हेलचेक्र्याइँ नगरौं, परिवारै सङ्क्रमित भइएला !

होलिस्टिक संवाददाता

नेपालमा सबै उमेरसमूहका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । कोभिड– १९ बाट परिवार नै सङ्क्रमित भएका समेत धेरै घटना देखिइसकेको चिकित्सकहरू बताउँछन् ।

गत वर्षको तुलनामा यस वर्ष परिवार नै सङ्क्रमित हुनेको सङ्ख्या बढी पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलको भनाइ छ । ‘अल्फा (युके) भेरियन्ट’ को कोरोनाको फैलने दर एकदम धेरै भएकाले परिवार नै सङ्क्रमित हुने दर बढी देखिएको हुनसक्ने चिकित्सकहरूको ठम्याइ छ । सावधानी अपनाउने कुरामा बेवास्ता र हेलचेक्र्याइँ गरेकाले पनि कोरोनाबाट सङ्क्रमित हुने परिवारहरूको सङ्ख्या बढी भएको चिकित्सकहरू बताउँछन् ।

रुघा–खोकी लाग्दा सामान्य रुघा–खोकी नै त होला भनिठान्दा पनि पूरै परिवारमा छिटो कोरोनाभाइरस फैलिएको चिकित्सकहरूको अनुमान छ । परिवारका कोही सदस्य सङ्क्रमित भएको केही समयपछि पूरै परिवार सङ्क्रमित भएर अस्पताल पुग्नेको सङ्ख्या बढिरहेको वीर अस्पतालका कोभिड– १९ फोकल पर्सन अच्युत कार्की बताउँछन् । परिवारको कुनै सदस्य सङ्क्रमित भएमा हेलचेक्र्याइँ नगर्न चिकित्सकहरूले सुझाएका छन् ।

मृत्युदर बढिरहेकाले कोरोनाभाइरसको सङ्क्रमणप्रति हेलचेक्र्याइँ नगर्न शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकूका निर्देशक डा. सागरकुमार राजभण्डारीले अनुरोध गरेका छन् । बेलैमा स्वास्थ्य परीक्षण नगर्दा सङ्क्रमितको अवस्था जटिल भएपछि मात्रै अस्पताल पुग्ने र यसो हुँदा जोखिम बढ्नेतर्फ ध्यान पुर्‍याउन चिकित्सकहरूको सुझाव छ ।

अस्पतालमा पुग्नेमध्ये अधिकाङ्शमा निमोनिया हुने, धेरै अक्सिजन आवश्यक पर्नेजस्ता समस्या देखिएको चिकित्सकहरूको अनुभव छ । प्रायः सङ्क्रमितमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने, गन्ध/बासना थाहा नहुने, टाउको दुख्ने, झाडापखाला लाग्नेजस्ता लक्षण देखिएको उनीहरूको भनाइ छ ।