वन्यजन्तुको जोडीबीच ‘प्रेम’ र ‘समर्पण’: रोचक उदाहरणहरू
कृष्णप्रसाद भुसालसजीव प्राणीहरूमा विपरीतलिङ्गीप्रति हुने आकर्षण तथा प्रेम र त्यसका निम्ति चल्ने सङ्घर्ष सर्वमान्य र सामान्य कुरा हुन् । तर, हामीले सधैंजसो मान्छेहरूकै मात्र प्रेम, मिलन, बिछोड, त्याग, समर्पण र उतार–चढावका कथा, कविता, उपन्यास र घटना–परिघटनाहरू मात्र लेखिरह्यौं; प्राथमिकतासाथ तिनैको मात्र चर्चा गरिरह्यौं । तर, प्रकृति एवम् वन्यजन्तुको अध्ययन–अनुसन्धान र संरक्षणको क्षेत्रमा काम गर्ने हामीमध्येका केहीले भने वन्यजन्तुहरूमा समेत मान्छेका भन्दा अझ बढ्ता रोचक र परिष्कृत प्रेम–प्रसङ्गहरू अनि अनुशासित जीवनशैलीबारे नजिकबाट नियाल्न पाएका छौं ।
हामीले सन् २०१७ मा नवलपरासीको कावासोतीमा विश्वमै दुर्लभ मानिने दसवटा डङ्गर गिद्धलाई समातेर ‘स्याटेलाइट ट्याग’ जडान गरी छाडिदियौं । दुर्लभ प्रजातिका गिद्धको जीवविज्ञान, विचरण र यात्राबारे बुझ्नु हाम्रो मुख्य उद्देश्य हो । तिनको शरीरमा जडित स्याटेलाइट ट्यागले उनीहरू कहाँ–कहाँ जान्छन्, कति उचाइमा पुग्छन्, कुन गति (स्पिड) मा उड्छन् आदिजस्ता जानकारीहरू कम्प्युटरमार्फत उपलब्ध गराइरहन्थ्यो; हामी अनुगमन गरिरहन्थ्यौं ।
तीमध्ये नौवटा गिद्ध कावासोतीबाट बढीमा दुई सय किलोमिटर टाढासम्मको दूरीमा मात्र उडिरहे । र, उनीहरू यतै कतै जोडी बाँधी गुँड बनाएर प्रजननमा व्यस्त भए । तर, एउटा गिद्ध भने अलि भाैंतारिइरह्यो, आफ्नो स्थायी बासस्थल त्यागेर टाढाको यात्रामा निस्कियो । उपयुक्त जोडीको खोजीमा उक्त गिद्ध नवलपरासीबाट करिब एक हजार एक सय किलोमिटर टाढा पुग्यो । ऊ भारत–पाकिस्तानको सीमास्थित जम्मुकास्मिरसम्म पुग्यो र अन्ततः हिमाञ्चल प्रदेशमै घरजम गरेर बस्यो । त्यो गिद्ध अझैसम्म पनि नेपाल फर्केको छैन ।
सामान्यतः सय किलोमिटरसम्मको यात्रा गर्ने यो प्रजातिले उपयुक्त जोडीको खोजी गर्न र आफ्नो प्रेम सफल पार्न देखाएको साहस र समर्पण देखेर वैज्ञानिकहरू नै प्रभावित भए, अचम्मित भए ।
ढुकुरजत्रो शरीर हुने ‘कुहु–कुहु’ कोइलीले साइबेरिया क्षेत्रमा प्रजनन गरी अफ्रिकासम्म बसाइँसराइ गर्छ । स्याटेलाइट ट्याग लगाइएको एउटा पोथी कुहु–कुहु कोइलीले नेपाललगायत बीसवटा देशको बाटो पार गर्दै करिब बत्तीस हजार किलोमिटरको यात्रा गरेर आफ्नो पे्रमलाई सफल पारेको देखियो । हिमाल, सागर र मरुभूमि पार गर्दै हरेक वर्ष हजारौं किलोमिटरको यात्रा गर्नु कम्ता चुनौतीपूर्ण कुरा होइन । कोइलीजस्तो सानो चराले गर्ने यसखाले साहसिक र जोखिमपूर्ण नियमित प्रेम–यात्राहरू हामी मानव समुदायका लागि समेत प्रेरणादायी छन् ।
दुई वर्षअघि भारतको महाराष्ट्रमा ‘रेडियो कलर’ जडान गरिएको अढाई वर्षे भाले पाटेबाघ नौ महिनामा तीन हजार किलोमिटरको निरन्तर यात्रा पार गरी तेलाङ्गना राज्यसम्म पुग्यो । त्यसपछि ऊ त्यहीं बसिरहेको छ । पाटेबाघले बढीमा चार सय किलोमिटरसम्म यात्रा गर्ने भए पनि उक्त किशोर भालेबाघ भने अपवाद देखियो । पहिले ऊ भएको क्षेत्रमा पहिल्यैदेखि अर्कै वयस्क भालेबाघले रजाइँ गरिरहेकाले आफ्नो प्रेम र राज सफल पार्नका निम्ति नै उसले निकै लामो दूरीको कष्टकर यात्रा तय गरेको देखिन्छ ।
गिद्धलगायत अरु कतिपय चराहरूले आजीवन कायम रहने नै जोडी बाँध्छन् । संसारमा पाइने स्तनधारी जनावरका प्रजातिहरूमध्ये तीन प्रतिशतले मात्र आजीवन जोडी बाँध्छन्, बाँकीले आफ्नो अनुकूलतामा ‘पे्रमी’ वा ‘प्रेमिका’ अदलबदल गरिरहन्छन् । मुसा प्रजातिमा पर्ने ‘परारी भोल्स’ ले भने आजीवन जोडी अँगाल्ने मात्र होइन, जोडी मरेपछिको बाँकी जीवन समेत एकल अवस्थामै बिताउँछ । आफ्नो जोडी तनावमा रहेका बेला यिनले फकाउने, चुम्बन गर्ने र अङ्कमाल गर्ने गर्दछन् । सन्तान हुर्काउने मामलामा पनि यिनका बाबु–आमाले बराबर भूमिका निभाउँछन् ।
जोडी बनाउने कार्य पक्कै पनि सानोतिनो जोडबलले सफल हुँदैन । अधिकाङ्श भालेहरूबीच आफ्नो वर्चश्व जमाउनका निम्ति घातक जुधाइ समेत हुने गर्छ तर यो कार्यमा पोथी नै निर्णायक हुन्छन् । बाघ, गैंडा, हात्तीजस्ता ठूला जनावरका भालेहरूले पोथी प्राप्तिका निम्ति एकापसमा लड्दालड्दै प्राण नै त्यागेका समेत कयौं उदारणहरू भेटिन्छन् । चार वर्षअघि नवलपरासीको पिठौलीस्थित नमूना मध्यवर्ती सामुदायिक वनमा गैंडाका दुई भालेबीचको भीषण लडाइँ सम्झँदा अहिले पनि शरीर नै सिरिङ्ग हुन्छ । शान्त, सुन्दर र आकर्षक देखिने गैंडाको त्यो बेलाको क्रोध, कर्कस आवाज र सयौं बुट्यान सोत्तर पार्ने सामर्थ्य देखेपछि गैंडा नै सबैभन्दा डरलाग्दो जनावर ठहरियो, मेरा निम्ति ।
राजधनेश (एक प्रजातिको चरा) ले पोथीलाई फकाउन रुखको हाँगाका स–साना टुक्रा, फल वा कीराहरू ‘उपहार’ दिन्छ । पोथीले त्यो ‘उपहार’ ग्रहण गरे ‘प्रेम स्वीकार’ भएको बुझिन्छ । त्यसपछि उनीहरूले आजीवन कायम रहने जोडी बाँध्छन् । यो चराले ठूलठूला र बूढा रुखको टोड्कामा गुँड बनाउँछ र सपरिवार त्यहीं बस्छ । पोथीले अण्डा पारेपछि बच्चा नहुर्कुञ्जेलसम्म भाले राजधनेशले पोथीलाई त्यही टोड्कामै थुनेर राख्छ । हिलो र पोथीको विष्टा प्रयोग गरेर धनेश दम्पतिले आफू बस्ने टोड्काको मुख पूरै टाल्छन् । सो मुखमा राखिएको सानो प्वालबाट नै पोथीले सास फेर्ने तथा आहारा लिने काम गर्छे । भालेले ओथारो अवधिभर पोथीलाई र त्यसपछि बच्चा समेतलाई टोड्कोभन्दा बाहिरबाट नै नियमितरूपमा आहारा खुवाउँछ । यही स्वभावका कारण नै हुनुपर्छ, राजधनेशलाई ‘पत्नीब्रता’ पन्छी भनिन्छ । चितवन राष्ट्रिय निकुञ्जको भ्रमणका क्रममा दुई वर्षअघि भेटिएको थियो आफ्नो परिवारको सेवामा अहोरात्र खटिरहेको यस्तै एउटा भाले राजधनेश ।
पोथीलाई ‘आफ्नो बनाउन’ का निम्ति दिन–रात खटेर सुन्दर गुँड बनाउने ‘तोप चरा’ को भालेको मेहनत र त्यागको दृष्टान्त कम्ती रोचक छैन । तर, ‘जलअप्सरा’ को पोथीले भने तीन महिनाको प्रजनन अवधिमै समेत तीनवटा भालेसँग जोडी फेरिसक्छे । गत असोजमा हामी कपिलवस्तुको जगदिशपुर तालमा पुग्दा जलअप्सराको भाले आफ्ना तीनवटा बच्चालाई चराइरहेको थियो; उसकी पोथी भने केही पर अर्कै भालेसँग ‘प्रेमालाप’ मा मस्त थिई ।
युरोपमा गुँड बनाउने सेता गरुडहरू जाडो याममा बसाइँ सरेर अफ्रिका पुग्छन् । फर्कने बेलामा भालेचाहिँ अलि पहिल्यै आइपुगेर गुँड बनाउन थाल्छ भने पोथीचाहिँ केही पछि मात्र आइपुग्छे । सेतो गरुडको जोडीबीच हुने समझदारी, विश्वास र भरोसा डाहालाग्दो नै हुन्छ । समुद्रमा पाइने करिव दुई फिट लामो ‘पफर माछा’ को भालेले पोथीलाई आकर्षित गर्न छ फिटभन्दा ठूलो ज्यामितीय आकारको अत्यन्तै सुन्दर घर बनाउँछ । यसको रोचक के छ भने एक पटक सन्तान हुर्काएपछि भालेले उक्त घर र पोथी दुवैलाई छाडिदिन्छ र नयाँ ‘पत्नी’ र ‘रोमान्स’ का लागि फरक डिजाइनमा फेरि अर्कै घर बनाउँछ ।
माया–प्रेममा त्याग, समर्पण, साथ र बफादारिता मात्र हुँदैन; वियोग पनि हुन सक्छ । मान्छेजस्तै वन्यजन्तुहरू पनि वियोगका बेला अत्यन्त भावुक र चिन्तित समेत हुने गर्छन् । करिब एक दशकअघि रूपन्देहीको गैंडातालमा हामीले सारसमा वियोगको गहिरो पीडा देखेका थियौं । त्यस क्षेत्रमा बस्ने एक जोडी सारसको भाले (सम्भवतः विद्युतीय तारमा ठोकिएर) मरेपछि भावविह्वल पोथी एकोहोरो कराइरहने, नचर्ने र भौंतारिइरहने गरेकी थिई । त्यसको एक महिनापछि स्थानीयवासीसँग सोध्दा थाहा भयो, पीरैपीरमा सुकेर उसको त ज्यानै पो गइसकेछ । त्यो कुरा सुनेर मेरो बोली नै बन्द भयो । सधैं जोडीमा नै रहने चखेवाका जोडीमध्ये कुनै एकको मृत्यु भएमा जीवित अर्कोले समेत आत्मदाह गर्छ भन्ने भनाइ आमरूपमा प्रचलित छ ।
स्वीडेनका एक दम्पतीको बगैंचामा एक जोडी लोखर्के बस्थे, त्यो दम्पतीले तिनलाई नियमितरूपमा नटहरू खान दिने गरेको रहेछ । एक दिन दम्पती बाहिर निस्कनै लाग्दा लोखर्के झ्यालमा आएर अनुनय गर्न थालेछ । लोखर्केले नट खान खोजिरहेको होला भनिठानेर उनीहरूले खासै वास्तै गरेनछन् । घरबाट निस्कँदै गर्दा त्यो लोखर्केले उनीहरूलाई पछ्याउँदै अनुनय गरिरहने र दौडँदै पानी ट्याङ्की भएको ठाँउतिर जाने–आउने गरिरह्यो । उसैलाई पछ्याउँदै जाँदा उसको जोडी पानीमा परेको भेटियो । दम्पतीले त्यो लोखर्केलाई बाहिर निकालिदिए । बडो कृतज्ञताका साथ हेरिरहेको लोखर्केले आफ्नो जोडी मरिसकेको थाहा पायो र साह्रै भावविह्वल भयो । आफ्नो मृत जोडीको शवलाई बोकेर त्यो लोखर्के चिच्याउँदै यता–उता कुदिरह्यो । त्यो लोखर्केको त्यस्तो आवाज उनीहरूले त्यसअघि कहिल्यै सुनेका थिएनन् । शवलाई छातीमा टाँसेर लोखर्के कयौं दिनसम्म कराइरह्यो, बिलौना गरिरह्यो । अन्त्यमा जीवित त्यो लोखर्के समेत त्यहाँबाट हरायो ।
वन्यजन्तुहरूमा पनि धोका, बलात्कार र प्रतिशोधजस्ता घटना नहुने त होइन तर अत्यन्तै न्यून मात्र हुन्छन् । समूहमा बस्ने जनावरहरूमा जोडीको मिलाप र रेखदेख गर्ने जिम्मा त्यसको नाइकेलाई हुन्छ । पशुपक्षीले समेत हाडनाता करणीलाई प्रायः अस्वीकार गर्छन् । समूहमा कसैले उच्छृङ्खल व्यवहार गरेमा त्यो सदस्यलाई समूहबाट निकाल्नेदेखि ‘मृत्युदण्ड’ दिनेसम्मको ‘कारबाही’ गर्दछन् ।
उपरोक्तोल्लिखित केही प्रतिनिधिमूलक घटना र उदाहरणहरूलाई मात्र हेर्दा पनि भन्न सकिन्छ कि वन्यजन्तुहरूमा समेत जोडीबीच देखिने प्रेम, त्यसका लागि गरिने समर्पण, अनुशासन, उत्तरदायित्वबोध र समग्र जीवनशैली हामी आधुनिक युगका मानव समुदायका निम्ति समेत शिक्षाप्रद् र अनुकरणीय छन् ।
लेखक पन्छीविज्ञ हुन्