वर्षामा ढकमक्क फुल्ने चित्ताकर्षक जिनिया

अनिता सुनुवार

गर्मी मौसममा सुन्दर फुल्ने मौसमी फूल हो जिनिया । गर्मी मौसममा फुल्ने मौसमी फूलहरूमध्ये यो दोस्रो वरियतामा पर्छ । गर्मी मौसममा फुल्ने मौसमी फूलहरूमध्ये फूलका शौखिनको रोजाइमा सयपत्रीपछि जिनिया नै पर्छ ।

जिनियालाई घर तथा गार्डेनमा सुन्दर ढङ्गले सजाउन सकिन्छ । ‘कट फ्लावर’ का रूपमा फूल काटेर सजाउनका निम्ति पनि यसको उत्तिकै महत्व छ । त्यसैले फूलका शौखिनहरूका लागि यो निकै नै लोकप्रिय छ ।

आजकल व्यावसायिकरूपमा उत्पादन गरिएको जिनिया फूल सहरी क्षेत्रमा लोकप्रिय छ । यो फूल रोपेर फुलाउने शौखिनहरू बढिरहेको नर्सरी व्यवसायीहरूको भनाइ छ । गर्मी मौसममा फुल्ने यो सुन्दर फूललाई पानी–झरीले पनि नबिगार्ने भएकाले यसका शौखिन बढ्नु स्वाभाविकै हो ।

जिनिया फूल तथा यसका बिरुवा तुलनात्मकरूपमा कडा हुने भएकाले सानोतिनो पानीले यसलाई बिगार्दैन । तर, पानी जम्ने ठाउँमा भने यसलाई रोप्नु हुँदैन । जमिनमा रोप्दा हल्का अग्लो ड्याङ बनाएर रोप्नुपर्छ; गमलामा रोप्दा हल्का किसिमको माटोमा रोप्नुपर्छ । खरानी तथा कुहिएको पत्करमा माटो मोलेर रोप्नु उचित हुन्छ ।

स्थानीय जातका जिनियाको बोट सामान्यतयाः अग्लो नै हुन्छ । तर, हाइब्रिड गरिएका जिनिया भने होचो बोटमै ढकमक्क फुल्दछ । आकर्षक तथा सुन्दर फुल्ने भएकाले होचो बोटमा फुल्ने जिनिया नै बढी मन पराइन्छ ।

होचो बोटमै गमलामा ढकमक्क फुलेको जिनिया कम्ती लोभलाग्दो हुँदैन । रातो, सेतो, पिङ्क, पहेंलो, छिरबिरे आदि बढी मन पराइने जिनियाका रङ्ग हुन् । विभिन्न रङ्गमा रङ्गीविरङ्गी फुल्ने अनि लामो समय टिक्ने भएकाले यो फूल बढी रुचाइने गरेको छ । राम्रो स्याहार पुगेमा फुल्न थालेको चार महिनासम्म जिनिया फुलाउन सकिन्छ ।

‘जाहारा’ प्रजातिको जिनिया फूल वर्षाद्को पानीदेखि खासै नडराइकन फुल्ने भएकाले यो प्रजाति बढी लोकप्रिय छ । यस प्रजातिको एक बोटमा चालीस थुँगाभन्दा बढी फुलाउन सकिने भएकाले यो फुलेका बेला निकै सुन्दरता छाउँछ । जिनियाका ‘ड्रिमल्याण्ड’, ‘जिताना’, ‘ओक्लोहोमा’, ‘स्टारलाइन’ आदि पनि नेपालमा मन पराइने प्रजाति हुन् ।

जाहारापछि ड्रिमल्याण्ड बढी मन पराइने जिनियाको प्रजाति हो । ड्रिमल्याण्ड प्रजातिको जिनियाको थुँगा अन्य प्रजातिको तुलनामा ठूलो हुन्छ । ड्रिमल्याण्डको तुलनामा जाहाराको थुँगा सानो हुन्छ । जिताना पनि एक बोटमा करिव पन्ध्र थुँगासम्म फुलाउन सकिन्छ । यो प्रजातिको जिनिया पनि तुलनात्मकरूपमा सानो नै फुल्छ ।

ओक्लोहोमा र स्टारलाइन प्रजातिका जिनियाको भने बोट अग्ला हुन्छन् । अग्ला बोट हुने भएकाले यी दुई प्रजातिका जिनियालाई गमलामा नभई जमिनमै रोप्नु उचित हुन्छ । राम्रोसँग स्याहारसुसार तथा ‘पिन्चिङ’ गरिएमा यी दुई प्रजातिका एक बोटमा तीस वटाभन्दा बढी थुँगा फुलाउन सकिन्छ ।

जिनिया फूलका निम्ति करिव छ महिनासम्म पाकेको गाईको गोबर, पिना, कम्पोस्टजस्ता मल प्रयोग गर्न सकिन्छ । राम्रोसँग मलजल पुगेमा फूलको चमक बढ्नुका साथै लामो समयसम्म फुलिरहने हुन्छ ।

जिनिया फूललाई गमलामा रोपेर ठाउँअनुसार सजाउने हो भने घरको शोभा त बढ्छ नै, मनमा समेत शान्ति र आनन्द मिल्छ । गार्डेनको जमिनमा लहरै रोपेर सजाउँदा पनि यो निकै सुन्दर देखिन्छ । यो फूल १५ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा मजाले फुल्छ । नेपालका तराईदेखि पहाडसम्मका भूभागमा यसलाई राम्ररी फुलाउन सकिन्छ । काठमाडौं उपत्यकाका सबै भूगोलमा यो राम्रैसँग फुल्छ । उपत्यकामा यो फूल फागुनदेखि असोजसम्म राम्रैसँग फुल्दछ ।

काटिएको (टिपेको) जिनिया फूललाई पानी राखेर साताभन्दा बढी समयसम्म सजाउन सकिन्छ । यसको रङ्ग बिस्तारै परिवर्तित हुँदै जान्छ तर जिनिया ओइलाउँदैन । यो फूल रोप्ने उचित मौसम फागुनदेखि जेठको पहिलो सातासम्म हो ।
जिनियाको बिरुवा खासै महँगो छैन । पोली (पोलिस्टर प्याक) मा रोपिएका जिनियाका बिरुवाको मूल्य काठमाडौं उपत्यकामा सामान्यतः बीसदेखि एक सय पचास रुपैयाँसम्म पर्छ । दस इन्चको गमलामा रोपिएको जिनियाको औसत मूल्य तीन सय रुपैयाँ रहेको पाइन्छ ।