स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी कानुनी व्यवस्था

अधिवक्ता लक्ष्मण बस्याल

उपचारको विषयलाई लिएर बिरामीका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात तथा अभद्र व्यवहार गरेका घटना बारम्बार सुनिने गरेका छन् । स्वास्थ्य संस्थामा तोडफोड गर्ने तथा क्षति पुर्‍याउनेजस्ता घटना पनि निरन्तरजसो सार्वजनिक हुँदै आएका छन् ।

यस्ता अराजक गतिविधि हुनु निश्चय नै दुःखद् कुरा हो । कसैले गल्ती नै गरेको छ भने कानुनी उपचार खोज्नुपर्छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाका सम्बन्धमा पनि नेपालमा कानुन छ, निययहरू छन् ।

नेपालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ प्रचलित छ । त्यसैगरी, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी नियमावली, २०६९’ पनि बहाल छ । ऐनमा स्वास्थ्य सेवालाई नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी बनाउनका लागि स्वास्थ्योपचारका क्रममा उत्पन्न हुन सक्ने आकस्मिक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा गर्ने व्यवस्था छ ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ को दफा ३ मा स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नपाइने व्यवस्था छ । ऐनको दफा ३ को (क) मा व्यवस्था भएअनुसार स्वास्थ्योपचारको विषयालाई लिएर स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्न पाइँदैन । त्यसैगरी, ऐनको दफा ३ को (ख) मा स्वास्थ्य संस्थामा तोडफोड, आगजनी वा अन्य कुनै कार्य गर्न नपाइने व्यवस्था छ ।

त्यस्तै, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ को दफा ४ ले सुरक्षा माग गर्न सक्ने व्यवस्था गरेको छ । ऐनको दफा ४ को उपदफा (१) मा कसैले कुनै स्वास्थ्यकर्मीमाथि वा स्वास्थ्य संस्थामा स्वास्थ्योपचारको विषयलाई लिएर घेराउ, अपमानजनक व्यवहार वा हातपात, तोडफोड, आगजनी वा अन्य कुनै कार्य गरेको अवस्थामा त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले स्थानीय प्रशासनसँग सुरक्षाको माग गर्न सक्ने व्यवस्था छ । ऐनको दफा ४ को (२) मा उपदफा (१) बमोजिम सुरक्षाको माग भएमा स्थानीय प्रशासनले तुरुन्त सुरक्षाको व्यवस्था गर्नुपर्ने प्रावधान छ ।

ऐनको दफा ४ को उपदफा (३) अनुसार कुनै ठाउँ र अवस्थालाई विचार गर्दा कुनै स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवामा अवरोध पुग्न जाने भई स्थायीरूपमा सुरक्षाको व्यवस्था गर्न समितिबाट लेखिआएमा सरकारले त्यस्तो स्वास्थ्य संस्थामा स्थायीरूपमा सुरक्षाको व्यवस्था गर्न सक्ने समेत व्यवस्था छ । ऐनको दफा ५ मा समिति गठनसम्बन्धी व्यवस्था छ ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी नियमावली, २०६९’ को नियम (३) मा सुरक्षाको माग गर्ने कार्यविधिसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ३ को (१) मा ऐनको दफा ४ बमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सुरक्षाको माग गर्नुपरेमा सुरक्षा माग गर्नुपर्ने कारणसहित तत्काल, छिटो तथा प्रभावकारी माध्यमबाट स्थानीय प्रशासनसँग सुरक्षा माग गर्नुपर्ने व्यवस्था छ ।

नियमावलीको नियम ३ को (२) मा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले सुरक्षाको माग गर्नुपरेमा सुरक्षा माग गर्नुपर्ने कारणसहित तत्काल, छिटो तथा प्रभावकारी माध्यमबाट स्थानीय प्रशासनसँग सुरक्षा माग गरेको खण्डमा स्थानीय प्रशासनले तत्कालीन अवस्थाको मूल्याङ्कन गरी मनासिव अवधिका लागि स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाका निमित्त आवश्यकताअनुसार सुरक्षाकर्मी समेत खटाई सुरक्षाको व्यवस्था गरिदिनुपर्ने प्रावधान छ ।

नियमावलीको नियम ३ को (३) मा उपनियम (२) वमोजिम स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउनु परेमा वा ऐनको दफा ४ को उपदफा (३) वमोजिम कुनै स्वास्थ्य संस्थामा स्थायी सुरक्षाको व्यवस्था गर्नुपरेको खण्डमा स्वास्थ्य संस्थामा खटिने सुरक्षाकर्मीका लागि खाने तथा बस्ने व्यवस्था सम्बिन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाले गर्नुपर्ने प्रावधान छ ।

सुरक्षाको कानुनी प्रत्याभूति

ऐनको दफा १५ को उपदफा (१) मा सजायको व्यवस्था छ । ऐनको दफा ३ को (क) मा व्यवस्था भएअनुसार स्वास्थ्योपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्नेजस्तो कसुर गरेको खण्डमा त्यस्तो व्यक्तिलाई ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ ।

ऐनको दफा ३ को (ख) मा व्यवस्था भएअनुसार स्वास्थ्य संस्थामा तोडफोड, आगजनी वा अन्य कुनै कार्य गरेको खण्डमा ३ लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । ऐनको दफा १५ को उपदफा (२) मा स्वास्थ्योपचारको विषयलाई लिई स्वास्थ्यकर्मीलाई घेराउ, अपमानजनक व्यवहार वा हातपात गर्ने, स्वास्थ्य संस्थामा तोडफोड, आगजनी वा त्यस्तै अन्य कुनै कार्य गर्ने व्यक्तिले गरेको कामकारबाहीबाट कुनै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थालाई कुनै हानि–नोक्सानी भएको खण्डमा अदालतले सम्बन्धित कसुरदारबाट त्यस्तो हानि–नोक्सानीवापत मनासिव माफिकको क्षतिपूर्ति समेत भराइदिनुपर्ने व्यवस्था छ ।

अतः उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मीप्रति अपमानजनक व्यवहार गर्नु कानुनविपरीत कार्य हो । त्यसैगरी, स्वास्थ्य संस्थालाई हानि–नोक्सानी पुर्‍याउनु समेत कानुनविपरीतकै कार्य हो । कसैले गल्ती गरे कानुनी उपचार खोज्नुपर्छ, आवेगमा आएर कसैले पनि अराजक गतिविधि गर्नु हुँदैन । स्वयम् स्वास्थ्यकर्मी र बिरामी तथा बिरामीका आफन्त संयमित हुनु जरुरी हुन्छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले पनि बिरामीको उपचारमा हेलचेक्र्याइँ गर्नु हुुँदैन, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले व्यावसायिक धर्म निभाउनुपर्छ ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले इमानदारितापूर्वक आफ्नो दायित्व पूरा गरेमा परिआउने त्यस्ता घटनाबाट सुरक्षाको प्रत्याभूति कानुन, नियमावली र नियममार्फत राज्यले गरिदिएको छ । व्यवहारमा कमी–कमजोरी होलान्, तिनलाई सुधार गर्नेतर्फ सबैले आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्छ ।