कोरोना सङ्क्रमण जित्ने ५ टेक्निक
आशिष सुनुवार
कोरोनाभाइरस सङ्क्रमणको महामारीले गत वर्षदेखि नै विश्वका अधिकाङ्श मुलकलाई आक्रान्त बनाएको छ । यो महामारीबाट नेपाल पनि अछुतो रहने कुरै भएन । कोरोना महामारीले अझै कति समयसम्म दुःख दिइरहन्छ, यसै भन्न सकिने अवस्था छैन ।
कोरोना भाइरसविरुद्धका खोपहरू बनेर प्रयोग हुन थालिसकेका छन् । त्यसले केही राहत मिले पनि सङ्क्रमित र मृतक सङ्ख्या बढ्ने क्रम भने जारी नै छ । सुरुको ‘भेरियन्ट’ मा आधारित रहेर बनाइएका भ्याक्सिनहरू प्रयोग भइरहे तापनि अहिले यो भाइरसका अनेकौं ‘भेरियन्ट’ ले प्रकोप बढाइरहेको हुँदा ती भ्याक्सिन नै कत्तिको प्रभावकारी हुन सक्लान् ? यो पनि चासो र चिन्ताको बेग्लै विषय हो । महामारीको यो डरलाग्दो अवस्थामा प्रथमतः सङ्क्रमणबाट बच्न र कथम्कदाचित सङ्क्रमण भई नै हालेमा त्यसलाई परास्त गर्नका लागि स्वस्थ र सन्तुलित जीवनशैली तथा प्राकृतिक विधिहरूमा ध्यान दिनु अत्यावश्यक छ ।
कुनै पनि डिजिटल उपकरणमा ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ गरी स्पष्टतः दुईथरी संरचना भएजस्तै मानव शरीरमा समेत बाहिरी र भित्री गरी दुई संरचना हुन्छन् । बाहिर देखिने संरचनालाई ‘हार्डवेयर’ र भित्री संरचनालाई ‘सफ्टवेयर’ का रूपमा चित्रित गरेर विश्लेषण गर्न सकिन्छ । सामान्यतः ‘हार्डवेयर’ भन्दा ‘सफ्टवेयर’ बढी समवेदनशील हुन्छन् । मानवीय संरचना सञ्चालनका लागि करिव ८० प्रतिशत भित्री भाग अर्थात् ‘सफ्टवेयर’ को भूमिका हुन्छ भने बाहिरी आवरण अर्थात् ‘हार्डवेयर’ को भूमिका २० प्रतिशत मात्रै हुन्छ ।
आहारबिहार
सङ्क्रामक रोगको महामारीका बेला मात्र होइन, सामान्य अवस्थामा पनि सन्तुलित भोजन तथा पोषिलो खानपान गर्न विशेष ध्यान पु¥याउनुपर्छ । दैनिक जीवनमा सन्तुलित खानापन गर्दा मात्रै रोगहरूलाई परास्त गर्न सकिन्छ । झन् सङ्क्रामक रोग तथा प्रकोपको अवस्थामा त रोग प्रतिरोधात्मक क्षमता बढाउन प्राकृतिक किसिमका र सन्तुलित खानपानमा एकदमै जोड दिनुपर्छ ।
प्राकृतिक खानपानका रूपमा दैनिक खानपानका साथै विभिन्न किसिमका जडीबुटी तथा वनस्पतिजन्य ‘फुड सप्लिमेन्ट’ खान सकिन्छ । दैनिक खानाबाट पूर्ति नहुने ऊर्जा फुड सप्लिमेन्टबाट पूर्ति हुन्छ । यसो हुँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।
कोरोना सङ्क्रमण हुँदा रोगले गाँज्ने भएकाले होम आइसोलेसनमा बसेका बेला प्राकृतिक चिकित्सकसँगको परामर्शमा फुड सप्लिमेन्टहरू खाएर रोगलाई परास्त गर्न सकिन्छ । विभिन्न सङ्क्रामक रोग लागेका बेला त्यसलाई नकारात्मक असर गर्ने बाहेकको खानपान गर्नुपर्छ ।
सङ्क्रमण भएका बेला शरीरको भित्री संरचना अर्थात् ‘सफ्टवेयर’ लाई रोगले गलाएको हुन्छ र सामान्यरूपले काम गर्न मुस्किल परिरहेको हुन्छ । यस्तो अवस्थामा मुख्यतः दुई पक्षमा ध्यान दिनुपर्छ–सन्तुलित खानपान र आत्ध्यात्मिकता ।
दैनिक जीवनशैली, व्यायाम तथा खानपान ‘हार्डवेयर’ अन्तर्गत पर्दछन् । ‘हार्डवेयर’ र ‘सफ्टवेयर’ बीचको सन्तुलन हुँदा मात्रै स्वस्थ र तन्दुरुस्त रहन सकिन्छ । दाल–दलहन, हरिया सागपात तथा फलफूल खान जोड दिनुपर्छ । सुन्तला, कागती, अङ्गुर, अनारजस्ता फलफूल र जुस बढी लाभदायक हुन्छन् । पानी प्रशस्त पिउनुपर्छ, झोलिलो खानपान गर्नुपर्छ । विभिन्न परिकारमा हालेर अदुवा, बेसार, ज्वानो, ल्वाङ, मरिच, दालचिनी, तुलसीको पातजस्ता वनस्पतिजन्य मसलाहरू पनि खान सकिन्छ । यी सामग्री हालेर चिया बनाई पिउँदा पनि शरीरको ‘सफ्टवेयर’ र ‘हार्डवेयर’ लाई मजबुत बनाएर विभिन्न किसिमका रोगलाई जित्न सकिन्छ । घरमा नै पोषणयुक्त विभिन्न खाद्य पदार्थ बनाएर खानु उचित हुन्छ ।
कोरोनाभाइरसको सङ्क्रमण भइहालेको अवस्थामा त झन् रोगलाई परास्त गर्न शारीरिक तथा मानसिकरूपमा मजबुत हुनुपर्ने भएकाले खानपानमा विशेष ध्यान दिनैपर्छ ।
व्यायाम
कोरोना सङ्क्रमण भएका बेला फोक्सोमा सङ्क्रमण हुने भएकाले श्वास–प्रश्वासको प्रक्रिया असहज हुन्छ । त्यसैले श्वास–प्रश्वासको सहजताका लागि योगासनलगायत विभिन्न किसिमका व्यायाम गर्नु उचित हुन्छ ।
फोक्सो बलियो बनाउने योगासनमा सबैभन्दा पहिले दुवै हातलाई टाउकोभन्दा माथि उठाएर बिस्तारै अगाडि र पछाडि लान सकिन्छ, जसले गर्दा फोक्सो फुल्ने र खुम्चने प्रक्रिया हुन्छ । हल्का किसिमले मर्निङ वाक पनि गर्न सकिन्छ ।
सङ्क्रमितले मर्निङ वाक गर्दा अरुलाई सङ्क्रमण सर्ने जोखिम भएकाले आइसोलेसनमा बसेकै ठाउँमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हिँडडुल गर्नु उचित हुन्छ । आइसोलेसनमा बसेका बेला विभिन्न विधि अपनाएर फोक्सोलाई सहज बनाएर सङ्क्रमणलाई जित्न सकिन्छ ।
आराम
आइसोलेसनमा बस्दा फोक्सोलाई आराम गराउने विधि हो– प्रोनिङ पोज । प्रोनिङ पोज गर्दा सबैभन्दा पहिले स–साना तीन वटा तकिया (सिरानी) लिनुपर्छ । त्यसपछि घोप्टो परेर सुत्नुअघि घुँडामा एउटा, तल्लो पेटमा एउटा र छातीमा एउटा तकिया राख्नुपर्छ ।
त्यसपछि घोप्टो परेर दायाँ–बायाँ फर्कंदै करिब एक घन्टा सुत्नु उचित हुन्छ । यसरी तकियामा सुतिसकेपछि उठेर कुर्सी, सोफा वा बेडमा बस्न सकिन्छ । त्यसरी बस्दा खुट्टा लमतन्न पारेर भुईंमा टेक्नुपर्छ र पछाडि हल्का अडेस लाग्नुपर्छ । यस्तो बसाइलाई ‘६० डिग्रीको बसाइ’ भन्ने गरिएको छ ।
सरसफाइ
सङ्क्रमण भएका बेला विभिन्न प्राकृतिक चिकित्सकीय विधि पनि अपनाउनु उचित हुन्छ । पानीको बाफ लिने, जलनेती गर्ने (नाकमा पानी हालेर मुखबाट निकाल्ने), मुख कुलुकुलु गर्दै गर्गल गर्नेजस्ता कार्य गर्नु उचित हुन्छ ।
मनतातो पानीमा दुई चिम्टी जति नुन हालेर बेला–बेला नाक र मुख सफा गर्नाले पनि सङ्क्रमण जित्न सहयोग मिल्छ । यस्तो बेला सरसफाइमा विशेष ध्यान पुर्याउनुपर्छ ।
सकारात्मक सोच
विभिन्न रोगको सङ्क्रमणबाट बच्नका लागि मानसिकरूपमा पनि स्वस्थ हुनु आवश्यक हुन्छ । भनिन्छ– रोग जित्न करिब ८० प्रतिशत भूमिका त मानसिक पक्षकै हुन्छ । मनोबल उच्च बनाउँदा रोग जित्न धेरै हदसम्म सहयोग मिल्छ ।
मानसिक पक्ष मजबुत बनाउन सकारात्मक सोच हुनु आवश्यक हुन्छ । सकारात्मक सोचका लागि आइसोलेसनमा बस्दा नै किन नहोस्, ‘म मर्छु, फलानो मरेछ’ भन्नेजस्तो सोचबाट टाढा रहनुपर्छ । भयभीत हुने किसिमका समाचारबाट पनि टाढा रहनुपर्छ । दिनहुँ मृत्यु भएको समाचारले जो–कसैलाई पनि त्रसित बनाउन सक्छ, त्यसैले यस्ता समाचारबाट पनि सकेसम्म टाढा रहनु नै उचित हुन्छ ।
विभिन्न सिर्जनात्मक काम र रचनात्मक सोचमा समय खर्च गर्नाले शरीरमा भएका नकारात्मक ऊर्जा दिने हर्मनको उत्पादनमा कमी आई सकारात्मक ऊर्जा दिने हर्मनको उत्पादन बढ्न थाल्दछ । त्यसो हुँदा हामी स्वतः ऊर्जावान् हुन्छौं ।
सङ्क्रमणका कारण आइसोलेसनमा रहेका बेला आफन्तसँग भेट्न मिल्दैन । यस्तो अवस्थामा मोबाइल तथा कम्प्युटर प्रयोग गरी आफन्तसँग कुराकानी गरेर भावनात्मक रूपमा नजिक रहन सकिन्छ । यसो गर्दा नैराश्यता हटाउन मद्धत मिल्छ ।
प्रत्येक पलमा र बारम्बार सकारात्मक सोच राख्नाले व्यावहारिक रूपमा पनि ऊर्जा सकारात्मकतातिर नै परिणत हुने भएकाले हमेसा सकारात्मक सोच राख्नुपर्छ । मनलाई बारम्बार सकारात्मक सुझाव दिँदा ‘मनस्थितिले नै परिस्थितिको निर्माण’ गर्ने भएकाले समस्याबाट छुटकारा पाउन सहज वातावरण मिल्छ ।
यस्तो छ तथ्याङ्क
कोरोनाभाइरस सङ्क्रमणका कारण यी पङ्क्ति लेखिँदासम्म विश्वमा ३३ लाख ९३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । सङ्क्रमणका कारण विश्वमा हुने मृत्युदर २.१ प्रतिशत छ । त्यसो त निको हुनेको दर पनि कम छैन । सङ्क्रमित भएकामध्ये विश्वमा ८६.६ प्रतिशत त निको भइसकेका छन् ।
नेपालकै कुरा गर्दा पनि कोरोनाभाइरस सङ्क्रमणका कारण छ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या पनि ५ लाख नाघिसकेको छ ।
परीक्षण गरिएकामध्येको सङ्क्रमण दर सरदर १६.६ प्रतिशत छ र सङ्क्रमण पुष्टि भएकामध्येको मृत्युदर १.५ प्रतिशत छ । नेपालमा महिलाभन्दा पुरुषमा सङ्क्रमण दर बढी देखिएको छ । महिलाको सङ्क्रमण दर ३८.२१ प्रतिशत छ भने पुरुषको सङ्क्रमण दर ६१.७९ प्रतिशत छ ।
सबै उमेरसमूहका व्यक्तिलाई सङ्क्रमणले गाँजिरहेकाले स्वास्थ्य सुरक्षाको उपाय अपनाउन एकदमै ध्यान दिनु जरुरी छ । हेलचेक्र्याइँ पटक्कै नगरौं, कोरोनाभाइरसबाट आफू बचौं र अरुलाई पनि बचाऔं ।