सदाबहार जेरानियम फूल
अनिता सुनुवारप्रायः सबै महिना फुल्ने सुन्दर फूलको नाम हो– जेरानियम । यो फूल बगैंचामा सुन्दर ढङ्गले फुल्छ । प्यार्गोनियम पनि जेरानियम परिवारकै फूल भएको विज्ञहरूको भनाइ छ । त्यसैले जेरानियम नै पनि प्लार्गोनियमका नामले समेत चिनिन्छ । यो सदाबहार फुल्ने फूल हो ।
यो जुनसुकै ठाउँमा चटक्क फुलिहाल्ने फूल हो । यसलाई फुलाउन उति धेरै मेहनत पनि गरिरहनु पर्दैन । गमलामा होस् वा जमिन या गार्डेनमा नै किन नहोस्, यो विभिन्न रङ्गमा ढकमक्क फुलिहाल्छ । अरु कुनै फूल नरोपिएको घरमा समेत जेरानियम भने प्रायः रोपिएको हुन्छ/फुलेको देख्न पाइन्छ ।
स्थानीय किसिमको जेरानियमको बोट हाइब्रिडको तुलनामा अग्लो हुन्छ । पछिल्लो समय यो फूललाई हाइब्रिड गरेर निकै होचो र पोथ्रे बोटमा फुलाउन थालिएको छ । यसलाई सानो गमलामा ढकमक्क फुलाएर कौसी तथा गार्डेनमा राख्ने गरेको देखिन्छ । विशेषतः सहरी क्षेत्रमा हाइब्रिड जेरानियम रोपेर होचो पोथ्रामा फुलाउने शौखिनहरूको सङ्ख्या बढिरहको छ ।
स्थानीय जेरानियमको बोट अग्लो हुने हुँदा बाङ्गिने तथा भाँचिनेजस्ता समस्या हुन्छन् । तर, होचो (हाइब्रिड) जेरानियममा भने त्यस्तो समस्या हुँदैन । अर्कातर्फ हाइब्रिड जेरानियम जाडो यामका एकदुई महिनाबाहेक सबै समय फुल्ने भएकाले पनि थप लोकप्रिय भएको देखिन्छ । निरन्तर फुलिरहने भएकाले पनि पारखीहरूमा यस फूलको आकर्षण बढेको पाइन्छ ।
नेपालका प्रायः सहरी क्षेत्रमा हाइब्रिड जेरानियम किन्न पाइन्छ । यसका विभिन्न नयाँ–नयाँ किसिम तथा रङ्ग उपलब्ध हुन थालेका छन् । हाइब्रिड जेरानियमका बिरुवा बहुरङ्गी हुन्छन् । रातो, पिङ्क, कलेजी, छिरबिरे, सेतो लगायत जेरानियमका बढी मन पराइने रङ्ग हुन् । पन्ध्रभन्दा बढी रङ्ग जेरानियम नेपालमा पाइन्छन् । फागुन–चैतमा यो फूललाई सबैभन्दा राम्रोसँग फुलाउन सकिन्छ ।
आजभोलि ‘टिस्युकल्चर’ विधिबाट पनि जेरानियमको बीउ बनाउन थालिएको छ । तर, यो प्रविधिको विकास नेपालमा भने भइसकेको पाइँदैन । त्यसैले यसखाले बीउ भने विदेशबाटै आयात गर्नुपर्ने बाध्यता छ ।
हाइब्रिड जेरानियमलाई हाँगो भाँचेर रोपी नयाँ बिरुवाका रूपमा हुर्काउन सकिने भएकाले यसको बिरुवा उत्पादन तुलनात्मकरूपमा सजिलो छ । यसका बिरुवा गर्मी मौसममा बनाउनु उचित हुन्छ । तीन भाग बालुवामा एक भाग मधुमास मिसाएर त्यसैमा जेरानियमको हाँगो काटेर गाडिएपछि दुई साता (करिव १५ दिन) मा जरा आउँछ । जरा आएको करिव दुई सातामा आवश्यकताअनुसार गमला तथा गार्डेनमा सारेर रोप्न सकिन्छ ।
झुन्ड्याएर ढकमक्क
रोपेर राखिने विधिका आधारमा जेरानियम दुई किसिमका हुन्छन् । यसलाई एकातिर जमिन वा गमलामा रोपेर फुलाउन सकिन्छ भने अर्कातिर गमलामा रोपेर वा अग्लो ठाउँमा झुन्ड्याएर राखी फुलाउन र सजाउन पनि सकिन्छ ।
झुन्ड्याएर रोपिने जेरानियम ‘ह्याङ्गिङ् जेरानियम’ का नामले चिनिन्छ । झुन्ड्याएर रोपिने जेरानियमलाई अग्लो भागमा लहरै रोप्दा झुन्डिएरै फुल्ने भएकाले खुब आकर्षक देखिन्छ । झुन्ड्याएर रोपिने जेरानियम करिव डेढ फिटसम्म लत्रिएर फुल्छ ।
राम्ररी फुलाउने यस्तो तरिका
यो फूललाई प्लास्टिकको गमलामा रोप्नु भने त्यति उचित हुँदैन किनकि प्लास्टिकको गमलामा उचित वातावरणीय व्यवस्थापन हुँदैन । प्लास्टिकको गमलामा रोपेको जेरानियमको जरा चर्को घाम लागेका बेला तात्छ र बोट नै मर्ने जोखिम समेत हुन्छ । त्यसैले यसलाई माटाको गमलामा रोप्नु नै उचित हुन्छ ।
धेरै पानी परेको अवस्थामा यस बिरुवाका जरा कुहिने समस्या हुन्छ । त्यसैले, धेरै पानी हुँदा बिरुवा नै मर्ने जोखिम हुन्छ । यसर्थ, वर्षात्को समयमा यसलाई कम मात्र पानीले भेट्ने ठाउँमा राख्नु जरुरी हुन्छ । पानी धेरै भएमा मर्ने भएकाले यो फूल रोप्ने ठाउँको माटो सुख्खा भएपछि मात्र बिरुवा रोप्नुपर्छ ।
धेरै चिसो ठाउँमा पनि फुल्न कठिन हुने भएकाले जेरानियमलाई घमाइलो वातावरणमा रोप्नुपर्छ; धेरै चिसो हुने ठाउँमा रोप्नु हुँदैन । काठमाडौं उपत्यका तथा पहाडी भूभाग र तराई क्षेत्रमा समेत यो फूल राम्रै फुलाउन सकिन्छ । दुई हजार मिटरभन्दा तलको भूभागमा जेरानियम फूललाई सुन्दर ढङ्गबाट फुलाउन सकिन्छ । हाइब्रिड जेरानियमका बोट सामान्यतः ८ इन्चसम्म र स्थानीय जेरानियमका बोट तीन फिटसम्मका हुन्छन् ।
यो फूललाई हल्का किसिमको माटो आवश्यक हुन्छ । कडा माटोमा राम्ररी फुलाउन सकिँदैन । त्यसैले माटो र मधुमास वा कुहिएका पत्कर मिसाएर रोप्नु उचित हुन्छ । यो फूललाई विभिन्न कम्पोस्ट मल, गोबर मल, हड्डी, पिना मल आदि हाल्न सकिन्छ । गोबर भने कम्तीमा छ महिना पुरानो हाल्नु उचित हुन्छ । मल धेरै हुँदा मर्ने भएकाले गोबर, पिना, हड्डीजस्ता मल वयस्क बोटमा करिव एक मुठी मात्रै हाल्नु उचित हुन्छ । पन्ध्र–सोह्र दिनमा मल हाल्नुपर्छ ।
यसका बिरुवा रोप्दा जराभन्दा माथि धेरै माटो हाल्नु हुँदैन । डाँठको धेरै भाग पुरिँदा डाँठ नै कुहिएर बिरुवा मर्ने जोखिम हुन्छ ।
यसका बिरुवाको मूल्य सामान्यतः ३० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्छ । विज्ञहरूका अनुसार यो फूल भारतबाट नेपाल भित्रिएको हो । त्यसो त बेलायतबाट लाहुरेले भित्र्याएको अनुमान गर्नेहरूको पनि कमी छैन ।