कोरोना सङ्क्रमणका बेला फोक्सो जोगाउने काइदा

डा. डीबी सुनुवार

कोरोनाभाइरसको महामारी कायमै रहेको वर्तमान सन्दर्भमा घरबाहिर हिँडडुल गर्दा तथा व्यायाम गर्दा समेत सङ्क्रमण हुने जोखिम हुन्छ । यस्तो बेला घरमै बसेर व्यायामका विभिन्न विधि अपनाउनु उचित हुन्छ ।

कोरोनाभाइरसको सङ्क्रमण हुँदा सीधै फोक्सोमा प्रभाव पर्दछ र श्वास–प्रश्वास प्रक्रियामा समस्या र अवरोध उत्पन्न हुन्छ । श्वास–प्रश्वास प्रक्रियामा ठूलै समस्या भएमा मृत्युको समेत जोखिम हुन्छ । श्वास–प्रश्वासको प्रक्रियामा सबैभन्दा पहिले शरीरभित्र प्रवेश गर्ने अक्सिजन सीधै फोक्सोमा पुग्दछ र सोही अक्सिजनले शरीरभित्र रहेका विकार तत्वलाई कार्बनडाई अक्साइडमा परिणत गरिदिन्छ । त्यसपछि श्वास–प्रश्वासकै माध्यमबाट उक्त कार्बनडाई अक्साइड शरीरबाहिर निस्कन्छ ।

महामारीको अवस्थामा शारीरिक तथा मानसिकरूपमा स्वस्थ–तन्दुरुस्त रहनका लागि हल्का किसिमका व्यायामको आवश्यकता हुन्छ । श्वास–प्रश्वास प्रक्रियाको सहजता, फोक्सोको सक्रियता र सन्तुलनका लागि फोक्सोकै व्यायाम आवश्यक हुन्छ । फोक्सो मजबुत राख्नका लागि पलेँटी मारेर बसी श्वास लिँदै छाड्दै गर्नुपर्छ । करिव पाँच मिनेटसम्म श्वास लिँदै छाड्दै गर्नाले फोक्सो खुम्चने र फुक्ने प्रक्रिया चल्दछ र यो प्रक्रियाले फोक्सोलाई मजबुत गराउँछ; फोक्सोको कार्यक्षमता बढाउँदछ ।

झट्ट हेर्दा सामान्य जस्तो लाग्ने यस किसिमको व्यायामले शरीरमा भएका विकार तत्वलाई शरीर बाहिर निकाल्दछ, जसले गर्दा रक्त–शुद्धीकरण भई शरीरभित्रका कोषिका मजबुत हुन्छन् । कोषिका मजबुत हुँदा रक्त–प्रवाह सहज हुन्छ र शरीरका सबै भागमा पोषण तत्व पुुग्दछ । र, शरीरका सबै भागमा पोषण तत्व पुगेपछि त शरीर स्वस्थ र मजबुत हुने नै भयो ।

नाकबाट सास फाल्ने व्यायाम

नाकबाट फ्वाँ–फ्वाँ गर्दै अलिक जोडले नै सास छाड्दै बिस्तारै लिँदै गर्ने विधिद्वारा फोक्सोको व्यायाम गर्न सकिन्छ । यस्तो व्यायामले शरीरमा भएका विकार तत्वलाई कार्बनडाई अक्साइडका रूपमा बाहिर फाल्न मद्धत पुग्ने भएकाले फोक्सोसहित पूरै शरीर नै मजबुत रहन सहयोग मिल्छ । नाकले बढी अक्सिजन तानेर बिस्तारै कार्बनडाई अक्साइड छाड्नाले पनि फोक्सो मजबुत हुन्छ । यसो गर्दा फोक्सोलाई राम्रै व्यायाम पुग्दछ । यस्तो व्यायाम गर्दा नाक हुँदै फोक्सोसम्मकै श्वासननी फुल्ने भएकाले फोक्सो मजबुत हुन्छ र श्वास–प्रश्वास सहज हुन्छ । यसो हुँदा कुनै पनि सङ्क्रमणले तुरुन्तै आक्रमण गरिहाल्न सक्दैन ।

यसरी गरिने फोक्सोको व्यायामले फोक्सो त मजबुत हुन्छ नै, साथसाथै कुनै सङ्क्रमणका कारण फोक्सो बिग्रिएको रहेछ भने पनि सुधार गरेर फोक्सोलाई नियमित गतिमा ल्याउन मद्धत पुग्छ । फोक्सोको व्यायाम गर्दा निमोनियाबाट समेत बच्न सकिन्छ ।

फोक्सो मजबुत बनाउने यस्ता व्यायाम जहाँ पनि गर्न सकिन्छ । स्वच्छ वातावरण भएको ठाउँमा हिँडेर, बसेर र उभिएर– जसरी पनि फोक्सोको व्यायाम गर्न सकिन्छ । चउर, खोला, जङ्गल, गार्डेनजस्ता प्राकृतिक हारभरायुक्त स्थानमा व्यायाम गर्नु बढी लाभदायक हुन्छ । यथासम्भव बिहान र बेलुकी दैनिक एक–एक घन्टा व्यायाम गर्नु उचित हुन्छ । र, व्यायाम गरिसकेको एक घन्टापछि खानपान गर्नु राम्रो हुन्छ । खानपानपछि व्यायाम गर्नुपर्ने भएमा खानपान गरिसकेको एक घन्टा पछाडि मात्रै व्यायाम गर्नु नै उचित हुन्छ । सामान्यतः दस वर्षभन्दा माथिको उमेरसमूहका सबैले फोक्सोको व्यायाम गर्न सकिन्छ ।

खानपान र सप्लिमेन्ट

चाहे सङ्क्रमणका महामारीका बेला होस् वा अन्य जुनसुकै सामान्य अवस्थामा नै किन नहोस्, सन्तुलित तथा स्वस्थ खानपानमा ध्यान दिनु फोक्सो मजबुत राख्ने पहिलो र मुख्य उपाय हो । धेरै चिसो खाद्य पदार्थ खाँदा पनि श्वासनली खुम्चने भएकाले एलर्जी हुने समेत जोखिम हुन्छ । एलर्जी भएमा श्वास–प्रश्वासमा असर पर्नुका साथै निमोनिया हुने जोखिम हुन्छ । धेरै तातो खानपान पनि गर्नु हुँदैन, यस्तो खानपानले पनि श्वास–प्रश्वासममा अवरोध पुग्न सक्दछ ।

धूमपान तथा मद्यपानले फोक्सोलाई क्षति पुर्‍याउने भएकाले त्यसतर्फ सचेत रहनुपर्छ । धूलो तथा धुवाँबाट बच्नु पनि फोक्सो स्वस्थ राख्ने अर्को महत्वपूर्ण उपाय हो । हरियो सागपात र मौसमअनुसारका फलफूल नियमित खानाले फोक्सो स्वस्थ राख्न मद्धत पुग्छ ।

फोक्सो मजबुत राख्नका लागि जौको जमराको जुस वा त्यसबाट बनाइएको क्याप्सुलको सेवन गर्न सकिन्छ । कुर्कुमिन, नोनी, जिन्सेङ, ओमेगाजस्ता प्राकृतिक जडीबुटी तथा वनस्पतिका उत्पादन सेवन गरेर पनि फोक्सोलाई स्वस्थ र मजबुत राख्न सकिन्छ । ल्वाङ, मरिच, अलैंची, सुकुमेल, दालचिनीजस्ता ‘मसले जडीबुटी’ तथा वनस्पतिको नियमित सेवन गर्नाले पनि फोक्सो स्वस्थ र मजबुत राख्न सहयोग पुग्छ ।

नियमितरूपमा यस्ता जडीबुटी तथा वनस्पति सेवन गर्नाले फोक्सोलाई सङ्क्रमणबाट बचाउन मद्धत पुग्छ भने कथम्कदाचित सङ्क्रमण भइहालेमा पनि कमै मात्र क्षति पुग्दछ । कोरोनाभाइरससहित विभिन्न खाले सङ्क्रमण जित्नका लागि यस्ता जडीबुटी तथा वनस्पतिको सेवनबाट महत्वपूर्ण सहयोग पुग्दछ । यी जडीबुटी र वनस्पति सकेसम्म प्राकृतिक चिकित्सकको सल्लाह तथा परामर्शमा सेवन गर्नु उचित हुन्छ ।