वर्तमान कानुनी व्यवस्था: कसले, कति पाउँछन् अङ्श ?
अधिवक्ता लक्ष्मण बस्यालमुलुकमा कानुन र व्यवस्था कायम गरी सर्वसाधारणको नैतिकता, शिष्टाचार, सदाचार र सुविधा एवम् आर्थिक हित कायम राख्न तथा आर्थिक, सामाजिक र सांस्कतिक क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गरी विभिन्न जात–जाति वा सम्प्रदायहरू बीचको सुसम्बन्ध कायम राख्नका लागि मुलुकी ऐन तथा अन्य कानुनमा रहेका देवानीसम्बन्धी व्यवस्थालाई संशोधन र एकीकरण समेत गरी समयानुकूल बनाउनका लागि नेपालको संविधानको धारा २९६ को उपधारा १ बमोजिमको व्यवस्थापिका–संसद्ले मुलुकी देवानी (संहिता) ऐन, २०७४ बनाएको छ ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० मा अङ्शबण्डासम्बन्धी व्यवस्था छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २०५ अनुसार सगोलको सम्पत्ति अङ्शबण्डा गर्ने प्रयोजनका लागि पति, पत्नी, बाबु, आमा, छोरा, छोरीलाई अङ्शियार मानिन्छ । दफा २०६ को उपदफा १ मा प्रत्येक अङ्शियार अङ्शको समान हकदार हुने व्यवस्था गरिएको छ । दफा २०६ को उपदफा २ मा अङ्शबण्डा गर्दाका बखत कुनै महिला अङ्शियार गर्भवती भएमा र निजले जन्माउने शिशु अङ्शियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अङ्शियार मानी निजको अङ्श–भाग छुट्याएर मात्र अङ्शबन्डा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
दफा २०६ को उपदफा ३ मा उपदफा २ बमोजिम गर्भवती महिलाबाट जिउँदो शिशु नजन्मिएमा त्यस्तो शिशुका लागि छुट्याइएको अङ्श अन्य अङ्शियारले बराबरी पाउने व्यवस्था गरिएको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २०७ मा कानुनबमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मिएका छोरा–छोरीले त्यस्ता बाबु–आमाबाट अङ्श पाउने व्यवस्था गरिएको छ ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २०८ को उपदफा ९१० मा बाबुको पहिचान नभएका छोरा–छोरीले आमाको सम्पत्तिबाट मात्र अङ्श पाउने व्यवस्था छ । २०८ को उपदफा २ मा प्रकाश नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोरा–छोरीले पति वा बाबु मरेपछि अङ्शमा दाबी गर्न नपाउने व्यवस्था गरिएको छ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २०९ को उपदफा १ मा सगोलमा बसेका दाजु–भाइका छोरा–छोरी वा पत्नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अङ्श पाउने व्यवस्था उल्लेख छ । दफा २०९ को उपदफा २ मा अङ्श नहुँदै पति वा बाबु–आमाको मृत्यु भएमा निजले पाउने अङ्श निजका पत्नी वा छोरा–छोरीहरूले पाउने व्यवस्था गरिएको छ । दफा २०९ को उपदफा ३ मा कुनै व्यक्तिका एकभन्दा बढी पत्नीहरू भएमा निजहरूले पतिको भागबाट मात्र अङ्श पाउने व्यवस्था गरिएको छ ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २१० को उपदफा १ मा कुनै व्यक्तिले पत्नी, छोरा–छोरीसँग अङ्शबण्डा गरी भिन्न भएपछि वा त्यसरी भिन्न भएकोसँग आफ्नो अङ्श मिलाई सँगै बसेको अवस्थामा, अर्को विवाह गरेमा वा त्यसरी विवाह गरेकी पत्नीबाट छोरा–छोरी जन्मिएमा त्यस्ता पत्नी वा छोरा–छोरीले पति वा बाबुको भागबाट मात्र अङ्श पाउने गरिएको छ । दफा २१० को उपदफा २ मा यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पत्नी जीवित हुने कुनै व्यक्तिले अङ्शबण्डा नहुँदै अर्को विवाह गरेमा अन्य अङ्शियारको अङ्श भाग छुट्याई आफूले पाउने अङ्श भागबाट त्यसरी विवाह गर्ने महिलालाई अङ्श दिनुपर्ने व्यवस्था गरिएको छ ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २११, २१२, २१३, २१४, २१५, २१६ र २१७ मा अङ्शबण्डासम्बन्धी विभिन्न व्यवस्था गरिका छन् । दफा २१८ को उपदफा १ मा अङ्शबण्डा गर्दा अङ्शबण्डाको लिखत तयार पारी साक्षी राखेर त्यस्तो लिखतमा साक्षी तथा अङ्शियारको सहीछाप गरी कानुनको रीत पुर्याएर सम्बन्धित कार्यालयबाट पारित गराउनुपर्ने व्यवस्था छ । दफा २१८ को उपदफा २ मा उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि २७ पुस, २०३४ अघि कुनै अङ्शियारबीच बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम–गरम मिलाई अङ्शबण्डा गरी छुट्टिई आफ्नो अङ्श भागबमोजिम लिई–पाई दाखिल खारेज समेत गरिसकेको वा बण्डा बमोजिम आफ्नो भागको अचल सम्पत्ति छुट्टा–छुट्टै भोग वा बिक्री–व्यवहार गरेकोमा अङ्शबण्डाको लिखत पारित नभएको भए पनि अङ्शबण्डा भएको मानिने व्यवस्था छ ।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ को दफा २३५ मा हदम्यादको व्यवस्था गरिएको छ । यस परिच्छेद बमोजिम भए–गरेका काम–कारबाहीबाट मर्का पर्ने व्यक्तिले देहायबमोजिम नालिस गर्न सक्ने व्यवस्था छ–
क) अङ्शबण्डा नै नभएको वा अङ्शबण्डा हुँदा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकामा जहिलेसुकै,
ख) अंशबण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले तीन महिनाभित्र,
ग) सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अङ्शियारको जीवनकाल रहेसम्म,
घ) खण्ड (क), (ख) र (ग) मा लेखिएका बाहेक अन्य अवस्थामा त्यस्तो काम–कारबाही भए–गरेको मितिले छ महिनासम्म ।