अझै बढ्दै कोरोना सङ्क्रमण: जोगाऔं बालबालिका !

डा. शेरबहादुर पुन

नेपालमा पछिल्लो समय सबै उमेरसमूहका नागरिकमा कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण हुन थालेपछि ठूलै स्वास्थ्य जटिलता निम्तिएको छ । कोरोनाभाइरसको सङ्क्रमण्का कारण वयस्कको मात्र नभई बालबालिकाको समेत मृत्यु हुन थालिसकेको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुने बालबालिकाको तथ्याङ्क उकालो लागिरेहको छ ।

१२ वैशाख, २०७८ को तथ्याङ्क हेर्ने हो भने नेपालमा एकै दिन १० वर्षमुनिका ६२ बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको देखिन्छ । यस दिन १० देखि १९ वर्षसम्मका २ सय ७८ बालबालिका सङ्क्रमित भए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण वैशाख पहिलो सातासम्ममा १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको छ । मन्त्रालयकै ५ वैशाखको तथ्याङ्कअनुसार ५ वर्षमुनिका ३ हजार ५ सय ६५ जना बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका थिए भने ५ वर्षमुनिका १० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

अर्कातिर सङ्क्रमितहरू ढिलो अस्पताल पुग्दा मृत्युको जोखिम बढिरहेको छ । बालबालिकाका लागि कोरोनाविरुद्धको खोप समेत उपलब्ध भइनसकेको अवस्थामा, पछिल्लो समय बालबालिकामा बढिरहेको कोरोनाभाइरस सङ्क्रमणको बढोत्तरीका कारण स्वास्थ्य जटिलता निम्तनु अर्को चुनौती हो ।

बालबालिकामा कोरोनाभाइरसको परीक्षण पनि कमै मात्र हुने गरेको देखिन्छ । कहीं–कतै जानुपर्ने र त्यस क्रममा पीसीआर रिपोर्ट प्रस्तुत गर्नुपर्ने बाध्यता कम हुने तथा स्वाब निकाल्नेलगायतका परीक्षण–प्रविधिको जटिलताका कारण पनि बालबालिकामा कोरोना परीक्षण कम भएको हुन सक्छ । त्यसैले बालबालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिनासाथ परीक्षण गराइहाल्नु उचित हुन्छ ।

बालबालिकालाई उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, रुघा–खोकी (सुख्खा खोकी) लाग्ने, झाडापखाला हुने, शरीर दुख्नेजस्ता लक्षण देखिएका छन् । कतिपय बालबालिकामा भने शरीरमा डाबर आउने लक्षण पनि देखिएको छ । स्वास्थ्य जटिलता बढ्दै गए बालबालिकाको मृत्यु हुने जोखिम भएकाले समयमै परीक्षण र उपचार गराइहाल्नु जरुरी हुन्छ ।

कुनै बालबालिकामा सङ्क्रमण हुनासाथ त कसैमा भने सङ्क्रमण भएको चारदेखि छ हप्तासम्ममा कडा खालका लक्षण देखिने गरेको पाइन्छ । दीर्घरोग भएका बालबालिकामा कोरोना सङ्क्रमण भएमा थप स्वास्थ्य जटिलता निम्तने र जोखिम समेत बढी हुने भएकाले सचेत हुनुपर्छ । कोरोना सङ्क्रमित करिव ८० प्रतिशत बालबालिका लक्षणविहीन देखिएका छन् । लक्षण देखिएका बाँकी २० प्रतिशतमध्येका आधा बालबालिकालाई भने अस्पताल भर्ना गर्नैपर्ने अवस्था आउन सक्छ । यीमध्ये पनि करिव दुई प्रतिशत बालबालिकामा सङ्क्रमणको असर बढी भई स्वास्थ्य जटिलता निम्तन सक्छ ।

लक्षण नदेखिएका सङ्क्रमित बालबालिकाबाट अरुमा सर्ने जोखिम बढी हुन्छ । त्यसैले विद्यालय जाने, समूहमा बस्ने, होस्टललगायतका ठाउँमा बस्ने बालबालिकाले स्वास्थ्य सुरक्षाका विशेष मापदण्ड अपनाउनु जरुरी छ । समूहमा बस्ने बालबालिकामध्ये कोही एक जना सङ्क्रमित भएपछि धेरैमा सङ्क्रमण फैलने जोखिम हुन्छ ।

बेलायती प्रजाति (युके भेरियन्ट) कोरोनाभाइरस पहिलेको कोरोनाभाइरसभन्दा करिव ७० गुणा द्रुत गतिमा फैलने भएकाले थप जोखिम निम्तिएको छ । नेपालमा दोस्रो लहरका रूपमा फैलिइरहेको कोरोनाभाइरसले सबै उमेरसमूहका नागरिकमा पहिलेभन्दा बढी जटिलता निम्त्याएको देखिएकाले हेलचेक्र्याइँ गर्नु हुँदैन । पछिल्लो समय नेपालमा पनि कोरोना सङ्क्रमितहरूको मृत्युदर बढिरहेको छ ।

बालबालिकालाई भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आए मृत्युको सम्भावना उच्च हुन्छ, त्यसैले सङ्क्रमण हुनबाट नै जोगाउनु बुद्धिमानी हुन्छ । अझ नेपालका र विश्वभरकै अस्पतालहरूमा बेड, आईसीयू, भेन्टिलेटर, अक्सिजनलगायतको अभाव देखिन थालेको छ । त्यसैले मास्क, स्यानिटाइजरलगायतका सामग्रीको समुचित प्रयोग गर्ने, साबुन–पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षा र सावधानीका उपाय अपनाउनु नै सबैभन्दा राम्रो उपाय हो ।

पहिलो कुरा त बालबालिकालाई भीडभाड हुने ठाउँमा लानै हुँदैन । भीडभाड नै कुनै पनि महामारीको ‘हटस्पट’ हुन सक्छ ।

डा. पुन टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्