जोडीबीच उमेर अन्तरको यौनक्रियामा प्रभाव
प्रा.डा. दिनेश बाँस्तोला
जोडीबीचको यौनक्रियामा उमेरको निकै ठूलो प्रभाव पर्छ । फरक उमेरसमूहका यौनजोडीको तुलनामा एउटै उमेरसमूहका यौनजोडीबीच यौन सम्बन्ध हुनु उचित हुन्छ । फरक उमेरसमूहका जोडीबीचको यौन सम्बन्ध शारीरिक एवम् मानसिक दुवै हिसाबले उचित हुँदैन ।
यौनजोडीबीच उमेर अन्तर बढी हुनु कुनै हिसाबले पनि उचित हुँदैन । वैवाहिक सम्बन्धकै हकमा पनि जोडीबीच उमेरको धेरै अन्तर हुनु उचित हुँदैन । विवाह गर्नुअघि नै उमेर अन्तरबारे राम्ररी ख्याल पुर्याउनुपर्छ; सामाजिक एवम् कानुनी पक्षबारे समेत ध्यान दिनुपर्छ ।
जोडीमध्येका एकको उमेर पाको भैसकेको र अर्को भने भर्खरकै भएमा उमेरको बेमेलकै कारण यौन सम्बन्धमा नकारात्मक प्रभाव पर्न सक्छ । उमेरको बेमेलकै कारण यौनजोडीको दैनिकीमा असर पर्नुका साथै शारीरिक एवम् मानसिकरूपले समेत गम्भीर प्रभाव पर्न सक्छ । त्यसैले पाको उमेरका व्यक्तिले जवान यौनजोडीलाई यौन–सहयात्रीका रूपमा अँगाल्दा वा वैवाहिक जीवनमा बाँधिने सोच राख्दा निकै नै विचार पुर्याउनु पर्छ । पाको उमेरका व्यक्ति शारीरिक तथा मानसिकरूपले शिथिल हुनुका साथै जोस र जाँगरमा समेत कमी हुन्छ । सामान्यतः पचास वर्षपछि मानिसमा शारीरिक तथा मानसिकरूपले क्रमशः ऊर्जा कम हुँदै जान्छ ।
यौन जोडीका एकजना जवान र अर्कोचाहिँ पाको भएमा जवानलाई यौन सन्तुष्टि प्राप्त गर्न मुस्किल पर्छ; र, यस्तो अवस्थामा पाको व्यक्तिलाई समेत आत्मसुन्तुष्टि मिल्दैन । यस्तो स्थितिमा यौनजोडीबीच क्रमशः बेमेल बढ्दै जान सक्छ ।
हुन त यौनानन्दका लागि सम्भोग नै गर्नुपर्छ भन्ने हुँदैन । विभिन्न किसिमका यौन क्रियाकलाप गरेर पनि यौनानन्द लिन सकिन्छ । बच्चा जन्माउने प्रयोजनका निम्ति भने सम्भोग नै अनिवार्य हुन्छ । पाको उमेरका व्यक्तिको जवान यौनजोडी भएमा यौन जोडीका यौनाङ्ग चलाएर तथा विभिन्न ढङ्गले स्पर्श गरेर मात्रै पनि यौनानन्द प्राप्त गर्न सक्दछन् ।
उमेर पाको हुँदै जाँदा शरीरका विभिन्न अङ्ग तथा प्रणालीहरू बिस्तारै कमजोर हुँदै जान्छन् । त्यो स्थितिमा शारीरिक तथा मानसिक ऊर्जा पनि क्रमशः कम हुँदै जान्छ । शारीरिक–मानसिक ऊर्जा घट्दै जाँदा क्रमशः शिथिलता बढ्ने र यौन दुर्बलता पनि हुने नै भयो । शारीरिकरूपले यौन अक्षमता हुँदा स्वभावतः यौनक्रिया पनि प्रभावकारि नहुने नै भयो ।
युवावस्थामा शारीरिक तथा मानसिक सक्रियता बढी नै हुन्छ; त्यो स्थितिमा यौनेच्छा पनि स्वभावतः बढी नै हुन्छ । त्यसैले जवान व्यक्तिको यौनजोडी पाको उमेरको भएमा यौनका निम्ति ‘वैकल्पिक’ बाटोको खोजी हुन थाल्ने सम्भावना हुन्छ ।
मानसिक अवस्थितिको कुरा गर्ने हो भने युवाको मन अस्थिर तथा परिवर्तनशील हुन्छ भने पाको उमेरका व्यक्तिको मन भने स्थिर खालको हुन्छ । जोडीमध्येका एक पाको र अर्को जवान भएमा पाको उमेरकाबाट शारीरिकरूपमा यौन सन्तुष्टि कमै मात्र मिले तापनि भावनात्मकरूपमा माया–ममता तथा आत्मीयता चाहिँ पर्याप्त मिल्छ । त्यसैले अनमेल सम्बन्धमा पनि भावनात्मकरूपमा आत्मसन्तुष्टि लिन सकिन्छ । यो वातावरणको सिर्जनाका लागि भने यौनजोडीले समझदारीपूर्ण भूमिका निभाउनुपर्छ । पाको उमेरका यौनजोडी बनाएको जवानले शारीरिकरूपको यौन सन्तुष्टि मात्रलाई प्राथमिकता दिनु उचित हुँदैन; माया–प्रेम तथा सद्भावलाई प्राथमिकतामा राख्दा जीवन सुखमय हुन सक्छ ।
सामान्यतः पाको र जवानबीचको उमेरगत अनमेल यौनजोडी हुँदा जवान व्यक्तिलाई शारीरिकरूपमा यौन सन्तुष्टि नमिल्नाले जोडीबीच खटपट र बेमेल हुने जोखिम बढी नै हुन्छ । त्यसैले सकभर एकै उमेरसमूहको जोडी छान्नु नै बुद्धिमत्तापूर्ण हुन्छ । यौन अतृप्तिकै कारण नजानिँदो किसिमले उत्पन्न भएको जोडीबीचको खटपट क्रमशः बढ्दै जाँदा सम्बन्ध–विच्छेदसम्मको जोखिम हुन सक्छ । तर, परिस्थितिवश यौनजोडीबीचको उमेर अन्तर बढी नै रहेछ भने पनि त्यसलाई सामान्यरूपमा ग्रहण गर्नु, आत्मसन्तुष्टिका उपायहरू पहिल्याउनु र सुखी–खुसी जीवनयापन गर्न प्रयास गर्नु नै बुद्धिमानी हुन्छ ।