घरमै बनाउन सकिने सजिला तिन परिकार
होलिस्टिक संवाददाताचकलेट मउस्स
आवश्यक सामग्री
हेभी क्रिम– २०० ग्राम, अण्डाको पहेंलो भाग– तीन वटा, चिनी– २० ग्राम, भेनिला एक्स्ट्राक्ट– २–३ थोपा, डार्क चकलेट– १२५ ग्राम, नुन– आधा चिम्टी ।
बनाउने तरिका
अण्डाको पहेंलो भाग र चिनीलाई मध्यम खालको मिक्सिङ भाँडामा राख्ने । इलेक्ट्रिक ह्यान्ड मिक्सर वा व्हिपरले करिव २ मिनेटसम्म (फ्लफी नहुञ्जेल) मिक्स गर्ने । क्रिमलाई एउटा प्यानमा राखेर सानो आगोमा हल्का तताउने ।
अब माथि भनिएअनुसार तयार पारिएको अण्डा–चिनीको मिक्स्चरमा तताइएको क्रिम बिस्तारै राख्ने । त्यसपछि केही बेर चलाएर त्यस भाँडाका सबै सामग्रीलाई प्यानमा हाल्ने । यसलाई १६० डिग्री सेल्सियसमा (हल्का बबल निस्कन लागुञ्जेल) पकाउने । डल्ला पर्न आँटेमा व्हिपरले चलाउँदै फुटाउने ।
त्यसपछि आगो बन्द गरिदिएर त्यसमा चकलेट थप्ने र पूरै नपग्लुञ्जेल चलाउँदै जाने । पूरै पग्लेपछी त्यसलाई प्यानबाट निकालेर बोतलमा खन्याउने र सेलाउन दिने । अब केही क्रिमलाई यसमा राखेर व्हिपर प्रयोग गरी व्हिप गर्ने । अन्त्यमा, थप स्वादका लागि भेनिला एक्स्ट्राक्ट राख्ने । आवश्यकताअनुसार यसमा नुन पनि राख्न सकिन्छ ।
अन्त्यमा यसलाई डेजर्ट कपमा राख्ने अनि करिव २ घन्टाजति सेलाउन दिने । माथिबाट चक्लेटका केही टुक्राहरू राखेर यसलाई सर्भ गर्न सकिन्छ ।
000
चिकेन इन–स्वीट लेमन सस
आवश्यक सामग्री
ओलिभ आयल– २ (ठूलो) चम्चा, प्याज– १ (मध्यम आकारको) मसिनो गरी काटेको, चिकेन ब्रेस्ट– ४ वटा, टमेटो केचप– ३ (ठूलो) चम्चा, सोय सस– २ (ठूलो) चम्चा, चिनी– ३ (ठूलो) चम्चा, कागतीको रस– २ (ठूलो) चम्चा, मरिच– १ (सानो) चम्चा ।
बनाउने तरिका
चिकेन ब्रेस्टलाई लाम्चो आकारमा दुई टुक्रा पार्ने, यसबाट छाला हटाउने । त्यसपछि गहिरो भाँडामा ओलिभ आयल तताउने र मसिनो गरी काटेको प्याजलाई ठूलो आगोमा फ्राई गर्ने । अब माथि भनिएअनुसार तयार पारिएको चिकेन राख्ने र त्यसलाई हल्का खैरो हुञ्जेलसम्म पकाउने ।
त्यसपछि एउटा कचौरामा केचप, सोय सस, चिनी, कागतीको झोल र मरिच राखेर मजाले मिसाउने । यो मिश्रणलाई चिकेनमाथि खन्याउने र उमाल्ने । उम्लेपछि छोपिदिने अनि आगोको राप घटाएर २०–२५ मिनेटसम्म पकाउने ।
000
पनीर कट्टी रोल
आवश्यक सामग्री
आँटा– २०० ग्राम, पनीर– २०० ग्राम, रातो क्याप्सिकम– एउटा (मसिनो), हरियो क्याप्सिकम– एउटा (लाम्चो गरी काटेको) मसिनो र लाम्चो गरी काटेको, प्याज– एउटा (मध्यम आकारको) मसिनो गरी काटेको ।
म्यारिनेटका लागि आवश्यक सामग्री
दही– ५ (ठूलो) चम्चा, अदुवा– एक (सानो) चम्चा (भुजा पारेको), लसुन– एक (सानो) चम्चा, रातो खुर्सानीको धुलो– १ (सानो) चम्चा, गरम मसला– १ (सानो) चम्चा, बेसार– १ चिम्टी, नुन– १ (सानो) चम्चा, तेल– २ (ठूलो) चम्चा
चटनीका लागि आवश्यक सामग्री
धनियाँ– १०० ग्राम, पुदिना– ५० ग्राम, नरिवल– २ (ठूलो) चम्चा भुजुरी पारेको, लसुनको केस्रा– एउटा, जिराको दाना– आधा (सानो) चम्चा, हरियो खुर्सानी– एउटा, कागतीको रस– १ (ठूलो) चम्चा, नुन– १ (सानो) चम्चा, चिनी– १ (सानो) चम्चा ।
म्यारिनेट गर्ने तरिका
एउटा कचौरामा म्यारिनेट सामग्रीलाई राख्ने र मजाले मिक्स गर्ने । त्यसमा आधा इन्चको बनाई टुक्रा पारिएको पनीर राख्ने र राम्ररी मोल्ने ।
त्यसपछि एउटा प्यानमा तेल तताउने । त्यसमा प्याज, क्याप्सिकम अनि एक चिम्टी नुन राखेर ३ देखि ४ मिनेटसम्म पकाउने । त्यसमा माथि भनिएअनुसार तयार पारिएको पनीर राखेर मजाले मोल्ने र ३–४ मिनेटसम्म पकाउने । पाकेपछि आगो बन्द गर्ने । त्यसपछि धनियाँको पत्ता राखेपछि छोपेर राख्ने ।
चटनी तयार पार्ने तरिका
चटनीको लागि माथि उल्लेखित सबै सामग्री मिक्सरमा राख्ने अनि २ चम्चा पानी राखेर चलाउने । तयार भएको चटनीलाई एउटा कचौरामा राख्ने ।
रोटी तयार पार्ने तरिका
आँटा र पानी मिसाएर तावामा रोटी तयार पार्ने । थप स्वादका लागि थोरै घ्यु या तेल लगाएर पनि रोटी बनाउन सकिन्छ । सुक्खा रोटीमै पनि कट्टी रोल तयार पार्न सकिन्छ ।
कट्टी रोल बनाउने तरिका
तयार भएको रोटी लिने । त्यसमा माथि भनेवमोजिम बनाइएको चटनी (२ सानो चम्चाजति) दल्ने । त्यसपछि २–३ ठूलो चम्चा माथि भनिएअनुसारको पनीर–मिश्रण एकैनासले फैलाएर राख्ने ।
त्यसमा थोरै प्याज र धनियाँको पत्ता पनि राख्ने । अब रोटीलाई छेउबाट पट्याउँदै बीचमा पुर्याएर च्याप्ने । त्यसपछि सानो सिन्काले रोटीको रोललाई अड्काउन पनि सकिन्छ । पनीर कट्टी रोल तयार भयो । यसलाई सकेसम्म तात्तातै खानु राम्रो हुन्छ ।