मोतिजस्तै मोतीराम

केदारनाथ गौतम

‘युवाकवि’ मोतीराम भट्ट नेपाली साहित्यका क्षेत्रमा एउटा सिङ्गै युग अर्थात् माध्यमिककालका प्रवर्तक मानिन्छन् । उनी पण्डित दयाराम र रिपुमर्दिनीदेवी भट्टको छोराका रूपमा २५ भदौ, १९२३ (वि.सं.) मा काठमाडौंको भोसिको टोलमा जन्मेका हुन् ।

मोतीरामले पाँच वर्षको उमेरमा अक्षरारम्भ (पढाइलेखाइ) सुरु गरेका थिए । छ वर्षको उमेरदेखि त उनी अध्ययनकै निम्ति काशी (वनारस) गए र उतै बसेर पढ्न थाले । त्यसबेला उनका बा–आमा पनि काशीमै बस्थे । फारसी स्कुलमा भर्ना भएर पढ्ने क्रममा उनले फारसी, हिन्दी र उर्दू भाषा पनि सिके । त्यहाँका विख्यात विद्वान् एवम् हिन्दी भाषाका साहित्य–सर्जक भारनेन्दु हरिश्चन्द्रसँग मोतीरामको सङ्गत भयो । उनै हरिश्चन्द्रकै प्रेरणाबाट नै मोतीराममा साहित्य–साधना र राष्ट्रसेवाको चेतना जागृत भयो । त्यही क्रममा उनी संस्कृत र अङ्ग्रेजी भाषामा समेत पोख्त भए । त्यसपछि हिन्दी र अङ्ग्रेजी भाषा–साहित्यको गहिरो अध्ययन गरे ।

वनारसमा प्रारम्भिक शिक्षा हासिल गर्नुको साथै भाषा–साहित्य र कला सिकेर फर्केपछि मोतीरामले काठमाडौंस्थित दरबार हाइस्कुलमा अध्ययन गरी वि.सं. १९४८ मा कलकत्ताबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे । १९५० मा कलकत्तामै दिएको आईएको परीक्षा भने पास गर्न सकेनन् । फेरि वि.सं. १९५२ मा कलकत्ता पुगेका मोतीराम त्यहीं सिकिस्त बिरामी भए । बिरामी अवस्थामै स्वदेश फर्केका मोतीरामको उमेर तीस वर्ष पुगेकै दिन (१९५३ भदौमा) काठमाडौंमै निधन भयो । कुशेऔंसीका दिन जन्मेका मोतीरामको निधन समेत कुशेऔंसीकै दिन भएको थियो ।

जम्मा तीस वर्षको मात्र जीवन बाँचेका उनले ‘युवाकवि’ को उपमा पाए । तर, मोतीराम कवि मात्र होइनन् । जीवनीकार, समालोचक तथा साहित्य–अन्वेषक, कवि, गजलकार, गीतकार तथा गायक, नाटककार तथा निर्देशक, पत्रकार, सम्पादकका रूपमा नेपाली समाजलाई महत्वपूर्ण योगदान पुर्‍याएका उनी सञ्चार माध्यम (पत्रिका) को स्थापना गर्ने र पुस्तकालयको अवधारणा भित्र्याउने र छापाखानाको स्थापना तथा सञ्चालन गर्ने व्यक्तित्व समेत थिए । नेपाली भाषा–साहित्यमा ‘समालोचना’ विधाको सुरुआत गर्ने व्यक्ति पनि मोतीराम भट्ट नै हुन् । उनले वनारसका प्रसिद्ध सितारवादक पन्नालालसँग सितार बजाउन र गजल गाउन सिकेका थिए । त्यसबेला मोतीरामले वनारसमा थुप्रै सुमधुर गलजहरू समेत गाए ।

वि.सं. १९४० देखि १९७६ सम्मको अवधिलाई नेपाली साहित्यको माध्यमिककाल मान्ने गरिएको छ । र, नेपाली साहित्यको यस कालका मुख्य स्रष्टाहरूमध्येको एक मुख्य सर्जक थिए मोतीराम भट्ट । वनारस बस्दा उनले केही साथीहरूसँग मिलेर ‘मित्रमण्डली’ गठन गरेका थिए । भाषा–साहित्य र प्रकाशन–प्रचारको क्षेत्रमा काम गर्ने उक्त संस्था (मण्डली) लाई पछि उनले काठमाडौंमा पनि स्थापित गरे । मामा नरदेव पाण्डे तथा लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, भोजराज पाण्डे आदि काठमाडौंको ‘मित्रमण्डली’ का सहकर्मी थिए ।

‘गोरखा भारतजीवन’ नामक नेपाली भाषाको पहिलो मासिक पत्रिका निकालेर नेपाली पत्रकारिताको जग बसाउने काम मोतीरामले नै गरेका हुन् । वि.सं. १९४३ मा वनारसबाट यसको प्रकाशन सुरु भएको थियो । ‘मोतीराम देशका प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे, त्यसैबाट देशोन्नति हुन्छ भन्ने उनको धारणा थियो,’ मोतीराम भट्टका देशभक्तिपूर्ण प्रवृत्तिबारे चर्चा गर्दै बालकृष्ण समले लेखेका छन्– ‘उनी स्वदेशी खानू, स्वदेशी लाउनू, स्वदेशी व्यवहार गर्नू, स्वदेशी बोल्नु तथा स्वदेशी हेर्नुपर्दछ भन्ने सपना देख्दथे ।’

मोतीराम भट्ट मूलतः ‘श्रृङ्गारवादी’ स्रष्टा मानिन्छन् । स्त्रीलिङ्गीहरूप्रति उनको बढी नै आशक्ति थियो भनिन्छ । त्यसैले पनि उनले लेखेका अधिकाङ्श गजलहरू ‘श्रृङ्गाररस’ बाटै युक्त रहेका पाइएको समीक्षकहरूको धारणा छ । कतिपयको भनाइमा सुन्दरीहरूसँग बोल्न पायो कि त्यसपछि त मोतीरामले मिठामिठा कविता र गजल लेख्न थालिहाल्थे ! ‘श्लोक–सङ्ग्रह’, ‘मनोद्वेगप्रवाह’, ‘पिकदूत’ आदि मोतीराम भट्टले लेखेका श्रृङ्गाररसयुक्त काव्यात्मक कृतिहरू हुन् । उनले ‘शकुन्तला’, ‘प्रियदर्शिका’ र पद्मावती’ नामका तीनवटा नाटक लेखेका छन् । उर्दू भाषामा समेत नाटक लेखेका उनी नाट्यनिर्देशनमा पनि उत्तिकै कुशल थिए ।

मोतीरामले अधिकाङ्श रचना भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमै केन्द्रित रहेर लेखेका पाइन्छन् । ‘भानुभक्तको जीवनचरित्र’ नामक समालोचनात्मक कृति लेखेका मोतीरामले नै भानुभक्तलाई सम्मानस्वरूप ‘आदिकवि’ को उपमा दिएका हुन् । त्यसपछि सबैले ‘आदिकवि’ नै भन्न थाले । भानुभक्तले लेखेका ‘भक्तमाला’, ‘रामगीता’, ‘प्रश्नोत्तरा’ र ‘वधूशिक्षा’ को सम्पादन एवम् प्रकाशन समेत मोतीरामले नै गरेका हुन् ।

मोतीराम भट्टका मुख्य कृति एवम् सिर्जनाहरूमा मनोद्वेगप्रवाह (कवितासङ्ग्रह, १९४२), प्रह्लाद भक्तिकथा (काव्यकृति, १९४३), गजेन्द्रमोक्ष (काव्यकृति, १९४४), पञ्चकप्रपञ्च (काव्यकृति, १९४४), शकुनौती (१९४४), स्वप्नाध्याय (१९४४), गफास्टक (१९४४), शकुन्तला (नाटक, १९४४), सङ्गीत चन्द्रोदय (गजलसङ्ग्रह, १९४४), उषाचरित्र (काव्यकृति, १९४४), अनुप्रासमञ्जरी (१९४४), चाणक्यनीति (१९४५), पिकदूत (काव्यकृति, १९४५), पद्मावती (नाटक, १९४५), काशीराज चन्द्रसेन (१९४५), गुलसनोवर (आख्यानकृति, १९४६), उखानको बखान, कालभ्रमरसंवाद (काव्यकृति), हुस्न अफरोज आराम दिल (उर्दू नाटक), बालाजीवर्णन (काव्यकृति), भानुभक्तको जीवनचरित्र (समालोचनात्मक जीवनी, १९४८), प्रियदर्शिका (नाटक, १९४९), तीजको कथा तथा वार्णिक छन्दका फुटकर कविता र गलजहरू हुन् ।

सन्दर्भ–सामग्रीहरूको सहयोगमा
केदारनाथ गौतम