नर्सिङ अनुभूति: सर्पदङ्शका बिरामीको आँखैअघि मृत्यु
होलिस्टिक संवाददातास्वास्थ्यकर्मी बनेर बिरामीको सेवा गर्नु मेरो सानैदेखिको रहर हो । बाल्यकालदेखि नै मैले ‘ठूली भएपछि म नर्सिङ पेसामा लाग्छु’ भन्दा घरपरिवारका सबै जना खुसी हुन्थे । त्यसैकारण नै अहिले म नर्सिङ पेसामा छु । उहिल्यैदेखिको मेरो चाहना यतिबेला सार्थक भएको छ ।
मूलतः स्वास्थ्यकर्मी बनेपछि र विशेषतः नर्सिङ पेसामा लागेपछि हाम्रो कर्तव्य भनेकै जस्तोसुकै कठिन परिस्थितिमा पनि बिरामीलाई सेवा दिन नचुक्नु हो । मैले आफ्नो यो कर्तव्य सम्झिरहेकी छु र पूरा गर्दै पनि आएकी छु । यतिबेला विश्वभर र नेपालमा समेत कोरोनाभाइरसको महामारी फैलिइरहेकाले स्वभावतः एकदमै डर लागिरहेको छ । अझ म त आईसीयूमै काम गर्छु, त्यसैले यो जटिल र घातक रोगसँग झन् नजिकैबाट लडाइँ लडिरहेकी छु ।
कतै मलाई पनि कोरोना सङ्क्रमण भइसकेको छ कि भन्ने चिन्ता बारम्बार लागिरहन्छ । स्वास्थ्यकर्मी हुनुका नाताले आफ्नो त खासै चिन्ता लिइँदैन तर घरपरिवारलाई सर्ने हो कि भन्ने त्रासले चाहिँ मलाई निरन्तर सताइरहन्छ ।
एक दिन खाजा खाएर आईसीयूतिर फर्किरहेकी थिएँ । सर्पले टोकेका एकजना बिरामी मेरो अगाडि फेला परे । ती बिरामीका आमा–बाबु एकदमै त्रसित थिए । तर, अस्पताल आइपुगेको पाँच–दस मिनेट बित्दा–नबित्दै ती बिरामीको निधन भयो ।
त्यसअघिसम्म आफ्नै अगाडि कोही मान्छे मरेको मैले देखेकी थिइँन । पहिलो पटक आँखाअघि मान्छेको मृत्यु भएको देख्दा मन निकै चिसो भएर आयो । छरछिमेकमा मरिमराउ पर्दा समेत नजाने मान्छे म । तर, ड्युटीको सिलसिलामा आफ्नै अगाडि मान्छे मरेको देख्नुपर्यो । त्यो समय मलाई निकै नरमाइलो लागेको थियो । तर, काम गर्दै जाँदा र अनेकौं अप्ठ्यारा झेल्दै आउँदा अब भने डर लाग्न छाडेको छ ।
सलोनी आले मगर, ॐ साई अस्पताल, भद्रपुर