोराछोरी नबिग्रियून् भनेर नै हामीलाई कडाइ गर्नुभएको हो । कसैले केही चोरेको थाहा पाए त साह्रै नै भकुर्नुहुन्थ्यो । तर, आफूलाई चाहिँ शारीरिकभन्दा पनि मानसिक तनाव बढी हुन्थ्यो’– उनले सुनाए ।

‘एक दिन घाँस काट्न जाँदा छिमेकीको काँक्रो चोरें । लामिछाने दाजुभाइकै थियो त्यो । कुमार लामिछाने भन्नेकोमा काँक्रा रोपेका थिए । त्यहीं फलेको काँक्रो बिहान घाँस काट्न जाँदा चोरेर घर फर्कने क्रममा तिनले मलाई चुट्नुसम्म चुटे,’ त्यस घटनाको स्मरण गर्दै सरोजले भने– ‘जिन्दगीमा त्यस्तो कुटाइ त अहिलेसम्म बाउले पनि ख्वाएका थिएनन् । बेलुका पनि बाउले फेरि कुट्नुहोला भन्ने अर्को डर र तनाव थियो मलाई । तर, त्यस दिन भने बाले कुट्नु भएन, किनभने त्यहाँभन्दा बढ्ता कुट्ने त ठाउँ नै थिएन मलाई ।’