कोरोनाको महामारी: प्राथमिक मनोवैज्ञानिक सहयोग

गोपाल ढकाल

नेपालमा अहिले कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनाइरहेको छ । कोरोनाभाइरसका कारण विश्वले गत वर्षदेखि नै ठूलो र चौतर्फी सङ्कटको सामना गरिरहेको छ । यो सङ्कटबाट नेपाल पनि अछुतो रहन सकेको छैन ।

भूकम्प, बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति, रोग–व्याधिको प्रकोप, महामारी तथा विभिन्न घटनाहरूले व्यक्ति र समाजमा असहज अवस्था उत्पन्न हुनु स्वाभाविक छ । विपत्ति परेको अवस्थामा मानिसलाई भौतिक सहयोग मात्र पर्याप्त हुँदैन; मनोसामाजिक एवम् भावनात्मक सहयोग समेत अत्यावश्यक हुन्छ ।

व्यक्ति, परिवार तथा समुदायमा देखिएको मनोवैज्ञानिक समस्या हल गर्नका लागि घटना घटेलगत्तै दिइने भावनात्मक तथा व्यावहारिक सहयोग भनेको प्राथमिक मनोवैज्ञानिक सहयोग हो ।

विपत्तिको अवस्थामा विक्षिप्त भएको मनलाई शान्त पार्नका लागि मनोवैज्ञानिक रूपमा उपलब्ध गराइने सहयोग अमूल्य हुन्छ । विषम परिस्थितिमा मानिसको मनमा हुने अशान्ति, डर–चिन्ता, तनाव, नैराश्यताजस्ता भावनात्मक समस्या कम गर्न र दैनिक जीवनमा आउने व्यवहारजन्य गडबडीलाई व्यवस्थापन गर्न प्राथमिक मनोवैज्ञानिक सहयोग आवश्यक हुन्छ ।

बेलैमा मनोवैज्ञानिक सहयोग पाएको खण्डमा केही समयको अन्तरालपछि धेरैजसो समस्या आफैं कम भएर जान्छन् । प्रभावित व्यक्ति वा समुदायलाई बेलैमा प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान गर्ने हो भने पछि देखापर्न सक्ने मानसिक रोग तथा मनोसामाजिक समस्यालाई समेत न्यूनीकरण गर्न सकिन्छ ।

कोरोनाभाइरसको सङ्क्रमण झन्–झन् बढ्दै गएकाले व्यक्तिमा विभिन्न किसिमका मनोवैज्ञानिक समस्याका लक्षणहरू देखिन सक्छन् ।

विपत्तिका बेला कस्ता लक्षण देखिन्छन् ?

मनोवैज्ञानिक समस्या हुँदा विभिन्न किसिमका लक्षण देखिन सक्छन् । मनमा कुरा खेल्नु, झर्को लाग्नु, हात–खुट्टा वा शरीर काँप्नु, शरीर कटकटी खानु तथा झम्झमाउनु, शरीर सिरिङ्ग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको तथा पेट दुख्नु तनावका मुख्य लक्षण हुन् ।

त्यसैगरी, रिङ्गटा लाग्नु, मुटुुको चाल बढ्नु, भोक तथा निद्रा नलाग्नु, छिटो–छिटो पिसाब लाग्नु, कब्जियत हुनु, शरीरमा थकानको महसुस हुनु, सास फेर्न गाह्रो महसुस हुनु, छाती भारी हुनु, रिस उठ्नु, ध्यान केन्द्रित गर्न नसक्नुजस्ता लक्षण पनि तनावका बेला देखिन सक्छन् । चाँडै बिर्सनु, मन दुःखी हुनु, सामान्यभन्दा बढी डर–चिन्ता लाग्नु तथा पीर पर्नु, छटपटी हुनु, निर्णय लिन नसक्नु, डरलाग्दो सपना देख्नु, पटक–पटक झस्कनु, निराश हुनु, कुनै कुरामा चाख नलाग्नु, आफू तथा परिवारका कसैलाई केही होला कि भन्ने डर लाग्नु, शरीर तातो वा चिसो महसुस हुनुजस्ता लक्षणहरू समेत तनावका बेला देखिन सक्छन् ।

विपति तथा असहज अवस्थामा देखिने यस्ता लक्षणहरू सामान्य र स्वाभाविक लक्षण हुन् । विपत्तिको समयमा देखिने यस्ता लक्षणहरू लामो समयसम्म कायम रहेको अवस्थामा भने मनोसामाजिक समस्या तथा मानसिक रोग निम्तने जोखिम हुन्छ ।

कसलाई बढ्ता जरुरी ?

कोरोना कहरले धेर–थोर असर सबैलाई पुर्‍याएको छ । बालबालिका, सुत्केरी तथा गर्भवती महिला, पाको उमेरका व्यक्ति, अशक्त तथा अपाङ्ग,  दीर्घरोगी, कोरोना सङ्क्रमित व्यक्तिहरू, उपचाररत बिरामी र सङ्क्रमितका आफन्त तथा परिवारलाई बढी तनाव हुनु स्वाभाविकै हो ।

आफन्तजन गुमाएकाको पारिवारिक सदस्यहरू, उपचारपछि अस्पतालबाट फर्किएका व्यक्तिहरू, द्विविधामा परेका व्यक्तिहरू, होम आइसोलेसन र क्वारेन्टाइनमा भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखेर प्राथमिक मनोवैज्ञानिक सहयोग पुर्‍याउनु आवश्यक हुन्छ ।

त्यस्तै, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत फ्रन्टलाइनमा खटिएर काम गर्ने पेशाकर्मीहरूमा पनि मनोवैज्ञानिक असर बढी नै हुन सक्छ । जोखिमका बेला अग्रपङ्क्तिमा खटिने पेशाकर्मीलाई पनि मनोवैज्ञानिक असर तथा मानसिक आघात पर्न सक्ने जोखिम बढी हुन्छ । त्यस्ता व्यक्तिहरूका लागि प्राथमिक मनोवैज्ञानिक सहयोग तथा स्वहेरचाहको अत्यन्तै जरुरत हुन्छ ।

के–के छन् त उपाय ?

मनको बह एक–अर्कासँग पोख्दा अनि घरपरिवार, साथीभाइ तथा समाजको साथ र सहयोग पाउँदा तनाव कम गर्न धेरै हदसम्म सहयोग मिल्छ । परिवारसँग बस्दा, सहयोगको आदान–प्रदान हुँदा, सान्त्वना पाउँदा, विश्वस्त सूचना र उचित परामर्श पाउँदा, सुरक्षित वातावरण र अत्यावश्यक राहत पाउँदा, मनोरञ्चन, खेलकुद, व्यायामजस्ता कुरामा ध्यान दिँदा पनि तनाव कम गर्न मद्धत मिल्छ ।

सही ढङ्गले रिस र आक्रोश पोख्न पाउँदा, मन खोलेर रुन पाउँदा, सकारात्मक सोच राख्दा आफ्नो ध्यानलाई रमाइला कुरामा मोड्दा, दैनिक जीवनमा फर्कने प्रयास गर्दा र धैर्यता कायम राख्दा समेत तनाव कम गराउँदै लान सहयोग मिल्छ ।

के–कस्ता मानसिक समस्या निम्त्याउँदैछ कोरोनाले ?

कोरोनाभाइरस सङ्क्रमणको महामारीका कारण डर– चिन्ताजस्ता एन्जाइटीलगायत विभिन्न किसिमका मानसिक समस्या निम्तन सक्छन् । दिक्दारी तथा आत्महत्याको सोचाइ वा प्रयासजस्ता डिप्रेसनका लक्षण समेत निम्तन सक्ने भएकाले सजग हुनुपर्छ । कुनै पनि पीडादायी घटनापछि मानसिक आघात उत्पन्न हुन सक्छ । विनाकारण र एक्कासि नै अत्याधिक त्रास उत्पन्न हुन सक्छ, जसलाई ‘प्यानिक डिसअर्डर’ भनिन्छ ।

कोरोना महामारीपछिको विषम परिस्थितिसँग जुध्न नसकेमा तनाव उत्पन्न हुन्छ । यस्तो अवस्थालाई ‘समायोजनको समस्या’ भनिन्छ । महामारीको अवस्थामा ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’ पनि हुन सक्छ । एउटै सोच वा विचार बारम्बार आइरहने तथा लगातार धेरै पटक एउटै कार्य दोहोर्‍याइरहने मानसिक रोगको पनि जोखिम हुन सक्छ । यस्ता चुनौतीको विवेकपूर्ण तरिकाले समाधान गर्न सक्नु पर्दछ ।

महामारको अवस्थामा धूमपान तथा मद्यपान र लागू पदार्थको लत लाग्न पनि सक्दछ । यस्ता कुलतहरूबाट टाढै बस्नु बुद्धिमानी हुन्छ । ‘कन्भर्सन डिसअर्डर’ जस्ता डर–त्रास र तनावका कारण उत्पन्न हुने मनोवैज्ञानिक समस्या बढ्न सक्ने भएकाले यसतर्फ पनि सचेत हुनुपर्छ ।

यस्तो बेला ‘एक्युट स्ट्रेस डिसअर्डर’ जस्तो तत्कालै देखापर्ने तनावजन्य समस्याका लक्षणले पनि सताउन सक्छ । सामाजिक सञ्जालमा बढ्ता घोरिइरहने लतबाट त टाढा बस्नैपर्छ । धेरै बेर सामाजिक सञ्जालमा झुम्मिदा यसको लत लागेर मनोवैज्ञानिक असर पर्न सक्छ ।

कसरी पुर्‍याइन्छ प्राथमिक मनोवैज्ञानिक सहयोग ?

आफू र अरुलाई हानि–नोक्सानी नपुग्ने गरी एकले अर्कालाई सकेको सहयोग गर्न सकिन्छ । प्राथमिक मनोवैज्ञानिक सहयोगको सामान्य ज्ञान हासिल गरेको वा तालिम लिएको जोसुकैले यस्तो सहयोग गर्न सक्छ । प्राथमिक मनोवैज्ञानिक सहयोग गर्न मनोविद्, मनोचिकित्सक, मनोपरामर्शदाता नै चाहिन्छ भन्ने छैन; तालिम प्राप्त वा अनुभव हासिल गरेका व्यक्तिले नै यस्तो सहयोग तथा सेवा गर्न सकिन्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोग गर्ने व्यक्तिले कोरोनाको सङ्क्रमण र यसबाट बच्ने उपायबारे भरपर्दो एवम् सत्य–तथ्य सूचना तथा जानकारी उपलब्ध गराउनुपर्छ । यस क्रममा शारीरिक तथा भावनात्मक सुरक्षाको प्रत्याभूति गराउनु आवश्यक हुन्छ । दैनिक आवश्यकताका सामग्री पहिचान गरी सोहीअनुरूप परिपूर्ति गर्न सहयोग गर्ने तथा त्यस्ता सहयोग प्रदान गर्नका लागि पहल गर्ने, सहजीकरण तथा समन्वय गर्नेजस्ता काम गर्नु उचित हुन्छ ।

अरुका भवनाको कदर गर्न, भावनात्मकरूपमा सधैं नजिक रहन, व्यक्तिहरूबीच सम्मानजनक र भेद्भावरहित सम्बन्धको स्थापना गर्न मद्धत पुर्‍याउनुपर्छ । सङ्क्रमणको आशङ्का गरिएका, आइसोलेसनमा बसेका तथा सेल्फ क्वारेन्टाइनमा रहेकाहरूलाई माया–ममता र सद्भाव आवश्यक हुन्छ । परिवारबाट टाढा रहेकाहरूलाई सामाजिक दूरी कायम गर्दै पुनर्मिलन गराउन मद्धत गर्नुपर्छ । दैनिक जीवनलाई सहज र सिर्जनात्मक बनाउन सहयोग पुर्‍याउनुपर्छ ।

विषम परिस्थितिमा व्यक्तिले देखाउन सक्ने नकारात्मक व्यवहारको ख्याल गर्दै सकारात्मक व्यवहार गर्न हौसला प्रदान गर्नुपर्छ । दीर्घरोग भएमा वा पहिलेको रोग बल्झिएमा तथा खाइरहेको औषधिले काम गर्न छाडेमा चिकित्सकसँग तत्काल सम्पर्क गराउन मद्धत गर्नुपर्छ ।

प्राथमिक मनोवैज्ञानिक सहयोगदाताले प्रभावित व्यक्तिको कुरा ध्यान दिएर सुन्नुपर्छ र उस/उनलाई आफ्नो मनका कुरा भन्न प्रेरित गर्नुपर्छ । रुचिअनुसारका कार्यमा सक्रिय गराएर र दैेनिक कार्य सुचारू राख्न सहयोग गरेर पनि तनाव कम गराउन सकिन्छ । आरामदायी अभ्यास, योग, ध्यान, व्यायामजस्ता क्रियाकलापका माध्यमबाट समेत प्रभावित व्यक्तिलाई भावनात्मकरूपमा स्थिर र शान्त रहनका निम्ति सहयोग पुर्‍याउन सकिन्छ ।

यी उपायको अवलम्बन गर्दागर्दै पनि समस्या जटिल हुँदै गएमा भने मनोचिकित्सक, मनोविद् तथा मनोपरामर्शदातासँग सम्पर्क गराउनुपर्छ । महामारीका बेला यसरी मनोवैज्ञानिक तथा मानसिक रोगको जोखिमबाट जोकसैलाई पनि जोगाउनु जरुरी छ ।

आवश्यक हुन्छ विज्ञको सहयोग

प्रत्येक व्यक्तिमा एकातिर समस्यासँग जुध्ने मानसिक क्षमता फरक–फरक हुन्छ भने अर्कातिर घटनाले पार्ने असरको लेभल समेत फरक–फरक नै हुन्छ । कोही चाँडै सामान्य अवस्थामा फर्कन्छन् भने कसैलाई समय लाग्न सक्छ । धेरैजसो मानिस ढिलो–चाँडो पूर्वावस्थामा फर्कन सक्छन् भने केहीमा चाहिँ समस्या झन्–झन् बढ्दै जान पनि सक्छ ।

विपत्तिका बेला धेरैजसोमा देखिने स्वाभाविक मनोवैज्ञानिक लक्षणहरू कसै–कसैमा भने कम हुनुको सट्टा बढ्दै गएमा र त्यस्ता व्यक्तिलाई दैनिक काम गर्न कठिनाइ भएमा या आफ्नो वरिपरिका मानिस, ठाउँ, समय राम्ररी ठम्याउन नसक्ने तथा अरुले नसुन्ने आवाज सुन्न थालेमा मनोपरामर्श अत्यावश्यक हुन्छ ।

लागू पदार्थको अत्याधिक सेवन गर्न थालेमा, मानसिक सन्तुलन गुमाएमा, नकारात्मक सोचाइ मात्र आइरहेमा, आत्महत्याको सोच, योजना वा प्रयास गरेमा तथा व्यक्तित्व र स्वभावमा परिवर्तन आएमा तत्कालै मनोचिकित्सक या मनोविद् वा मनोसामाजिक विमर्शकर्ताको सहयोग लिइहाल्नुपर्छ ।

‘मार्क नेपाल मनोसेवा केन्द्र’ का सञ्चालक लेखक मनोविद् हुन्