गुनिला र लाभकारी यी वनस्पति

होलिस्टिक संवाददाता

निउरो

नेपाली समाजमा निउरो नामले चर्चित यो वनस्पतिलाई अङ्ग्रेजीमा ‘फिड्डेलहेड फ्रन’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘मट्टेउसिया स्ट्रुथियोरिस’ हो । यो ‘अस्ट्रिच फ्रन’ र ‘सट्टलकक फ्रन’ का नामले समेत चिनिन्छ ।

निउरो खानयोग्य फर्नका प्रजातिको वनस्पति हो । यसका बोट घुमाउरो निहुरिएका (कर्ली आकारका) हुन्छन् । यसलाई तरकारीको रूपमा प्रयोग गर्ने हाम्रो प्रचलन छ । खेती वा प्रकृतिबाट टिपिसकेपछि छिट्टै बिग्रने भएकाले निउरोलाई टिपेको या किनेको एक–दिनभित्रै पकाएर खाइहाल्नुपर्छ ।

निउरोमा पाइने तत्वहरू

यो बाह्रमासे बिरूवा हो । शीतोष्ण मौसम र राम्रोसँग पानी बग्ने माटोमा यो राम्ररी फस्टाउँछ । नेपालमा भने निउरो जङ्गल, छायाँदार स्थल, दलदले जमिन, नदी किनार र ओसिलो मैदानमा प्रायः वसन्त याममा पाइन्छ ।

निउरो एकदमै पौष्टिक वनस्पति हो । सय ग्राम निउरोमा ३४ क्यालोरी शक्ति हुन्छ; जसमा ४.५५ ग्राम प्रोटिन, ०.३२ मिलिग्राम कपर, ४.९८ मिलिग्राम नियासिन, २६.६ मिलिग्राम एस्कर्बिक एसिड, १८१ माइक्रोग्राम भिटामिन ए, ०.५१ ग्राम मेन्गानिज र १.३१ मिलिग्राम आइरन हुन्छ । यसमा फ्याट तथा कार्बोहाइड्रेड भने एकदमै कम हुन्छ ।

एसिया, उत्तरी फ्रान्स र अमेरिकामा आहारको उल्लेख्य अङ्शका रूपमा निउरोको प्रयोग गरिन्छ । यसलाई मुन्टा खोलिनुभन्दा पहिले नै कटनी गरिन्छ । यसमा रहेको भिटामिन ए र प्राकृतिक एन्टिअक्सिडेन्टले म्युकस मेम्ब्रेन र छाला स्वस्थ राख्न मद्दत पुर्‍याउँछ ।

निउरोका फाइदाहरू

यसले शारीरिक वृद्धि एवम् विकासमा सहयोग गर्छ र कोलेस्टेरोल सन्तुलनमा राख्न मद्धत पु¥याउँछ । निउरो क्यान्सरको उपचारमा समेत सहयोगी हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । आँखाका रोगहरूको उपचारमा समेत यो निकै सहयोगी हुन्छ । हड्डी बलियो राख्न पनि यसले सहयोग गर्छ ।

निउरो एनिमियाको उपचारमा पनि निकै सहयोगी हुन्छ भने माइग्रेन निको पार्न समेत यसले सहयोग पु¥याउँछ । निउरोको नियमित एवम् सन्तुलित सेवन गर्दा पाचन प्रणाली पनि स्वस्थ रहन्छ ।

निउरोलाई मुख्यतः तरकारी पकाएर खाइन्छ । यद्यपि यसलाई अचारका रूपमा साँधेर वा उमालेर सुपका रूपमा समेत खान सकिन्छ ।

—-

तितेपाती

तितेपाती एसिया, उत्तरी अमेरिका र उत्तरी यूरोपमा उब्जने एक प्रकारको वनस्पति हो । यसको जमिनमुनिको जरा र जमिनमाथिको बोट दुवैलाई औषधि बनाउन प्रयोग गरिन्छ ।

तितेपातीको जरालाई शरीरमा ऊर्जा वृद्धि गर्ने ‘टनिक’ का रूपमा लिइन्छ । जरामाथिको बोटका भागहरू भने पेट र आन्द्रासम्बन्धी रोग (पखाला, कब्जियत, ऐंठन, कमजोर पाचन प्रक्रिया, जुका तथा चुर्नाको सङ्क्रमण, बान्ता आदि) को उपचारमा प्रयोग हुन्छ ।

यसलाई ग्यास्ट्रिकको उपचारमा र पित्तस्राव उत्तेजित पार्न जुसका रूपमा पनि प्रयोग गरिन्छ । कलेजोको ‘टनिक’ का रूपमा पनि यसको प्रयोग हुन्छ । महिलाहरूमा महिनावारिसम्बन्धी समस्या हुँदा पनि यसको प्रयोग हुन्छ ।

तितेपातीको लोसन छालामा लगाउँदा जलेका ठाउँहरूको दाग र खुजलीबाट समेत छुटकारा पाउन सकिन्छ । छालामा तितेपाती सिधै वा मेन्थोल मिश्रित यसको लोसन प्रयोग गर्नाले छाला चिलाउने समस्याबाट छुटकारा पाउन सकिने कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

तितेपातीको साबुन प्रयोग गर्दा छालामा सूक्ष्म जीवहरू (ब्याक्टेरिया, फङ्स, परजीवी, आदि) विरूद्ध लड्न सक्ने क्षमताको विकास हुन्छ । त्यसैले तितेपातीको साबुन प्रयोग गर्दा अत्यधिक पसिना आउने र शरीर गन्हाउने समस्या समेत समाधान हुन्छ । छाला सफा गर्ने, चमक बढाउने, कपाल झर्ने, चाया–पोतो आउने, डेन्ड्रफ हुनेजस्ता समस्या समाधानमा सहयोग पुनग्ने कुरा त झन् छँदै छ । छालासम्बन्धी जुनसुकै रोगको उपचारमा तितेपाती एकदमै सहयोगी हुन्छ ।

तितेपातीको बोटलाई कुटेर तातो पानीमा राखी बाफ लिनाले श्वास–प्रश्वाससम्बन्धी धेरैजसो समस्या र रुखा–खोकी, मर्कीबाट समेत छुटकारा मिल्छ । यसको चिया बनाएर पिउँदा पनि धेरै फाइदा हुन्छ ।

यसलाई सुकाएर, एक्स्ट्र्याक्ट वा क्याप्सुल बनाएर पनि प्रयोग गर्न सकिन्छ । औषधीय गुणहरूकै कारण यो वनस्पति हजारौं वर्षदेखि प्रयोग हुँदै आइरहेको छ । खाने कुरामा तितोपना ल्याउनका निम्ति समेत तितेपाती वा त्यसका एक्स्ट्र्याक्टको प्रयोग हुने गरेको छ ।

—-

ड्र्यागन फल

ड्र्यागन एक प्रकारको ‘उष्णकटिबन्धीय’ फल हो । आजभोलि यो क्रमशः लोकप्रिय हुँदै जान थालेको छ । यसको अनौठो रूप र स्वादका कारण मानिस आकर्षित र आनन्दित हुन थालेका छन् ।

अध्ययनहरूले देखाएअनुसार ड्र्यागन फलका अनेकौं स्वास्थ्य–लाभहरू छन् । यो दक्षिणी मेक्सिको र मध्य–अमेरिकाको मौलिक वनस्पति भए तापनि आजकल विश्वभर नै उब्जिइरहेको छ; उपभोग भइरहेको छ ।

ड्र्यागन फलका मुख्यतः दुई प्रजाति छन्– रातो गुदी भएको र सेतो गुदी भएको । ड्र्यागन फल हेर्दा नै अनौठो लाग्ने खालको हुन्छ । अनि यसको स्वाद भने अन्य फलहरूको जस्तै हुन्छ । यसको स्वाद किबी र नासपातीबीच ‘क्रस’ भएजस्तो र अलि मीठो खालको हुन्छ ।

सय ग्राम ड्र्यागन फलमा १.२ ग्राम प्रोटिन, ६० क्यालोरी, १३ ग्राम कार्बोहाइड्रेड, ३ ग्राम फाइबर, ३% भिटामिन सी (आरडीआईको आधारमा), ४% आइरन (आरडीआईको आधारमा), १०% म्याग्नेसियम (आरडीआईको आधारमा) हुन्छ ।

यसमा बेटालाइन्, हाइड्रोक्सिसिनामेट, फ्ल्याभोनोइडजस्ता एन्टिअक्सिडेन्ट पनि पाइन्छन् । यस्ता एन्टिअक्सिडेन्टले शरीरभित्रका कोशिकाहरूलाई बिग्रनबाट जोगाउँछ र इन्सुलिन रेसिस्टेन्स बढाउँछ । यसले कलेजो तथा मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । यसलाई सिधै वा सलादका रूपमा अन्य फलसँग मिसाएर खान सकिन्छ । यसको गुदीको जुस बनाएर पनि मजा लिन सकिन्छ ।