‘जादुगर’ महादेवका रोचक अनुभूति

होलिस्टिक संवाददाता

‘जादुगर– २’, ‘जोकर’ लगायतका दर्जनौ चलचित्रमा अभिनय गरिसकेका चर्चित कलाकार हुन्, महादेव त्रिपाठी । २०६४ तिर हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ मा ‘जादुगर’ को भूमिका निर्वाह गर्न थालेपछि नै उनको चर्चा सुरु भएको हो

अहिले उनी ‘मेगा टेलिभिजन’ बाट आफ्नै नामको ‘महादेव’ नामक कार्यक्रम सञ्चालन गरिरहेका छन् । दर्शक हँसाउनकै लागि त्रिपाठीले देश–विदेशका दर्जनौ कार्यक्रममा सहभागिता जनाइसकेका छन् ।

चियाअघि नै तातो पानी

बिहान उठ्नासाथ बाथरुम जानुअघि नै उनी तातो पानी पिउँछन् । पहिले तातो पानी पिएर बाथरुम जाने गर्दा शरीरलाई राम्रो गर्ने उनको भनाइ छ । हरेक नेपालीले यसै गर्नुपर्ने उनको सुझाव छ । उनको बुझाइमा बेलुका खाइएका खाना तथा चिल्ला कुराहरू बिहानसम्म शरीरभित्रै रहन्छन् । त्यस्ता चिल्ला पदार्थ हटाउन बाथरुम जानुअघि तातो पानी पिउनु राम्रो हुने उनको धारणा छ । ‘बिहान बाथरुम जानुअघि तातो पानी पिउँदा हाम्रो आन्द्रामा रहेका खाने कुराहरू र चिल्लो पदार्थ पगाल्ने हुनाले यसो गर्नु जरुरी छ’– उनले सुनाए ।

उठ्नासाथ खालि पेटमै चिया तथा गुलिया पदार्थहरू खानु नहुने पनि उनको धारणा छ । ‘प्रायः सबैले बिहानै चिया र अरु केही गुलिया चिज खाने गरेको देखिन्छ,’ उनी भन्छन्– ‘तर, यसो गर्नु शरीरका निम्ति पटक्कै राम्रो होइन, बरु रोग लाग्न सक्छ ।’ चिया पिउनु र गुलिया सामग्री खानुभन्दा अघि तातो पानी पिउनु अनिवार्य हुने उनले सुनाए ।

बिहानको खाना खाइसकेपछि आफ्नो कार्यक्रम सेड्युलअनुसार उनी कामतिर लाग्छन् । कार्यक्रमकै सिलसिलामा बाहिरतिरै हुँदा त खाने, बस्ने, हिँड्ने सेड्युलको कुरै भएन ।

हुटिङ र ‘वान्स मोर्’ को वर्षा हुँदा

उनले अमेरिकालगायत २८ वटा विदेशी राष्ट्रमा कार्यक्रम गरिसके । अमेरिकामै उनी २–३ पटक पुगिसके । तर, विदेशमा कार्यक्रम गर्दा उनलाई खासै खुसी लागेन । स्वदेशकै पूर्वी जिल्लाहरूमा गरिएका कार्यक्रमबाट उनलाई बढ्ता सन्तुष्टि मिल्यो ।

झापा, सुनसरी, मोरङमा उनका अत्यधिक ‘फ्यान’ रहेछन् । त्यहाँ कार्यक्रम गर्दा नै आफूलाई एकदमै रमाइलो लागेको उनले सुनाए । ‘केही वर्षअघि मैले इटहरीमा पर्फमेन्स गर्दा यति धेरै हुटिङ आयो कि कुरै नगरौं,’ अनुभूति शेयर गर्दै त्रिपाठी भन्छन्– ‘कोही ‘हजुरको कार्यक्रम हेर्न धनकुटाबाट आएको’ भन्नुहुन्छ, कोही विराटनगरबाट त कोही बिर्तामोडबाट । हामी यति टाढा–टाढाबाट हजुरको कार्यक्रम हेर्न आएको भन्दै उहाँहरूले ‘वान्स मोर’ गरिरहँदा १५ मिनेटका लागि चढेको स्टेजमा मैले डेढ घन्टाभन्दा बढी पर्फमेन्स गर्नु परेको छ । मेरा निम्ति त्यो क्षण अत्यन्तै अविस्मरणीय छ ।’

पूर्वकै पथरीमा आयोजित कार्यक्रममा पनि उनलाई त्यस्तै अनुभूति भयो । त्यहाँका दर्शकहरूले पनि त्रिपाठीलाई एकदमै माया गरे । दमकको कार्यक्रममा पनि उनको पर्फमेन्समा व्यापक हुटिङ भयो । ‘मैले ‘आजलाई यत्ति नै, अब अर्को कार्यक्रममा भेटौंला’ भन्दा त दर्शकहरूको हुटिङले स्टेज छाड्नै पो दिएन,’ उनी भन्छन्– ‘त्यसपछि त मलाई पनि स्टेजबाट झर्न मन लागेन र लगातार पर्फमेन्स गरिरहें, त्यो स्थान पूर्वकै मुटुजस्तो अनि चारैतिरबाट मान्छे जम्मा हुने सङ्गमस्थल भएर पनि होला, हजारौं दर्शक र लगातारको हुटिङले मलाई मोहित तुल्यायो ।’

‘एउटा कलाकारका निम्ति योभन्दा ठूला कुरा त अरु के नै हुन्छ र ! कलाकारले कमाउने भनेकै दर्शक त हो,’ त्रिपाठी भन्छन्– ‘दर्शकले नै मन पराइदिनु भएन भने त ‘कलाकार हुँ’ भन्नुको अर्थ नै के पो भयो र !’

‘मान्छेहरू ‘अमेरिका–अमेरिका’ भन्दै जान्छन् तर मलाई त अमेरिका खासै मन परेन,’ उनको भनाइ छ– ‘विभिन्न देशहरूमा पुगें, सबैतिर सम्मान नै पाएँ, पारिश्रमिक पनि राम्रै लिएँ तर आत्मसन्तुष्टि भने आफ्नै भूमिमा मात्र मिल्यो ।’

आयोजकले अपहेलना गर्दा

कार्यक्रमका आयोजकबाट भने कहिलेकहीं अपहेलित पनि हुनुपरेको उनको अनुभूति छ । ‘स्ट्र्गलको समय नै थियो मेरो, पश्चिमको सुर्खेतमा विशाल कार्यक्रम भएको थियो,’ महादेव भन्छन्– ‘त्यसबेला म टेभिभिजनमा राम्रै छाइरहेको थिएँ, मेरी बास्सैमा जादुगरको भूमिकाबाट चर्चा बटुलिरहेको बेला त्यहाँबाट मलाई अफर आयो, मैले पनि हुन्छ भनें ।’

‘कार्यक्रममा म आउँछु भनेर आयोजकसँग राम्रै कुराकानी भयो, उताबाट पनि ‘आउनोस्, भोलि तपाईंको पर्फमेन्स छ’ भन्नुभयो,’ त्रिपाठी भन्छन्– ‘मैले नाइँ भन्ने कुरै भएन, स्टेजमा खुट्किलो बढाउँदै थिएँ । कार्यक्रमको अघिल्लै दिन नाइट बस चढेर सुर्खेत हिँडें । आफूले नदेखेको ठाउँ, सोध्दै–खोज्दै गएँ ।’

‘त्यहाँ पुगेर आयोजकलाई भेटें, महानायक राजेश हमाल आउने दिन पनि त्यही नै रहेछ,’ उनले सुनाए– ‘आयोजकले त ‘आज तपाईंको पर्फमेन्स नहुने भयो, अब पर्सि मात्रै हुन्छ’ पो भन्नुभयो । त्यसपछि मैले ‘आज भन्नुभएकाले आइसकें, तीन दिनसम्म त के गरेर बस्नु ? राजेश दाजुको अघि–पछि नै समय मिलाइदिनोस्’ भनें । उनीहरूले त ‘कार्यक्रम गर्ने भए बस्, होइन भने जा’ पो भनिदिए मलाई ।’

‘त्यो क्षण मलाई साह्रै नमिठो लाग्यो । कार्यक्रम गर्न भनेर आएको छु, त्यत्तिकै त्यही दिन कसरी फर्किऊँ ! नफर्किऊँ त आयोजकको त्यत्रो अपहेलना कसरी सहुँ ?’ दुःखित हुँदै कलाकार त्रिपाठीले सुनाए– ‘तैपनि पर्खेर तीन दिनपछि कार्यक्रम गरें र काठमाडौं फर्किएँ । अपमानपूर्ण त्यो क्षण त जिन्दगीभर बिर्सन सक्दिनँ ।’