स्वच्छ पानी: गुणस्तरीय जीवनको आधार

कृष्णप्रसाद भुसाल

हामी सबैको साझा बुझाइ छ– पानी नै जीवन हो । हो, पानीविना जीवन र जीविकाको कल्पनासम्म पनि गर्न सकिँदैन । कृषि उत्पादनका साथै पर्यावरणीय सन्तुलन, जैविक विविधता र मानव, प्राणी एवम् वनस्पतिजगतको केन्द्रीय तत्व नै पानी हो ।

पानी पिउने, खाना पकाउने, सरसफाइ गर्ने, कपडा धुने, नुहाउनेजस्ता छिनछिनका आवश्यकतामा मात्र होइन, सिँचाई, जलपरिवहन, जलक्रीडामा आधारित खेलहरू र पर्यटकीय प्रयोजन, औद्योगिक प्रयोजन एवम् विद्युत् उत्पादनमा समेत पानी निर्विकल्प तत्व हो । सजीव जीवनको आधारभूत तव पानी केवल बाँच्ने आधार मात्र होइन, उद्विकासको प्राथमिक र वातावरणीय एवम् पारिस्थितिकीय चक्रको सञ्चालक समेत हो । शरीरका प्रत्येक कोषको करिव ९७ प्रतिशत अङ्श पानीले नै ओगट्छ । यसर्थ, बाह्य मात्र नभई शरीरको आन्तरिक प्रणालीगत कार्यहरू पनि पानी र पानीजन्य पदार्थबाट नै सम्भव हुन्छ ।

सामान्यतया दलदल सिम, ताल–तलाउ, पोखरी, दह, कुण्ड र नदीनाला नै पानीका मुख्य स्रोत हुन् । जमिनका हिसाबले पानी हुने सिमसार क्षेत्रलाई हामी उति महत्वका साथ लिँदैनौं । तर, अन्यभन्दा सिमसार क्षेत्रहरू नै अतुलनीय एवम् विशिष्ट हुन्छन् । विश्वकै सबैभन्दा बढी उत्पादनशील र जैविक महत्वका क्षेत्र हुन सिमसार क्षेत्र । कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जलविज्ञान, पर्यटन प्रवद्र्धन, मनोरञ्जन, आर्थिक–सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसार क्षेत्र सृष्टिकै उच्चतम उपहार हुन् । सिमसारमा जलपरिचालन र शुद्धीकरण निरन्तर चलिरहने हुनाले यसलाई ‘प्रकृतिको मिर्गौला’ समेत भनिन्छ । मूल, कुण्ड, ताल र नदीजस्ता पानीका स्रोतहरू धार्मिक, सांस्कृतिक एवम् परम्परागत आस्थाका केन्द्र पनि हुन् ।

पानी नवीकरणीय स्रोत हो । यो ‘जलचक्र’ का माध्यमबाट प्राकृतिकरूपमै नवीकृत भइरहन्छ । नेपालको सबैभन्दा ठूलो प्राकृतिक स्रोत नै पानी हो । यहाँका छ हजारभन्दा बढी नदीनालाहरू देशभर रक्तकोषिका जसरी फैलिएर बगेका छन्, जसको कूल लम्बाइ करिव ४५ हजार किलोमिटर छ । ‘श्वेत सुन’ समेत भनिने यी नदीहरूको जलभण्डार अर्थात् सरदर क्षमता २ लाख २ हजार मिलियन लिटर छ । यसको सालाखाला जलप्रवाह ६ सय देखि १७१४ क्युसेकसम्म पुग्छ । नेपालमा रहेका करिव ५ हजार ताल, १ हजार ३ सय ८० जलाधार क्षेत्र, ५ हजार १ सय ८३ पोखरीहरू र भूमिगत पानी नै स्वच्छ पानीका स्रोत हुन् ।

नेपालका नदीहरूबाट आर्थिक तथा प्राविधिक हिसाबले करिव ४२ हजार मेगावाटभन्दा बढी जलविद्युत् निकाल्न सम्भव छ । र, यिनमा करिव ८० लाख हेक्टर खेतीयोग्य भूमि सिँचाइ गर्ने सामथ्र्य छ । नेपालका नदीहरूको उद्गम–स्रोत हिमालको हिउँ र पहाड भएकाले यहाँको पानी स्वच्छ, पिउन योग्य र सदाबहार जलप्रवाहयुक्त छ । पहाडी क्षेत्रमा साँघुरा गल्छी र गहिरो बेंशी भएर बग्ने हुँदा नदीहरूमा बाँध बाँधेर जलविद्युत् उत्पादन र सिँचाई गर्न पनि सस्तो, सरल र सहज हुने प्रकृतिप्रदत्त भौतिक सुविधाहरू छन् । अधिकाङ्श नदीनालाहरूको मुहान देशभित्रै भएकाले हामी जलस्रोतको उपभोगमा समेत पूर्णरूपले स्वायत्त छौं ।

जलसाधनमा यति धेरै सम्पन्न भैरहँदा हामीले यी स्रोत–साधनमा कत्तिको पहुँच पाएका छौं र सदुपपयोग गर्न कति सकेका छौं त ? स्वच्छ पानी पिउनु नागरिकको नैसर्गिक अधिकार नै भए तापनि प्रदूषित पानीका कारण लाग्ने हैजा, झाडापखाला, आउँ, टाइफाइड, कमलपित्तजस्ता रोगहरूको महामारीबाट वर्षेनि सयौं नागरिकले अकालमै ज्यान गुमाउनु परिरहेको छ । हजारौंले स्वास्थ्य समस्या भोग्नु परिरहेको तीतो यथार्थ हाम्रामाझ विद्यमान छ ।

नवौं पञ्चवर्षीय योजनामै समावेश गरिएको ‘शतप्रतिशत जनतालाई स्वस्थ र स्वच्छ खानेपानी उपलब्ध गराउने’ योजना व्यवहारमा भने हालसम्म पनि लागू हुन सकेको छैन । सहरमा स्वच्छ पानीको अभाव त एउटा आतङ्क नै छँदैछ; ग्रामीण क्षेत्रमा समेत खानेपानीको खोजीमा कोसौं टाढासम्म धाउनुपर्ने बाध्यता छ । पानीकै निँहुमा दिनहुँ झैझगडा चलिरहेका हुन्छन् भने कतिपय वस्ती नै विस्थापित भएका छन् । अत्यधिक प्रदूषणका कारण राजधानी र अन्य सहर आसपासका नदीहरू ‘मृत’ भएका छन्; फलतः सहर आफै मृत हुन पुगेको छ । काठमाडौं उपत्यका एवम् अधिकाङ्श र तराई तथा भित्री मधेसमा बसोवास गर्ने करिव डेढ करोड जनसङ्ख्याले पिउने र घरेलु प्रयोग गर्ने पानी भूमिगत स्रोतबाट प्राप्त गरिन्छ । तराई तथा उपत्यकामा स्थापित अधिकाङ्श उद्योग, हाउजिङ कम्प्लेक्स, अस्पताल, सरकारी भवन आदि पनि भूमिगत स्रोतको पानीमै निर्भर छन् । तर, बिडम्वना ! बढ्दो सहरीकरण, जनसङ्ख्या वृद्धि र अव्यवस्थित एवम् अनियन्त्रित फोहर व्यवस्थापनका कारण भूमिगत पानी उपयोगका निम्ति अयोग्य बन्दैछ ।

जलवायु परिवर्तनका कारण ‘वाटर टावर’ भनिने हाम्रा हिमाली क्षेत्रमा ठूलै नकारात्मक प्रभाव पारिरहेकाले तिनमा आश्रित करोडौं मानिस जोखिममा छन् । अग्ला हिमालका शिखरमा अन्यत्रभन्दा धेरै हिउँ जम्दा तिनले विशाल ट्याङ्कीको जस्तै काम गर्दछन् । हिउँ पर्छ, ‘ट्याङ्की’ भरिन्छ अनि दिन, साता, महिना वा वर्षभरि बिस्तारै पग्लिइरन्छ र नियन्त्रितरूपमा पानी बगिरहन ठूलो सहयोग पुग्छ । जलवायु परिवर्तनका कारण अग्ला हिमालका ‘वाटर टावर’ मा जम्मा भएको पानीको परिमाण एवम् त्यस्तो पानी बग्ने बाटो दशकौंदेखि प्रभावित हुँदै आएको वैज्ञानिकहरूले बताएका छन्; अनेकौं अध्ययनहरूले पुष्टि गर्दै आएका छन् । हिमताल विस्फोट र हिमाली क्षेत्रमा आउने पहिरोजस्ता कारणले पनि तल्लो तटीय क्षेत्रका जलाधार नै मेटिनेसम्मको चुनौती समेत बढ्दै छ ।

मौसम परिवर्तन, कृषिमा विषादीहरूको अधिक प्रयोग, जनसङ्ख्या वृद्धि र बढ्दो वन विनाशका कारण जलस्रोतका मुहान सुक्दैछन् र जलाधारहरू प्रदूषित हुँदै गइरहेका छन् । स्वच्छ पानीको अभाव प्रमुख चुनौतीका रूपमा खडा हुँदैछ । कतिपयको बुझाइमा जलस्रोत भनेको जलविद्युत् मात्रै हो भन्ने पनि छ । तर, कुरा त्यसो होइन किनकि बिजुली त सौर्य, वायु, खनिज इन्धन तथा आणविक भट्टीहरूबाट पनि उत्पादन गर्न सकिन्छ; पिउने पानीको भने कुनै विकल्प नै छैन ।

काठमाडौंलगायतका ठूला सहरहरू घना वस्तीले भरिँदै जाँदा स्वच्छ पिउने पानीको अभावले सहरी विकासलाई नै ठाडै चुनौती दिएको छ । सहर आसपासका नदीहरू त अब नदी नै रहेनन्; तिनलाई त हामीले ‘फोहर विसर्जनस्थल’ वा ‘ढल’ मा रूपान्तरित गरिसकेका छौं । खालि अग्ला घर, चिल्ला सडक र झिलिमिली बत्तीमा मात्र हामीले ‘विकास’ देख्यौं । तर, सहरी सभ्यता र सुन्दरताको मुख्य आधार नदीनालाहरूलाई बिर्सियौं । फलतः सहरका नदीहरू आफैमा बहुआयामिक र जैविक महत्वका क्षेत्र हुँदाहुँदै पनि सबैभन्दा बढ्ता तिनैको ह्रास हुँदै गएको छ ।

स्वस्थ रहन प्रभातकालीन हिँडाइ (मर्निङ वाक) मा राजधानीका विष्णुमती–बागमती किनारमा ओहोर–दोहोर गर्नेहरू नाक छोपेर नदीतिर थुक्दै हिँड्ने गरेका देखिन्छन् । यी नदीहरूलाई यस्तो दूरावस्थामा पुर्‍याउने त अरु कोही नभएर हामी नै त हौं ! विकसित देशका सहरहरूमा स्वच्छ पानीको उपलब्धता र सहरी नदीहरूको सभ्यता तथा स्वच्छता कायम राख्नुमा पहिलो प्राथमिकता हुन्छ । यो विषयलाई हरेक नागरिकको गुणस्तरीय जीवनयापनसँग जोडेर हेरिन्छ । तर, हामी भने त्यस प्रकारको सोच र व्यवहारमा अझै पुग्न सकेका छैनौं ।

पानीका स्रोत र जलाधार क्षेत्रको संरक्षण, भूमिगत पानीको ‘रिचार्ज’ र शुद्ध पिउने पानीको सहज एवम् सर्वसुलभ उपलब्धता अहिलेको आधारभूत प्राथमिकता हो भन्ने यथार्थतालाई राज्यका हरेक निकायले आत्मसात् गर्नु जरुरी छ । पानी बहुआयामिक र सर्वपक्षीय सरोकारको विषय भएकाले यसको स्वच्छता र सहज उपलब्धतासँगै स्रोतको दिगो संरक्षण र समुचित व्यवस्थापनको महत्वलाई राष्ट्रिय तथा स्थानीय तहका नीति तथा योजनाहरूमा स्थापित गर्दै एकीकृतरूपमा आर्थिक, प्राविधिक एवम् संस्थागत क्षमता अभिवृद्धि गर्नु अत्यावश्यक छ । स्वच्छ र सन्तुलित पर्यावरण, जनस्वास्थ्य, खाद्य सुरक्षा र गुणस्तरीय जीवनयापनसँग अभिन्नरूपले जोडिने पानीको जिम्मेवारीपूर्ण प्रयोग र संरक्षणमा नागरिक स्वयम् समेत सचेत र कर्तव्यनिष्ठ रहनु जरुरी छ । पानी रहे जीवन रहन्छ, पानी स्वच्छ भए जीवन स्वस्थ रहन्छ ।