कोरोना महामारी र यौनकर्ममा सजगता

प्रा.डा. दिनेश बाँस्तोला

गत वर्षदेखि नेपाल समेत पूरै विश्वलाई सताउँदै आएको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणको महामारी अझै रोकिएको छैन । यतिबेला त झन् कोरोना महामारीको दोस्रो लहरले नेपालीलाई गाँजिरहेको छ । यस्तो अवस्थामा यौनजोडीका दुईमध्ये कुनै एक वा दुवैमा कोरोनाभाइरसको सङ्क्रमण भएको हुन सक्छ । त्यसैले महामारीको अवस्थामा यौनकर्मबाट यौनजोडी टाढै रहनु नै बुद्धिमानी हुन्छ ।

कोरोनाभाइरसको सङ्क्रमण भएका बेला शरीरका जोर्नी तथा माङ्शपेशी दुख्ने, उच्च ज्वरो आउने, रुघा–खोकी लाग्ने श्वास–प्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिन्छन् । यसबाट निकै ठूलो स्वास्थ्य जटिलता समेत निम्तन सक्दछ ।

कोरोनाभाइरसको सङ्क्रमणले कसै–कसैमा तीव्र लक्षणहरू देखाउँदछ भने कसै–कसैमाचाहिँ सुषुप्तरूपमा (एसिम्प्टोम्याटिक) पनि रहन सक्छ; कुनै पनि चिह्न या लक्षण नदेखिन पनि सक्दछन् । सुरु–सुरुमा सुषुप्त हुनेहरूमा पनि क्रमशः रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाँदा सङ्क्रमणका चिह्न या लक्षण देखापर्दै जान सक्दछन् ।

कोरोनाभाइरसको सङ्क्रमण भएका बेला सामान्यतः यौन सम्पर्क गर्न मन लाग्दैन । सङ्क्रमणका कारण शरीर शिथिल हुने भएकाले यौन क्रियाकलाप गर्ने ऊर्जा नै प्राप्त हुँदैन । शरीरमा पानीको मात्रा कम हुने र तापक्रम बढेर जाने हुँदा सङ्क्रमित स्वयम्को अवस्था गम्भीर हुने जोखिम हुन्छ ।

यति हुँदाहुँदै पनि यौनसम्पर्कको चाह भएमा पनि यौन क्रियाकलाप नगर्नु नै राम्रो हुन्छ । आफू स्वस्थ भएको र यौनजोडी शारीरिक वा/तथा मानसिकरूपमा स्वस्थ नभएको अवस्थामा स्वस्थ व्यक्तिले पनि यौन क्रियाकलाप नगर्नु उचित हुन्छ । यौनजोडी कोरोनाभाइरस सङ्क्रमणको प्रभावित ठाउँबाट आएका/आएकी छन् भने कम्तिमा एक महिना क्वारेन्टाइनमा बसेपछि मात्रै सामिप्यता तथा यौन क्रियाकलापमा सरिक हुनु उचित हुन्छ ।

थुकका छिटा (ड्रपलेट्स), र्‍याल, श्वास–प्रश्वास तथा हाछ्युँलगायतका माध्यमबाट कोरोनाभाइरस सङ्क्रमण सर्ने भएकाले सङ्क्रमणको सम्भावना भएको अवस्थामा यौनजोडी शारीरिकरूपमा नजिक बस्नु उचित हुँदैन । सङ्क्रमणको सम्भावना रहँदासम्म यौनजोडीबीच चुम्बन गर्नेजस्ता क्रियाकलाप समेत गर्नु हुँदैन । यौनजोडीका कुनै एकमा सङ्क्रमण भएमा अर्कोलाई समेत सर्ने भएकाले यस्तो अवस्थामा यौन सम्पर्क गर्नु हुँदैन ।

महामारीका बेला अरु–अरु पक्षहरूमा जस्तै यौनको मामलामा पनि धैर्यता एवम् सयमता अपनाउनु बुद्धिमत्तापूर्ण हुन्छ । जो–कसैलाई पनि यौनजोडीसँग रमाउने चाह हुनु तथा यौन क्रियाकलाप गर्न मन लाग्नु स्वाभाविकै हो । तर, जुनसुकै बेला उत्पन्न हुने आवेश तथा उत्तेजनालाई नियन्त्रणमा राख्न नसक्ने हो भने जीवन नै जोखिममा पर्न सक्छ ।

सङ्क्रमण भएको या आशङ्का भएको स्थितिमा यौन जोडीबीच भेट भएमा कम्तिमा पनि दुई मिटरको भौतिक दूरी कायम गरेर (टाढा बसेर) मात्रै एकापसमा कुराकानी गर्नु पर्दछ । सङ्क्रमितले खोक्दा, थुक्दा तथा हाछ्युँ गर्दा या यौनजोडीबीच चुम्बनलगायतका क्रियाकलाप गर्दा सङ्क्रमण नभएकाको नाक–मुखसम्म छिटा (ड्रपलेट्स) आइपुग्न सक्दछन् । यदि कसैको यौनजोडी सङ्क्रमित भएमा यस्ता र्‍याल तथा छिटा सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) बाट मात्रै देख्न सकिने त्यस्ता छिटाको माध्यमबाट कोरोनाभाइरस सर्न सक्दछ ।

महामारीको अवस्थामा यौन सन्तुष्टिका लागि वैकल्पिक विधिहरू अपनाउन सकिन्छ । यौन सन्तुष्टिका वैकल्पिक विधिका रूपमा यौन खेलौना (सेक्स ट्वाई) हरूको प्रयोग गर्न पनि सकिन्छ र हस्तमैथुनजस्ता विधि अपनाउन सकिन्छ । सेक्स ट्वाईहरू निर्जीव तथा सुरक्षित तरिकाले प्याक गरेर राखिने सामग्री भएकाले तीबाट कोरोनाभाइरस सर्ने जोखिम सून्यप्रायः हुन्छ । त्यस्ता सामग्रीको पुनप्र्रयोग गर्दा भने राम्ररी सफा गरी निर्मलीकरण समेत गर्नुपर्छ ।

महामारीको समयमा यौन जोडीसँग भेटघाट गर्न नपाए पनि फोन, इन्टरनेटलगायत सञ्चारका विभिन्न माध्यमबाट समिप्यतामै रहन सकिन्छ । यौनजोडीले एकापसमा यौनजन्य कुरा गरेर पनि यौन यौन सन्तुष्टि प्राप्त गर्न सक्दछन् ।

यौन सन्तुष्टिका निम्ति यौन सम्पर्क नै हुनुपर्छ भन्ने हुँदैन । यौनाकर्षण, यौनभाव, यौनदृष्टि, यौनस्पर्श, यौनसोचलगायतका माध्यमबाट पनि यौन आनन्द तथा सन्तुष्टि लिन सकिन्छ । त्यसैले शारीरिक सम्पर्कलाई मात्रै यौनका रूपमा बुझ्नु हुँदैन ।

सच्चा प्रेम गर्ने यौन जोडीहरूका निम्ति महामारीको अवस्थामा शारीरिकरूपमा यौनको भोक गौण हुन्छ; भावनात्मकरूपमा एकता तथा विश्वास नै सर्वोच्च हुन्छ । यसर्थ, महामारीको यो अवस्थामा यौनजोडीका दुवै पक्षले एकार्काको भावना बुझ्नु पर्दछ र सिर्जनशील क्रियाकलाप गर्नु पर्दछ ।