गुणकारी वनस्पतिहरू

होलिस्टिक संवाददाता

कुरिलो

कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो । यसको वैज्ञानिक नाम एस्पारागस अफिसिनालिस हो । यो लिली परिवारअन्तर्गतको वनस्पतीय प्रजातिमा पर्छ ।

कुरिलो हरियो, सेतो तथा बैजनी रङ्गको हुन्छ । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले समेत चिनिन्छ । यो नेपालका धेरैजसो भू–भागमा पाइने लहराजन्य वनस्पति हो ।

काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुने यसका धेरै मसिना हाँगाहरू हुन्छन् । कुरिलोका फलचाहिँ केराउका दानाजत्रा र कडा बीजयुक्त हुन्छन् । यसका जरा मुला आकारका सेता, औंलाजत्तिकै मसिना र धरै सङ्ख्यामा हुन्छन् । कुरिलोका कलिला मुन्टालाई तरकारीका रूपमा पनि खाइन्छ ।

कुरिलोमा पाइने तत्वहरू

कुरिलोमा पानीको मात्रा ९३% हुन्छ । सोडियम र क्यालोरी कमै मात्रामा हुने कुरिलोबाट भिटामिन बी–सिक्स, भिटामिन–सी, भिटामिन–ई, भिटामिन के, बिटा क्यारोटिन, क्याल्सियम, म्याग्नेसियम, जिङ्कजस्ता भिटामिन तथा खनिज प्राप्त हुन्छन् ।

कुरिलोमा कपर, सेलेनियम, क्रोमियमजस्ता ट्रेस इलेमेन्ट्स पनि पाइन्छ ।

कुरिलोका लाभहरू

यसमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पेट तथा पाचन प्रणालीलाई कुरिलोले धेरै फाइदा पुर्‍याउँछ । अस्परजिन भन्ने एमिनो एसिडको नाम समेत यसै वनस्पतिको नामबाट राखिएको हो । मोटोपना र रक्तचाप घटाउन समेत यो निकै उपयोगी हुन्छ । कुरिलो बुद्धिवर्धक, अग्निवर्धक, बाथ, पित्त, शोक अनि शुक्र दुर्बलता निवारक मानिन्छ ।

यसको जरालाई विभिन्न रोगहरूको उपचारमा अत्यन्त लाभकारी औषधिका रूपमा प्रयोग गरिन्छ । यसको जरा सुकाएर बनाइएको धुलो प्रत्येक दिन दूधसँग सेवन गर्नाले स्त्रीहरूको रक्तप्रदर, श्वेतप्रदर तथा महिनावारी गडबडी र स्तनजन्य रोग तथा स्त्री–पुरुष दुवैमा यौन दुर्बलता हटाउन अकल्पनीय लाभ मिल्ने कुरा अनुसन्धानहरूबाट प्रमाणित भएको छ ।

000

 

ऐंसेलु

ऐंसेलुको वैज्ञानिक नाम रुबुस एलिप्टिकस हो । यसलाई अङ्ग्रेजीमा गोल्डेन हिमालयन रेस्बेरी अर्थात् यल्लो हिमालयन रेस्बेरी भनिन्छ । यो नेपालका प्रायः सबैतिरका पहाडी जङ्गलमा फल्ने स्वादिष्ट एवम् लाभदायी जङ्गली फल हो ।
यो मौसम र स्थानअनुसार चैतदेखि साउनसम्म पाक्ने गर्दछ । विश्वभर करिव एक हजार पाँच सय प्रजातिका ऐंसेलु पाइन्छन् । रङ्गका आधारमा भने ऐंसेलु रातो, कालो र छारे गरी तीन किसिमका हुन्छन् ।

रातो र सुनौलो रङ्गका ऐंसेलु सर्वत्र देख्न पाइन्छ तर अरु रङ्ग र जातका ऐंसेलु भने खास–खास स्थानमा वा कतै–कतै मात्र देखिन्छ । ऐंसेलु फल ओखलजस्तै (गोलाकारको बीचमा खाल्डो भएको) हुन्छ । यसको फल काँचो छँदा पत्रदलले ढाकेको हुन्छ, पाकेपछि फक्रेर बाहिर निस्कन्छ । यसको रुख वा झाडी काँडेदार हुन्छ ।

ऐंसेलुमा पाइने तत्व

ऐंसेलुमा प्रोटिन, लिपिड, कार्बोहाइड्रेट, फाइबरजस्ता तत्वहरू पाइन्छन् । यसमा विभिन्न फाइटोकेमिकल्स (एन्थोसियन, फेनोलिक्स, एन्टिअक्सिडेन्ट, एस्कर्बिक एसिड, फ्लेभोनाइड्स) र खनिज तत्वहरू (फोस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम) इत्यादि पाइन्छन् ।

प्रयोग तथा लाभहरू

ऐंसेलुका स्वास्थ्यसम्बन्धी लाभहरूबारे आयुर्वेदमा समेत चर्चा गरिएको छ । झाडा–बान्ता, ज्वरो, पखाला, हैजाजस्ता रोगहरूको निदानका लागि यसको प्रयोग लाभदायक हुने कुरा आयुर्वेदमा उल्लेख छ ।

सिक्किमतिर भने टाउको तथा पेट दुखाइ कम गर्न ऐंसेलुको जरा प्रयोग गर्ने गरिएको छ । अपच तथा कब्जियत भएमा यसको दाना प्रयोग गर्ने गरिएको पाइन्छ । घाँटी दुखेको, ज्वरो आएको, खोकी लागेको बेला यसको जुस प्रयोग गर्ने गरिएको पाइन्छ ।

ऐंसेलुको जरा कुटेर बनाइएको लेदो घाउमा लगाउनाले चाँडै निको हुन सहयोग मिल्छ । यसको पत्ताको जुस समेत छालासम्बन्धी विभिन्न खालका रोगहरूमा फाइदाजनक हुन्छ ।

ऐंसेलुको बोट काँडेदार भए तापनि घर सजाउने बिरुवाका रूपमा समेत रोप्ने गरिएको पाइन्छ । यसको फल टिपेर सोझै खाइहाल्न सकिन्छ । आधुनिक समयमा भने मिक्स्ड फ्रुट सलादका रूपमा समेत प्रयोग गर्न थालिएको छ ।

वनजङ्गल, झाडी र बाटोघाटोमा जोकसैले टिपेर निःशुल्क नै खान वा घर लगेर अनेक हिसाबले प्रयोग गर्न सक्ने यस फललाई अहिले भने बजारमा बिक्री गर्ने तथा जुस निकालेर बेच्ने गरिएको समेत पाइन्छ । नेपाली बजारमा ऐंसेलुको वाइन समेत बनाएर उपलब्ध गराउन थालिएको छ ।