मौसम परिवर्तनसँगै फ्लुको जोखिम

डा. शेरबहादुर पुन

यतिबेला एकातर्फ कोरोनाभाइरस (कोभिड– १९) सङ्क्रमणको महामारी कायमै छ भने अर्कातर्फ मौसमी फ्लुको जोखिम पनि क्रमशः बढिरहेको देखिँदै छ । केही सातायता मौसमी फ्लुको सङ्क्रमण बढेको पाइएको छ ।

झट्ट हेर्दा कोरोनाभाइरस सङ्क्रमण र मौसमी फ्लुको लक्षणबीच भिन्नता छुट्याउन समेत मुस्किल पर्दा सङ्क्रमित थप द्विविधामा पर्ने अवस्था छ । बेलैमा सही उपचार नपाए कोरोनाभाइरस सङ्क्रमण र फ्लुको सङ्क्रमण दुवैले स्वास्थ्य जटिलता निम्त्याउन सक्छन् ।

सामान्यरूपमा भन्नुपर्दा अगस्ट अनि मार्च महिनामा (जाडो सकिनेबित्तिकै) इन्फ्लुएन्जाको सङ्क्रमण बढी देखिने गरेको पाइन्छ । मार्च (फागुन–चैत) र अगस्ट (साउन–भदौ) मा इन्फ्लुएन्जा सङ्क्रमितको सङ्ख्या उच्चतम विन्दुमा पुग्ने गरेको पाइएको छ ।

यसको अर्थ नेपालमा जाडो मौसमको अन्त्य भएर गर्मी सुरु हुने बेला र मनसुनको मध्य समयमा मौसमी फ्लुको सङ्क्रमण बढी देखिने गरेको पाइन्छ । सामान्यतः गर्मी मौसमको सुरुआतसँगै इन्फ्लुएन्जाका बिरामीको सङ्ख्या बढ्ने गरेको छ ।

‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ इन्फ्लुएन्जा

‘इन्फ्लुएन्जा’ एक किसिमको भाइरस हो; यसलाई छोटकरीमा ‘फ्लु’ समेत भन्ने गरिएको छ । इन्फ्लुएन्जालाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारमा वर्गीकरण गरिन्छ । मानिसमा ‘ए’, ‘बी’ र ‘सी’ इन्फ्लुएन्जाले सङ्क्रमण गर्दछ ।

‘ए’ र ‘बी’ इन्फ्लुएन्जा कडा किसिमको हुन्छ; हरेक वर्षको मौसमी परिवर्तनसँगै यसको जोखिम बढी हुन्छ । विश्वव्यापीरूपमै ‘बी’ इन्फ्लुएन्जाभन्दा ‘ए’ इन्फ्लुएन्जा बढी फैलन सक्छ । ‘सी’ इन्फ्लुएन्जा कडा देखिँदैन । ‘ए’ इन्फ्लुएन्जा भाइरसका रूप चाँडो चाँडो परिवर्तन हुन्छ, जसले गर्दा यस्तो सङ्क्रमण भएका बेला ज्यानै जानेसम्मको जोखिम हुन्छ ।

नेपालमा मूलतः ‘ए’ इन्फ्लुएन्जा अन्तर्गतका ‘एच वान एन वान पीडिएम— ०९’ र ‘एच थ्री एन टु’ भाइरस देखिइरहेका छन् । ‘एच वान एन वान पीडिएम— ०९’ भाइरस ‘स्वाइन फ्लु’ का नामले चिनिन्छ । ‘हङकङ फ्लु’ भने ‘एच थ्री एन टु’ नामले चिनिने गरेको छ । यीबाहेक ‘एच फाइफ एन वान’ इन्फ्लुएन्जाको समेत बढी नै जोखिम छ ।

नगरौं हेलचेक्र्याइँ

इन्फ्लुएन्जा लागेका बेला ‘रुघाखोकी त हो नि’ भनेर हेलचेक्र्याइँ गर्नु हुँदैन । इन्फ्लुएन्जाको सङ्क्रमण हुँदा श्वास–प्रश्वासमा समस्या निम्तन्छ र ज्यानै समेत नजाला भन्न सकिँदैन । यस्तो अवस्थामा निमोनिया भएर मृत्यु हुन सक्छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा जोखिम बढी हुने भएकाले पाँच वर्षभन्दा कम उमेरका बालबालिका तथा पाको उमेरका नागरिकलाई बढी जोखिम हुन्छ । त्यसैगरी, छातीका रोगसँग सम्बन्धित दम, स्वास–प्रश्वाससम्बन्धी समस्या तथा दीर्घरोग भएकाहरूमा इन्फ्लुएन्जा सङ्क्रमणले जटिलता निम्त्याउने सम्भावना बढी हुन्छ । फ्लुको सङ्क्रमण भएका बेला शरीरका विभिन्न अङ्गहरूले काम नगर्दा ज्यान जाने जोखिम हुन्छ ।

लक्षण र परीक्षणबाट हुन्छ पहिचान

कोरोनाभाइरस र मौसमी फ्लुका लक्षण करिव–करिव मिल्दाजुल्दा हुन्छन् । स्वास्थ्य परीक्षण तथा प्रयोगशाला परीक्षण गरेर मात्र कोरोनाभाइरस वा मौसमी फ्लुमध्ये कुनचाहिँ सङ्क्रमण हो भन्ने यकिनसाथ पहिचान गर्न सकिन्छ ।

मौसमी फ्लुको लक्षणका रूपमा रुघाखोकी लाग्ने, छाती दुख्ने, घाँटी दुख्ने, ज्वरो आउनेजस्ता समस्या हुन्छन् । सङ्क्रमितमा पातलो दिसा जाने, हाडजोर्र्नी तथा माङ्शपेशी दुख्ने, नाक बन्द भएजस्तो हुने, घाँटी दुख्ने, घाँटी (आवाज) बस्ने, आँखाका दाना दुख्ने, टाउको दुख्नेजस्ता लक्षणहरू पनि देखिन सक्छन् ।

पशुपक्षीको सम्पर्कबाट नै फ्लु सङ्क्रमणको जोखिम हुने भएकाले पशुपक्षी चलाएपछि वा पशुपक्षीको नजिक परेपछि साबुन–पानीले राम्रोसँग हात धोएर मात्रै खानपान गर्नुपर्छ । फ्लुको सङ्क्रमण हुँदा सामान्यतया सुरुमा रुघा देखिन्छ र कडा हुँदै जाँदा श्वास–प्रश्वासको समस्या बढ्दै जान्छ ।

कोरोनाभाइरसको सङ्क्रमण हुँदा भने सुरुआती दिनमै उच्च ज्वरो आउने तथा स्वास–प्रश्वासमा समस्या हुने गरेको पाइएको छ । कोरोनाभाइरसको सङ्क्रमण हुँदा पनि रुघाखोकी लाग्न सक्छ र स्वाद एवम् गन्ध हराउनेजस्ता लक्षण देखिन्छन् । बालबालबालिकालाई भने अहिलेसम्म कोरोनाभाइरसको तुलनामा फ्लुले नै बढी समस्या निम्त्याएको देखिन्छ ।

लक्षणअनुरूप उपचार, खोप पनि पाइन्छ

फ्लु सङ्क्रमण हुँदा जे–जस्ता लक्षण देखिन्छन्, सोही आधारमा उपचार गरिन्छ । कोरोनाभाइरसको जस्तै फ्लुको पनि यही नै हो भन्ने विशेष औषधि छैन । फ्लुको सङ्क्रमण कडा छ भने आवश्यकताअनुसार ‘ओसेलटेमिभिर’ नामक ‘एन्टिभाइरल’ औषधी प्रयोग गर्न सकिन्छ । यो औषधिले भाइरसको सङ्क्रमण बढ्न फैलन दिँदैन ।

मौसमी फ्लुको सङ्क्रमण भएमा सामान्यतः सातादेखि दस दिनसम्ममा निको हुन्छ । दस दिनसम्ममा पनि रुघाखोकी र ज्वरो कम नभएमा सङ्क्रमण फैलिएर ज्यानै जाने जोखिम हुन सक्छ । यस्तो अवस्थामा पटक्कै हेलचेक्र्याइँ गर्नु हुँदैन ।

फ्लुको सङ्क्रमणबाट बच्नका लागि सङ्क्रमण हुनुअघि नै खोप लगाउन पनि सकिन्छ/पाइन्छ । फ्लुु सङ्क्रमण विरुद्धको खोप लगाउँदा त्यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । त्यसैले खोप लगाएर पनि फ्लु सङ्क्रमणको जोखिमबाट बच्न सकिन्छ । फ्लु सङक्रमण विरुद्धको खोप लगाउँदा यसको जोखिमबाट ६० प्रतिशतसम्म बच्न सकिने कुरा अध्ययनहरूले देखाएका छन् । सामान्यतया वर्षमा एक पटक फ्लु विरुद्धको खोप लगाउन सकिन्छ ।

सरसफाइमा ध्यान, पोषिलो खानपान

सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु नै फ्लुको सङ्क्रमणबाट बच्ने महत्वपूर्ण उपाय हो । राम्रोसँग हात धोएर खानपान नगरिए सङ्क्रमणको जोखिम उच्च हुन्छ । नाक–मुखमा हात लगिरहने कार्य नगर्नु फ्लुको सङ्क्रमणबाट बच्ने अर्को महत्वपूर्ण सतर्कता हो । फ्लुको सङ्क्रमण भीडभाडबाट पनि हुन सक्ने भएकाले भीडभाडबाट जोगिनुपर्छ । घरबाहिर निस्कँदा र रहँदा मास्कको अनिवार्य प्रयोग गर्नैपर्छ ।

फ्लु सङ्क्रमण भएका बेला झोलिलो तथा पोषिलो किसिमका खानपानमा जोड दिनुपर्छ । प्रशस्त मात्रामा गेडागुडी खानुपर्छ । फ्लुको सङ्क्रमण भैहालेको खण्डमा बेलैमा चिकित्सकको परामर्श लिएर स्वास्थ्य परीक्षण गरी उपचार गर्नुपर्छ ।