अरु सबै द्वितीय, आफू नै प्राथमिक

केदारनाथ गौतम

गत वर्षदेखि फैलिएको कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगिरहेको छ । आँकलन गरिएभन्दा धेरै नागरिकको ज्यान गइसकेको छ र पूर्वानुमान गरिएभन्दा बढी व्यक्तिहरूमा सङ्क्रमण पुष्टि भइरहेको छ । कुनै दिन घटेजस्तो देखिनु र फेरि अर्को दिन बढेजस्तो देखिनु आफ्नै ठाउँमा छ तर मृतक एवम् सङ्क्रमित सङ्ख्या अकल्पनीय हिसाबले बढ्दो छ । महामारीको यो बादल कहिले फाट्ने हो, कुनै छेकछन्द देखिइरहेको छैन ।

महामारीको चपेटा एकातिर छँदैछ; एक वर्षभन्दा लामो समयदेखिको अन्योल, अलमल, बेकारी, बेरोजगारी तथा व्यक्ति, समाज र समग्र जनजीवनको अस्तव्यस्तता; अभाव, महँगी, कालोबजारी, अनियमितता र व्यभिचारको पहाड पनि सँगसँगै अग्लँदो छ । ‘काम–कुरो एकातिर, कुम्लो बोकी कतातिर’ भनेझैं सामाजिक वैमनश्यता र कटुता बढाउने अनि भ्रातृत्व, मेलमिलाप, सदाचार र सहिष्णुता खल्बल्याउने गरी ठीक बेला राजनीतिक तिक्तताको बढोत्तरी भइरहँदा चहर्‍याइरहेको नागरिकको घाउमा नुन–चुक थपिएजस्तो हुँदै छ । त्यसैले निराशा, कुण्ठा, हीनता र अकर्मण्यताको डरलाग्दो खाडल गहिरँदो छ ।

सरकारले यो गरेन र ऊ गरेन; नेताहरुले यो गरेनन् र त्यो गरेनन्; अस्पतालहरुले यति गरे र त्यति गरेनन्; स्वास्थ्यकर्मीहरुले यहाँसम्म गरे र त्यहाँसम्म गरेनन्– टीकाटिप्पणी चलिरहेकै छ । र, चल्नु स्वाभाविकै पनि हो । तर, यस्ता टीकाटिप्पणी, बहस र छलफल समेत विषयकेन्द्रित र समाधानउन्मुख छैनन्, दलगत र समूहगत/व्यक्तिगत स्वार्थानुकूल विभक्त छन्; ‘आ–आफ्नो डम्फू, आ–आफ्नै ताल’ भने झैं छरपस्ट छन् ।

यद्यपि उल्लेखित परिवेश, यथार्थता र क्रियाकलाप हामी प्रत्येकका निम्ति भने द्वितीय पक्ष मात्रै हुन्, प्रथम पक्ष त स्वयम् नै हौं । हरेक नागरिकका आ–आफ्नै परिवार छन्, आ–आफ्नै पेशा–व्यवसाय वा रोजगारी छन्, आ–आफ्नै प्रणाली र शैली छन्, आ–आफ्नै समुदाय, वृत्त र परिवेश छन् । आफ्नो रक्षा/सुरक्षा, व्यवस्थापन र प्रगतिका निम्ति सबै आ–आफैं नै योग्य छन्; सक्षम छन् । महामारीको प्रतिकूलता र राजनीतिक एवम् सामाजिक परिवेशले बेलाबखत बिथोल्नु, धोका र दुःख दिनु अर्कै कुरा हो । तर, यी र यस्ता व्यवधान लामो समयसम्म वा सधैं रहिरहँदैनन् । अनिष्टको बादल छिटै फाट्ने कुरामा सबै आशावादी हुनुपर्छ र यथार्थता पनि यही हो । बरु हरेकले आ–आफ्नै कमी–कमजोरी, सीमा र त्रुटिको समीक्षा गर्नुपर्छ अनि आ–आफ्ना सबलता, अनुकूलता, योग्यता, क्षमता र उपलब्धिको जगेर्ना गर्नुपर्छ; तिनलाई अझै अभिवृद्धि, अद्यावधिक, परिष्कार र परिमार्जन गर्नुपर्छ । जो–कसैले पनि आफू पछारिएकै ठाउँबाट उठेर हिलो पुछ्दै र धूलो टक्टक्याउँदै गन्तव्य तय गर्नुपर्छ; अगाडि बढ्नुपर्छ ।

हरेक घटना, परिवेश, महामारी, विपत्ति र प्रतिकूलता नकारात्मक मात्र हुँदैनन्, ती सँगसँगै अनेकौं अनुकूलता र सकारात्मकता पनि जोडिएर आएकै हुन्छन्/छन् । तर, सानै समस्यामा आत्तिने र थोरै उपलब्धिमा मात्तिने प्रवृत्ति अँगालियो भने यो कुरा बुझ्न सकिँदैन । सकारात्मक सोच, क्रियाशील मगज र धैर्यशील प्रवृत्तिका साथ ‘कालो बादलमा चाँदीको घेरा’ देख्न सक्नुपर्छ र त्यसैलाई पक्रेर अगाडि बढ्नुपर्छ । मानवजाति नै प्राणीजगत्को सर्वोत्कृष्ट जाति मानिन्छ र त्यसको मुख्य आधार/कारण भनेकै मानव–मस्तिष्क हो । जस्तोसुकै प्रतिकूलता र विपत्तिसँग हार नखानु र अन्तिम सास फेर्दासम्म पनि अग्रगतिकै निम्ति सङ्घर्षरत रहनु मानवीय प्रवृत्ति हो; मानव–मस्तिष्कको सार हो । कर्तव्यपथबाट विचलित नहुनु, सम्भावनाको खोजीमा नचुक्नु र हरेक प्रतिकूलताबीच अनुकूलता ठम्याइरहनु मानवजातिको प्रमुख प्रवृत्ति हो ।

यसर्थ, प्रकृति र जीवनमा निरन्तर आइरहने नयाँ–नयाँ विपत्ति, घुम्ती र मोड तथा आरोह–अवरोहहरुलाई स्वाभाविकरुले ग्रहण गनुपर्छ । आफू वरपर या सरसङ्गतमा रहेका नकारात्मक प्रवृत्तियुक्त मान्छेहरु, वातावरणीय प्रतिकूलता, प्राकृतिक–सामाजिक विपत्ति आदिलाई द्वितीय पक्ष मान्दै आफू स्वयम्लाई प्रथम पक्ष मानेर ‘उसले यो गरेन’ भन्दै बिलौना गरिरहनुभन्दा ‘मैले के गरिँन’ भन्ने प्रश्नमा घोत्लिएर समाधान निकाल्ने प्रयत्न गर्नुपर्छ; हरेक समस्याको समाधान सम्भव छ । प्रकृतिका शाश्वत नियमहरुलाई आत्मसात् गर्दै सकारात्मक सोच, स्वस्थ र सन्तुलित खानपान, व्यवस्थित एवम् स्वस्थ जीवनशैली अँगाल्नु तथा आफ्नो परिवार, समाज र राष्ट्रलाई त्यसैतर्फ डोर्‍याउनु हामी सबैको प्राथमिक कर्तव्य हो । यसमा नै हरेक विपत्तिको सामना र उन्मुक्ति सम्भव छ ।